अब धुलिखेल अस्पतालमा मोबाइल एपबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने
काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप संचालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्नेछन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने अस्पतालले जनाएकाे छ । यसका साथै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदान गर्ने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ ।
३६ महिना सम्मका बालबालिकाले खाने पूरक खानामा सरकारले तोक्यो मापदण्ड, कस्तो हुनुपर्ने ?
काठमाडौं । सरकारले बालबालिकाले खाने खानामा कायम हुनुपर्ने गुणस्तर सम्बन्धी मापदण्ड राजपत्रमार्फत प्रकाशित गरेको छ । पुरानो मापदण्डमा हेरफेर गरी नयाँ मापदण्ड थप गरिएको राजपत्रमा उल्लेख गरिएको छ । मापदण्ड ६ देखि ३६ महिनासम्मका शिशु तथा बालबालिकाहरुको लागि लागु हुने बताइएको छ । सूचना अनुसार अन्नमा आधारित पूरक बाल आहारहरु बनाउँदा राम्रोसँग सफा गरेर बोक्रा फालेर बनाउन सकिन्छ । जसमा भटमास, बदाम, गेडागुडी, तील, सूर्यमुखीको दाना, सुख्खा फलफूल तथा तरकारी, घिउ र धुलो दुधलाई प्रयोग गर्न सकिन्छ । तर, यसरी तयार गरिएको पुरक आहारमा २५ प्रतिशत अन्नको मात्रा हुनुपर्नेछ । पुरक आहारमा कुनै रंग र स्वाद मिसाउन पाईंदैन । जसमा जलांश ८.०, चिल्लो पदार्थ १३.०, प्रोटिन कम्तिमा १५.०, कार्बोहाइड्रेट बढीमा ५६.०, क्रुड फाइबर बढीमा ३.०, कुल भष्म ५.०, डाइल्युट हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भष्म बढीमा ०.१, क्याल्सियम १ सय ग्राममा ३ सय ६००, आइरन प्रतिसय ग्राममा ५.८ देखि ११.६, भिटामिन बि–१ प्रति सय ग्राममा ०.२५ देखि ०.५ र भिटामिन डि प्रति सय ग्राममा ४ देखि १२ मात्रै हुनुपर्नेछ । राजपत्रअनुसार प्रतिग्राम सुख्खा तौलको आधारमा पूरक खानामा ४ किलो क्यालोरी हुनुपर्छ । साथै सोडियमको मात्रा प्रति एक सय ग्राममा तीन सय मिलिग्राम भन्दा धेरै हुन नहुने मापदण्डमा व्यवस्था गरिएको छ । पूरक आहार निर्माण गर्दा थिकेनिङ एजेन्ट, इम्लिसफायर, एसिडिटी रेगुलेटर्स, एन्टि अक्सिडेन्ट्स, राइजिङ एजेन्ट, एन्टिकेकिङ एजेन्ट, प्याकेजिङ ग्यास, टक्सिन, हेभिमेटल र फ्लेवर्स अन्तर्गत पर्ने तत्वहरु प्रयोग गर्न पाइने तर सोको लागि तोकिएको मात्रा प्रयोग गर्नुपर्ने जनाइएको छ । साथै पुरक आहारमा शुक्ष्मजैविक मापदण्डको विषय पनि शमावेश गरिएको छ । पूरक आहारको प्याकेजिङ र लेबलिङ गर्दा सिलबन्दी प्याकेजिङ गर्नुपर्ने, उपभोग मात्रा र विधि उल्लेख गर्नुपर्ने र लेबलमा स्तनपानलाई निरुत्साहित गर्ने कुनै पनि प्रकारको सन्देश, तस्बिर र आकृति राख्न नपाइने मापदण्डमा व्यवस्था गरिएको छ । मापदण्डमा बालबालिकाले खाने फलफूल, तरकारी, गेडागुडी, जामजेली, जुस, मासु, तेलजन्य खाद्यान्न, तेल, दुध, अण्डा लगायतका खाद्य वस्तुमा सिसा, तामा, आर्सेनिक, टीन, क्याडियम, पारो, क्रोमियम, निकेल लगायतका पदार्थहरुको मात्रा पनि तोकिएको छ । हेर्नुहोस् २०७९ सरकारले फागुन १ गते प्रकाशन गरेको राजपत्र
चितवनमा खुट्टाबाट निकालियो तीन किलोको ट्यूमर
चितवन । नवलपरासीका एक व्यक्तिको साप्रा (तिघ्रा) बाट तीन किलोको ट्यूमर निकालिएको छ । विगत पाँच वर्षदेखि बढ्दै गएको उक्त ट्यूमरको गत शुक्रबार शल्यक्रिया गरी निकालिएको हो । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का डा. नारायण बेलबासी नेतृत्वको चिकित्सक टोलीले ५९ वर्षिय ती पुरुषको साप्राबाट उक्त ट्यूमर निकालेको हो । डा. निश्चित श्रेष्ठ, डा. विनय तिमिल्सिना, एनेस्थेसियोलोजिष्ट डा. राजेश यादवसहितको टोलीले सफल शल्यक्रिया गरेको हो । शल्यक्रियामा संलग्न डा. निश्चल श्रेष्ठका अनुसार उक्त पुरुषको देब्रे साप्रोमा ठूलो ट्यूमर देखिएको थियो । आफूहरुले खुट्टामा यति ठूलो ट्यूमरको शल्यक्रिया गरेको यो पहिलो घटना भएको श्रेष्ठले बताए । प्रारम्भिक जाँचमा बोसोसको ट्यूमर देखिएको उनले जानकारी दिए । यस्ता खाले ट्यूमर बढ्दै गएपछि हेर्दा नराम्रो देखिने, दुख्दै जाने समस्या आउने उनले बताए । बिरामीको अवस्था सुधार हुँदै गएको उनले जानकारी दिएका छन् ।