वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा पाउने
सांकेतिक तस्बिर काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकता अनुसार सल्लाह, सुझाव र परामर्श दिनको लागि सो सेवा सञ्चालन गरिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते ‘टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको थियो । सोही कार्यविधिअनुसार आज विहान १० बजेबाट सो सेवा प्रारम्भ भएको बोर्डका सूचना अधिकारी राजन पौडेलले बताएका छन् । टेलिमेडिसिन सेवा लिन चाहनेले सार्वजनिक विदाका दिनमा बाहेक उपलब्ध हुने जनाइएको छ । सेवाका लागि नेपाली श्रमिकहरुले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्स एप र इमो मार्फत कल गर्नुपर्ने हुन्छ । श्रमिकको कललाई टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर आवश्यक सुझाव तथा प्रेस्किृप्सन अनलाइनमार्फत दिने जनाइएको छ । साथै आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने सचिवालयले जनाएको छ । टेलिमेडिसिन सेवा बीर अस्पतालले उपलब्ध गराउने छ ।
भरतपुर अस्पताल न्याम्स अन्तर्गतको शिक्षण अस्पताल बन्ने
काठमाडौं । चितवनको भरतपुर अस्पताललाई अब चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत आंगिक शिक्षण अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ । चैत १० गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत बताएकी छन् । अहिलेसम्म न्याम्स अन्तर्गत १६ वटा अस्पताल सञ्चालनमा रहेका छन्, मन्त्रिपरिषदको सो निर्णयसँगै न्याम्समा आवद्ध अस्पतालको संख्या १७ वटा पुग्छ । त्यस्तै, भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने निर्णयसँगै सरकारी शिक्षण अस्पतालको संख्या पनि थपिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख दाहाल र भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा. भोजराज अधिकारीले आफूहरुको १२ वर्षदेखिको सपना साकार भएको प्रतिक्रिया दिएका छन् ।
रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित
निसी । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनाबाट लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको छ । निसीखोला गाउँपालिका–१ किटेनीका वीरबहादुर विक फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे । गाउँपालिकाले फागुनबाट लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेमात्र उपचार हुने बतायो । उनले उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्किए । उनी मात्र होइन, यतिबेला निसीखोला गाउँपालिकाले फागुनबाट लागू हुने गरी बीमा गरेका एक हजार आठ सय ३८ जना सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाले बीमा गरिदिए पनि बीमा रकम समयमै भुक्तानी नगरेका कारण उनीहरु सेवा लिनबाट बञ्चित भएका हुन् । गत असारमा सम्पन्न दशौँ गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । सोहीअनुसार गाउँपालिकाले पाँच हजार चार सय घरधुरीका लागि राजस्व बाँडफाँटबाट दुई करोड रुपैयाँ विनियोजन गरेको थियो । पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण सङ्कलन गरिएको थियो । जसमध्येबाट गाउँपालिकाले फागुनबाट लागू हुने गरी एक हजार आठ सय ३८ जनाको बीमा गरेको थियो । तर गाउँपालिकाले हालसम्म पहिलो चरणको ६४ लाख रुपैयाँ बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधा लिनबाट बञ्चित भएका हुन् । सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँडबाट नागरिकको बीमा गर्ने निर्णय गरे पनि सङ्घ र प्रदेशबाट समयमै बजेट नआउँदा बीमा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरिदिएको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । सङ्घीय सरकारबाट केही दिन पहिले मात्र ५५ लाख रुपैयाँ रकम प्राप्त भएको एक हप्तामा एक करोड रुपैयाँ भुक्तानी गर्ने तयारी गरिसकेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले बताए । रासस