नेपालमै कलेजो प्रत्यारोपण गर्न सक्षम भयौँ : डा. भण्डारी

काठमाडौं । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् । अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुख प्रा. डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ गते नेपाली चिकित्सकको टोलीले ४१ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । त्यसपछि नेपालमै नेपाली चिकित्सकले कलेजोको प्रत्यारोपण गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ । ‘हामी नेपालमै कलेज प्रत्यारोपणमा सक्षम भएका छौँ । नेपालमै कलेजो प्रत्यारोपणका लागि यो ऐतिहासिक र कोसेढुङ्गा हो’, उनले भने, ‘यसअघि हामी विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गर्दै आइरहेका थियौँ ।’ उनका अनुसार यसअघि अस्पतालमा कलेजो प्रत्यारोपण गर्न भारतीय चिकित्सकको सहयोग लिने गरिन्थ्यो । अस्पतालमा गरिएको यो कलेजो प्रत्यारोपण ११औँ सफल प्रयास हो । अस्पतालमा गत पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई ४० वर्षे श्रीमतीले कलेजो दान गरेका थिए । चिकित्सक डा भण्डारीले दुवैको स्वास्थ्य राम्रो रहेको बताए । उनका अनुसार कलेजोको सफल प्रत्यारोपण गरेका बिरामी अहिले स्वस्थ्य भई आजै बिहान डिस्चार्ज भएका छन् । उनकी श्रीमती भने १० दिनमा डिस्चार्ज भएकी थिइन् । वरिष्ठ कलेजो रोग विशेषज्ञ डा भण्डारीले ५० जना चिकित्सकसहितको टोलीले करिब १२ घण्टामा ती पुरुषमा कलेजो प्रत्यारोपण गरिएको बताए । अस्पतालमा कलेजो प्रत्यारोपणका लागि रु २५ देखि ३० लाख खर्च लाग्छ । विदेशमा भने कलेजो प्रत्यारोपण गर्न करिब  एक करोड रुपैयाँ लाग्छ । नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो । रासस

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै

कञ्चनपुर । उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ । व्यक्ति बिरामी मात्रै नभएर ज्यानसमेत जाने गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका कीटजन्य अधिकृत (कार्यक्रमका फोकल पर्सन)हेमराज जोशीले रोगलाई उपेक्षित गरेकै कारण बल्झिँदै व्यक्तिको ज्यान जाने गरेको बताए  । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको उपेक्षित उष्णप्रदेशीय रोगहरूको सूचीमा २१ रोगको समूह सूचीकृत गरिए पनि नेपालमा हालसम्म ११  रोगमात्रै पाइएको छ । यसमा डेङ्गु र चिकनगुनिया, रेबिज, ट्रकोमा (खस्रे रोग) कुष्ठरोग, कालाजार, टेनियासिस र न्यूरोसिस्टाइसर्कोसिस (फिते जुका), हात्तीपाइले, माटोबाट सर्ने जुका, इसेटोमाक्रोमोब्लास्टोमाइकोसिस, अन्य डिप माइकोसेस, सर्पदंश, लुतो र अन्य इक्टोपारासाइटलगायत छन् । ‘यस्ता रोगबाट विश्वमा एक अर्ब बढी मानिसलाई प्रत्येक वर्ष असर पर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ’, उनले भने, ‘नेपालमा पनि यी रोगको सङ्क्रमणबाट बर्सेनि लाखौँ व्यक्ति प्रभावित हुने गरेका छन्, सुदूरपश्चिममा यी रोगको सङ्क्रमण बर्सेनि झनै बढ्ने गरेको छ, रोग निदानका प्रयास पनि हुँदै आएका छन् ।’ यी रोग मुख्यतया पर्याप्त सरसफाइको कमी, रोग बाहक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरसँग नजिकको सम्पर्कमा रहने व्यक्तिसँगै गरिबीको रेखामुनि रहेका व्यक्ति बढी जोखिम रहने गरेको अधिकृत जोशीले बताए । ‘स्वास्थ्यसम्बन्धी विश्वव्यापी एजेण्डामा यी रोगबारे विरलै मात्र चर्चा हुने गरेको छ’, उनले भने, ‘यस क्षेत्रमा काम गर्नका लागि सीमित स्रोतसाधनमात्रै उपलब्ध हुन्छ, अध्ययन-अनुसन्धान कम हुने गरेकाले पनि यी रोगलाई उपेक्षित रोग भन्ने गरिन्छ ।’ उपेक्षित उष्णप्रदेशीय रोग समुदायमा सामाजिक बहिष्करणसँग जोडेर हेर्ने गरिने भएकाले सबैभन्दा बढी गरिबीको रेखामुनि रहेका व्यक्ति बढी प्रभावित हुने गरेको उनको भनाइ छ । उनका अनुसार केही उपेक्षित उष्णप्रदेशीय रोग जनस्वास्थ्य समस्याको रूपबाट निवारण हुँदै आएको छ भने केही निवारण र रोकथामको रणनीतिमा कार्य भइरहेको छ । नेपालले सन् २०१८ मा ट्रकोमा निवारण गरेको छ । यसको प्रमाणीकरण विश्व स्वास्थ्य सङ्गठनबाट भइसकेको छ । देशमा कालाजार सन् २०२६, हात्तीपाइले, कुष्ठरोग र रेबिजलाई सन् २०३० मा निवारण गर्ने लक्ष्य लिएको छ । कालाजार जनस्वास्थ्य समस्याको रूपमा निवारण गर्ने लक्ष्यअनुरूप जिल्ला तहमा प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कममा सङ्क्रमण पुर्‍याउने, कालाजारबाट हुने मृत्युलाई एक प्रतिशतमा झार्ने रणनीति तय गरिएको छ ।  पछिल्लो दुई दशकमा कालाजारका बिरामीको सङ्ख्या ९० प्रतिशतले कमी आएको अधिकृत जोशीको भनाइ छ । ‘अन्य जिल्लामा कालाजारको लक्ष्य प्राप्ति भए पनि कालीकोट जिल्लामा मात्रै निवारणको लक्ष्य प्राप्त गर्न सकिएको छैन’, उनले भने । कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा निवारण गर्ने, स्थानीय तहस्तरमा लगातार पाँच वर्षसम्म १५ वर्षमुनिका बालबालिकामा नयाँ सङ्क्रमणलाई शून्यमा पुर्‍याउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए । कुष्ठरोगलाई सन् २०१० मा राष्ट्रियस्तरबाट जनस्वास्थ्य समस्याको रूपमा घोषणा भएअनुसार आर्थिक वर्ष २०७९/८० मा राष्ट्रियस्तरमा शून्य दशमलव ८५ प्रिभ्यालेस दरसँगै दुई हजार पाँच सय २२ नयाँ रोगी पहिचान गरिएको उनले उल्लेख गरे। हात्तीपाइले रोग एन्टिजेनेमिया दुई प्रतिशतभन्दा कम र माइक्रोफिलरिया एक प्रतिशतभन्दा कम पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ । चौसठ्ठीवटा हात्तीपाइले एन्डेमिक जिल्लामध्ये आम औषधि सेवन सम्पन्न गरी ५३ वटा जिल्लामा सङ्क्रमणको प्रसारसम्बन्धी आम औषधि सेवन बन्द गरिएको छ । सात जिल्लामा आम औषधि सेवनको कार्य जारी रहेको छ । हात्तीपाइलेको रुग्णतासम्बन्धी ४९ जिल्लाबाट तथ्याङ्क सङ्कलन गरिएको छ । हालसम्म हात्तीपाइलेका कारणबाट ४१ हजार पाँच सय ३५ जनामा हाइड्रोसिल तथा गोडामा सुजनलगायतको शारीरिक समस्या देखा परेको फोकल पर्सन भट्टले बताए ।  डेङ्गु रोगको रोकथाम र नियन्त्रणको प्रयास हुँदै आएको छ । सन् २००४ मा डेङ्गुको पहिलो केस रिपोर्ट भएदेखि प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएका छन् । सन् २०२३ मा ७७ वटै जिल्लामा ५२ हजार बढी व्यक्तिमा डेङ्गुको सङ्क्रमण भई २० जनाको मृत्यु भएको निर्देशनालयले राखेको तथ्याङ्कमा उल्लेख गरिएको छ । “गत आवमा कुकुरको टोकाइबाट अस्पताल आउने बिरामीको सङ्ख्या एक लाखभन्दा बढी थियो’, तथ्याङ्कअनुसार कुकुरको टोकाइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पुर्‍याउने लक्ष्य लिइएको छ ।’ आव २०७९/८० मा १० जनाको रेबिजबाट मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको भए पनि बर्सेनि रेबिजबाट सय बढीको मृत्यु हुने गरेको अनुमान छ । सर्प दंशबाट आव २०७९/८० मा नौ हजार बढी व्यक्ति प्रभावित भएकामा जसमध्ये एक हजार दुई सय २३ जनालाई विषालु सर्पले डसेको थियो । देशभर एक सय १० वटा सर्पदंश उपचार केन्द्रमार्फत उपचार हुने गरेको छ । सन् २०१५ मा भएको सर्वेक्षणअनुसार भौगोलिक क्षेत्रका आधारमा १२ देखि ३४ प्रतिशत स्कुलमा अध्ययनरत विद्यार्थीमा माटोबाट सर्ने जुकाको सङ्क्रमण देखा परेको थियो । आव २०७९/०८० मा पाँच लाख ५० हजार जनामा जुकाको सङ्क्रमण देखिएको छ । रासस

१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गराउँदै कोशी प्रदेश सरकार

मोरङ । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क उपचार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अ‍ौपचारिक रूपमा बालबालिकाको निःशुल्क उपचार सेवाको सोमबार शुभारम्भ गरिन् । यो सेवा प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिमको औषधि प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको सचिव डा देवकोटाले बताइन् । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरु गरेको उनले जानकारी दिइन् ।