सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गरे । गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौंको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । सोही आधारमा गाउँपालिकाभरका चार सय बढीलाई अब पालिकाले निःशुल्क औषधि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । न्यूनतम एक हजार देखि बढीमा २० हजारसम्मको मासिक औषधि सेवन गर्ने बिरामी गाउँपालिकामा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए । रासस

एक क्वाइल लामखुट्टे धुप बाल्दा एक सय खिल्ली चुरोट बराबरको प्रदुषण

एजेन्सी । के तपाईलाई थाहा छ लामखुट्टेको धपाउने एक क्वाइल धुप बाल्दा १०० वटा चुरोटको खिल्ली बराबरको धुवाँ निकाल्छ। यो धुवाँले हाम्रो फोक्सोमा गम्भीर क्षति पुर्याउँछ । एक अनुसन्धानका अनुसार यदि तपाईले लामो समयसम्म यस्ता क्वाइलको धुवाँ सेवन गरिरहनुभएको छ भने तपाईको फोक्सोको क्यान्सर हुन सक्छ । चुरोट बाल्दा निस्कने २.५ पिएम बराबरकै धुवाँ क्वाइलले पनि फाल्ने गर्छ । यी क्वाइलहरु काठको धुलो, नरिवलको फाइबर पाउडर, चारकोल, डाई, डीडीटी र धेरै कीटनाशक रसायनहरू मिसाएर बनाइन्छ। यसमा मुख्य कुरा पाइरेथ्रिन रसायन प्रयोग गरिएको हुन्छ । कोठामा क्वाइल जलाउँदा लामखुट्टे बाहिर निस्कन्छ तर धुवाँ हामीले लिने साससँगै फोक्सोमा पुग्छ । यदि कसैले बन्द कोठामा आठ घण्टासम्म यी क्वाइलहरुको धुवाँ लिन्छ भने उसलाई क्यान्सर हुने खतरा धेरै हुन्छ ।

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । ‘स्वास्थ्य सेवा विभागका निर्देशक लगायतको टीमले अनुगमन गरेको छ’, अध्यक्ष भट्टले भने, ‘अर्को हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौं’, उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति माग गरेर अहिले तालिम गरिरहेको बताए । यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । ‘करिब रु एक करोडको लागतमा मेसिन खरिद गरेर अस्पतालमा तयारी अवस्थामा छ’, उनले भने, ‘तत्काललाई दुई चरणमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौ ।’ महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले अस्पतालमा सेवा सञ्चालनको तायरी भइरहेको बताए। ‘सङ्घीय सरकारबाट आएको बजेट कटौती पनि भयो विभागबाट अनुमति पाउन समेत ढिलाइ भयो’, डा भट्टले भने, ‘अहिले प्रदेश सरकारको पनि सहयोग मिलेको छ सेवा छिट्टै सुरु हुन्छ ।’ महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा समस्या झेल्नुपरेको यहाँका सेवाग्राहीको गुनासो छ । ‘धनगढीको सेती अस्पतालमा मात्रै डायलासिस हुन्छ त्यहा बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ’, स्थानीय गोपाल जोशीले भने, ‘हामीले बाध्य भएर उपचारका लागि भारत जानुपर्छ ।’ उनले महाकाली अस्पतालमा सेवा पाए यहाँका थुप्रै बिरामीलाई सहज हुने बताए। रासस ।