काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएका ३ जनाकाे मृत्यु

सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे बताइएकाे हाे । राजविराजको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा दुई जनाको र उपचारको लागि धरान लैजाँदै गर्दा एक जनाको बाटोमै मृत्यु भएको बताइएकाे छ । उनीहरुको स्वाब सङ्कलन गरी पठाइएको बताइएकाे छ ।

काठमाडाैं उपत्यकामा एकैदिन ६२ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ४८, ललितपुरकाे १ र भक्तपुरकाे ११ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१ ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७२९ पुगेको छ। बुधबार देशभर २५९ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ९ पुगेको छ।

एफएनसीसीआईका पूर्व अध्यक्ष कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा, भन्छन्ः ठूलो गल्ती गरेँ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । आफ्नो व्यक्तिगत कारणले विराटनगर पुगेका उनी कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफु कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेकाे जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘गल्ती गरेँ, ठूलो पाठ सिकेँ, अत्यन्त जरुरी कामले पूरै सर्तक र सुरक्षित भएर विराटनगर गएको कन्ट्याक्ट ट्रेसिङमा परियो । तुरुन्त सबै सम्पर्कमा आएकालाई खबर गरी टेष्ट गराएँ, नतिजा नेगेटिभ आयो । स्वास्थ्यभन्दा जरुरी केही छैन र अरुको जिम्मेवारी पनि आफुसँगै छ भन्ने सिकेँ । सर्तक रहौं, सुरक्षित रहौं ।’