दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । फागुन ८ गतेदेखि गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया भएको हो । नेपालका प्रख्यात नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । चिकित्सक रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न रहेका थिए । शिविरमा २ हजार ४३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ । दुर्गम मानिने यस गाउँपालिकाका विभिन्न ठाउँमा आँखा जाँच तथा सामान्य उपचार सेवा सञ्चालन गरिएको थियो । गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिए । बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लाबुङले जानकारी दिए । जटिल समस्या देखिएका चार जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ । दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीयवासी भने खुसी भएका छन् ।
नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित
काठमाडौं । नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन् । एसोसिएशनको २३औं कार्यसमिति चयनको लागि शनिबार भएको निर्वाचनमा पन्त निर्वाचित भएका हुन् । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा अमृत गैरे, देवानन्द शाह र रोनक श्रेष्ठ निर्वाचित भएका छन् । संजिब शर्मा महासचिव, केदारप्रसाद शाह र विवेक श्रेष्ठ सचिव, गोपीनी राई कोशाध्यक्ष, निर्मलराज मरासैनी सहकोशाध्यक्ष र प्रचार सचिवमा अनिष श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा श्रृष्टी प्रजापति, मनोज भट्टराई र शौभाग्य डंगोल निर्वाचित भएका छन् ।
ग्रीनसिटी हस्पिटलले गर्यो ३० किलो तौल भएको ट्युमरको सफल अप्रेशन
काठमाडाैं । ग्रीनसिटी हस्पिटलले तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ । अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको हो । अस्पातलले आर्थिक रुपमा कमजोर रहेकी शेर्पालाई निःशुल्क अप्रेशन गरिदिएकाे हाे । अस्पतालले टयुमरको अप्रेशनको लागि पाँच लाख बढी खर्च गरेको र बाहिर अप्रेशन गर्नपरे आठ लाख बढी खर्च लाग्ने बताएको छ । अस्पतालले शेर्पाकाे जस्ताे जटिल प्रकृतिका रोगको अप्रेशनहरु निःशुल्क रुपमा गर्दै आएको छ । शेर्पाको अप्रेशन गर्ने अस्पतालकी डा. रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न चेकजाँच गरी अप्रेशन सफलतापूर्वक गर्न सफल भएको बताइन् । ‘अप्रेशन अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने,खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेशनपछि सामान्य अवस्थामा आएको छ,’ उनले भनिन् । अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।