‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप बुस्टर डोज आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ गाभीले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए । उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन । उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताए । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए । गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो । छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले सङ्क्रमण घटेको छ । अहिले सङ्क्रमण पनि कम हुँदै गएको छ । मन्त्रालयका अनुसार मंगलबार देशभरिमा एकजना सङ्क्रमित र तीनजना सक्रिय सङ्क्रमित भेटिएका छन् । रासस

नेपाल चिकित्सक संघमा डा. कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल चिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न मतगणना अनुसार अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी भएका छन् । महासचिवमा डा. सन्जिब तिवारी विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा. विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह-कोषाध्यक्ष डा. विक्रान्त ढकाल र सह-सचिवमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका थिए । यसैगरी उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा. निरज कुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रशान्त भट्ट विजयी भएका छन्। सदस्यहरुमा डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र डा. स्मृती महत विजयी भएका छन्। संघको निर्वाचनमा छ हजार दुई सय ९१ जना मतदाताले मतदान गरेका थिए ।

कामना सेवा विकास बैंकले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।  बैंकले ‘कस्टमर्स डे’ को अवसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । बैंकले ‘कस्टमर्स डे’ को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक ‘कस्टमर्स डे’ को रुपमा समेत मनाउदै आएको छ । सोही अवसरमा २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।