के गर्भनिरोधक साधनले बाँझोपन ल्याउँछ ?

प्रजनन् विशेषज्ञ डा. आकृति भारती काठमाडाैं । गर्भनिरोधक साधन मानवको प्रजनन् क्षमतालाई नियन्त्रणमा राख्ने एक भरपर्दो साधन हो । यसको जानकारी पाठ्यपुस्तकमै समावेश गरिएको कारण युवाहरुमा यसबारे जानकारी छ । तर विभिन्न तथ्यांक र खोजलाई हेर्ने हो भने धेरै मानिसहरुले यसलाई गर्भ रोक्ने साधनको रुपमा मात्र बुझेका हुन्छन् । यसले कसरी काम गर्छ र शरीरमा केही हानी पुर्याउँछ कि पुर्याउँदैन भनेर बुझेकै हुँदैन त्यसैले यसको प्रयोग अव्यवस्थित रुपमा गरिरहेका हुन्छन् जसले गर्दा दीर्घकालीन समस्या वा बाँझोपनबाट ग्रसित हुन पुग्छन् । गर्भनिरोधक साधनका प्रकार गर्भनिरोधक साधनको कामको हिसाबले यसलाई मुख्य ३ प्रकारमा बाँड्न सकिन्छ । १। स्थायी गर्भनिरोधक साधन यस अन्तर्गत विभिन्न प्रकारका बन्ध्याकरण (भ्यासेक्टोमी, मिनी ल्याप, ल्याप्रोस्कोपी) गरिन्छ । यसमा पछि गर्भबस्ने सम्भावना हुँदैन । २। अस्थायी गर्भनिरोधक साधन यस अन्तर्गत कण्डम, मिश्रित चक्की (पिल्स), डिपोप्रोभेरा-तीनमहिने (सुई), नरप्लान्ट, पाठेघरमा राख्ने साधन (कपरटी), आई, यू. डी., इम्प्लाण्ट्स्, आदिे पर्छन् । अस्थायी गर्भनिरोधक साधनले डिम्ब निष्कासनमा कमि ल्याएर वा महिलाको योनिरसलाई वीर्यका लागि प्रतिकुल पारेर वा भ्रूणलाई पाठेघरमा टाँसिन नदिएर गर्भ रोक्ने काम गर्छ । प्राकृतिक हर्मोनलाई औषधि वा सुईको माध्यमबाट प्रतिकुल बनाइराखिने भएकाले नै गर्भबस्न नसक्ने हो । यसको असर अस्थायी साधनको प्रयोग गरिरहँदासम्म मात्र हुने भएका कारणले पनि डाक्टरहरु यसको नियमित प्रयोग गर्न सल्लाह दिन्छन् । अस्थायी गर्भनिरोधक साधनको प्रयोग छोड्ने बित्तिकै गर्भधारण हुन सक्छ र बाँझोपन सँग यसको कुनै सम्बन्ध हुँदैन । कतिपय अवस्थामा महिलाहरुले अस्थायी गर्भनिरोधक साधनको प्रयोग गर्न छोडेको केहि महिनाभित्रै गर्भ बसेन भने चिन्तित हुन थालिहाल्छन् र बाँझो पो भइयो कि भन्ने चिन्ता लिन्छन् तर यो युक्तिसंगत होइन । अस्थायी गर्भनिरोधक साधन प्रयोग गर्न छोडेको १ वर्षभित्र नै सम्पूर्ण कुरा सामन्य भइसकेको हुन्छ । त्यसपछि यसको असर रहँदैन । बरु सबैले के बुझ्नु जरुरी छ भने बढ्दो उमेर र तनावले पनि गर्भ बस्न गार्हो हुने गर्छ । त्यसैले सन्तान प्राप्तिको इच्छा भए २२-५ वर्ष भित्रै सन्तान प्राप्त गर्नु उचित हुन्छ । केहि कारणवश ३५ वर्ष पश्चात सन्तान प्राप्त गर्ने इच्छा भएमा डिम्ब (महिलाको अण्डा) वा भ्रूण लाई फ्रिजिंग गरेर राख्न सकिन्छ र पछि सजिलै गर्भधारण गर्न सकिन्छ । कतिपय मानिसहरु अस्थायी गर्भनिरोधक साधनले पाठेघरलाई कम्जोर बनाउँछ भन्ने गर्छन् तर यसको पुष्टि नभएको कारण यसमा विश्वास नगर्नु नै उचित हुन्छ । ३। आकस्मिक गर्भनिरोधक साधन आकस्मिक गर्भनिरोधक साधन असुरक्षित यौन सम्पर्कबाट गर्भ बस्न नदिन महिलाले प्रयोग गर्ने खाने चक्की हो । यस अन्तर्गत अनवान्टेड ७२, आइपिल, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स जस्ता विभिन्न प्रकारका चक्की पर्छन् । यसको सेवन असुरक्षित यौन सम्बन्धको ७२ घण्टाभित्र गरिसकिनु पर्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिन्छ । आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ, जसले गर्भ बस्नआवश्यक हर्मोनलाई नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गराएर गर्भ बस्न दिँदैन, जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रुण बन्न नदिने र यदि भ्रुणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । यस साधनको प्रयोगले शतप्रतिशत गर्भ रहन्न भन्ने चाहिँ हुँदैन । यसको प्रयोग उचित तरिकाले गरे यसको प्रभाव राम्रै हुन्छ अन्यथा विभिन्न समस्या र बाँझोपन समेत हुनसक्छ । आकस्मिक घटनामा एक-दुईपटक प्रयोगगर्नाले यसले खासै फरक पार्दैन । यसको प्रयोगले वाकवाकीलाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसुस हुने, स्तन भारी महसुस हुने भए पनि केहि समयमा आफैं हराएर जान्छ । धेरै पटक वा अव्यवस्थित प्रयोगले भने निम्न समस्याहरु आउन सक्छन् । छोटो अन्तरालमा अर्थात् धेरैपटक आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गरेमा महिनावारी गडबड हुन सक्छ  । त्यस्तै, कतिपयमा महिनावारीको समयमा धेरै रगत बग्ने, पेट दुख्ने र समयमा महिनावारी नहुने समस्या देखिन सक्छ । विस्तारै महिलाको प्रजनन स्वास्थ्यमा पनि विभिन्न नकारात्मक असर देखिन सक्छ । आकस्मिक गर्भनिरोधक साधनको प्रयोग नियमित गर्ने महिलामा पछि गएर चाहेको बेलामा गर्भ नरहन सक्छ । कतिपयमा बाँझोपनको समस्या समेत देखिन्छ । आकस्मिक गर्भनिरोधक साधन धेरै प्रयोग गरे हर्मोन असन्तुलित भइ मुड परिवर्तन भइरहने, तौल बढ्ने, टाउको दुखाइ वा माइग्रेनको समस्या हुनेजस्ता समस्या देखिन सक्छ  । कार्डियोभास्कुलर समस्या जस्तै, हृदयाघात, स्ट्रोक, रगत जम्नेलगायत दीर्घकालीन समस्या देखिनसक्छ । विभिन्न अध्ययनअनुसार, आकस्मिक गर्भनिरोधक साधनले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ, जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, ओभरियन क्यान्सरजस्ता जटिल समस्या देखिन सक्छन् । गर्भ रोक्नका लागि आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गर्नेले कन्डमको प्रयोग गर्दैनन्, जसकारण यौनरोगको जोखिम बढ्छ । आकस्मिक गर्भनिरोधक साधनको धेरै प्रयोगले पाठेघरको भित्ता पातलो बनाइदिन्छ जसका कारण गर्भतुहिने सम्भावना बढेर जान्छ । गर्भनिरोधक साधनको उचित प्रयोग गरे यसले इच्छा नगरिएको समयमा गर्भ बस्नबाट रोक्छ तर यदि तपाईं भविष्यमा सन्तान प्राप्त गर्ने सोचमा हुनुहुन्छ भने कुनै प्रकारको गर्भनिरोधक साधन प्रयोग गर्दा चिकित्सकको सल्लाह अवश्य लिनुहोस् र आफ्नो शरीर र उद्देश्य अनुकुल हुने साधन प्रयोग गर्नुहोस् । कतिपय अवस्थामा महिनावारीलाई सन्तुलित बनाउन पनि यस्ता साधनको प्रयोग गर्न चिकित्सकहरुले सल्लाह दिन्छन् । आइभिएफ गराउँदा पनि धेरै र गुणस्तरीय डिम्ब उत्पादन गराउन यस्ता साधन प्रयोग गरिन्छ । त्यसैले यसबारे भ्रम राख्नु भन्दा चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ । खासगरी आकस्मिक साधनको प्रयोगमा । धेरै चिन्ता र बढ्दो उमेरले प्रजनन् क्षमतामा प्रतिकुल असर पार्ने भएको कारण पनि यस्ता साधनको प्रयोग सुनियोजित हुनु जरुरी छ ।  

त्रिनगर सीमानाकाबाट नेपाल फर्केका ५६ जनाको एन्टीजेन टेष्टकाे नतिजा पोजेटिभ

कञ्चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमानाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ । शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । उनका अनुसार एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ । एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन् । सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हँुदा परीक्षणमा समस्या हुँदै आएको छ । सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो । तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन् । भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदूरीका लागि गएका नेपाली घर फर्कन थालेका छन् । केही खेतमा लगाएको गहुँबाली भित्र्याउन र सुदूरपश्चिमको चाडपर्व चैते दशैँ मनाउनका लागिसमेत घर फर्केका हुन् । सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि निकटवर्ती भारतीय बजारमा किनमेल गर्नेसमेत आवतजावतको कार्य भइरहेकाले कोरोनाको सङ्क्रमणको खतरा बढेको छ । रासस

डाेटीमा चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या

डाेटी । जिल्लाका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय तहले वितरण गर्ने प्रावधानअनुसार परिचयपत्र वितरण कार्य शुरु गरिए पनि चिकित्सक नहुँदा वितरणमा समस्या हुँदै आएको कर्मचारीको गुनासो छ । जिल्लाको शिखर नगरपालिका तथा बोगटान फुड्सिल गाउँपालिकाले अहिलेसम्म चिकित्सक राख्न नसकेका कारण त्यहाँका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र पाउन सकस हुँदै आएको बताइएको छ । अपाङ्गता परिचयपत्र वितरण गर्न मेडिकल रिपोर्टमा एमबिबीएस चिकित्सकले प्रमाणित गरेको हुनुपर्ने प्रावधान भए पनि यहाँका अधिकांश स्थानीय तहमा चिकित्सक तथा मेडिकल अधिकृत नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए । उनले भने, ‘महिला विकास कार्यालयले विगतमा वितरण गर्दै आएको अपाङ्गता परिचयपत्र वितरणको जिम्मा स्थानीय तहलाई दिइएको छ, कतिपय स्थानीय तहमा चिकित्सक नै छैनन्, चिकित्सकले प्रमाणित नगर्दा कसरी परिचयपत्र दिने हामीलाई पनि समस्या भयो ।’ एबिबीएस चिकित्सक राखिएका यहाँका कतिपय स्थानीय तहमा चिकित्सकको योग्यता, क्षमताअनुसारका उपकरण नभएका कारण उनीहरु नै स्थानीय तहमा बस्न नरुचाउने गरेको स्थानीयवासी बताउँछन् । स्थानीय तहमा पछिल्लो समय जिल्ला बाहिरबाट मेडिकल अधिकृत झिकाएर अपाङ्गता भएका व्यक्तिलाई प्रमाणित गरी परिचयपत्र वितरण गर्नुपर्ने अवस्था सिर्जना हुँदै आएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले गुनासो गरे । उनले भने, ‘अपाङ्गता परिचयपत्रका लागि निवेदन दर्ता हुने गरेका छन्, हामीसँग मेडिकल अधिकृत नभएका कारण जिल्ला सदरमुकाम तथा बाहिरबाट झिकाएर प्रमाणित गर्नुपरेको छ, गाह्रो भइरहेको छ ।’ दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा दिपायल सिलगढी, केआइसिंह, जोरायल, आदर्श, सायल, पूर्वीचौकी तथा बडिकेदारमा मात्रै चिकित्सक राखिएको छ भने शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकामा अहिलेसम्म चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको बताइएको छ । आफ्नो नगरपालिकामा चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्रका लागि आउने गरेका निवेदकलाई जिल्ला अस्पतालका चिकित्सकबाट अपाङ्गता भएको बारेमा प्रमाणित पत्र लिएर आउने सल्लाह दिने गरेको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । उनले भने, ‘हामीसँग चिकित्सक पनि छैनन्, भवन पनि नभएकाले राख्न सकेका छैनौँ, अपाङ्गता परिचयपत्र माग्न आएकालाई जिल्ला अस्पतालबाट प्रमाणित पत्र ल्याउन आग्रह गर्ने गरेका छौँ ।’ स्थानीय तहले अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी पाएपछि चिकित्सक नभएका कारण गाउँमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउन निकै कठिन भएको अपाङ्ग सेवा सङ्घ डोटीकी सीता रायमाझीले गुनासो गरे । उनले भने, ‘जब स्थानीय तहमा चिकित्सक नै छैनन् भने ती स्थानीय तहले अपाङ्गता परिचयपत्रका लागि जिम्मा किन लिनु, अपाङ्गता भएका व्यक्तिलाई दुःख दिनेबाहेक अरु केही काम होइन ।’ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरणमा सहज गर्नसमेत उहाँले सबैमा आग्रह गरेका छन् । रासस