स्वास्थ्य क्षेत्रको मुख्य समस्या : जनसंख्याको अनुपातमा दरबन्दीकाे अभाव

काठमाडौं । पछिल्लो समय देशका केही अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि बिरामी आफन्तहरुले कुटपिट तथा दुव्र्यवहारका घट्ना घटाइरहेका  छन् । साेही विषयलाई लिएर चिकित्सकहरुले ओपिडी सेवा प्रभावित हुनेगरी राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । चिकित्सकहरुकै आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले शुक्रबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्याे। वैठकमा आन्दोलनकारी चिकित्सकदेखि सांसद र मन्त्रीहरुले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या जनसंख्याको अनुपातमा चिकित्सकको व्यवस्था नभएकै कारणले भएकाे बताएका छन् । वैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या दरबन्दीको व्यवस्थापन नगरी गर्न नसकिने बताए । उनले अहिलेकै दरबन्दी कायम राखेर देखिएका समस्या समाधान गर्न नसकिने समेत धारणा व्यक्त गरेका छन् । ‘दरबन्दी यही राखेर हामीले जे नीति, कानून बनाएपनि (चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई ईंगित गर्दै) हामीले यस्ता समस्या समाधान गर्न सक्दैनौं’, मन्त्री बस्नेतले भने । साथै उनले सरकारी बजेटबाट अस्पतालहरुमा दरबन्दी थप्ने कार्य गरेमा आफूले दातृ निकायहरुसँग सहयोग जुटाएर समेत प्रविधिको व्यवस्थापन गर्ने बताएका थिए । उनले अहिले तत्काल २९ हजार नर्सिङ कर्मचारीको आवश्यकता भएको समेत बताएका थिए । मन्त्री बस्नेतका अनुसार भएको चिकित्सकहरुको दरबन्दीमा पनि पहुँचको आधारमा धेरै चिकित्सकहरु राजधानी बस्ने र ग्रामिण क्षेत्रमा नजाने समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो आंकडाअनुसार अहिले आठ सय जना भन्दा धेरै डाक्टरहरु काजमा रहेर काम गरिरहेका छन् । तर, चिकित्सकहरुले सिर्जना गरेको विकृतिको विषयमा भने चिकित्सकहरुको आन्दोलनले केही बोल्न खोजेको देखिँदैन । ‘धेरैजना डाक्टरहरु काजमा छन्, ती अधिकांश पहुँचवाला हुन्, २० जना अर्थोपेडिक भए पुग्ने ट्रमा सेन्टरमा ४२ जना अर्थोपेडिक छन्’, मन्त्री बस्नेतले भने, एउटा डाक्टर १६ वर्षदेखि बिमारीको नाममा काठमाडौंमा बसेका छन् ।’ चिकित्सकहरुको काजको विषयमा देखिएको समस्यालाई आफूले पार्टीमा पनि राखेर समाधान गर्नेतर्फ लागेको उनको भनाइ छ । उनले स्वास्थ्य मन्त्रीको तहबाट मात्रै स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान हुने अवस्था नरहेको भन्दै ‘कलेक्टिभ’ प्रयासको आवश्यकता भएको बताएका थिए । डेढलाख जनसंख्या बराबर १ जना चिकित्सक विश्व स्वास्थ्य संगठनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रति एकहजार जनसंख्या बराबर एक जना चिकित्सक हुनुपर्ने मान्यता अगाडि सारेको छ । तर, नेपालमा प्रति डेढ लाख जनसंख्या बराबर एक जना चिकित्सकले काम गर्नुपर्ने अवस्था रहेको शुक्रबार भएको समितिको बैठकमा बोल्ने चिकित्सक र सांसदहरुले बताएका थिए । एक दिनको ओपिडी समयमा ८० जना सम्म बिमारी हेर्नुपर्ने अवस्थाले बिमारी र बिमारीका आफन्तलाई रोगको बारेमा बुझाउन नसकिएको चिकित्सकहरुले गुनासो राखेका थिए । नेपाल आवासी डाक्टर एशोसिएसनका अध्यक्ष डाक्टर कपिल गौतमले नेपालमा चिकित्सकहरुको उत्पादनमा कमि नभएपनि डेढलाख जनसंख्या बराबर एक जना चिकित्सकले उपचार गर्नुपरेको बताए । एकजना आवासीय चिकित्सकले निरन्तर ४० घण्टासम्म ड्युटी गर्नुपरेको अवस्थामा डाक्टरको निद्रा र प्यासलाई कसैले नहेरेको भन्दै पिडा व्यक्त गरेका थिए । साथै उनले १० वर्ष लागेर विशेषज्ञता हासिल गर्दा सरकारले मासिक ४८ हजार तलब दिने गरेको र निजी क्षेत्रमा २० हजारमा काम गर्नुपर्ने अवस्था रहेको बताए । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले पनि स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण भनेको जनशक्तिको अभाव नै मुख्य भएको बताएका थिए । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्रकान्त भण्डारीले पनि जनशक्तिको समस्या भएपनि दरबन्दी नबढाइएको बताए । उनले आफूहरुले सो विषयमा बारम्बार आवाज उठाइरहेपनि समस्या समाधान नभएको भनाइ राखेका थिए । ‘समस्या जनशक्तिको छ, दरबन्दी बढ्दैन’, उनले भने, ‘हामीले बारम्बार आवाज उठाइरहेका छौं, तर, जनरल एजुकेसन पढेकाको बाहुल्यता भएको प्रशासन भएको हुँदा सम्बोधन हुन सकेको छैन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न छुट्टै समिति बनाएर काम गर्नुपर्ने बताएकी थिइन । उनले अस्पतालमा देखिएका कतिपय समस्यामा अस्पताल प्रशासनको कमजोरी भएपनि डाक्टरलाई मात्रै आरोप आउने गरेको बताएकी थिइन् । गृहसचिव दिनेशकुमार भट्टराईले फस्र्ट ब्रेन भनिएका डाक्टरहरुले आन्दोलनको नाममा कतै आफ्नो जिम्मेवारी भुलिरहेका त छैनन् भनेर डाक्टरहरुलाई घुमाउरो पारामा प्रश्न तेर्साएका थिए । गृहमन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि उचित भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

विश्व मुटु दिवस : खानपान र जीवनशैलीमा ध्यान दिनसके बचाउन सकिन्छ मुटु

चितवन । खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उनीहरुको भनाइ छ । भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतमले परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए/नभएको ख्याल गर्नुपर्ने बताए । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उनको भनाइ छ । उनले भने ‘जोखिमका तत्व पहिचान गरेर मुटुरोगबाट सुरक्षित रहन सकिन्छ ।’ धूमपान, मद्यपानलगायतका बानी व्यहोरामा सुधार गर्नुपर्ने उनको सुझाव छ । शारीरिक व्यायाममा ध्यान दिन, मोटोपना घटाउन, तनाव कम गर्न, मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप भएमा त्यसको नियमित औषधि सेवन गरेर व्यवस्थापन गर्न उनले सुझाव दिए । मुटुको बाथको रोग, जन्मजात रोगहरु छन् भने त्यहीअनुसार व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘समयमा ध्यान दिनसके मुटुरोग लाग्नबाट बच्न सकिन्छ, लागिसकेपछि पनि जोगिन सकिन्छ ।’ चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा. शङ्कर लौडारीले मुटुरोग लाग्नुभन्दा पहिले नै सर्तक हुन सक्यौँ भने मुटुरोगबाट बच्न सकिने बताए । उनले भने, ‘धूमपान, अत्यधिक मद्यपान लागुऔषधजस्ता कुलत छन् भने बन्द गर्नुपर्छ, यस्ता वस्तुबाट टाढा बस्दा एकदेखि दुई वर्षमा पहिलेकै अवस्थामा फर्कन सकिन्छ, तर रोग धेरै नै बढिसकेको छ भने पूर्ववतः अवस्थामा फर्कन गाह्रो पर्छ ।’ चिकित्सकको सल्लाहबिना अनावश्यक औषधि धेरै प्रयोग र शारीरिक व्यायामको अभावका कारण मुटु रोग बढ्ने उनको भनाइ छ । उनले भने, ‘फलफूल, तरकारी, प्रोटिनको मात्रा अलि बढी खाने, कार्बोहाइडे«ट मात्रा कम गर्ने, चिल्लो खानेकुरा कम गर्ने, एन्टिअक्सिडेन्टल चीजहरु धेरै खाने, आवश्यक परेको बेला भिटामिन पनि खान सकिन्छ, यी खानेकुराले मुटुलाई फाइदा गर्छ ।’ मुटुको केही रोगहरु देखियो र शङ्का लाग्यो भने नजिकको मुटुरोग चिकित्सकलाई देखाउन उनले सुझाव दिए । उनले भने, ‘बढ्दो उमेर, धूमपानको प्रयोग, अत्यधिकमात्रामा मद्यपान, उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोरललगायत वायु प्रदूषणलाई पनि मुटुरोगका कारक मानिन्छ ।’ चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा. विष्णुमणि धितालले मुटुरोगका सामान्य लक्षण पहिचान गरेर समयमै उपचार गर्न सुझाव दिए । उनका अनुसार छातीको बिच्चको भागमा लामो समयसम्म दुख्ने, केही काम गर्दा, उकालो चढ्दा वा धपेडी भएको बेला छाती गह्रुँगो हुने, केही कुराले थिचेको जस्तो हुने मुटुरोगका लक्षण हुन् । यसैगरी पोलिरहेको जस्तो महसुस हुने, त्यो दुखाइ कहिलेकाहीँ दायाँतिर, कहिले बायाँतिर र कहिलेकाहीँ पछाडितिर सर्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो भएको महसुस हुने पनि मुटुरोगका लक्षण भएको उनको भनाइ छ । चिकित्सकले मुटुरोगको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन् । केही वर्षअघिसम्म राजधानी केन्द्रित मुटुको उपचार अहिले चितवनसहित मोफसलका जिल्लामा उपलब्ध छन् । हृदयाघातजस्ता समस्या आउँदा तत्काल उपचारका लागि क्याथल्याबसहितको सुविधा पनि उपलब्ध छ । सहरमा केन्द्रित यो रोग पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा समेत पुगेको छ । रासस

प्रत्येक मृत्यु लापरबाही नै हो भन्न थाल्ने हो भने सबै अस्पताल बन्द गरिदिए हुन्छ : डा. खत्री

केही दिन यता स्वास्थ्य संस्थाहरुमा चिकित्सकमाथि कुटपिटका घटना सार्वजनिक भइरहेका छन् । चिकित्सकमाथिको आक्रमणले अस्पताल बन्द गरेर चिकित्सकहरु आन्दोलित छन् । नेपाल मेडिकल काउन्सिलको अद्यावधिक विवरण अनुसार ३२ हजार २१८ चिकित्सक दर्ता भएका छन् । आफन्तको मृत्यु भएपछि अधिकांश चिकित्सकहरुले लापरबाही गरेको संज्ञा दिँदै हातपात गर्ने गरेको पाइएको छ । सरोकारवालाहरु बिरामी, बिरामीका आफन्त तथा चिकित्सकबीच बिरामीको उपचारका बारेमा निरन्तर संवाद हुन नसक्दा चिकित्सकहरु कुटिने घटना बढीरहेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालुसिंह खत्री बताउँछन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था भएपनि यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । चिकित्सकमाथी भइरहेको आक्रमण र यसले निम्त्याउने प्रभावमा केन्द्रित रहेर नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालुसिंह खत्रीसँग गरेको कुराकानीको सम्पादित अंश । पछिल्ला दिनमा चिकित्सकमाथि सांघातिक आक्रमण बढीरहेको छ, कसरी हेर्नुभएको छ ? सांघातिक आक्रमणको विषयवस्तु त साह्रै डरलाग्दो छ । हाम्रो समाज के अराजकतातर्फ अग्रसर भएको हो ? दण्डहीनता, राज्यविहीनता, कानूनविहीनतातर्फ अग्रसर भएको हो ? यो प्रश्नलाई आम नेपाली नागरिकले गम्भिर रुपमा मनन गर्ने बेला भइसकेको छ । आम नेपाली मात्र नभएर सम्पूर्ण राष्ट्रिय मुलधारका राजनीतिकर्मीहरुले बुझ्न जरुरी छ । राज्य भनेको एउटा प्रणाली हो । मात्रै यो जमिन होइन । यस्तै अराजक हुँदै जाने हो भने हामी कता अग्रसर हुँदैछौ ? हामी असफल राष्ट्रतर्फ अग्रसर हुने संकेत देखिँदैछ । यसलाई रोक्न जरुरी छ । यो चिकित्सकमाथि भएको हिंसा भनेको त कम्प्लिट्ली राज्यविहीनता हो । हामी मणीपाल अस्पतालको घटना हे¥यौं भनेदेखि प्रहरीको अगाडि बसेर डाक्टरले कुटाई खाइरहेका छन् । अझ त्यसमाथि प्रहरी बाहिर आएर सानसँग मैले डाक्टरलाई कुटेर आएँ भन्छन् । यो भन्दा दण्डहीनको अवस्था कहिले हुनसक्छ ? जहिलेपनि असुरक्षा हुँदाखेरी जानुपर्ने प्रहरी कहाँ हो । मान्छेले सुरक्षाका लागि खोज्ने प्रहरी प्रशासन हो । त्यो प्रहरी प्रशासन नै दण्डहिनताको अवस्था सृजना भइसकेको छ भनिसकेपछि यो राज्य कहाँ छ त ? राज्य नै नभएको अवस्था होइन र यो । उपचारका क्रममा असमझदारी हुँदापनि चिकित्सकमाथि आक्रमण हुन्छ भनिन्छ वा अरु कुनै कारण पनि हुने गर्छ ? अवस्था त्यस्तो मात्रै होइन । पछिल्लो पटक हेटौंडाको घटना म जोड्न चाहन्छु । हेटौंडामा बिरामीको उपचार भएको करिव एक महिना १५ दिन पश्चात चिकित्सकमाथि टोल छिमेकका मान्छे भएर योजनावद्ध सांघातिक आक्रमण भएको छ । पूर्व तयारीका साथ गरिने सांघातिक आक्रमणलाई क्षणिक आवेग वा क्षणभरको परिवेशमा भएको मान्न सकिँदैन । यो हुनुको अर्थ के भएको बुझिन्छ भने यो देश दण्डहीन हुँदै गइरहेको छ । राजनीतिक संरक्षकले दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् । कुनै न कुनै प्रमुख दलको संलग्नता देखिने गर्छ । दल भन्नाले दलले संरक्षण दिएका व्यक्तिहरु । र, तिनीहरुलाई स्थानीय प्रशासनले कुनै कारबाही नगर्ने उल्टो जी, हजुरी गरेको प्रष्ट देखिन्छ । कतिपय घटनास्थलहरुमा मेडिकल काउन्सिलको तर्फबाट म पनि स्वयं पुगेको छु । त्यहाँ पुग्दापनि मैले प्रहरीको निरिहता बाहेक केही देखेकै छैन । किन भन्दा दलका नेता, कार्यकर्ता संरक्षक हुनुहुन्छ, केहि गर्न सकिँदैन । प्रत्येक दलआवद्ध व्यक्तिलाई यो देशको कानूनबाट छुट छ भन्ने किसिमको भाष्य निर्माण गर्दै गइरहेका छौँ । त्यसले गर्दा यो स्थिति सृजना भएको हो । सडक आन्दोलन पटकपटक हुन्छन्, सम्झौतामा टुंगिन्छन्, बीचमा चिकित्सक सुरक्षा सम्बन्धि कानस्न पनि बने, कानून पूर्ण भएर कार्यान्वयन नभएको कि कानून नै अपूर्ण छ ? कानून पूर्ण थियो । तर, कानून कार्यान्वयनको पक्ष एकदमै फितलो देखियो । कानून भनेको कागजमा लेखिएका शब्द होइनन् । कागजमा लेखिएको शब्दको भरमा सबै कुरा हुने भए त हाम्रो संविधानमा त यो देश स्वर्ग नै लेखिएको छ नि तर स्वर्ग त छैन । व्यवहारिक रुपमा लागू हुनुपर्छ । राज्यको उपस्थिति भनेकै त्यही हो, लेखिएको कानून कार्यान्वयन गर्नलाई । मन्त्रीपरिषद् भनेकै त्यही हो, प्रहरी प्रशासन भनेकै त्यही हो । तर, यस्तो देखियो प्रहरी प्रशासन, मन्त्रीपरिषद् त्यसलाई आफ्नै धुन बाहेक अरु मतलब छैन । यो देशमा कानून कसरी परिपालन गराउने ? कानूनी राज्य कसरी स्थापित गराउने भन्ने त देखिँदै देखिएन । मणीपाल, लमजुङको घटना हेर्नुभयो भने त प्रहरीको अगाडी हातपात भइरहेको छ, प्रहरीको अगाडी घाँटी समाउने कार्य भइरहेको छ । अनि प्रहरी मौन छ, चुपचाप छ किन भन्दाखेरी कहीँ न कहीँ कुनै न कुनै दलको संलग्नता छ । यसको अर्थ के हो भन्दाखेरी हिजोको दिनमा यो व्यवस्था प्राप्ति गर्दाखेरी राजा फालेर सबै समान हुन्छन् भनेको त्यो नभएर दलभित्र सबै राजा हुन्छन् भन्ने खालको भाष्य स्थापित गरिँदैछ । चिकित्सकहरु पनि दलमा आवद्व हुन्छन्, उनीहरुले किन आफ्नो दललाई दबाब दिन सक्दैनन् ? सबै जनाले आफ्नो दलीय आवद्धता छोडेर भएपनि होमिन बाध्य हुन्छन् र, होमिन्छन् । यसमा मेरो दल र तेरो दल भन्ने प्रश्न नै रहँदैन । सिद्धान्तप्रतिको एउटा आस्था होला तर यसरी गलत परिस्थिति र गलत भाष्य निर्माण गर्ने व्यक्तिहरुलाई बोक्न सकिँदैन । तिनीहरुलाई साथ समर्थन दिन सकिँदैन । चिकित्सकहरु सेतो कोटसहित सडकमा छन्, अब कार्यस्थलमा कहिले फर्किने ? जबसम्म यस किसिमको दण्डहीनतालाई प्रश्रय दिने खालको अहिलेको व्यवस्था अन्त्य हुँदैन । हामी यो पटक स्पष्ट सन्देश दिन चाहन्छौँ, हामीलाई चलाएर बिच्काएमा राजनीतिकर्मीलाई हामी छोड्नेवाला छैनौँ । यसमा संलग्न प्रहरी मात्रै दण्डित भएर पुग्दैन । प्रहरी प्रशासन परिचालन गर्ने सर्वोच्च व्यक्तिदेखि लिएर तल्लो तहसम्मका सबै दण्डित भएपश्चात मात्रै हामी कार्यस्थलमा फर्कन्छौं । कतै चिकित्सकका कामहरुले नै उत्प्रेरकको भुमिका पनि खेलिरहेको छ की भनेर पनि त हेर्नुपर्ला नि ? के छ भने चिकित्सकीय अभ्यासको क्रममा त्रुटी नै हुँदैन भन्ने छैन । त्रुटी हुन्छ । त्रुटी नियमन गर्नलाई मेडिकल काउन्सिल रहेको छ । मेडिकल काउन्सिलले धेरै हदसम्म आफ्नो भुमिका परिपालन गर्न नसकेको हो की भन्ने प्रश्न रहिरहन्छ । अब त्यसमा यावत समस्याहरु छन् । अहिलेको संरचनागत कुराहरु होलान् । कतिपय ऐन संशोधन, नियमावली संशोधन राज्यले नगरिदिएर मेडिकल काउन्सिल स्वयंले पनि कतिपय चिजहरु गर्न नसकिरहेको अवस्था छ । चिकित्सकको पाटोबाट त्रुटी भन्दापनि बढी क्षणिक आवेग भन्दापनि बढी यो उदण्डता, दण्डहीनतालाई प्रश्रय दिने व्यक्तिहरुको संलग्नता बढी देखिन्छ । केही हदसम्म काउन्सिलमा पर्ने उजुरीहरुमा चिकित्सकको त्रुटी भेटिने गरेका छन् । तर, यसरी उदण्डता, अराजकता फैलाउने व्यक्तिहरुको केसमा धेरै केसहरु हामिले अध्ययन गरेका छौँ । कुनै किसिमको त्रुटी भेटिँदैन । उनीहरुको माग के हुन्छ भन्दा मेरो मान्छे अजम्बरी हुनुप¥यो, त्यो त संसारमा सम्भव नै छैन । त्यो असम्भव चिज त कसैले गर्न सक्दै सक्दैन । केही पाटोमा चिकित्सकको कमजोरी होलान् त्यसलाई क्रमशः सुधार गर्नुपर्नेछ । क्रमिक सुधार हुन्छन् पनि । तर, अहिले देश राज्यविहीनता जस्तै भयो । म अहिले स्वयं मेडिकल काउन्सिलमा छु । छानबिन गर्ने समितिको प्रमुख छु । तर, एकोहोरो त हुन सक्दैन । एकातर्फ चिकित्सकको त्रुटीको छानबिन गरेर कारबाही पनि हुने अर्कोतर्फ कार्यक्षेत्रमा कुनैपनि किसिमको राज्यको उपस्थित नरहने । राज्यविहीन भइरहनुपर्ने हो भने मैले त्यो चिकित्सकबाट के अपेक्षा राख्ने । मैले त्यसलाई रिस्क लिएर उपचार गर भन्ने की नभन्ने उसलाई कुनै आकस्मिकतामा हात हाल भन्ने की नभन्ने । राज्य टुलुटुलु हेरेर बस्ने हो भने भोलिको दिनमा ठूला ठूला जटिल शल्यकृया कसले गर्छ यो देशमा । र, के बुझ्न जरुरी छ भने चिकित्सकीय कामलाई पेशा भनिदैन संसारभर । यो त अभ्यास हो । हामीले पनि अभ्यास भन्छौँ । किनभने जति अभ्यास हुँदै जान्छ उति नै तिखारिँदै जाने हो । उति नै नयाँनयाँ कुरा पत्ता लाग्दै जाने हो । साइन्स इन्कम्प्लिट छ । हरेक दिन नयाँ कुरा निस्किन्छ । भनिसकेपछि यसमा अभ्यास गर्ने व्यक्तिलाई हरेक परिणामलाई त्रुटी भनेर लापरबाही भन्नुहुँदैन । हाम्रो परिणाम त प्रष्ट छ नि कुनैपनि बिरामी उपचार गर्न गयो भनेदेखि कुनैपनि शल्यकृया गर्दाखेरी दुई वटामध्ये एउटा परिणाम आउँछ, कि उ बाँच्छ, कि उ मर्छ । बीचको परिणाम हुन्छ र । आधा बाच्ने आधा मृत्यु हुने भन्ने त संसारमा कतैपनि हुँदैन । प्रत्येक मृत्यु लापरबाही नै हो भन्न थाल्ने हो भने अस्पताल त सबै बन्द गरिदिए भयो । घरमा कोही मर्दैनन्, बाटोमा कोही मर्दैनन् । अस्पतालमा चिकित्सकले मात्रै मार्ने हुन् र । समाज यति अराजक । असहिष्णु,उदण्ड हुन मिल्दैन । देशमा कानूनी व्यवस्था कायम गर्ने हो । सबै सिस्टमका लागि भिँड्ने हो । र, यसको मुख्य दायित्व त राजनितीकर्मीकै हो । हामी प्रणालीमा विश्वास गर्छौं । हरेक ठाउँमा व्यक्ति हाबी हुँदै जाने हो भने कसरी यो समाज अगाडी बढ्छ । अघिल्लो वर्ष दुई हजार आठ सय चिकित्सक नेपाल बाहिर गए । यो वर्ष अझै बढ्ने क्रम छ । भन्नुको अर्थ वर्षेनी तीन हजारदेखि ३ हजार पाँच सय चिकित्सक नेपाल बाहिर गइरहेका छन् । हामी कहाँ नयाँ दर्ता हुने एक हजार भन्दा तल झरिसकेको अवस्था छ । यो भनेको साह्रै भयावह अवस्था हो । यहि अवस्था रहिरहे अबको पाँच सात वर्षमा हामी चिकित्सक विहीन हुन्छौँ । अहिलेको सामाजिक, राजनितिक परिवेशले क्षेत्रले त स्वास्थ्यलाई कम्प्लिट्ली कोल्याप्स बनाउन खोज्दैछ । अब त हाम्रो नियन्त्रण भन्दा बाहिर जान्छ । स्रोत : न्युज एजेन्सी नेपाल