थप ४०२० जना संक्रमणमुक्त, साढे ५ लाखले जिते काेराेना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ४ हजार २० जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमणमुक्त भएका सगैँ हालसम्म निको हुनेको संख्या ५ लाख ४९ हजार ५८२ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर तथा आरडीटी विधिबाट १३ हजार ३७ जनाको परिक्षण गरिएकोमा उक्त संक्रमित थपिएका हुन् । पीसीआर गरिएका मध्ये १९६३ र एन्टिजेन परीक्षण मार्फत ८०५ जनामा गरि कुल २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट देशभर थप ४४ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म  कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजा ६४१ पुगेको छ ।

आयरल्यान्डले नेपाललाई दियो ४०० अक्सिमिटरसहित विभिन्न स्वास्थ्य उपकरण

काठमाडौं । आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ । युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज(असार ४ गते) बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् । आज हस्तान्तरण गरिएका सामग्रीमा ७२ अक्सिजन कन्सन्ट्रेटर, ४४ थान भ्यान्टिलेटर, १२ थान बिटिएपी मेशिन, ४०० अक्सिमिटरलगायत उपकरण छन् । यसैगरी डेनमार्क सरकारले पनि सोही संयन्त्रमार्फत प्रदान गरेका स्वास्थ्य उपकरण शनिबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । डेनमार्कले २६ थान भेन्टिलेटरसहित अन्य स्वास्थ्य उपकरण प्रदान गरेको छ । त्यस अवसरमा मन्त्री तामाङले महामारीविरुद्ध लड्न समयमै स्वास्थ्य सामग्री उपलब्ध गराएकामा नेपाल सरकारका तर्फबाट दुवै देशका जनता र सरकारप्रति कृतज्ञता व्यक्त गरेका उक्त मन्त्रालयले जनाएको छ । रासस

महाकाली अस्पतालमा भौतिक पूर्वाधार निर्माण हुँदै, ३० करोडकाे लगानी

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरुयोजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो । अस्पतालमा ३० करोड रूपैयाँ लगानीमा प्रसूति सेवा र बालरोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ । शहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ । विभागको प्राविधिक टोलीले निर्माणस्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ । माटो परीक्षणका लागि विभागका इञ्जीनियर प्रवीण शाह र पुजन न्यौपाने बिहीबार अस्पताल आइपुगेका छन् । भवन निर्माणसम्बन्धी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा हरिकुमार श्रेष्ठसँग छलफल गरेका छन् । समितिका अध्यक्ष जोशीले अस्पतालको गुरुयोजनाअनुसार प्रसूति सेवा र बालरोग सेवाका लागि भवन बनाउन लागिएको बताए । ‘अस्पतालको गुरुयोजनाअनुसार सबै नयाँ संरचना बनाउने लक्ष्य छ । त्यसअनुसार यस वर्ष शहरी विकास तथा भवन निर्माण विभागले भवन बनाउन माटो परीक्षण गरेको छ”, उनले भने, “माटो परीक्षण गरिएको छ, यसपछि अन्य प्रक्रिया अघि बढेर कार्य शुरु हुन्छ ।’ महाकाली अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोकप्रसाद पाण्डेयको पालामा गुरुयोजना बनाइएको थियो । भीमदत्त नगरपालिकाको सहयोगमा अध्यक्ष पाण्डेयले गुरुयोजना बनाएका थिए । गुरुयोजनाअनुसार बन्ने प्रसूति र बालरोग सेवाको भवन चार तलाको हुनेछ । ती दुवैमा ५०/५० शय्या व्यवस्थापन गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए । ‘अहिले पुरानो साँघुरो भवनमा प्रसूति सेवा दिने गरिएको छ, बालरोगका लागि भवन अभाव नै छ’, उनले भने, ‘अब नयाँ भवन बनेपछि त्यसमा दुवैका ५०/५० शय्या व्यवस्थापन गर्ने लक्ष्य छ ।’ शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकले माटो परीक्षणको नतिजापछि भवन निर्माण प्रक्रिया ठेक्कामा गएर शुरु गरिने जानकारी दिएको अध्यक्ष जोशीले बताए । महाकाली अस्पतालका बासिन्दालाई स्वास्थ्य सेवा प्रवाहका लागि चार दशकअघि महाकाली अस्पताल स्थापना गरिएको थियो । प्रविधिमैत्री बन्दै शुक्लाफाँटाको कोभिड अस्पताल शुक्लाफाँटा नगरपालिका-४ मा सञ्चालना रहेको कोभिड अस्पताल प्रविधिमैत्री भएको छ । कोरोनाका गम्भीर बिरामीको स्वास्थ्य परीक्षणका लागि आवश्यक मेसिन अस्पतालमा उपलब्ध गरिएका छन् । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीका लागि अक्सिजनसहित एक्सरे, इसिजीलगायतका मेसिनको व्यवस्था छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट अस्पतालका लागि आवश्यक मेसिन उपलब्ध गराइएका हुन् । ‘मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले भने, ‘धेरै पहलपछि मेसिन ल्याउन सकेका छौं, जनशक्तिको पनि छिट्टै व्यवस्था गर्छौं।’ अल्ट्रासाउण्ड मेसिनको समेत माग गरिएको उल्लेख गर्दै उनले केही दिनभित्रै सो मेसिन उपलब्ध गराइने जानकारी प्राप्त भएको बताए । नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा निःशुल्क उपचारसँगै औषधि र चित्कसकीय सेवासमेत उपलब्ध गराउँदै आएको छ । ‘अस्पतालका सबै सेवा निःशुल्क गरेका छौं’, नगरप्रमुख दिलबहादुर ऐरले भने, ‘कोरोनाका बिरामीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म पुर्याउन लागि निःशुल्क एम्बुलेन्ससँगै बजारमा महङ्गोमा पाइने औषधि आवश्यकताका आधारमा निःशुल्क उपलब्ध गराइँदै आएको छ ।’ कोभिड अस्पताल १५ शय्याको छ । अस्पतालमा २४सै घण्टा सेवा दिने व्यवस्था गरिएको छ । अस्पतालबाट हालसम्म ५५ जना बढीलाई सेवा दिइएको छ । अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्करूपमा पिसिआर जाँचका लागि नमूना सङ्कलन गर्ने कार्यसँगै अवस्था गम्भीर रहेका बिरामीको एन्टिजेनबाट समेत परीक्षण गर्ने व्यवस्था गरिएको छ । अस्पताललाई अझै व्यवस्थित बनाउनका लागि कार्य अगाडि बढाइएको छ । कोभिड अस्पताल सञ्चालनपछि स्थानीय बासिन्दाले सहजरूपमा सेवा पाएका छन् । रासस