परिक्षण गरिएको १० प्रतिशतमा कोभिड
काठमाडौं । आइतबार नेपालमा पिसिआर परिक्षण गरिएको १० प्रतिशतमा कोरोना संक्रमण भेटिएको छ । आइतबार नेपालमा कुल ३१२५ परिक्षणमा ३०३ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार नेपालमा आइतबार कुल ३०३ जनामा पिसिआर मार्फत पोजेटिभ र ६४ जनामा एन्टिजेन्ट मार्फत परीक्षण गर्दा पोजेटिभ देखिएको हो । गौतमको अनुसार नेपालमा आइतबारसम्म आइसियुमा ८९ जना रहेका छन् जसमा सबैभन्दा बढी बाग्मतिमा ५२ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा १५ जना रहेका छन् जसमा बाग्मतिकै १४ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको डाटा अनुसार नेपालभर होम आइसोलेसनमा २५६० रहेका छन् भने आइसोलेसनमा ३९४ रहेका छन् । नेपालमा केही दिनयता कोरोना संक्रमण बढेसँगैं सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने, मास्क अनिवार्य लगाउनुपर्ने र गाडीहरुमा पनि भौतिक दुरी अनिवार्य कायम गर्ने सबैलाई निर्देशन दिएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीले विद्यालयहरु बन्द गरेर अनलाइन मार्फत कक्षा संचालन गर्नुपर्ने सुझाव दिएको छ ।
आइतबार नेपालभर ३०३ काेराेना संक्रमित थपिए, काठमाडाैं उपत्यकामा मात्रै १५४
काठमाडाैं । आइतबार नेपालभर ३०३ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पीसीआर परिक्षण गर्दा ३०३ जना संक्रमित थपिएका हुन् । यस्तै उपत्यकामा मात्रै १५४ जना संक्रमित भेटिएका छन् जसमा काठमाडाैंकाे १२८, ललितपुरकाे १५ र भक्तपुरकाे ११ जना रहेका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या २ हजार ९६१ पुगेकाे छ । नेपालमा आजसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज १४१ जना निकाे भएसँगैं हालसम्म २ लाख ७४ हजार २०७ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा एक जनाकाे काराेनाकाे कारण मृत्यु भएकाे छ ।
कोरोना भाइरसकाे उच्च जोखिममा सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । भारतमा यो रोगको सङ्क्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरसको जोखिम बढेको हो । जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रुपमा लगाउन, भीडभाड नगर्न र मास्क लगाएर मात्र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भएपनि मास्क लगाउने र भौतिक दूरी कायम राख्नमा अधिकांशबाट लापरवाही हुने गरेको छ । रोग फैलिन नदिन सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन् । प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षणको काम भइरहेको छ । हालसम्म पाँच हजार ७१ जनाको एन्टिजेन परीक्षण गरिएकामा १४० जनाको नतिजा ‘पोजेटिभ’ आएको जनाइएको छ । शनिबार मात्रै प्रदेशको गड्डाचौकी, गौरीफन्टा, जुलाघाट र पुलघाट (दार्चुला) सीमा नाका हुँदै एक हजार ९९१ जना नेपाल भित्रिएकामध्ये शङ्कास्पद ६९९ को एन्टिजेन परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण देखिएको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ । एन्टिजेनविधि कोरोना परीक्षण गर्ने पिसिआर विधि जस्तै मानिन्छ । कुन भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आउने व्यक्तिको पुनः पिसिआर पद्दतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउँछन् । एन्टिजेन विधिवाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने जनाइएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत् शङ्कास्पद व्यक्तिको एन्टिजेन गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सीमा नाकाबाट भित्रिनेलाई दश दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । यस प्रदेशमा गएको पुस महिनासम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको तथ्याङ्का स्वास्थ्य निर्देशनालयसँग छ । पुस महिनायता मृत्यु दर शून्य रहेकामा केही दिनअघि मात्र कञ्चनपुरमा एक जना सङ्क्रमितको मृत्यु भएको थियो । होम आइसोलेशन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । कोरोना भाइरसको सङक्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट एक लाख ३८ हजार ३८० को स्वास्थ्य परीक्षण गरिएकामा यीमध्ये १४ हजार १८५ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमितमध्ये १४ हजार ५४ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । रासस