नेपालले ट्रान्स–फ्याट नियन्त्रण गर्न कानुन बनाएपछि डब्लुएचओको बधाई
काठमाडौं । नेपालले औद्योगिकरुपमा उत्पादित खाद्य पदार्थमा हानिकारक चिल्लो पदार्थको मात्रा अर्थात् ट्रान्स–फ्याट (अतिखराब चिल्लो) लाई नियन्त्रण गर्न कानुन जारी गरेपछि विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले बधाई ज्ञापन गरेको छ । डब्लुएचओ दक्षिण–पूर्वी एशियाका लागि क्षेत्रीय निर्देशक साइमा वाजेदले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यको प्रवर्द्धन गर्दै जीवन बचाउने उद्देश्यसहित नेपालले कानुन बनाएर राजपत्रमा प्रकाशित गरी ट्रान्स–फ्याट नियन्त्रण गर्न कदम चालेकामा बधाई दिएकी हुन् । ‘ट्रान्स–फ्याट एसिड उन्मुलन गर्नु भनेको मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट हुने अकाल मृत्युलाई रोक्ने एक प्रभावकारी उपाय हो,’ निर्देशक वाजेदले भनिन् । नेपालले ल्याएको उक्त कानुनबाट जनसङ्ख्याको झन्डै ८० प्रतिशत मानिसमा ट्रान्स–फ्याट एसिडबाट हुने जोखिमबाट सुरक्षित हुने विश्वास लिइएको उनले बताइन् । औद्योगिकरूपमा उत्पादन भएका वनस्पति घ्यु तथा तेलमा ट्रान्स–फ्याट पाइन्छ । सरकारले ट्रान्स–फ्याटको मात्रा खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा नबढेको हुनुपर्ने भन्दै राजपत्रमा उक्त कानुन प्रकाशित गरिएको छ । खाद्य ऐन, २०२३ को दफा ७ बमोजिम सरकारले खाद्य पदार्थको गुणस्तर तोक्ने अधिकारअनुसार गत माघ २५ गते राजपत्रमा सूचना प्रकाशित गरी चिल्लो पदार्थको मात्रा ट्रान्स–फ्याटका तोकेको हो । विश्वमा औद्योगिकरूपमा उत्पादित ट्रान्स–फ्याट एसिडको प्रयोग गरेबापत बर्सेनि पाँच लाख ४० हजार मानिसको मृत्यु हुने गरेको डब्लुएचओको तथ्यांकमा उल्लेख छ । ‘ट्रान्स–फ्याटको अत्यधिक उपभोगले मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट हुने मृत्युको जोखिमलाई उल्लेखनीयरूपमा बढाउँछ । यसबाट स्वास्थ्यमा लाभ पुग्ने कुरा अहिलेसम्म जानकारीमा छैन,’ डब्लुएचओ दक्षिण–पूर्वी एशियाका लागि क्षेत्रीय निर्देशक वाजेदले भनिन् । नेपालभन्दा पहिला सन् २०२२ सम्म थाइल्याण्ड, भारत र बङ्गलादेश, सन् २०२३ मा श्रीलङ्काले खाद्यान्नमा ट्रान्स–फ्याट एसिड उन्मूलनका लागि कानुन ल्याएका थिए । विश्वमा ट्रान्स–फ्याट एसिड उन्मूलनका लागि कानुन ल्याउनेमा नेपाल पाचौँ स्थानमा पर्दछ । डब्लुएचओले खाद्यपदार्थबाट ट्रान्स–फ्याट एसिडहरू हटाउनाले मानिसको स्वास्थ्य र आरोग्यतामा सुधार आउनुका साथै सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने अकाल मृत्युदरलाई एक तिहाइले घटाउँदै दिगो विकासको लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।
‘बालबालिकाको क्यान्सर चाँडै निको हुन्छ’
काठमाडौं । बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे चाँडै निको चिकित्सकले बताएका छन् । उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग तथा क्यान्सर रोग विशेषज्ञ डा. सूचारिका तण्डुकारले बढी उमेर भएका क्यान्सर रोगीको तुलनामा बालबालिकामा हुने क्यान्सरको समयमा उपचार गर्दा निको हुने सम्भावना धेरै रहेको बताइन् । ‘वयस्क व्यक्तिमा क्यान्सरसँगै अन्य रोग पनि देखिन्छ,’ उनले भनिन्, ‘क्यान्सर भएका बालबालिकामा अन्य रोगको सम्भावना कम हुने भएकाले समयमा उपचार गराउँदा निको हुने सम्भावना पनि धेरै हुन्छ ।’ डा. तण्डुकारका अनुसार नेपालमा उपचारको पहुँच नहुँदा धेरै बालबालिकाको क्यान्सरका कारण अकालमा मृत्यु हुने गरेको छ । वार्षिक करिब एक हजारसम्म बालबालिकाले क्यान्सरको उपचार गर्नुपर्नेमा अहिले पाँच सयले मात्र उपचार गरिरहेका उनले जानकारी दिइन् । भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु सापकोटाले मुलुकमा बालबालिकामा देखिएको क्यान्सर ३० प्रतिशत निको हुने गरेको बताइन् । ‘समयमै अस्पताल पुग्न नसक्दा पूर्ण उपचार नपाएर करिब ७० प्रतिशतमा पूर्ण निको हुँदैन,’ उनले भनिन् । उनका अनुसार नेपालजस्तो अल्पविकसित मुलुकमा बालबालिकामा हुने क्यान्सर निको हुने दर कम रहेको छ। विकसित देशमा ८० देखि ९० प्रतिशत बाल क्यान्सर निको पार्न सकिने डा. सापकोटाले जानकारी दिइन् । गरिबी, उपचारमा कम पहुँच हुनुलगायत कारणले उपचारमा समस्या भइरहेको उनको भनाइ थियो। डा. सापकोटाले वयस्क मानिसलाई क्यान्सरसँगै अन्य रोग पनि देखिने भएकाले निको हुने सम्भावना कम हुने बताइन्। ‘बालबालिकामा अन्य कुनै रोगको लक्षण हुँदैन। त्यसैले क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ,’ उनले भनिन्, ‘उमेर पुगेका मानिसमा उच्च रक्तचाप, मधुमेहलगायत अन्य रोग देखिने भएकाले क्यान्सर निको हुने सम्भावना कम हुन्छ ।’ नेपालमा क्यान्सर बिरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने सरकारी लक्ष्य रहेको भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. सापकोटाले जानकारी दिइन् । उनले मुलुकमा बालबालिकामा हुने ब्लड क्यान्सर ९० प्रतिशत निको भइरहेको उल्लेख गरिन् । डा. सापकोटाका अनुसार बालबालिकलाई ब्लड क्यान्सर, आँखामा हुने क्यान्सर, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर धेरै हुने गरेको छ । ‘बालबालिकामा १० प्रतिशत वंशानुगत गुणबाट र ९० प्रतिशत जिनको खराबीका कारण क्यान्सर हुने गर्दछ। जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई बढी क्यान्सर लाग्ने जोखिम रहन्छ,’ उनले भनिन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला मेमोरियल, भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पतालमा बाल क्यान्सरको उपचार हुने गरेको छ । रासस
हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा
फाइल फाेटाे सुन्दरहरैंचा । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन् । रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा रु २५ लाख ५० उपलब्ध गराएका थिए। सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका-९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए । विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने उनले बताए । एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले पाँच लाख ३० हजार रुपैयाँ उपलब्ध गराएका थिए। उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम संकलन भएको हो । स्थानीय मीना खवासले वडामा एम्बुलेन्स सञ्चालनमा आएकामा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘आपतकालीन अवस्थामा भनेको बेला एम्बुलेन्स पाउन सकिँदैन, आफ्नै वडामा एम्बुलेन्स भएपछि राहत मिलेको छ ।’ सहयोगी दातामध्येका अगुवाइकर्ता याम सेम्बुले आफूहरू जहाँ भएपनि गाउँको समस्यामा चिन्तित रहने गरेको बताए । गाउँको समस्यालाई आफ्नै ठान्दै एम्बुलेन्स सहयोग गरेको उनको भनाइ छ । अर्का सहयोगी साङ्गेहाङ तुम्बाहाम्फेले भने, ‘हामीलाई हाम्रो गाउँठाउँको दुःखसुख सबै थाहा छ, हामीले एम्बुलेन्स सहयोग गर्दा विपन्न परिवारलाई सहज होस् भन्ने उद्देश्य हो ।’ रासस