दमका रोगीलाई जाडोमा किन गाह्रो हुन्छ ?

काठमाडौं । जाडोयाम लाग्ने बित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारीरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरुलाई गाह्रो हुने चिकित्सकको भनाइ छ । जाडो भयो चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन । ‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्वनडाइअसाइडको मात्रा बढ्छ । र दमले बढी च्याप्छ ।’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा. पशुराम विष्ट भन्छन् । डा. विष्टका अनुसार सिओपिडी अर्थात् क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम हैनन् । बालबालिकाहरुमा हुने तारन्तारको रुघाखोकी, घ्यारघ्यार दम हैन । ‘सबै क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम नहुन सक्छन् । दम भनेर उपचार गर्नुपूर्व चिकित्सकसँग सल्लाह लिएर डायग्नोसिस गराउनु अपरिहार्य छ ।’ स्वासनली साँघुरिँदै र स्वासप्रस्वासको काम गर्ने फोक्सोमा रहेको एल्बेलाई जहाँ हावा रहने र जाने गर्दछ । त्यसको जीनहरु नष्ट भएर फोक्सो दिर्घकालिन रुपमा फुल्ने कारणले दम हुने भन्दै डा. विस्ट भन्छन् । २ वर्ष लगातार ३ महिनासम्म स्वास फेर्न गाह्रो हुने, लगातार खकार आइरहने, खोकी लागि रहने भए दम हुन सक्छ । यसको सुरुवाती अवस्थालाई क्रोनिक ब्रोन्क्राइटिस स्टेज भनिन्छ । बढी मात्रामा धुम्रपान गर्ने, दाउरा गुईठा प्रयोग गर्ने, धुलो तथा धुँवा र प्रदुषणमा काम गर्नेहरुलाई दम हुने संभावना अत्याधिक हुन्छ । बाल्यवस्थामा धेरै पटक इन्फेक्सन भएर तारन्तार निमोनिया हुनेहरुलाई पछि गएर सिओपिडीको जोखिम भएकाले बाल रोग विशेषज्ञबाट बालबालिकाहरुको उपचार गर्नुपर्ने डा. विस्टको सल्लाह छ । बालबालिकामा हुने दमलाई आस्थ्मा भनिन्छ । यो चुरोटसँग सम्बन्धीत हुँदैन । सामान्य अवस्थामा भाइरल इन्फेक्सनहरुको कारणले गर्दा दमजस्तै लक्षण देखापर्न सक्छ । बालबालिकामा हुने एलर्जीका कारणले ब्रोन्केल आस्थ्मा हुन्छ । ‘उपचार गरिसकेपछि पुनः केही समयपछि तारन्तार दोहोरिने भयो भने दम भयो कि भन्न सकिन्छ । तारन्तार रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार गर्ने, जिउमा डावरहरु आइरहने, चिलाईरहने, दागहरु आउने, केही कुराहरुको एलर्जी हुने लक्षण देखिए त्यसलाई एलर्जिक आस्थमा भनिन्छ । यस्तो लक्षण देखिने वित्तिकै सिओपिडीको जाँच गर्नुपर्छ ।’ उनले भने । वाल्यवस्था देखिने सिओपिडी उपचार पछि निको पार्न सकिन्छ । तर, ४० वर्ष माथि पुगेपछि देखिने सिओपिडीहरु निको नहुन सक्छ । पहिला दम भएको होकी हैन खुट्याएर मात्र उपचार थाल्नु पर्दछ । सामान्य अवस्थामै दम भयो भन्दैमा चिकित्सकको सल्लाह विना जथाभावी औषधीहरु खानु हुँदैन । अत्याधिक धुम्रपान गर्ने, दाउरा गुईंठाहरु प्रयोग गर्ने, धुलो धुँवा लगायत प्रदुषणमा काम गर्नेहरुलाई बढी मात्रामा सिओपिडी हुनसक्छ । तारन्तार स्वास बढ्ने, रुघा खोकी लाग्ने, उकालो हिँड्न नसक्ने, सामान्य काम पनि गर्न नसक्ने भयो भने दमको शंका गर्न सकिन्छ । मुटुको कारण हुन सक्छ दम त्यस्तै पल्मोलोजिस्ट डा. विस्टका अनुसार मुटुको कारणले पनि दम हुन सक्छ । दमका रोगीहरुलाई हर्ट अट्याक भएर मृत्यु समेत हुने जोखिम रहन्छ । बाल्यकालमा पटकपटक निमोनिया भएर छाती खराब भएका, टिवी भएकालाई दम हुन सक्छ । वंशाणुगत रुपमा पनि दम हुने संभावना छ तर, नेपालका त्यसको मात्रा एकदमै न्यून रहेको छ । ‘सामान्यता एक्सरे, इसिजीहरु गरेर अरु रोगहरु छ छैन पहिचान गरेपछि पिएफटी ९पल्मोनरी फङ्सन टेस्ट० गरेपछि मात्र दम हो हैन पत्ता लाग्छ । नेपाल मेडिकल कलेजमा पिएफटी सेवा उपलब्ध छ ।’ डा. विस्ट भन्छन् । दम निको हुँदैन तर, नियन्त्रण गर्न सकिन्छ दमको रोगीहरुलाई तान्ने औषधी रोटाक्याप हुन्छ । मिटरडोज इन्हेलर हुन्छ । यस्ता औषधीले दम रोगलाई नियन्त्रण गर्छ तर, निको भने हुँदैन । धुम्रपान छोड्नु पर्छ, धुँवाधुलोबाट टाढा बस्नुपर्छ । यसो गर्दा बिरामीको आयु बढ्ने र दमको चाप कम गर्न सकिन्छ । पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । जाडो मौसम सुरु हुन अगाडी निमोनिया हुन नदिन भ्याक्सिनहरु लगाउनु पर्छ । जथाभावी अक्सिजन नलगाउँ प्रायः दमका पुराना रोगीहरुलाई अक्सिजन लगाउनु पर्छ । तर, चिकित्सकको सल्लाह विना जथाभावी अक्सिजन लगाउन नहुने डा। विष्टको सुझाव छ । शरीरमा अक्सिजनको मात्र कति छ जाँच्नु पर्छ । ‘हाम्रो शरीरमा अक्सिजनको मात्रा ९६,९८ स्याचुरेशन हुन्छ । तर, दम भएकाहरुमा फोक्सो नष्ट हुँदै जाँदा अक्सिजन भित्र गएपनि फोक्सोबाट रक्तनलीमा राम्ररी अक्सिजन नजाँदा अक्सिजनको मात्र कम हुन्छ । ८८ स्याचुरेशन भन्दा कम अक्सिजन देखिए अक्सिजन लगाउनु पर्छ ।’ त्यस्तै उनले मुटुको रक्तनलीमा प्रेसर बढेको, मुटुको दाहिने भाग सुन्निएकाहरुलाई अक्सिजनको मात्र ८८ देखि ९२ भएपनि अक्सिजन लगाउनु पर्ने बताए । कहिले काँही भाइरल इन्फेक्सनका कारण फोक्सोमा पानी जमेको हुन्छ । रक्तनलीमा रगतका टुक्रा जम्ने, फोक्सो फुट्ने जोखिम समेत हुन्छ । कहिले काँही कार्वनडाइअक्साइड बढ्ने, अक्सिजन घट्ने अवस्था पनि हुन्छ । त्यस्ता बिरामीलाई बाइप्याक लगाएर बिरामीलाई भेन्टिलेटर सम्म पुर्याउन रोक्न सकिन्छ । नेपाल मेडिकल कलेजमा यी सबै सेवाहरु उपलब्ध छन् । ‘भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई पनि हामीले उपचार गरी बचाएका छौं । भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई बचाउन सकिँदैन भन्ने भ्रम हटाउन आवश्यक छ ।’ डा. विष्ट भन्छन् । त्यसो त, नेपाल मेडिकल कलेजमा दमको विरामीहरुको लागि हप्ताको चार वटा ओपिडी हुन्छ । सिओपिडी हो हैन पत्ता लगाउन स्पाइरोमेट्री उपलब्ध छ । त्यसबाट फोक्सोको अवस्था कस्तो छ पत्ता लगाउन सकिन्छ । इमरजेन्सीमै कार्वनडाइअक्साइड बढी भएर आएका बिरामीहरुलाई वाईप्याक दिएर उपचार थाली उनीहरुलाई भेन्टिलेटर सम्म पुग्नबाट रोक्ने गरिन्छ ।

आँखा उपचारमा फड्को : २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ ।  सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ । नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ (आरओपी)का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ ।  विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहिआएको जनाइएको छ । आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत गरिएको उपचारले आँखा उपचारमा ऐतिहासिक सफलता पाएको हो । काठमाडौं उपत्यकाभित्रकै एक अस्पतालबाट ‘रेफर’ भई आएको ती शिशुको आँखाको गत पुस १० मा शल्यक्रिया गरिएको थियो । सो जटिल शल्यक्रियामा नेतृत्व गरेकी चिकित्सक प्रिया बजगाईंले भनिन्, ‘२९ हप्तामा जन्मेको शिशुको एलएसभी पद्धतिमार्फत शल्यक्रिया गरिएको नेपाल आँखा अस्पतालमा पहिलोपटक हो । बुधबार फलोअप उपचारका लागि शिशुलाई अस्पतालमा ल्याइएको थियो । मैले शिशुको दुवै आँखा परीक्षण गरेँ, आँखामा सुधार हुँदै गएको छ । वृद्धिविकास हुँदै जाँदा समस्या न्यून हुँदै जाने देखिन्छ । तर फलोअप उपचार भने गरिरहनुपर्छ ।’ उनकै नेतृत्वमा ती शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर प्रविधिमार्फत उपचार गरिएको थियो । चिकित्सक बजगाईंले भनिन्, ‘शिशुको दायाँ आँखाको लेजर प्रविधिबाट उपचार सफल भएपछि यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको हो, जुन सफल पनि भयो ।’ सो शल्यक्रियामा उनीसहित पेडाएट्रिक एनेस्थेशियोलोजिस्ट शान्ता सापकोटा सहभागी थिए । रेटिना विशेषज्ञ बजगाईंलाई शिशुको एलएसभी शल्यक्रिया गर्न करिब एक घण्टाभन्दा बढी समय लागेको थियो । उनले भनिन्, ‘यस्ता शल्यक्रिया सफल हुन अथवा असफल हुन पनि सक्छ । तर मैले ती शिशुको आँखाको ज्योति जोगाउन अन्तिम पर्यत्न गरेँ जुन सफल भयो । यो मेरो जीवनका लागि पनि खुसीको क्षण हो ।’ शिशुको जन्म हुँदा उनको तौल एक हजार दुई सय ग्राम मात्र रहेको बताइएको छ  । जन्मिएपछि २८ दिनसम्म शिशुको एनआईसीयूमा उपचार भएको थियो । जन्मेको ३४ दिनपछि आईसीयूमा रहेकै अवस्थामा शिशुको आँखा उपचार गर्न आँखा अस्पताल ल्याइएको थियो । आँखा रोग विशेषज्ञका अनुसार आँखाको रक्त नसा विकसित नभएको अवस्था अर्थात् ‘आरओपी’ पाँच चरणका हुने गर्दछ । पहिलोदेखि दोस्रोसम्म क्रमशः शिशुको वृद्धिविकाससँगै नसाको पनि वृद्धिविकास हुँदै जाने गर्दछ तेस्रो र चौथो चरणमा पुग्दा लेजर वा इन्जेक्सन तथा अन्तिम चरणमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ । चिकित्सक बजगाईंले भनिन्, ‘कम तौल, गर्भावस्था ३४ हप्ताभन्दा कम, जन्मँदा अक्सिजनको उतारचढावका कारण अक्सिजन थेरापी दिइएको, शारीरिक, जन्डिस, पेटको समस्याले ती शिशुको दुवै आँखामा समस्या देखिएको रहेछ । गर्भावस्था ३४ हप्ता कम अथवा दुई किलोभन्दा कम वजन जन्मेका शिशुमा आरओपीका कारण अन्धोपन हुने जोखिम हुन्छ ।’ उनी प्रसूतीगृह थापाथलीमा जन्मेका नवजात शिशुको आँखा उपचार पनि संलग्न छिन् । आँखा अस्पतालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले ती शिशुको शल्यक्रियालगायत अन्य उपचारका लागि ‘एक एक पाइला फाउन्डेसन’बाट शोधभर्ना हुनेगरी अभिभावकसँग शुल्क कुनै नलिएको जानकारी दिए । उनले भने, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाएको नीतिअनुसार हामी आँखा उपचार सेवालाई अब्बल बनाउने अभियानमा लागिरहेका छौँ । आगामी दिनमा अस्पतालको सेवालाई अझ विस्तार गर्दै जाने नीति लिएका छौँ ।’ अस्पतालका मेडिकल रेकर्ड अधिकृत सन्तोष पौडेलका अनुसार अस्पतालले गत वर्ष सेवा पुर्‍याएका एक लाख ५७ हजार बिरामीमध्ये ३४ हप्ता मुनिका तीन सय शिशु रहेका थिए  । तीमध्ये ३६ शिशुको ‘लेजर अभास्टिन इञ्जेक्सन’मार्फत आँखाको उपचार गरिएको थियो । यस प्रकारको उपचार सेवाका लागि पनि  सर्वोत्कृष्ट मानिन्छ । आरओपी भनेको के हो ? शिशु जन्मँदा कम तौल भएका अथवा सयम नभई चाँडै जन्मेका शिशुको आँखाका असर गर्ने रोग हो । यो रोग लागेपछि आँखाको पर्दाको रक्तनली सामान्यरुपमा बढ्न र विकसित हुन पाउँदैन । रोगले आँखाको सामान्य समस्यादेखि पर्दा फाट्नेजस्ता गम्भीर र अन्ततः दृष्टिविहीनतासम्म निम्त्याउन सक्छ । चिकित्सक बजगाँइका अनुसार यस्ता आँखा रोगका सिकार कम तौल (दुई किलोग्राम) भन्दा कम जन्मेका नवजात शिशु, गर्भावस्था अवधि ३४ हप्ताभन्दा कम जन्मेका शिशु, जुम्ल्याहा जन्मेका तथा कृत्रिम गर्भाधानका माध्यमबाट जन्मेका शिशु तथा शारीरिक कमजोरी भएका शिशु जोखिममा हुने गर्दछन् । आरओपीको लक्षण : आरओपीको लक्षण सामान्य आँखाले देख्न सकिँदैन । विशेष उपकरणको सहायताले मात्र देख्न सकिन्छ । सामान्यतया आरओपीका लक्षणहरू जन्मेको तीन हप्ता अथवा चारहप्तापछि देखा पर्दछ । यसैले समयमा आरओपी स्क्रिरिङ गर्न आवश्यक छ । आरओपी स्क्रिरिङ कतिबेला आवश्यक छ ? गर्भावस्था अवधि ३४ हप्ता भन्दा कम र जन्मेको शिशुको तौल दुई किलोभन्दा कम भएमा, कुनै कारणले अस्पतालमा लामो समय भर्ना भई बसेको अस्थिर स्वास्थ्यावस्था भएका शिशु, यस्ता शिशुलाई जन्मेको ३० दिनभित्र आँखा जाँच गर्नुपर्दछ । साथै २८ हप्ताभन्दा कम र १.२ किलोभन्दा कम उमेरका शिशुलाई जन्मेको २० दिनभित्र जाँच गर्नुपर्दछ । रासस

ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने भएको छ । माघ १३ गते शनिबार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म अस्पतालको आइभिएफ केन्द्रमा परामर्श दिइने अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले जानकारी दिए । लामो समयसम्म पनि सन्तान नहुँदा सयौं दम्पती पीडामा रहेकाले उनीहरूका लागि उचित परामर्श दिन लागिएको उनको भनाइ छ । पछिल्लो समय प्रविधिको विकाससँगै सन्तान उत्पादनका उपचार पद्धतीले निसन्तान दम्पतीको पीडालाई कम गरिरहेको सन्दर्भमा उचित परामर्शले दम्पतीलाई खुशी दिलाउन सहयोग पुग्ने अस्पतालले जनाएको छ । सो कार्यक्रममा निशुल्क परामर्श सेवाका साथै अस्पतालको प्रयोगशाला परिक्षणमा २० प्रतिशत तथा पाठेघर जाँचमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । अनुभवी र दक्ष चिकित्सकद्वारा स्त्रीरोगको परिक्षण गरिने अस्पतालले जनाएको छ ।