जिल्ला प्रशासन कार्यालय दाङद्वारा कोभिडको जोखिम बढेकाे भन्दै सर्तक रहन आग्रह

दाङ । जिल्ला प्रशासन कार्यालयले कोभिड– १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज सूचना जारी गर्दै छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकमा थप कोभिड क्रियाशील भई सङ्कमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले एक सूचना जारी गर्दै भारतको खुला सीमा नाकाका कारण मानिसको आवतजावत हुनुका साथै शहरी तथा ग्रामीण क्षेत्रमा मानिसको चहलपहल बढेकाले सङ्क्रमणको उच्च जोखिम रहेको बताए । उनले नागरिकलाई सजक र सर्तक रही स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुनपानीले हात धुन, स्यानीटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय र सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् । त्यसैगरी प्रशासनले फागुपूर्णिमालगायत मेला पर्व, भोजभतेर र पार्टीमा समावेश नहुन, जमघट एवं भिडभाड नगर्न आग्रह गरेको छ । कोभिड– १९ को लक्षण देखिएमा तत्काल तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना जाँच गराउन र जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि यसअघि सहमति लिएको भए पनि सो सहमति रद्द गरिएको र कार्यक्रम सञ्चालन नगर्न भनेको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा सङ्क्रामक रोग एने २०२० बमोजिम कारवाही हुने जनाइएको छ । रासस

बारपाककाे अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक ती समुदायका अन्य सबैका बीमा गर्न शुरुआत गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । ‘पालिकाभित्रका करिब दुई हजारभन्दा बढी बराम समुदायको स्वास्थ्य बीमा गरिएको छ’, उनले भने, ‘अतिसीमान्तकृतभित्र पनि आयस्रोत नै नभएका घरपरिवारको पहिचान गरी कार्यक्रम कार्यान्वयन गरिएको हो ।’ बिरामी भइहाले उपचार गर्न सक्ने अवस्थामा नै नरहेका परिवारको स्वास्थ्योपचारमा पहुँच पु¥याउने उद्देश्यले गाउँपालिकाले सो समुदायलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गरिदिएको उनले बताए । गाउँपालिकाले अहिलेसम्म करिब ५१३ घरघुरीका दुई हजार २३ को निःशुल्क स्वास्थ्य बीमा गराइसकेको अध्यक्ष भट्टले जानकारी दिए । ‘केही वडामा अझै बीमा गराउन बाँकी नै छ’, उनले भने, ‘दर्ता सहयोगीको व्यवस्थापन भएलगत्तै बाँकी रहेका वडाका बराम समुदायका परिवारको पनि बीमा गरिनेछ ।’ आफैँले खर्च गरेर स्वास्थ्य बीमा गर्न नसक्ने परिवारका लागि गाउँपालिकाले ल्याएको कार्यक्रमले खुशी भएका छन् । गाउँपालिकाले वडा नं ३ का ३०६, ४ का २६६, ६ का ५८३, ७ का ३९७ र वडा नं ८ का ४७१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको उनले जानकारी दिए । बीमा गराएको परिवारको स्वास्थ्य बीमावापतको तिर्नुपर्ने रकम गाउँपालिकाले व्यहोरेको अध्यक्ष भट्टले बताए । ‘बीमा गराएका सबैको बिमा शुल्कवापतको कूल १९ लाख २३ हजार ५५० रकम स्वास्थ्य बीमा बोर्डलाई गाउँपालिका उपलब्ध गराइसकिएको छ’, उनले भने, ‘बीमा गराउन बाँकी बराम समुदायका घरपरिवारको बीमावापतको रकम पनि गाउँपालिकाले नै व्यर्होने छ ।’ स्वास्थ्य बीमा गराउन बोर्डले खटाएका गणक घरघरमा पुगेर बीमा गराएको बीमा बोर्ड जिल्ला कार्यालयले जनाएको छ । रासस

कोरोना कहर: बाँकेमा सीमावर्ती भारतीय शहरमा जान रोक

राँझा । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतीय सीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो । बेठकले स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने र कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने गराउने निर्णय समेत गरेको छ । लक्षण देखिएका बिरामीको एन्टिजीन परीक्षण गरी सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने र सिकिस्त बिरामीलाई सिधै भेरी अस्पतालमा पठाउने निर्णय भएको प्रजिअ कुरुम्बाङले जानकारी दिए । अनावश्यकरूपमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्न पनि डिसिसिएमसीले आग्रह गरेको कोभिड जिल्ला स्रोतव्यक्ति तेज ओलीले जानकारी दिए । उहाँका अनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठवटै स्थानीय तहलाई क्वारेन्टिन निर्माणलगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ । भारतबाट आएका नागरिकलाई जमुनाह नाकामा स्थापना गरिएको स्वास्थ्य जाँचकक्षमा जाँच गरी १० दिन क्वारेन्टिनमा राख्नुपर्ने र भेरी अस्पताललगायतका स्वास्थ्य संस्थामा रहेका आइसोलेशनलाई प्रभावकारी बनाउने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । भारतबाट नेपाल फर्किने सर्वसाधारणको स्वास्थ्य जाँचको लागि नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा सुविधासम्पन्न स्वास्थ्यकक्ष स्थापना गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले नाकामा स्वास्थ्य कक्ष स्थापना गरेर कोरोना परीक्षण शुरु गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार जमुनाह नाकामा स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने प्रविधिसहितको स्वास्थ्यकक्ष सञ्चालनमा आएको छ । बुधबार पहिलो दिन मुम्बई, दिल्ली, महाराष्ट्रलगायतका शहरबाट आएका १० नेपालीको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । रासस