बीमितकाे औषधी नि:शुल्क नदिने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगरिने
काठमाडाैं । सरकारद्वारा संचालित स्वास्थ्य बीमा बाेर्डले बीमितकाे औषधी निशुल्क नदिने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने बताएकाे छ । बाेर्डका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बीमितहरुकाे औषधीहरु सिद्धिएकाे भन्दै बेग्लै औषधी किन्न लगाउने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने बताएका हुन् । उप्रेतीले बीमा बाेर्ड मानिसहरुकाे लागि खस्याकखुसुक पैसा खाएर बस्ने ठाउँ नहुने पनि बताए ।उनकाे अनुसार बाेर्डमा कुनै पनि स्वास्थ्य संस्था एकपटक आवद्ध भइसकेपछि ५ वर्षसम्म नविकरण गर्नुपर्दैन । हालसम्म सरकारद्वारा संचालित बीमा बाेर्डमा ३७५ वटा स्वास्थ्य संस्थाहरु आवद्ध छन् जहाँ बाेर्डले ११ सय वटा औषधीहरु प्रदान गर्दै आएकाे छ ।
अब कहिल्यैपनि लकडाउनमा नजाने- सरकार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने बताएका हुन् । उनले लकडाउन भन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए । लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताए । ‘हामी यो चाहँदैनौं कि नेपाल फेरीपनि लकडाउनको अवस्थामा जाओस । लकडाउन भन्दा अगाडी जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले कम हुने त एकातिर छदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दिर्घकालिन रुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाई लडिरहेको छ हामी पनि एउटा यो लडाईमा योद्दा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाई गर्न तयार छ ।’, उनले भने । छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे । उनले भने ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । तर एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन थप्नु हो । सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन ।’ अहिले विश्वभर ८१ प्रकृतिका खोप विकशित भइरहेको र त्यस मध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको बताए । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड-१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि शुरु हुने पनि उनले बताए ।
जनस्वास्थ्यको मापदण्ड अपनाउनुस्, आतङ्कित भने नहुनुस्ः स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै उनले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सर्तकता र सावधानी आवश्यक भए पनि आतङ्कित भने नहुन सबैसगँ आग्रह गरे । पछिल्लो २४ घण्टामा चार हजार ५३६ को परीक्षण गरेकामा २६७ को नतिजा पोजेटिभ हुने परिस्थितिले प्रभावित हुने क्रम बढदै गएको स्पष्ट हुन्छ भन्दै मन्त्री त्रिपाठीले सङ्क्रमण रोकथामका लागि नीतिगत र कानूनी व्यवस्था यथार्थरुपमा अवलम्बन गरिएको बताए । कोरोनाबाट आइतबारसम्म तीन हजार ३२ ले ज्यान गुमाएको र मृत्यदर १.१ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो । गत कात्तिकको दोस्रो सातामा सङ्क्रमणको दर सबैभन्दा उच्च रहेकामा त्यसपछि घटेको तथा पछिल्ला केही दिनमा बढेको हुँदा जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक रहेको उनले बताए । आगामी असार मसान्तसम्ममा ६० लाख भन्दाबढी जनतालाई खोप प्रदान गरिसक्ने योजना रहेको मन्त्री त्रिपाठीले जानकारी दिए । कोभिड-१९ सङ्क्रमण रोकथामका लागि औषधि व्यवस्थापन र रोकथाम लगायतका सबै खर्चमा हालसम्म पाँच अर्ब १७ करोड रुपैयाँ खर्च भएको तथा आगामी दिनमा औषधिलगायतका लागि ४८ अर्ब बजेट सुरक्षित राखिएको उनले जानकारी दिए । महामारी सङ्क्रमण रोकथाम गर्ने सन्दर्भमा चार लाखभन्दा बढी व्यक्तिलाई विगतमा क्वारेन्टिनमा राखिएको तथा सङ्क्रमण रोकथाममा प्रदेश र स्थानीय तहबाट राम्रो भूमिका निर्वाह भएको जानकारी दिइयो । हाल मुलुकमा ४८ स्थानमा सरकारी र ३६ गैरसरकारी स्थास्थ्य केन्द्रमा परीक्षण प्रयोगशाला स्थापित गरिसकिएको सो अवसरमा जानकारी दिइयो । खोप खरिद र प्राप्तिका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै उनले भारतबाट १० लाख र चीनबाट आठ लाख डोज खोप प्राप्त गरिसकेको बताए । सरकारले थप सुपथ मूल्यमा २० लाख डोज खरिद गरिसकेको तथा प्राप्त खोपलाई प्राथमिकताका आधारमा सर्वसाधारणलाई उपलब्ध हुने स्पष्ट पारे । उनले भने, “विश्वमै आप्रवासीलाई खोप प्रदान गर्ने नेपाल पहिलो मुलुक हो । पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणमा लिनु पर्ने खोप भण्डारणमा सुरक्षित छ ।” रासस