पर्वत जिल्ला अस्पतालमा शल्यक्रिया ठप्प
पर्वत । जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प बनेको छ। दक्ष जनशक्तिको अभावमा सबैखाले शल्यक्रिया सेवा अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । शल्यक्रियाका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभावका कारण सेवा प्रभावित बनेको हो । सेवा प्रभावित भएपछि सुत्केरी हुन नसकेका गर्भवती एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतका बिरामीलाई शल्यक्रियाका लागि पोखरातर्फ रिफर गर्ने गरिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ। शल्यक्रिया गर्ने एनेस्थेसियोलोजिस्ट चिकित्सक एक महिनाअघि सरुवा भएर छिमेकी जिल्ला बागलुङ गएपछि पर्वतमा महिनादिनदेखि बन्द भएको जिल्ला अस्पताल पर्वतका प्रमुख डा बुद्धिबहादुर थापाले बताए। उनले शल्यक्रिया गर्नुपर्ने प्रसूति सेवालाई तत्कालै अन्यत्र पठाउन बाध्य भएको र अन्य सेवामा भने चौबिसै घण्टा सेवा दिन सकेको स्वीकार गरे। शल्यक्रिया सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सक अन्यत्र सेवा सुविधा बढी पाएपछि गएको उनको भनाइ छ। जिल्लाभरि नै एक मात्र शल्यक्रिया सेवा शुरु गरेको जिल्ला अस्पताल पर्वतमा जिल्लाका पाँच गाउँपालिका तथा दुई नगरपालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गरेका छन् । दैनिकजसो एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मासिक कम्तीमा पाँचदेखि सातजना गर्भवतीलाई शल्यक्रियामार्फत सुत्केरी गराएकोमा त्यो सेवा रोकिएपछि बिरामीले सास्ती खेप्नुपरेको छ । शल्यक्रिया सेवा शुरु भएको जानकारीको प्रचार गरिएपनि बन्द भएको जानकारी कसैलाई पनि दिइएको छैन। करार सेवाका लागि पुनः आवश्यकता खुलाउने तयारी भएकाले सेवा नभएको जानकारी नगराइएको डा थापाले बताए। ब्लड बैंकको समेत अभाव भएकाले शल्यक्रिया नियमित सञ्चालनमा समस्या छ । सम्पर्कमा रहने व्यक्तिबाट तत्कालै रगत दिने सर्तमा मात्र शल्यक्रिया सेवा गरिएको भए पनि एक महिनादेखि सेवा रोकिएपछि रगत दिने व्यक्ति पनि सम्पर्कमा राख्न नसकिएको उनको भनाइ छ। जिल्ला अस्पताल पर्वतले बिरामीलाई दिने सेवामा समेत गुनासो आउने गरेको छ । शल्यक्रिया सेवा शुरु भएपछि अहिलेसम्म ३५ भन्दा बढीले प्रसूति सेवा लिएको तथ्यांक अस्पतालमा छ। रासस
रजस्वला हुँदा छुट्टी दिन भन्दै भारतको सर्वोच्च अदालतमा निवेदन
एजेन्सी । महिलालाई रजस्वला हुँदा प्रत्येक महिना सार्वजनिक बिदा दिन माग गर्दै भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यही फागुन २४ गते उक्त मुद्दामाथि सुनुवाई हुँदैछ । अधिवक्ता शैलेन्द्रमणि त्रिपाठीले दायर गरेको निवेदनमा महिनावारी समस्या भएका महिलालाई बिदा दिने नियम बनाउन राज्य सरकारलाई निर्देशन दिन सर्वोच्च अदालसमक्ष माग गरिएको छ । सर्वोच्चमा दायर गरिएको मुद्दामा युनिभर्सिटी कलेज अफ लन्डनले गरेको एक अध्ययनलाई आधार बनाइएको छ । जसमा भनिएको छ कि महिनावारीको बेला महिलाहरुलाई धेरै दुख्ने गर्छ । महिनावारीको दुखाइ हृदयाघातको दुखाइ जस्तै हो। जसका कारण कामदार महिलाको दक्षतामा असर परेको छ । सर्वोच्चमा दायर गरिएको निवेदनमा भारतको मातृत्व लाभ ऐन, १९६१ को दफा १४ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिन अदालतलाई अनुरोध गरिएको छ । निवेदनमा छात्रा र कामदार महिलालाई महिनावारीको दुखाईका लागि बिदाको माग गरिएको छ । यस ऐनको व्यवस्था कार्यान्वयन गर्न पदाधिकारी नियुक्तिको पनि सुनिश्चितता हुनुपर्ने निवेदनमा भनिएको छ । साथै उक्त निवेदनमा बिहारका महिला कर्मचारीहरूलाई दिइएको बिदा अवधिबारे पनि उल्लेख गरिएको छ। बिहारमा १९९२ को नीति अन्तर्गत महिला कर्मचारीहरूलाई विशेष महिनावारी बिदा प्रदान गर्ने गरिन्छ । महिलालाई महिनावारीको दुखाइ वा महिनावारीको बिदा दिन अस्वीकार गर्नु संविधानको धारा १४ बमोजिम समानता र मर्यादाको जीवनयापन गर्ने मौलिक संवैधानिक अधिकारको हनन हुने निवेदनमा उल्लेख गरिएको छ । विश्वमा बेलायत, चीन, जापान, ताइवान, इन्डोनेसिया, दक्षिण कोरिया, स्पेन र जाम्बियामा महिलालाई महिनावारीको बेला हरेक महिना ३ दिन बिदा दिने गरिन्छ । दैनिक भास्करबाट ।
जुम्लाको पातारासीमा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने
जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । स्वास्थ्योपचारमा राहत होस् भनेर अध्यक्ष–उपाध्यक्ष कार्यक्रममा छुट्याएको बजेटबाट पातारासीका सबै नागरिकको स्वास्थ्य बीमा गर्न हिउँदे गाउँसभाबाट पारितसमेत गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताए । नागरिकको स्वास्थ्य बीमासहित गाउँपालिकाबाट पाँच वर्षमा दुई जनालाई निःशुल्क एमबिबिएस अध्ययन गर्न आर्थिक सहयोग गर्ने नीतिअनुसार एक जनालाई पहिलो वर्ष सात लाख रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाले जानकारी दिए । वडा नं ४ निवासी नवीन रेउलेलाई एमबिबिएस अध्ययनका लागि पालिकाले अहिले छात्रवृत्ति दिएको छ। रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् । यस्तै गाउँपालिकाले आफ्नो अर्धवार्षिक समीक्षामा विश्वको अग्लो धान फल्ने छुमचौरमा धान उत्पादन बढाउने सङ्घीय सरकारको योजनालाई निरन्तरता दिन पहल भइरहेको जनाएको छ । पातारासीकै उच्च स्थान लोटचौरमा खेलकुद तालिम केन्द्रका लागि ५० लाख रुपैयाँ गाउँपालिकाको पहलमा सङ्घीय सरकारले विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । रासस