जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु
काठमाडाैं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालको सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो । उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । ‘अस्पतालको सेवा विस्तार गर्ने क्रममा थाइराइड उपचार सुरु गरेका छौँ, यसले तनहुँका अतिरिक्त आसपासका सर्वसाधारणलाई पनि सहज हुनेछ’ उनले भने । यहाँ थाइराइड परीक्षण नहुँदा सर्वसाधारण पोखरासम्म जानुपर्ने बाध्यता थियो । उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएपछि तनहुँसँगै छिमेकी स्याङ्जा र पाल्पाका केही भागका सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । थाइराइड हुँदा कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिलामा महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुनेलगायतका लक्षण देखिने चिकित्सक बताउँछन् । केन्द्रमा केही दिन अगाडिमात्रै शवगृह पनि सञ्चालनमा आएको छ । शवगृहमा मोइस्चर चेम्बर मेसिन जडान गरिएको छ । उक्त शवगृहमा चार शव राख्ने क्षमता रहेको छ । शवगृह नहुँदा शव व्यवस्थापनका लागि सकस हुँदै आएको थियो । केन्द्रले नियमितरूपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताइन्छ । केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नीलगायतको शल्यक्रिया सेवा दिइरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आएकाे छन् । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सहज भएको छ । अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनेशनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ । पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ । अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । रासस
टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले सेवा पाए
कैलाली । कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालमा गत वर्ष १९ र चालु वर्षको अहिलेसम्म २७ महिलाले उपचार सेवा लिएका छन् । अस्पतालमा उपचारमा आउनेमा बालिकादेखि ज्येष्ठ नागरिक महिलासम्म छन् । अस्पतालमा हिंसामा परेर उपचारमा आउनेमा बलात्कार तथा यौनजन्य हिंसा र कुटपिटका घटनामा परेका बढी आउने गरेका टीकापुर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत तथा ओसिएमसीका संयोजक कलावती तिमिल्सिनाले जानकारी दिइन्। ‘नौ वर्षमाथिका बालिका उपचारमा आएका छन् । हिंसामा परेर उपचारमा आउनेमा अधिकांश बलात्कार तथा यौनजन्य हिंसामा परेका छन्’, उनले भनिन्, ‘त्यसबाहेक श्रीमान्ले पिटेर चोटपटक लागेका बढी आएका छन् । हिंसामा परेका मानसिकरूपमा समेत कमजोर भएका हुन्छन् ।’ विसं २०६९ देखि सुरु भएको सो कार्यक्रम हाल ७७ जिल्लाको ८८ अस्पतालमा विस्तार भइसकेको छ । ओसिएमसी कार्यक्रम लागू भएको १० वर्ष पुगेको छ । अस्पतालमा यो कार्यक्रम सञ्चालन भएपछि हिंसापीडितलाई उपचार र न्याय लिन सहज भएको स्वास्थ्यकर्मी नै बताउँछन् । टीकापुर अस्पतालमा विसं २०७८ फागुनबाट ओसिएमस सञ्चालनमा आएको हो । केन्द्र सञ्चालनमा आएपछि हिंसापीडितलाई छुट्टै राखेर उपचार गर्न सहज भएको छ । ओसिएमसीका संयोजक तिमिल्सिना महिला आफ्ना खुट्टामा नउभिएका वा आत्मनिर्भर नभएका कारण हिंसा सहन बाध्य भएको उनी बताउछिन् । ‘बालिकामाथि यौनजन्य हिंसा हुनुमा समाजमा आपराधिक मानसिकता भएकाहरू छन् भन्ने बुझाउँछ’, उनी भन्छिन्, ‘१९ देखि ४९ वर्ष उमेर समूहका महिला बढी हिंसामा परिरहेको तथ्याङ्कले देखाएकाले महिला आर्थिकरूपमा सक्षम र आत्मनिर्भर नभएकाले हिंसामा परिरहेका छन् भन्ने लाग्छ ।’ ओसिएमसी भनेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हो । लैङ्गिक हिंसामा परेका व्यक्ति अस्पताल आएपछि उनीहरूलाई चाहिने सबै सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराइन्छ । उपचार तथा परामर्शसम्बन्धी अधिकांश सेवा यहाँ छ । यहाँ उपलब्ध नभएका सेवाका लागि भने अन्यत्र अस्पतालमा सिफारिस गर्नुपर्ने हुन्छ । टीकापुर अस्पतालले यहाँ नभएका सेवाका लागि हिंसापीडित महिलालाई धनगढी सेती अञ्चल अस्पताल पठाउने गरेको छ । अस्पतालले स्वास्थ्योपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय कानुनी सेवा, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना केन्द्र निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा सञ्चालनमा रहेको ओसिएमसीमा हिंसापीडितले सेवा पाउने भएपछि प्रहरीलाई समेत सहज भएको छ । हिंसापीडितलाई उद्धार गरी उपचारमा ल्याउँदा विगतमा पीडित राख्ने ठाउँकै अभाव हुन्थ्यो । अस्पतालमा ओसिएमी भएपछि अनुसन्धानमा समेत सहयोग पुगिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खड्का बताउछन् । अधिकारकर्मी योजना अधिकारीले ढिलै भए पनि टीकापुर अस्पतालमा पीडितलाई छुट्टै उपचार पाउने व्यवस्था हुँदा राहत भएको बताइन् । ‘विगतमा हिंसापीडितलाई उपचार, कानुनी परामर्शलगायतका सेवा पाउन कठिन थियो । सबै बिरामीले सेवा लिइरहेकै ठाउँमा उपचार हुन्थ्यो’, उनले भनिन्, ‘हाल छुट्टै, एकान्त र सुरक्षित ठाउँमा ओसिएमसी स्थापना गरिएको छ । त्यहाँ सबै व्यवस्था छ । यसले राहत भएको छ ।’ रासस
आज देशभर आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द
काठमाडौं । आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द हुने हुने भएको छन् । नेपाल चिकित्सक संघले आज (आईतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो । राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहसहित अन्य डाक्टरहरुमाथि प्रहरीले लाठिचार्ज गरी घाइते बनाएकोमा गम्भिर ध्यानाकर्षण भएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । भिआपीको सुरक्षाको नाममा चिकित्सकलाई घाइते बनाउने कार्य र हजारौं सेवाग्राहीहरुलाई अस्पतालसम्म पुग्न नदिएकोमा संघ स्तब्ध भएको जनाएको छ । ‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।