प्रदेश १ द्वारा काेराेना राेकथामकाे लागि ४४ कराेड बजेट विनियाेजन
काठमाडाैं । प्रदेश १ ले काेराेना राेकथामकाे लागि ४४ कराेड बजेट विनियाेजन गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आर्थिक वर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्दै यस्ताे जानकारी दिएका हुन् । प्रदेश सरकारले प्रस्तुत गर्ने यो चौथो बजेट हो ।
राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई दियो ५० थान भेन्टीलेटर
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टीलेटर सहयोग हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम यु एस ए ले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका-नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा नेपाल ल्याई सोमवार अमेरिका-नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् । सहयोगस्वरुप प्रदान गरिएको भेन्टीलेटर स्वास्थ्य मन्त्रालयमार्फत् नेपालका विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ । सोमबार नै वीर अस्पताललाई १० वटा र सिभिल अस्पताललाई ५ वटा हस्तान्तरण गरिने बताइएको छ । भेन्टीलेटर बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिनेगरी आवश्यक पुर्वाधारको विकास गरिने बताए । उनले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने उल्लेख गर्दै नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गरे । ‘सबै सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउने, जेजे इक्युपमेन्ट चाहिने हो त्यो सबै थप्ने, कोही पनि बिरामी जतिसुकै क्रिटीकल बिरामी होस्, सरकारी अस्पतालमा आएपछि सामान छैन । बेड छैन । भेन्टीलेटर छैन । अथवा फलानो मेसिन बिग्रियो भनेर कोही फर्किनुपर्दैन । सबैलाई सरकारी अस्पतालमा आएपछि उपचार हुन्छ भन्ने कुराको ग्यारेन्टी हामी दिन सक्नेछौं। यस्ता स्वास्थ्य सामग्री जजसले दिनुहुन्छ, स्पोन्सरवालाको नाम/स्टिकर कहिल्यै नमेटिने गरी राख्ने’, उनले भने । स्वास्थ्य मन्त्रालयलाई दिइएको ५० थान भेन्टीलेटर ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अागामी असार २८ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याउने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन हुन लागेको हो । बरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ । डा. शर्माकाअनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरु मध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिने तयारी अन्तिम चरणमा पुगेको डा. शर्माले जानकारी दिइन् । यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत संचालन हुनेछ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा उपलब्ध छैन । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ । डा. शर्माले विगत १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसकेकी छन् । नर्भिकको उक्त सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ । बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।