बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी
काठमाडाैं । बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ । प्राणघातक सङ्क्रमणका रुपमा लिइँदै आएको स्क्रब टाइफस यही साउन महिनामा मात्रै तीन जनालाई फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । बुधबार मात्रै उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जैमिनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा स्क्रब टाइफस देखिएको छ । उनी धौलागिरि अस्पतालमा भर्ना गरी उपचाररत छन् । यस्तै साउन १० गते बागलुङ नगरपालिका–२ का एक र साउन १२ गते पर्वत जिल्लाको फलेवास नगरपालिका–३ का एक जनालाई स्क्रब टाइफस देखिएको थियो । दुवै जना अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्कनुभएको अस्पतालले जनाएको छ । बागलुङमा गत वर्ष सात जनामा स्क्रब टाइफसका बिरामी फेला परेका थिए । स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने गर्दछ । यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ । रोगको कीटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ । केही वर्षअगाडि सम्म स्क्रब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानमा मात्रै देखिँदै आएकामा पछिल्लो समय शहरी इलाकामा पनि देखिँदै आएको छ । नेपालमा भने मुसाले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ । स्क्रब टाइफस भएका मानिसमा उच्च ज्वरो आउने र कामज्वरोसमेत आउन सक्दछ । टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिमिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन् । रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ । यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ । रासस
दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाउँदै महाकाली
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने भएको छ । महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक ती दुवै भवन बनाउन लागेको छ । महाकाली नगरपालिकाको कार्यपालिका बैठकले २० शैयाको आइसोलेसन र ५० शैयाको क्वारेन्टिन भवन बनाउने निर्णय गरेको हो । महाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कोरोना सङ्क्रमणलाई मध्यनजर गरी आइसोलेसन र क्वारेन्टिन भवन बनाउन लागिएको बताए । “कार्यपालिका बैठकबाटै आइसोलेसन र क्वारेन्टिन भवन बनाउने निर्णय गरिएको छ । त्यसअनुसार बजेट व्यवस्था गरी अघि बढ्छौँ” उनले भने । उनका अनुसार क्वारेन्टिन र आइसोलेसन भवन निर्माणका लागि जग्गा व्यवस्थापन भैसकेको छ । भवन निर्माणका लागि रु एक करोड बढी बजेट लाग्ने अनुमान गरिएको छ । शिक्षण संस्था सञ्चालन हुने भएपछि विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्पमा छुट्टै क्वारेन्टिन भवन बनाउन लागिएको हो । यसअघि महाकालीका ३३ विद्यालयमा क्वारेन्टिन राखिएको थियो । तीमध्ये अहिले भानु बहुमुखी क्याम्पसको क्वारेन्टिन मात्रै सञ्चालनमा छ । महाकालीका प्रवक्ता सिजालीले क्वारेन्टिन भवन तयार नभएसम्म कोरोना सङ्क्रमण आशङ्का गरिएका व्यक्तिलाई भानु क्याम्पसमै राखिने बताए । महाकाली नगरपालिकाले आइसोलेसन कक्ष यस वर्ष मात्रै सञ्चालन गर्न लागेको हो । रासस
अब कोरोना परिक्षणको शुल्क घरबाटै बुझाउन सकिने, बिध ल्याबले ल्यायो यस्तो सुविधा
काठमाडौं । सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनुपर्ने छैन । ‘ई-सेवा’ वा ‘खल्ती’मध्ये कुनैपनि मध्यामबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् । ‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिनेगरी व्यवस्था गरेका हौं’ बिध ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई-सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट रकम भुत्तानी गर्दा सेवा ग्राहीले थप २०० क्यास व्याग पाउनेछन ।’ पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए । विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यामबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन् । न्यूयोर्क युनिभर्सिटीको एक अध्ययन अनुसार पैसामा सुक्ष्म जीव सुरक्षित रहन सक्छ । पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु रहने गरेको पाइन्छ । जोसुकै व्यक्तिले जस्तोसुकै अवस्थामा पैसा बोक्ने र प्रयोग गर्ने भएकाले यस माध्यामबाट कोरोना भाइरस समेत सर्नसक्नेबारे सर्तक गराउँदै आइएको छ । पैसाको माध्यामबाट कोरोना सर्ने खतरा भएपछि गएको फागुन महिनामा चीनमा करोडौं नगद नष्ट गरिएको थियो । कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ । अब अनलाईनबाट रकम भुत्तानी गर्दा ३८०० मानै परीक्षण गर्न पाउनेछन भने स्वाव समेत विध ल्यावले संकलन गरेका ४३०० तिरे पुग्नेछ । ल्यावले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको छ । ‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौं’ भण्डारी भन्छन् । यस ल्याबले एक दिनमा ४२ सय जनाको कोभिड परीक्षण गर्ने क्षमता छ । बिध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ । बिध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब संचालनका लागि अनुमति दिएको हो ।