डाेटीमा कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना, स्वास्थ्यकर्मीको बिदा बन्द

डाेटी । भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन् । भारतबाट घर आएका नागरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टिन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रहन निर्देशनसमेत दिइएको छ । अत्यावश्यकबाहेक अन्य कामका लागि यहाँका स्वास्थ्यकर्मीको बिदासमेत बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । जिल्लामा कोरोना महामारीको फैलिन नदिन तथा रोकथामका लागि जिल्लाको जोरायल गाउँपालिकाले अत्तरिया–स्याउले जोड्ने सुदूरपश्चिमका पहाडी जिल्लाको एक मात्र भीमदत्त राजमार्गको बुडरमा यात्रुको दिनहुँ स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना गरेको छ । चौबीसैँ घण्टा स्वास्थ्यकर्मी रहने गरी उक्त हेल्थ डेस्कको स्थापना गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । जोरायल–२ छतिवनको बुडरमा उक्त हेल्थ डेस्कको सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको हो । प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा स्थापना गरिएको हेल्थ डेस्कले प्रभावकारी स्वास्थ सेवा दिने अपेक्षा गरिएको जोरायलका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिए । यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सुरु गरिएको उक्त हेल्थ डेस्क नागरिकको स्वास्थ्य र सुरक्षाका हिसाबले निकै प्रभावकारी हुने उनको भनाइ छ । यसैगरी विगतमा यहाँका सरकारी स्कूलमा स्थापना गरिएका क्वारेन्टिन भवन स्वास्थ्य सामग्रीसहित अहिले पुनः तयारी अवस्थामा राखिएका छन् । भारतबाट रोजगारी गरेर घर आउने नागरिकलाई अनिवार्यरूपमा १४ दिन क्वारेन्टिनमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा यही चैत १२ गते बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णयसमेत गरेको छ । होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका सीमानाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रबाट भारतदेखि घर फर्किनेको सीमानाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत १० दिनको अवधिमा सुदूरपश्चिममा कम्तीमा आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरले भारतसँग सीमा जोडिएका बैतडी, दार्चुला, कैलाली तथा कञ्चनपुरसहितका चार जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको जनाएको छ । रासस

चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

काठमाडाैं । सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरुवात भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाउने भएको हो । रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा प्रकाशप्रसाद साहले हात्तीपाइले रोगबाट बच्नका लागि १२ जिल्लामा औषधि खुवाइने जानकारी दिए । उनका अनुसार अभियान एक हप्तासम्म सञ्चालन हुने छ । उनका अनुसार झापा, धनकुटा, मोरङ, वारा, लमजुङ, पर्वत, वागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइने छ । औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिने उनले जानकारी दिए । नेपालमा करिव ३० हजार हात्तिपाइले रोगी रहेका छन् । यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि ती औषधि खुवाइरहेको छ । हात्तीपाइले रोग सङ्क्रमति पाथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यसरोग लागेपछि मानिसलाई शारिरीकरुपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले मानिसको शरिरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ । किटजन्य शाखा प्रमुख डा साहले रोगको लक्षण देखिसकेपछि निको पार्न नसक्ने भएकोले रोग लाग्न नदिन नै यस रोगबाट बच्न उत्तम उपाय भएको बताए । हात्तीपाइले रोग शुरूको अवस्थामा नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने, ठुलो खालको सुन्निने, छालमा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अङ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् । विश्वमा कुल जनसङ्ख्याको ८५ करोड ६० लाख मानिस हात्तीपाइले रोगको जोखिममा रहेको तथ्याङ्क रहेको छ । सुरुमा नेपालमा ६३ जिल्ला हात्तीपाइलेको जोखिममा रहेपछि अहिले १२ जिल्ला रहेका छन् । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम सञ्चालन गरेर सन् २०२६ सम्म हात्तीपाइलेका रोगीलाई एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । हात्तीपाइले रोग बढीजसो पुरुषको अण्डकोष सुनिने र हात तथा खुट्टा सुनिने गर्दछ । विश्व स्वास्थ्य संगठनसंगै नेपालले पनि सन् २०३० सम्म आम औषधि सेवनमार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । मन्त्रालयले वर्षको एक पटकका दरले छ वर्षसम्म नियमित औषधि सेवन अभियान सञ्चालन गर्ने र रोग सर्ने प्रक्रियालाई रोकिने लक्ष्य लिइएको उनले बताए । नेपालमा हात्तीपाइलेको औषधि ११ करोडभन्दा बढी मात्रा खुवाइसकेको छ । औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने जस्ता समस्या आएपछि औषधिले प्रभावकारी काम गर्न थालेको भन्ने बुझ्र्ने किटजन्य शाखा प्रमुख डा साहले जानकारी दिए । उनले त्यस्ता लक्षण केही घण्टामा आफै हराएर जाने र लामो समयसम्म लक्षण देखिए नजिकैको स्वास्थ्य सङ्घसंस्थामा उपचार गर्न अनुरोध गरे । दुई वर्ष उमेर नपुगेको बालबालिका, गर्भवती र सात दिनसम्म सुत्केरी तथा सिकिस्त विरामीले हात्तीपाइले रोग विरुद्धका ती औषधि सेवन गर्नु हुँदैन । रासस

प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना: कतारमा पाँच बढी भेला हुन नपाइने

काठमाडाैं । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको हो । सङ्क्रमण बढेसँगै सम्बन्धित मुलुकले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न थालेका छन् । सन् २०२० मा कोरोनाबाट आक्रान्त भएका ती मुलुकमा वर्षान्तसँगै कोरोना सङ्क्रमण कम भएको थियो । गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोप कार्यक्रम चलाइरहेका भए पनि सङ्क्रमण फैलने दर अझै नियन्त्रणमा आएको छैन । कतारले सङ्क्रमण पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै त्यहाँको ‘सुप्रिम कमिटी फर क्राइसिस म्यानेजमेन्ट’ को सिफारिशमा आजदेखि लागू हुने गरी ३३ बुँदे विशेष निर्देशन जारी गरेको छ । उक्त निर्देशन बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । कतार सरकारको निर्देशनानुसार अब कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीले बैठक गर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्नुपर्ने, अनावश्यक रुपमा सामाजिक भेटघाट नगर्ने र घरभित्र वा बन्द स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । सबै सार्वजनिक पार्क, सार्वजनिक स्थानलगायत सार्वजनिक स्थल आजदेखि नै बन्द गरिएको छ । ती स्थानमा एकै परिवारका दुई जनाभन्दा बढी जान नपाउने निर्देशन कतार सरकारबाट जारी भएको दूतावासले जनाएको छ । कोरोनाको जोखिम बढेसँगै कतारले व्यापारिक भवनमा हुने क्रियाकलापलाई ३० प्रतिशतमा सीमित गरेको छ । बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई त्यस्तास्थलमा जान बन्देज लगाइएको छ । सवारी साधन प्रयोग गर्दा मास्क अनिवार्य गरिएको छ । एउटा सवारी सधानमा चालकसहिच चार जनाभन्दा बढी यात्रा गर्न नपाइने व्यवस्था रहेको पनि दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको कोरोनाको जोखिम विश्लेषण गर्ने मोबाइल एप्लिकेसन हुनैपर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ । दूतावासले कतार सरकारले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न त्यहाँ रहेका नेपाली समुदायमा आह्वान गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न तथा नियमको उल्लंघनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट समेत जोगिन दूतावासले अपिल गरेको छ । कतारमा विभिन्न पेसा, व्यवसायमा संलग्न नेपालीको ठूलो सङ्ख्या रहेको छ । पछिल्ला केही दिनयता छिमेकी भारतमा पनि कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोना सङ्क्रमण रोक्न भारतका केही राज्यले कडाइ गरेसँगै त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने क्रम बढेको छ । केही राज्यमा लकडाउन गरिएसँगै आर्थिक क्रियाकलाप खुम्चिएको छ । कतिपय नेपालीले अस्थायी रोजगारी गुमाएका छन् । सीमा नाकाबाट भित्र्ने नेपालीको लर्को लाग्न थालेको छ । रासस