हेटौँडा उपमहानगरपालिकाद्वारा मेसिन किन्न आँखा अस्पताललाई १० लाख सहयोग
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । आज उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेशिन (स्लिपल्यान्ड) खरीद गर्नका लागि १० लाख हस्तान्तरण गरेका हुन् । अस्पतालमा मेशिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको र अस्पतालमा मेशिन अभावका कारण बिरामी बिहानदेखि लाइनमा बस्नुपर्ने बाध्यतालाई दृष्टिगत गरेर सो रकम दिइएको उपमहानगरपालिका प्रमुख महतले बताए । यसैगरी उपमहानगरपालिकाको उक्त सहयोग रकमले मेशिन खरीद गरी बिरामीको आँखा परीक्षणलाई प्रभावकारी र सहज हुने अस्पतालले जनाएको छ । अस्पतालले मकवानपुरसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहतलगायत विभिन्न जिल्ला तथा भारतबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन् । उपमहानगरपालिकाको वार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो ।
शनिबार ३ हजार ६६० जनाले जिते काेराेना
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ६६० जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ७ हजार १० जनाको पिसिआर र ४ हजार ६८६ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८८ जना र एन्टीजेटमाफर्त ७१३ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ६७५ पुगेको छ ।
बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप
बैतडी । बैतडीमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान कार्यक्रमअन्तर्गत दुई हजार ९१४ ज्येष्ठ नागरिकले सो खोप लगाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई तोकिएको भएपनि अन्य उमेर समूहकाले पनि खोप लगाएका छन् । जिल्लाका १० वटै स्थानीय तहका वडाहरुमा उक्त खोप लगाउने अभियान सञ्चालन गरिएको थियो । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ५६५ जनाले खोप लगाएका छन् । यस्तै पाटन नगरपालिकामा ४१३, पुर्चौंडी नगरपालिकामा ३२५, मेलौली नगरपालिकामा २४२ र डिलाशैनी गाउँपालिकामा २५८, सिगास गाउँपालिकामा २८७, दोगडाकेदार गाउँपालिकामा २७०, शिवनाथ गाउँपालिकामा २२९, सुर्नया गाउँपालिकामा २२१ र पञ्चेश्वर गाउँपालिकामा १०८ जनाले खोप लगाएका छन् । खोप अभियानका लागि सङ्घीय सरकारले जिल्लामा ३ हजार ७८० मात्रा खोप पठाएको थियो । जिल्लामा ८४ वटा खोप केन्द्रमार्फत पहिलो डोज दिइएको छ । खोपको दोश्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ । भेरोसेल खोपको दोश्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । उनले भने, ‘पहिलो मात्रा लगाएकालाई अनिवार्य रुपमा दोश्रो मात्रा मौज्दात राखेर मात्रै खोप दिएका हौं ।’ जिल्लामा ३ हजार ४५५ जनालाई पहिलो डोज दिने लक्ष्य रहेकोमा ८४ प्रतिशत अर्थात २ हजार ९१४ जनालाई मात्रै खोप दिइएको हो । लगातारको वर्षा, भगौलिक विकटता र चेतनाको अभावले गर्दा लक्ष्यभन्दा कम नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस