महिला र शिशु कुपोषण न्यूनीकरणका लागि स्वास्थ्यमन्त्रीको पहल, अमेरिकी परोपकारी संस्थाले सहयोग गर्ने

काठमाडौं । नेपालमा गर्भवती महिला र नवजात शिशुमा देखिएको कुपोषण न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अमेरिकी परोपकारी संस्था एलेनर क्रुक फाउण्डेसनसँग सहकार्य प्रस्ताव गरेका छन् । फ्रान्सको पेरिसमा आयोजित पोषणसम्बन्धी विश्व सम्मेलनमा सहभागी भइरहेका मन्त्री पौडेलले पेरिसस्थित नेपाली दूतावासमा फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग वार्ता गर्दै नेपालमा मातृ-शिशु पोषण सुधार गर्न संस्थागत साझेदारी आवश्यक रहेको बताएका हुन् । नेपालमा हाल गर्भवती महिलालाई आइरन चक्की प्रदान गरिँदै आए पनि अन्य १५ आवश्यक पोषक तत्वको अभाव रहेको विज्ञहरूको भनाइ छ । सरकार अब ती सबै तत्वको मिश्रण दिने योजना बनाउँदैछ । जसका लागि मन्त्री पौडेलले अमेरिकी परोपकारी संस्थासँग आर्थिक तथा प्राविधिक सहयोगको आग्रह गरेका छन् । संस्थाले सरकारलाई आवश्यक पर्ने थप बजेट तथा स्रोत पहिचान गर्न सघाउने प्रतिबद्धता जनाएको छ । निकट भविष्यमा यसबारे औपचारिक सम्झौता हुने आशा गरिएको छ । ‘आर्थिक अभावका कारण मातृ-शिशु स्वास्थ्य हेरचाह कमजोर हुन नदिने हाम्रो प्रयास हो,’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एउटा महत्वपूर्ण कडी हो, जसबाट हामी उत्साहित छौं ।’ केही महिनाभित्रै सहकार्यका लागि कार्ययोजना निर्माण भइरहेको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिएका छन् । साथै, नेपाली उद्योगहरूलाई पोषक तत्व मिश्रित सामग्री उत्पादनमा संलग्न गराउने मन्त्री पौडेलको प्रस्तावमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । नेपालमा कुपोषणका कारण हुने मातृ-शिशु मृत्युदर न्यूनीकरणका लागि पोषक तत्वयुक्त खाद्य पदार्थको उपलब्धता महत्वपूर्ण हुने भएकाले यस सहकार्यले दीर्घकालीन रूपमा ठूला लाभ पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

३० करोडको लागतमा अस्पताल भवन निर्माण, १ सय श्ययाको बनाउने

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब १२ करोड रुपैयाँ लागत र नेपाल हिल्फे संस्थाको १८ करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो । साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताए । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ । १५ श्ययाको अस्पतालले पुरानो भवनबाट ८० श्ययाको सेवा दिँदै आएको छ । बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै श्यया सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा आचार्यले बताए । स्वीकृत दरबन्दी पन्ध्र शैय्याको मात्र हुँदा जनशक्ति अभाव झेल्नु परेको उनको भनाइ छ । हाल अस्पतालमा स्थायी, करार र अन्य गरी १६४ कर्मचारी कार्यरत छन् । सामुदायिक रूपमा सञ्चालित सो अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ श्ययाको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा अघि बढाएको हो । अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । जमिनको भोगाधिकार नहुँदा अन्य दातासँग सहयोग लिन र नयाँ काम गर्न समस्या हुँदै आएको उनले बताए । अस्पतालको वार्षिकोत्सव कार्यक्रममा गत फागुन २८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो अस्पताललाई १ सय श्ययाको बनाउने आश्वासन दिएको अध्यक्ष घिमिरेले बताए ।

सिटिजन लाइफले काठमाडौं बाल अस्पताल निर्माणका लागि गर्‍यो ५ लाख सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले बाल स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि यो योगदान गरेको हो । गत वर्ष पनि सिटिजन लाइफले अस्पताललाई आर्थिक सहयोग गरेको थियो । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य नेपालका निम्न आय भएका परिवारका बालबालिकालाई किफायती, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । सिटिजन लाइफले आफ्नो सामाजिक उत्तरदायित्वअनुसार विभिन्न शैक्षिक, स्वास्थ्य तथा वातावरणीय कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।