बागलुङमा स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या

बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावहमा समस्या भएको छ । निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधुरै छ । विसं २०७२ कात्तिकमा रछिना एण्ड कन्स्ट्रक्सन प्रालिले १८ महिनामा सक्नेगरी भवन निर्माणको जिम्मा लिएको थियो । अहिले वर्षौं पुरानो जीर्ण भवनबाट सेवा प्रवाह हुँदैआएको छ । पटक–पटक म्याद थप गर्दा पनि भवन बनाउन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताए । निर्माण कम्पनीले हालसम्म ९० प्रतिशत काम सकेको जनाएको छ । कार्यालयले केही दिन अगाडि ठेक्का तोड्नका लागि सूचना प्रकाशन गरेको र निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने भन्दै पत्र पठाएको बस्ताकोटीले बताए । ‘ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भएको छैन’, उनले भने । भवनको लागत एक करोड ७० लाख ४८ हजार रहेको छ । स्वास्थ्यचौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासो गरे । एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्नेलगायत काम गरिँदैआएको छ । ‘पुरानो भवनमा पर्याप्त कोठा छैनन्, एकै पटक धेरै बिरामी आए  कहाँ जाँच गर्ने ?, कहाँ खोप लगाउने ?, कहाँ प्रसूति गराउने भन्ने समस्या हुन्छ’, उनले भने । रासस

हेल्थ एट होमको सद्भावना दुतमा कप्तान पारस खड्का

काठमाडौं । नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा दिदै आएको हेल्थ एट होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दुतका रूपमा आबद्ध बनेका छन् । खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले संद्भावना दुतका रूपमा आबद्ध गराउनु भएको हो । हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो । हेल्थ एट होमले पारसको परिवार, छरछिमेकी र साथीहरूको समेत हेरचाह गरेको थियो । अहिले पनि पारसले कम्पनीका अन्य सेवाहरू प्रयोग गर्दै आइरहरेका छन् । हिजोका दिनमा व्यक्तिगत रूपमा भेटघाट गर्न नसकेपनि अब निरन्तर सहकार्य गर्ने गरि अगाडी बढिएको कम्पनीको भनाई छ । आगामी दिनमा आवश्यकताको महशुस गर्दै सहज र आत्मविश्वासी ढंगबाट सहकार्य गर्दै अगाडी बढ्ने कम्पनीको भनाई छ । सद्भावना दुतका रुपमा आबद्ध गराइसकेपछि हेल्थ एट होमका संस्थापक विशाल ढकालले भने “हामी उहाँको समर्थन प्राप्त गर्न पाउँदा भाग्यशाली ठानेका छौँ । जब मैले सोधेँ की, यदि उहाँले हाम्रो लागि प्रशंसा र प्रवद्र्धन गर्न सक्नुहुन्छ ? उहाँ आफै आएर हाम्रो कामको समर्थन गर्नुभयो र हाम्रो टिमको लागि समय उपलब्ध गराइदिनुभयो । पारसले पारिश्रमिक वा बिना सम्झौता हाम्रो सद्भावना दूतको रूपमा यो भूमिका लिनुभएको छ । उहाँ दयालु र नम्र हुनुहुन्छ । ” । यो सुरूवात र आवद्धताका साथ हामी घरमा गरिने गुणस्तरिय सेवाको जागरुकतालाई अझ नयाँ ढंगले अगाडी बढाउने प्रयास गरिररहेका छौँ । हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

फागुन १८ देखि नेपाल मेडिकल एक्स्पो हुँदै

काठमाडौं । नेपाल मेडिकल तथा ल्याब एक्सपो हुने भएको छ । फागुन १८ देखि २० गतेसम्म नेपाल मेडिकल तथा ल्याब एक्सपो हुने भएको हो । एसडि प्रोमो मिडियाले इइपिसि भारत र च्यमसन नेपाल सँगको सहकार्यमा आयोजना गर्न थालेको नेपाल मेडिकल तथा ल्याब एक्सपोको सम्पूर्ण तयारी पूरा गरेको छ । एसडि प्रोमो मिडियाको आयोजनामा हुन गइरहेको यस एक्स्पो यही फागुन १८–२० मा भृकुटिमण्डपमा हुने छ । यस नेपाल मेडिकल तथा ल्याब एक्स्पो, सबैभन्दा ठुलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुनेछ । यस नवीन प्रदर्शनीमा नेपालबाट ३०० भन्दा बढि प्रदर्शकहरू आउनुका साथै भारत तथा अन्य देशहरूबाट ८०० भन्दा बढि ब्रान्डले १००० भन्दा धेरै उत्पादनहरू तथा सेवाहरु सार्वजनिक प्रदर्शनीमा राख्नेछन् जसले स्वास्थ्य तथा ल्याबरेटोरीका आवश्यकतालाई सम्बोधन गर्ने छ । यस छैटौँ संस्करणमा हेल्थ केयर, फर्मास्युटिकल तथा रिसर्च सेक्टरका लागि यि तिन दिन उपलब्धिमूलक हुनेछन् जहाँ थुप्रै व्यवसाहिक साझेदारी तथा उल्लेखनीय नेटवर्किङका अवसर प्रदान गरिनेछ । यस प्रदर्शनीले नयाँ कम्पनीहरूका लागि पुराना स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर दिनेछ । सबै कम्पनीले आफ्ना पछिल्ला तथा उत्कृष्ट उत्पादन प्रदर्शन गर्नका लागि सबै तयारी पूरा गरेका छन् । यस प्रदर्शनीका विगतका संस्करणहरूमा पनि अग्रणी ब्राण्डहरूले सहभागिता जनाइ आफ्ना उत्कृष्ट तथा नवीन उत्पादनहरूले सबैलाई प्रभावित गरेका थिए । यस प्रदर्शनीमा सहभागि हुने मेडिकल तथा ल्याबरेटोरीका प्रमुख ब्रान्डहरूमा स्कयानरे, एक्सिलेन्स, हिटाचि, कोनिका, सोनि, जिइ, फिलिप्स, थ्रि एम, स्कयारेर, बेन्क, विनब्याक, हेहिन, माइन्डरे, एड्यान, र्यानडोक्स, वोनडोक्स, अगापि, बिकन, होरिबा, एक्जिएस, जे मित्रा, मिअर्क, सिग्मा एल्डरिच,हन्ना, बेकम्यान कोल्टर, थेर्मो फिसर, अबान्टर, र्याडबाग, म्यागनस्, स्याटोरियस, एस्को, सेनजेन बायोसेन्स, बोरोसिल, डि–ल्याब, एन्यालिटिकन, रेटो लगायतका छन् । यस वर्षको मूल विषयवस्तु नयाँ नेपाल – हेल्थ केयर तथा ल्याबरेटोरीका पछिल्लो प्रविधि तथा उत्पादन अपनाएर नवीन तथा उत्कृष्ट विधि प्रयोग गर्नु हो । यस एक्सपोको महत्वपूर्ण आधारशिला एस।डि प्रोमो मिडियाको विज्ञता हो जसले सुपरिचित कम्पनी तथा ब्रान्डहरू सबैलाई एउटै साझा मञ्चमा जुटाएको छ । प्रत्येक संस्करणहरूले दक्षिण एसियाबाटै सकारात्मक प्रतिक्रिया पाउने गरेको छ । एसडि प्रोमो मिडियाका डाइरेक्टर राजेश शर्माले टिप्पणी गर्दै भने ‘यस छैटौँ संस्करणको घोषणा गर्न पाउँदा म उत्साहित छु । यस एक्स्पो पछिल्ला संस्करणहरू भन्दा पनि ठुलो हुनेछ जसमा ३०० भन्दा बढि प्रदर्शकहरू हुनेछन् ।  यस प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ जसले देशै भरिका विभिन्न ग्राहकहरूको माग सम्बोधन गर्नेछ । यसका साथै यस एक्सपोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउदै आफ्ना सृजनाहरू परिचित गराउनै सुनौलो अवसर दिनेछ ।’ मेडिकल तथा ल्याबको सबैभन्दा बृहत्तर प्रदर्शनी नेपाल मेडिकल तथा ल्याब एक्सपो हो जसले उल्लेखनीय बिक्रेता तथा क्रेताहरूलाई साझा हितका लागि एउटै मञ्चमा ल्याउने गर्दछ । यस प्रदर्शनी निर्णयकर्ता, म्यानेजर, नर्सिङहोम, फर्मास्युटिकल, डाइग्नोस्टिक , कलेज , विश्वविद्यालय, ब्लड बैङ्क, मेडिकल कलेज लगायतकाहरुलाई केन्द्रमा राख्दै आयोजना गर्न लागिएको हो ।