सरकारी शुल्कमा निजीमा क्यान्सर उपचार

चितवन । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो । इन्स्टिच्यूटका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् । यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको ठाकुरले बताए । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको उहाँको भनाइ छ । डा ठाकुरले भने, ‘हामीकहाँ रेडियोथेरापीलगायत कुनै पनि उपचार र परीक्षणका लागि पालो कुर्नुपर्ने झन्झट हुँदैन ।’ महिनौँ पालो पर्खुनुपर्दा क्यान्सर झन फैलिनसक्ने भन्दै उनले पत्ता लागेपछि नियमित उपचारमा लैजाने बताए । उनले थपे, ‘रेडियोथेरापी गर्नुपरे आज योजना बनाएर भोलि नै गरिहाल्छौँ ।’ उनले एक/दुई महिनाअघि गरेको योजनाका आधारमा रेडियो थेरापी गर्दा योजनाभन्दा अन्यत्र क्यान्सर फैलिनसक्ने खतरा रहने बताए । क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए । रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण ल्याइसकिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, इण्डोस्कोपी, भिडियो एक्सरे, एक्सरे, ईसिजि, क्याथल्याब, ए ग्रेडको प्रयोगशाला, आईसियू, एनआईसियू, सिसियू रहेका छन् । यहाँ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्दछन् । बिरामीको उच्च चापका कारण पालो कुर्नुपर्ने हुन्छ । पालो नपाएर राजधानी काठमाडौं र भारतलगायतका देशमा पुग्नुपर्ने बाध्यता रहेका बिरामी निजी क्षेत्रमा यही उपचार पाएका हुन् । रासस

चार पटक क्यान्सर लागेर बाँचेकी बबी, ‘आत्मबल अपरिहार्य’

काठमाडौं । कसैलाई क्यान्सर भयो भन्ने सुने मात्र सबैले भन्छन्- ‘बिचरा’ । क्यान्सर भएपछि अधिकांश मानिसको मृत्यु हुन्छ भन्ने विश्वास धेरैको हुने भएकोले पनि त्यो व्यक्तिप्रति त्यो किसिमको सहानुभूति प्रकट गर्छन् । तर, क्यान्सर हुँदैमा मान्छे मर्दैन । बेलैमा उपचार पायो भने क्यान्सर निको मात्र हैन व्यक्ति पूर्णरूपमा स्वस्थ हुन्छ । अहिले क्यान्सरलाई पूर्णरूपमा जितेकाहरू पनि धेरै छन् । उनीहरूको अनुभव एउटै छ कि क्यान्सर हुँदैमा मान्छे मर्दैन । तर, कमजोर मनोबलले मान्छेलाई मृत्युको मुखमा पुर्याउँछ । क्यान्सर एक पटक होइन, चार पटक लागेर निको भएकी बबी शाक्य पनि आजभोलि सबैलाई यस्तै सल्लाह दिन्छिन । ‘क्यान्सर लाग्दैमा अत्तिनु हुँदैन, आत्मबल बढाउनुपर्छ, यति भयो भने जस्तो रोगलाई पनि सजिलै जित्न सक्छौं,’ उनी भन्छिन् । अहिले बबीको काम नै क्यान्सरबाट पीडितहरूलाई हौसला दिने र आत्मबल बढाइदिने छ । उनी कहिले अस्पतालमै पुगेर, कहिले बिरामी भएकै ठाउँ पुगेर सल्लाह मात्र हैन सकेजति सबै सहयोग गर्छिन् । उनी साताको एक दिन बिहीवार ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पतालमा पुगेर क्यान्सर लागेर किमोथेरापी गर्न आएका वा अप्रेशन गर्न आएकाहरूलाई आफ्नो कथा सुनाउँदै आत्मबल बढाउन सल्लाह दिन्छिन् । बबीले रोगबाट ग्रसित भएर वा डराएर बसेकाहरूलाई सल्लाह दिन थालेको ९ वर्ष भयो । क्यान्सर भएकाहरूलाई सहयोग र सल्लाह दिरहेकी बबीको आफ्नै कहानी छ । २८ वर्षको उमेरमा क्यान्सर रोगको आक्रमणमा परेकी बबी अहिले ५३ वर्षको भइन् । अहिले उनलाई क्यान्सर छैन । उनी पूर्णरूपमा स्वस्थ भइसकेकी छन् । उनलार्ई चारपटक क्यान्सर भएर निको भएको छ । यसरी भयो क्यान्सरको पहिचान ‘क्यान्सर- ‘नो एन्सर’ आजभन्दा २६ वर्ष पहिले यस्तै थियो । न नेपालमै चेकजाँच, न राम्रो उपचार, उपचार गराइहाल्न महँगो पनि उस्तै । सोही बेला भयो बबीलाई स्तन क्यान्सर । काठमाडौंको लाजिम्पाटकी बबी शाक्यको आजभन्दा २८ वर्ष पहिले काठमाडौं सीतापाइलाका रविन्द्र शाक्यसँग विवाह भयो । विवाह भएको केही वर्षपछि पेटमा बच्चा बस्यो । तर, समयमै अस्पताल जान नसक्दा पहिलो बच्चाको मृत्यु भयो । त्यसको केही वर्षपछि उनका दुई जुम्लाहा सन्तान जन्मे । एक छोरा, एक छोरी । दुईजना छोराछोरी स्वस्थ्य जन्मदा शाक्य दम्पतीमा खुसी छायो । प्रशस्त मात्रामा दवै जनालाई पुग्ने दुध आउँथ्यो । ८ महिनासम्म राम्रै थियो । ९ महिना पुग्दा बबीको स्तनमा परिर्वतन देखियो । दुध चुसाउँदा, नहाउँदा स्तनमा साह्रो गिर्खाजस्तै हातमा लाग्न थाल्यो । के भयो होला भन्ने कौतुहलता लाग्यो । बबीले सासु र श्रीमानसँग स्तनमा आएको गिर्खा बारे सुनाइन् । दुवै जनाले दुधकै गाठो परेको भन्दै सामान्यरूपमा लिए । तर, बबीलाई यो उत्तरले चित्त बुझेन । उनले माइती घरमा आमा र काकीलाई पनि समस्या सुनाइन् । उनीहरूले पनि सासु र श्रीमानको जस्तै उत्तर दिए । बबीलाई स्तनमा गिर्खा देखिएमा स्तन क्यान्सर हुनसक्छ भन्ने बारेमा अलि-अलि थाहा थियो । ‘सबैले मलाई दुधकै गाठो परेको होला भन्नुहुन्थ्यो । तर, मलाई मनमनै शंका लागि सकेको थियो, म चुप लागेर बसिनँ, बरु तुरुन्तै अस्पताल गएँ,’ विकासन्युजसँगको कुराकानीमा बबीले बबीले भनिन्, ‘शंका लाग्ने वित्तिकै म ओम अस्पतालमा गएँ ।’ ओम अस्पतालमा गएर जाँच गर्दा स्तन क्यान्सर भएको थाहा भयो । ‘सुरुमा त डाक्टरले पनि दुध जमेर गाँठो परेको होला भन्थे । तर, जाँच गर्दा क्यान्सर पनि थर्डस्टेपमा पुगिसकेको रहेछ,’ उनले अनुभव सुनाइन् । रिपोर्ट आउनै दुई महिना बबी चेकजाँच गरेर घर फर्किन् । तर, रिपोर्ट दुई महिनापछि आयो । त्यतिबेला रिपोर्टका लागि भारत पठाउनु पथ्र्याे । रिपोर्टमा क्यान्सर भएको देखियो । क्यान्सर भएपछि डाक्टरको सल्लाह अनुसार अप्रेसन गर्ने कुरा भयो । ९ महिनाको दुई बच्चालाई दुध चुसाउँदै आएकी बबीले बच्चालाई दुध नदिएर सुकाउनुपर्ने अवस्थ्या आयो । स्तनको अप्रेशनको लागि दुध सुकाउनु पथ्र्यो । ती दिन स्मरण गर्दै बबीले भनिन्, ‘बच्चा भोकले रुन्थे । तर, मैले दुध सुकाउने औषधी खाँदै थिएँ, त्यो बेला एउटी आमाको मनलाई कस्तो भयो होला,’ अप्रेसन अगाडि किमोथेरापी गर्नुपर्छ, त्यसका लागि बबीका श्रीमान भारत गए । दुई पटक किमो थेरापी ल्याएर आए । पटक–पटक भारत आएको देख्दा त्यहाँको एकजनाले भन्नु भएछ,’ ‘तपाईं यसकै लागि यहाँ कति आउनुहुन्छ, काठमाडौँ पनि यो पाइन्छ, अब तपाईं उतैबाट लिनुहोला भनेर सम्पर्क ठेगाना दिएपछि हामीले नेपालबाटै किमो र औषीधी किन्यौँ ।’ ‘अहिले एकै अस्पतालमा चेकअप हुन्छ, एकैछिनपछि रिपोर्ट आउँछ, औषधी एउटै अस्पतालमा पाउँछ, पहिलेको भन्दा अहिले धेरै फरक छ, रिपोर्ट आएको दुई महिनापछि एभरेष्ट नर्सिङ होममा अपे्रशन भयो, अपे्रसन सफल भयो,’ मुस्कुराउँदै उनले भनिन् । आफन्तको त्यो रुवाबासी क्यान्सर भएपछि बाँचिदैन भन्ने सोच अहिले पनि छ । त्यो बेला अझ बढी थियो । बबीलाई पनि आफ्नो यात्रा यतिसम्मै रहेछ भन्ने लाग्यो । उनले मन खिन्न बनाइन् । परिवारमा रुवाबासी चल्यो । भेट्न आउने आफन्तको ताँती लाग्यो । ‘कसैले कठै भर्खरको उमेरमा, बच्चाहरू सानै छन् भन्नुहुन्थ्यो, कोही रोएर जानुहुन्थ्यो, उहाँहरू मसँग यसरी बोल्नुहुन्थ्यो कि अब म आजसम्म मात्र यो दुनियाँमा छु लाग्थ्यो,’ विगत स्मरण गर्दै उनले भनिन् । भेट्न आउनेको ताँती र उनीहरूको कुरा सुन्दा बबीलाई पनि मनमनै डर लागिसकेको थियो । दिनहुँ श्रीमान र बच्चालाई हेर्दै रुन्थिन् । यसैगरी उनका दिन, महिना र वर्ष बिते । बबीलार्ई पहिलेको भन्दा निको हुँदै गयो । त्यसपछि आत्मबल बढ्यो । ‘सबैले बिचरा भनेर मेरो आत्मबललाई मारिसकेका थिए, मेरो बच्चाहरू भोक लागेर रुन्थे, मैले अब मेरो बच्चाको लागि भएपनि म बाँच्नुपर्छ भन्ने अठोट गरेँ, आत्मबल बढाएँ, म जसरी भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो । र, आत्मबलले नै बाँचे, अहिले सम्म बाँचिरहेकी छु,’ उन्ले भनिन् । ९ वर्षपछि फेरि क्यान्सर अप्रेशन गरेको ९ वर्षसम्म ठिकै थियो । फेरि अर्को स्तनमा पनि पहिलेको जस्तै गिर्खा देखा प¥यो । त्यसपछि बबीले आफै योजना बनाइन् । उनले कसैलाई थाहा नदिएर अर्कोे स्तनको पनि अप्रेसन गरिन् । चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पताल गएर उतै बसिन् । ६ महिनासँग कसैको सम्पर्कमा आइनन् । पहिलो पटक क्यान्सर भएका थाहा पाउँदा घरमा लाइन लाग्नेहरू दोस्रो पटक पनि क्यान्सर भएको थाहा पाउँदा त चिहान नै तयार पारिसक्छन् भन्ने उनलाई लाग्यो । दोस्रो पटकको क्यान्सरमा कसैलाई थाहा नदिई उनी चितवन अस्पतालमा बसिन् । ‘कसैले सोधे घुम्न गएका छन् भन्नु भनेर सासुआमालाई भनेँ, हामी दुवै जना अस्पताल गएर बस्यौँ, सबैको सम्पर्कबाट विच्छेद भयौं, ६ महिनापछि अप्रेशन गरेर काठमाडौं फर्कियौं,’ उनले दोस्रो पटकको क्यान्सरको अनुभव सुनाउँदै भनिन् । फेरि बोन क्यान्सर दोस्रो स्तन क्यान्सरको अप्रेसन गरेको एक वर्षपछि फेरि बोन क्यान्सर देखियो । दुई पटक क्यान्सर भएर सफल अप्रेसन गरिसकेकी बबीलाई पुनः क्यान्सर देखियो । ‘क्यान्सरसँग मेरो घमासान युद्ध चल्यो, एता देखिन्छ फाल्छु, उता देखिन्छ फाल्छु, फेरि पनि अप्रसेन गरेँ,’ ती दिन सम्झदै उनी भन्छिन, ‘दुवै स्तन फालिसक्दा पनि मैले सुख पाइन, फेरि क्यान्सर भयो ।’ उनले क्यान्सर भएकै कारण तीन पटक अप्रेसन गरिन् । अप्रेसन सफल पनि भयो । तीन पटकको क्यान्सर निको भएपछि फेरि छालामा क्यान्सर देखियो । उनले फेरि अप्रेसन गरिन् । सफल भयो । ‘मैले चार पटक क्यान्सरलाई जितेँ, अहिले क्यानसर फ्री छु, अब फेरि कुनदिन कहाँ देखा पर्छ थाहा छैन, नियमित चेकजाँच गराइरहेकी छु,’ उनी लामो श्वास फेर्दै भन्छिन्, ‘लामो समयसम्म नछोडेको क्यान्सरले अहिले छोडेको छ ।’ परिवारमै क्यान्सर चिकित्सकका अनुसार स्तन क्यान्सर अथवा क्यान्सरको मुख्य कारण वंशाणुगत हो । बबी परिवारमा पनि धेरै जसोको क्यान्सरकै कारण मृत्यु भएको छ । उनकी आमाको पनि पाठेघरको क्यान्सरले मृत्यु भएको थियो । उनका कान्छा काकाको तीन जना छोराको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । ‘परिवारमा कसैलाई ब्रेन ट्युमर, कसैलाई ब्लड क्यान्सर त कसैलाई पाठेघरको क्यान्सर देखिएको छ, मेरो पनि त्यही बंशाणुगत हुनुपर्छ, मैले पनि यसैको सिकार हुनुपर्यो, मेरा छोराछोरीको पनि अहिले नियमित चेकजाँच गराइरहेकी छु, अहिले सम्म सबैलाई ठिक छ,’ उनले भनिन् । त्यसपछि बाहिर आएँ चार-चार पटक चिरिएको शरिर र मैले बाँच्नुपर्छ भन्ने आत्मबिश्वासले बबीका दिनहरू बितिरहेका थिए । मनमा बाँच्छु भन्ने आत्मविश्वास छँदै थियो । तर, कहिलेकाँही परिवारको मायाबाटै कुन दिन अलग भइन्छ भन्ने पनि लाग्थ्यो । उनी चेकअपको लागि अस्पताल गइरहन्थिन् । पटक-पटक क्यान्सरसँग लडेर जितेकी उनलाई डाक्टर दिपकसुन्दर श्रेष्ठले अब घरभित्र होइन बाहिर आएर यही विषयमा काम गर्न सल्लाह दिए । डा. दिपकको साथी रिचाको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । उनले साथीको नाममा एउट समुह बनाएर क्यान्सरबाट ग्रस्त भएकाहरूलाई सहयोग गर्ने काम गर्छ । दिपकले त्यही समूहमा आवद्ध भएर अरूलाई प्रेणा दिन आग्रह गरे । त्यसपछि बबी घर छोडेर बाहिर निस्कन थालिन् । अहिले उनी साथीहरूसँगै मिलेर क्यान्सरसँग लडिरहेका बिरामीहरूलाई आफ्नो कथा सुनाउँदै आत्मबल बढाउन सहयोग गरिरहेकी छन् । उनी रोगसँग लड्ने सबैभन्दा ठूलो हतियार आत्मविश्वास र मनोबल रहेको बताउँछिन् । ‘म रोइरहेको बेला मलाई कसैले तिमीलाई केही हुँदैन, निको हुन्छ भनेनन्, छोराछोरीको रुवाई सुनेर मैले म बाँच्नुपर्छ भन्ने विश्वास बनाएँ । र, म अहिलेसम्म बाँचेको छु ।’

‘असन्तुलित भोजनले नै निम्त्याउँछ क्यान्सर, पुरुषमाभन्दा महिलामा बढी’

गुल्मी-तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफएनएसी तथा वायोप्सी नै गराए । जहाँ उनी जस्तै गाडो, गठखलो र पिलो भएका थुप्रै बिरामी थिए । मुखबाट रगत र पिप लगातार बहँदा तथा गाउँघरका मानिसले थरिथरिका भयानक कथा सुनाउँदा पनि केही नलागेका रोल्पा थवाङका तेमन बुढा स्वास्थ्य शिविरमा आएका थिए । न यस समस्याले दुःख दिएको छ, न खाना नै मागेको छ, किन पैसाको कुटुरो बोकी चिकित्सकलाई बुझाउने भनी प्रतिवाद गर्दै थिए । क्यान्सर सानो उमेरमा हुँदैन, स्तन क्यान्सर महिलालाई मात्र हुन्छ, गिर्खा देखिनेबित्तिकै क्यान्सर हो, म्यामोग्रामले दुख्छ, क्यान्सर भएपछि मरिन्छ, केमोले झन असर गर्छ, क्यान्सर सरुवा रोग हो भन्नेजस्ता भनाइ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै स्वास्थ्य शिविरहरुमा सुन्न पाइन्छ । अन्तराष्ट्रिय क्यान्सर नियन्त्रणका लागि युनियन (युआइसीसी)का अनुसार क्यान्सरबाट वर्षेनी ७० लाख मर्ने गरेका छन् भने एक करोड १० लाख नयाँ क्यान्सरका बिरामी देखा पर्दछन् । मुटु तथा नशा रोगपछि मानिसको ज्यान लिने दोस्रो भयानक रोग पनि हो । यो क्रम जारी रहे वर्षेनी एक करोड बढीको मृत्यु क्यान्सरबाट हुने अनुमान गरिएको छ । वर्तमान विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत कारक तत्व क्यान्सर हो र करिब ९० प्रतिशत क्यान्सर खानपिन, रहनसहन, वातावरण, जीवनशैली आदिको कारणले र १० प्रतिशत शरीरको आन्तरिक कारणले हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठन अनुसार विश्वमा प्रतिवर्ष ६० लाखभन्दा बढी, नेपालमा २५-३० हजार मानिस यस रोगबाट पीडित हुने गरेका छन्, जसमा आधाभन्दा बढी महिला नै पर्दछन् । नेपालमा प्रत्येक एक लाख जनसंख्यामा १०० देखि १२० जना नयाँ क्यान्सरका रोगीहरु प्रत्येक वर्ष थपिने र करिब ७५ हजार क्यान्सरका रोगी हर समयमा नेपालमा भएको अनुमान छ । एकातिर यस्तो भयावह स्थिति छ भने अर्कोतिर क्यान्सर बनाउन सक्ने कारणहरु विगतका दशकमा १२ सय गुणाले उत्पादन तथा प्रचारप्रसारमा वृद्धि भएको तथ्याङ्कले हामी स्वास्थ्यकर्मी मात्र हैन, स्वास्थ्यप्रति सचेत जनता र राष्ट्रलाई नै चिन्ताको विषय बनाएको छ । क्यान्सर के हो ? शरीरको अङ्गप्रत्यङ्गका कोषहरु वा कोषीकाहरु अनियन्त्रित र असामजस्य रुपमा अस्वाभाविक आकार र संख्यामा वृद्धि भएर शरीरलाई प्रतिकूल असर पार्ने, नसर्ने रोगहरुमध्येको सबैभन्दा डरलाग्दो र प्राणघातक रोग क्यान्सर हो । क्यान्सरले आफू नजिकका तन्तुहरुलाई असर पार्नुका साथै शरीरमा एक स्थानबाट अर्को स्थानमा तन्तुमा रगत, लिम्फ आदिबाट सर्न वा असर पार्न सक्दछ । तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । अर्बुदरोग उपचार गर्न सकिने एक दुःख हो जुन पुरुषमा प्रायःजसोको उपचार हुन्छ र महिलामा झन् शुरुमै पत्ता लगाउन सकिन्छ । किन क्यान्सर हुन्छ ? अर्बुदरोग हुने सम्भावना निश्चितरुपले बढाउनेमा रसायनिक विकीरण, विषाणु, हर्मोन, दीर्घकालीन घर्षण, चोटपटक, धातु, प्लाष्टिक पर्दछन् । सुर्ती तथा सुर्तीजन्य पदार्थ जस्तै : धुम्रपान, खैनी, बिडीको सेवन र मादक पदार्थको सेवन यसका मुख्य कारण हुन् । तयारी खाना, बासी खाना र बढी चिल्लो भएको खानाले पनि क्यान्सरको जोखिम बढाउँछ भने विषालु रसायन, आर्सेनिक, निकेल, अस्वेस्टस, अल्कत्रा र तारले पनि क्यान्सर हुन मद्दत गर्दछ । एक्सरे, अल्ट्राभाइलेटजस्ता विकिरण पनि यसका कारण हुन सक्छन् । इबिभी, एचपिभी, एचएसभी–१, सिएमआई, भारिसेला जुस्टरजस्ता भाइरसको प्रवेश तथा भिटामिन ए, ई र सी, खनिज तत्व, फलाम, जस्ता, तामा र म्यागनिजजस्त पोषणको कमी, असुरक्षित यौन व्यवहार एवं हर्मोन र  स्ट्रोजेन र टिएसएचका कारण पनि क्यान्सर हुन सक्दछ । कतिपय व्यक्तिमा उमेर पाको हुँदै जाँदा र वंशानुगत आधारमा पनि यो रोग भएको पाइन्छ । आमाबाबु दुवै या एकमा क्यान्सर भएमा सन्तानमा हुनसक्छ जस्तै आँखामा हुने क्यान्सर रेटिनोब्लास्टोमा र स्तनक्यान्सर हरेक व्यक्तिले आफ्नो आहार-विहारमा परिवर्तन गरेमा ४० प्रतिशत क्यान्सर रोक्न सकिन्छ । धुम्रपान वा सुर्तीसेवन फोक्सो र शरीरका अन्य भागमा क्यान्सर बनाउने मुख्य कारण हो । आधुनिक जीवनशैली, रेष्टुरेन्टको विकास तथा पाश्चात्य परम्पराको नक्कलले गर्दा विभिन्न किसिमका सेकुवा तथा मदिराको प्रयोगमा बढोत्तरी भएको छ । पोलेको मासुमा नाइट्रोसमाइन रसायन हुने भएकाले मद्यपानसँगै खाँदा मुख, खाद्य नलीको क्यान्सर हुन सक्छ । रक्सीको साथ चिनीया बदम खानेलाई कोलन (दिशा नली)  र कलेजोको क्यान्सर हुन सक्छ । त्यसैगरी गाडीको टायर बाल्दा उत्पन्न हुने धुवाँमा डाइअक्सिन हुने भएकाले क्यान्सर हुन सक्छ । पुरुषको लिङ्गमा जम्मा हुने सेतो पद्धार्थले क्यान्सर गराउन सक्ने भएकाले प्रत्येक पुरुष तथा महिलाले लिङ्ग र योनी सधैँ सफा राख्नुपर्दछ । सफा नराख्दा लिङ्ग र पाठेघरको क्यान्सर हुने जोखिम उच्च रहेको छ । लक्षणहरु के के हुन् त ? क्यान्सर बालबालिकादेखि वृद्धसम्म सबैलाई लाग्न सक्छ । तर पनि जति उमेर बढ्दै गयो त्यति नै क्यान्सर लाग्ने सम्भावना बढ्दै जान्छ । तर क्यान्सरको प्रकृति र किसिममा भने भिन्नताहरु हुन्छन् । नेपालमा देखिएका क्यान्सरहरुमा पुरुषमा मुख तथा घाँटीको, फोक्सोको र ठूलो आन्द्राको सबैभन्दा बढी पर्दछ भने स्त्रीमा पाठेघरको मुखको, स्तन र फोक्सोको क्यान्सर तथा बालबालिकामा रगत र आँखा सम्बन्धी क्यान्सर बढी देखिएको छ ।  सरकारी आँकडा हेर्दा पुरुषमा फोक्सोको, महिलामा स्तनको र बालबालिकामा रगतको क्यान्सर प्रमुख पाइन्छ । सुरुका आठ लक्षणहरुमा बिना कारण वजन घट्न जाने, अपच वा खाना निल्न गाह्रो हुने, दिशा वा पिसावको बानीमा फरक पर्न जाने, असाधारण रक्तस्राव वा पिप आउने र उपचारबाट पनि पुरानो घाउ निको नहुने हुन्छ । त्यस्तै हतपत निको नहुने खोकी वा घोक्रो स्वर भएमा, कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा र स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आएमा पनि क्यान्सरको लक्षण मान्न सकिन्छ । यस रोगमा अङ्गअनुसार लक्षणहरु पनि फरक-फरक देखिने गर्दछ । क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पत्ता हुने र प्यारानियोब्लस्टीक सिन्ड्रोम हुँदै सिकिस्त हुन्छ र अन्त्यमा मृत्यु हुन्छ । निदान कसरी गर्न सकिन्छ ? बिरामीको इतिहास सविस्तार जाँच गरेर, रगत, दिशा, पिसाबको परीक्षण गरेर, सियोले गिर्खाबाट पानी झिकी परीक्षण गरेर (एफएनएसी) तन्तु वा कोषको बायोप्सी गरेर, साधारण तथा स्पेसल एक्सरे अल्ट्रासोनोग्राम, सिटीस्क्यान, एमआरआई र इन्डोसकपिक जाँच गरेर क्यान्सरको निदान गर्न सकिन्छ । क्यान्सरको स्टेजअनुसार उपचार फरक पर्ने भएकाले क्यान्सरको स्टेजिङ गर्ने गरिन्छ । पहिलो र दोस्रो स्टेजको क्यान्सरलाई शुरुको अवस्था तथा तेस्रो र चौथो स्टेजलाई जटिल अवस्था मानिन्छ । पहिलो स्टेजमा रोग उत्पन्न भएकै ठाउँमा सानो रुपमा दोस्रो र तेस्रो स्टेजमा सोही ठाउँमै ठूलो र जटिल रुपमा रहेको तथा चौथो स्टेजमा रोग अन्य भागमा सरेको अवस्था वा मेटास्टासिस हो । उपचार के हुन सक्छ ? कुनै पनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्दछ । यदि शुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार शुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकामा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ । सोलिड ट्यूमरको उपचारमा शल्यक्रिया विकीरण र केमोथेरापिको प्रयोग गरिन्छ भने रगतसम्बन्धी क्यान्सरमा मुख्यतया केमोथेरापी र केहीमा विकिरणको प्रयोग गरिन्छ । निदानमा धेरै समय लाग्ने उपचारको क्रममा बारम्बार अस्पताल आउनु पर्ने, विभिन्न परीक्षणहरु बारम्बार गराउनु पर्ने, विकिरण तथा केमोथेरापीका कुप्रभाव, पाश्र्वे प्रभावले बिरामी तथा आफन्तमा नकारात्मक सोँच ल्याउने भएकोले बिरामी स्वयं आफन्तहरु संलग्न चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुमा धैर्यताको आवश्यकता पर्दछ । क्यान्सरको उपचारमा कुन उपचार गर्दा बिरामीलाई अत्यधिक लाभ हुन्छ भनी निर्णय गर्न क्यान्सर सम्बन्धी विभिन्न विशेषज्ञहरुको आपसी सहकार्य अत्यन्त आवश्यक हुने भएकाले विशेषज्ञहरुको भेला ट्यूमर बोर्ड गठन छ । क्यान्सर लागेको भागलाई चिरफार गरी निकाल्ने विधि शल्यक्रिया, कोषनाशक औषधिहरुको प्रयोगद्वारा गरिने उपचार विधि  केमोथेरापी, विकिरणद्वारा क्यान्सर कोषहरु सेकी उपचार गर्ने विधि रेडियोथेरापी, कतिपय क्यान्सरको वृद्धि हुनुमा शरीरमा हर्मोनको उपस्थिति बढी हुनेमा उक्त हर्मोनको भाग हटाइदिएर वा हर्मोनको प्रयोगद्धारा उपचार गर्ने विधि हार्मोनथेरापी र क्यान्सररोग रोक्न सक्ने क्षमतालाई वृद्धि गर्ने विधि इम्युनोथेरापी क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । क्यान्सरबाट कसरी बच्ने ? हालसम्म प्राप्त ज्ञान, सीप र प्रविधिले एक तिहाई क्यान्सर हुनु अगावै रोकथाम गर्न सकिने, अर्को एक तिहाई समयमै पत्ता लगाई उपचार गरी निको गर्न सकिने र बाँकी एक तिहाईलाई निको पार्न नसके पनि यस रोगबाट हुने पीडा कम गरी स्तरीय आयु लम्ब्याउन सकिन्छ । एक अध्ययनअनुसार महिलामा ६० प्रतिशत र पुरुषमा करिब ४० प्रतिशत क्यान्सरको कारक तत्व असन्तुलित भोजन नै हो । शुरुमा उपचार गरे क्यान्सर निको हुन्छ । तैपनि क्यान्सरबाट पाइने दुःख, हुने विकृति र विभिन्न समस्या तथा लाग्ने उपचार खर्चलाई सजिलैसँग नियन्त्रण गर्न सकिने भएकोले रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । –चुरोट, बिडी, खैनी, पान, तम्बाखु र गुटखा जस्ता लागू पदार्थ तथा सूर्तीजन्य पर्दाथको सेवन नगर्ने । –सडेगलेका, बासी, ढुसीपरेका, बेसी रङ्गाइएका, बुट्टाबुट्टी भएका र अखाद्य रङ मिसाइएका खानेकुरा नखाने । –बेसी पोलेको मासु, डढेका खानेकुरा र  बढी तातो, चिसो, चिल्लो खाना नखाने, जाँडरक्सी सेवन नगर्ने वा थोरै मात्रा लिने, –प्रत्येक दिन शारीरिक ब्यायाम गर्ने । –स्वच्छ सफा, ताजा,  हरियो सागपात, पहेंलो फलफुल, गेडागुडी, रेसाजन्य तथा पौष्टीक पर्दाथ भएको शाकाहारी र सन्तुलित भोजन गर्ने (मासु खानै परे पनि सेतो मासु खाने) । –नक्कली र जथाभावी औषधीको प्रयोग नगर्ने, खाना खाइसकेपछि मुख सधैँ सफा राख्ने, वातावरणीय प्रदूषणबाट जोगिने । –धेरै जनासँग यौन सम्पर्क नराख्ने । –अनावश्यक मोटोपन घटाउने र नियमित शारीरिक व्यायम गर्ने, नून धेरै हालेको खाना कम खाने । अन्तमा, सन २०२२ देखि २०२४ सम्म फेब्रुअरी ४ को ‘नारा क्लोजिङ द ग्याप ईन केयर’ अर्थात क्यान्सरको उपचारमा हुने असमानताको अन्त गरौँ भन्दै मनाईदैछ । स्वास्थ्यप्रति चेतनशील रहने र नियमित स्वास्थ्य परीक्षण गर्ने जस्ता व्यक्तिगत एवं वातावरणीय सरसफाई, उचित खानपान तथा स्वस्थ जीवनयापन गर्नाले क्यान्सर रोगबाट जोगिन सकिन्छ । त्यसैगरी शुरुकै अवस्थामा रोग पत्ता लगाई उपचार गरेमा धेरैजसो क्यान्सर पूर्णतया निको पार्न सकिन्छ र दीर्घायु तथा मानवोचित, जीवनयापनमा सहयोग पुग्दछ । रासस (लेखक स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता हुन् ।)