‘बुस्टर डोज’ लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए । उनका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकालाई बुस्टर मात्रा लगाउन भनिएको छ । पचपन्न वर्षभन्दा माथिका उमेर समूह, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षभन्दा माथिका (दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका) लाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएकालाई पनि खोप लगाउन भनिएको छ । यस्तै कोभिड–१९ को सङ्क्रमण भएकाले पनि सङ्क्रमण भएको एक महिनापछि बुस्टर डोज लगाउन सक्ने जनाइएको छ । यसअघि स्वास्थ्य कार्यालय काठमाडौँको समन्वयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पतालबाट बुस्टर डोजको खोप लगाइरहेको छ । जर्मन सरकारले उपलब्ध गराएको बुस्टर डोजका लागि मात्र प्रयोग हुने ‘बाइभ्यालेन्ट’ खोप करिब १५ लाख मात्रा खोप नेपाल आएको छ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा बुस्टर डोजको खोप लगाउन जान आग्रह गरेको छ ।
मार्क इन्टरनेशनल किड्नी सेन्टरले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै
काठमाडौं । मार्क इन्टरनेशनल किड्नी सेन्टरले चौथो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी सेन्टरले वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रमको विषयमा जानकारी दिएको हो । सेन्टरले आज विहान वाकाथन सम्पन्न गरेको छ भने सेन्टरमा आज र भोली निःशुल्क मृगौला परीक्षण कार्यक्रम पनि राखेको छ । त्यस्तै २७ गते नारायणचौरमा वृहत स्वास्थ्य शिविर सहित रक्तदान कार्यक्रम पनि आयोजना गरिने सेन्टरले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै सेन्टरका सञ्चालक तथा नेफ्रोलेजिस्ट डा. अर्चन शमशेर राणाले मृगौला रोग लागिसकेपछि भन्दापनि रोग लाग्नु अगाडिकै सतकर्ता महत्वपूर्ण हुने बताएका थिए । उनले नेपालमा हरेक वर्ष मृगौलाका तीन हजार रोगी थपिने गरेकोमा पाँच सय जतिको मात्रै ट्रान्सप्लान्ट हुने गरेको बताएका थिए । नेपालमा डाइलोसिस गर्नेहरु मध्ये ८० प्रतिशत भन्दा धेरै ४० वर्ष भन्दा मुनिका भएको र विकसित देशहरुमा ७० वर्ष माथिका बढी हुने गरेको डा. राणाले बताएका थिए । नेपालमा देखिएको मृगौलाको ९० प्रतिशत समस्या सचेतनाले रोक्न सकिने उनको दाबी छ ।
पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा बिस्तार गर्ने बताएका छन् । बुधबार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाललले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा बिस्तार गरिने बताए । उनले पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिने बताए । उनले महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख गरे । प्रधानमनत्री दाहालले सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने पनि बताए । त्यसैगरी प्रधानमन्त्री दाहालले विदेशमा समस्यामा परेका नेपाली श्रमिक महिलाहरूका बारेमा राज्यले विशेष संयन्त्र निर्माण गर्दै उनीहरूको समस्या समाधान गर्ने बताए । निजी क्षेत्रमा कार्यरत महिलाहरुलाई समेत अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने नीतिलाई कडाईका साथ लागु गरिने उनले स्पष्ट पारे । उनले भने, ‘सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा बिस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ । त्यसैले यो विषय अन्ततः समृद्ध तथा आत्मनिर्भर नेपालको निर्माणसहित समाजवादोन्मुख राज्य स्थापनासँग अभिन्नरूपमा गाँसिएकोले संविधानले परिकल्पना गरेअनुरूप सामाजिक न्यायसहितको समृद्धिको दिशामा कटिवद्ध भएर लाग्ने संकल्प तपाई हामी सबैले लिनुपर्ने देखिन्छ ।’ प्रधानमन्त्री दाहालले सूचना, प्रविधिमा महिलाको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महिलाकेन्द्रित प्रविधि तथा उपयोगको नीतिको विकास र यसका लागि राज्यका तर्फबाट लगानीमा जोड दिइने बताए । त्यस्तै शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने पनि उनले बताए । उनले भने, ‘पछिल्लो समयमा सूचना तथा प्रविधिमा भएको विकासले समाजका सबै तह र तप्का प्रभावित बनेका छन् । महिला अधिकारको प्रत्याभुतिका लागि सूचना तथा प्रविधिमा महिलाको पहुँच र स्वामित्व अनिवार्य मुद्दा बनेको छ । शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने, महिला उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानूनी तथा अन्य व्यवहारिक जटिलता अन्त्यका लागि महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण, हिंसापीडित महिलाहरूलाई सुरक्षा, संरक्षण तथा रोजगारी स्थापना गर्ने गरी पुनस्र्थापना तथा रोजगार केन्द्र स्थापना गर्ने जस्ता कामहरू अघि बढाइनेछ ।’ प्रधानमन्त्री दाहालले महिला उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानूनी र व्यवहारिक जटिलता अन्त्य गर्न महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण गर्ने बताए । त्यस्तै हिंसापीडित महिलाहरूलाई सुरक्षा, संरक्षण तथा रोजगारी स्थापना गर्ने गरी पुनस्र्थापना तथा रोजगार केन्द्र स्थापना गर्ने लगायतका काम अगाडी बढाइने उनको भनाई छ ।