अन्तर्राष्ट्रियस्तर उपचार सेवा नेपालमै, दाँत किरा लाग्नबाट बचाउने उपाय
काठमाडौं । मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ । त्यही दाँत बाङ्गोटिङ्गो, मुख बाहिर निस्केको भयो भने मानिसको सुन्दरतामा पनि कमी आउँछ । हो, त्यही दाँत बनाउने र उपचारका लागि अहिले मानिसहरुले धेरै नै खर्च गर्ने गरेका छन् । अधिकांश व्यक्तिमा दाँतसम्बन्धी कुनै न कुनै समस्या हुने गरेको पाइएको छ । दाँतको हेरचाह राम्रोसँग नगर्दा समस्या हुने गरेको चिकित्सकले बताएका छन् । गुलियो, टाँसिने खानेकुरा जस्तै चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा धेरै जसोको दाँतमा किरा लाग्ने गरेको छ । बच्चा पनि धेरै गुलियो खानेकुरा खाँदा र दाँत नमाँझ्ने किराले खाने गरेको छ । वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा डा शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिसहरु दाँतको उपचारमा आउने गरेको बताउँछन् । उनका अनुसार तीमध्ये ७५ प्रतिशत दाँतका किरा लागेका बिरामी हुने गर्दछन् । ‘पहिले दाँतमा किरा लागेपछि फाल्ने गर्दथे भने अहिले धेरै जसो दाँत बचाउनका लागि आउने गरेका छन्’ उनले भने, ‘दैनिक दाँतका बिरामी बढिरहेकाले थेग्न सक्ने अवस्था छैन ।’ अस्पतामला दन्त विभागअन्तर्गत दाँत भर्ने, सफा गर्ने, गिजा रोग, दाँत फाल्ने र शल्यक्रिया गरि पाँच शाखा रहेका छन् । ती शाखामा दैनिक सय जना नयाँ दाँतका बिरामी आउने गर्दछन् । तीमध्ये दैनिक ५० जना बिरामीको दाँत भर्ने गरेको विभागका प्रमुख डा. प्रधानले बताए । उनले दाँतमा किरा लाग्नुबाहेक मानिसहरु दाँत राम्रो देखाउनका लागि पनि अस्पतालमा आउने गरेको बताए । उनका अनुसार बाङ्गोटिङ्गो दाँत मिलाउनका लागि मानिसहरु धेरै आउने गर्दछन । बच्चा तथा युवाको विग्रेको बाङ्गो दाँतलाई स्टिलको तारले बाँधेर दुई वर्षभित्र मिलाउन सकिने उनको भनाइ रहेको छ । दाँतको उपचार छ/छ महिना गर्नुपर्ने सुझाव चिकित्सकले दिन्छन् । किराले खान थालेको कसरी थाहा पाउने ? हाम्रो मुखमा सात सय प्रकारका सुक्ष्म जीवाणु रहेका हुन्छन् । खानेकुरा खाएर दाँत सफा गरेन, मुख स्वस्थ्य राखेन भने जीवााणुले खानासँग रियाक्सन प्रतिक्रियां गरेर एसिड निकाल्ने गर्दछ । त्यही एसिडले दाँत विस्तारै खाने गर्दछ । एसिडले विस्तारै दाँतको बाहिरको सेतो भाग (इनामेल) खाने गर्दछ । विस्तारै जीवाणुले इनामेलको भित्र रहेको डेन्टिङ (कम कडा भएको) पल्प (दाँतको नशा) सम्म पुग्यो भने दाँत दुख्ने गर्दछ । दाँत सुरुमा किराले खाएको थाहा पाउनका लागि गुलियो पदार्थ खादा दाँत सिरिङसरिङ गर्ने गर्दछ । अनि किराले अलि भित्र खाएको छ भने चिसो पानी खाँदा दाँत सिरिङ हुन्छ । अलि बढी नै दाँत किराले खान थाल्यो भने तातोपानी खाँदा दाँत सिरिङ हुने गर्दछ । तातो खादा दाँत सिरिङ गर्न थाल्यो भने दाँत धेरै नै दुख्न थालेको हुने विभागका प्रमुख डा. प्रधानले बताउँछन् । त्यसपछि दाँतको जरादेखि नै उपचार आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) गर्नुपर्दछ । मुखमा रहेका सुक्ष्म जीवाणु गिजाको वरिपरी लेउ बनाएर बस्ने गर्दछ । त्यसलाई सफा गर्न बिहान बेलुका नै राम्रोसँग दाँत माझ्ने गर्नुपर्दछ । खाना खाइसकेपछि विहान र बेलुका दुई मिनेटसम्म नरम ब्रसले कम्तिमा दुई मिनेटसम्म दाँत माझ्नुपर्दछ र हरेक पटक केही कुरा खाएपछि मुख कुल्ला गर्नुपर्ने सुझाव डा. प्रधानको रहेको छ । दाँत माझेन भने सुक्ष्म जीवाणु दाँतको वरिपरि जम्मा हुने गर्दछ । त्यही सुक्ष्म जीवाणुले गर्दा पछि दाँतमा किरा लाग्ने गर्दछ । वरिष्ठ दन्त चिकित्सक प्रा. डा. प्रधानले मानिसलाई पटक–पटक खानेकुरा नखाने पनि सुझाव दिनुहुन्छ । ‘पटकपटक खायो भने खाना मुखमा रहिरहन्छ । यसले गर्दा मुखमा अम्लीय भइरहन्छ र दाँत किराले खाने गर्दछ,’ उनले भने, ‘छिनछिनमा खानेकुरा खाने मानिसमा दाँतको समस्या बढी हुने गर्दछ ।’ उनका अनुसार चाउचाउ, चकलेट, चिजबलजस्ता गुलियो खानेकुरा दाँतको वरिपरी टाँसिएर बस्ने र तत्काल मुख सफा नगर्ने भएपछि जीब्रोमा सुक्ष्म जीवाणु हुने र त्यही जीवाणु दाँतमा बस्ने भएपछि दाँत किराले खाने गर्दछ । दाँत बचाउने उपाय के हुन सक्छ ? उनले दाँतको उपचार अन्यभन्दा खर्चिलो र समय धेरै लाग्ने समेत बताउँछन् । नेपाल र भारतमा दाँतको सामान बाहिरबाट आउने भएकोले महङ्गो पर्ने भएकाले सर्वसाधारणले दाँतको उपचार गर्नका लागि समस्या हुने उनको भनाइ रहेको छ । उनले एक जना विरामीको सामान्य उपचार गर्दा कम्तिमा चार पाँच दिन लाग्ने र आरसिटी, दाँत बाध्नुपर्ने र नयाँ दाँत हाल्नुपर्ने भएपनि महिनौं बिरामी अस्पतालमा आउनुपर्ने बाध्यता रहेको छ । ‘दाँत उपचारको स्वास्थ्य बीमा पनि नगरेकाले अझै सर्वसाधारण दाँतको उपचारबाट बञ्चित रहेका छन’, उनले भने, ‘सर्वसाधारणलाई दाँतको उपचारमा सेवा पुर्याउनका लागि स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्दछ ।’ पहिलेपहिले मानिसले दाँत किराले लागे भने फाल्ने गर्दथ्ये । तर अहिले मानिसहरुमा चेतना आएपछि दाँतको उपचार गरेर सकभर बचाउने गर्दछन् । अस्पतालका गिजा रोग विशेषज्ञ डा रञ्जिता श्रेष्ठ गोर्खालीले सकभर दाँत बचाउनुपर्ने सुझाव दिन्छन् । उनले दाँत फाल्दा खानपिनमा फरक पर्ने भएकाले दाँत बचाउन सुझाव दिन्छन् । ‘दाँतले राम्रोसँग खानेकुरा चपाएर खाएनौँ भने हाम्रो स्वास्थ्यमा नै असर पर्ने गर्दछ’, उनले भने, ‘त्यही भएर हामीले सकभर दाँत फाल्न हुँदैन ।’ अस्पतालमा आउने दाँतका बिरामीमा दाँतसँगै गिजाबाट रगत आउने पनि समस्या देखिएको छ । सुरुसुरुमा ब्रस गर्दा गिँजाबाट रगत आउने गर्दछ । त्यसको उपचार नगरेपछि पछि स्याउ, गाजर, टोक्दा रगत आउने गर्दछ । त्यसलाई पनि उपचार नगर्दा गिँजामा छोयो कि रगत आउनेजस्ता समस्या देखिने गर्दछ । गिजाको रोग २५ वर्षपछि मानिसमा देखिने गरेको छ । दाँतका बिरामीलाई मधुमेह, मुटुको रोग, बिर्सने रोग (अल्जाइमर) रोग जस्ता थप रोग लाग्ने गर्दछन् । दाँत किराबाट बचाउने के गर्ने ? दाँत रोग गुलियो खानेकुरा, दाँतमा टाँसिने खालका खानेकुरा चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा लाग्ने गर्दछ । यस्तै चुरोट खाने मानिसलाई दाँत किराले धेरै खाने गरेको छ । चुरोट सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई रोगसँग लड्ने क्षमता कम हुने गर्दछ र त्यस्ता मानिसको गिँजा दुख्ने तथा दाँत झर्ने समस्या हुने गरेको छ । बच्चाले दाँत नमाझ्ने धेरै किराले खाने गर्दछ । दाँत बचाउनका लागि खानेकुरा खाएपछि कुल्ला गर्ने, बिहान उठनासाथ दाँत माझ्ने गर्नुपर्दछ । खाना खाइसकेपछि दाँत माझ्दा किराले खाँदैन । बिहान खाना खाएपछि दुई तीन घण्टा केही खानु हुँदैन । राति सुत्दा अनिवार्य रुपमा दाँत माझ्नु पर्दछ । दिउँसो थुक धेरै आउने भएकाले थुकले सुक्ष्म जीवाणुलाई भित्र लैजान्छ । राति मुखबाट थुक कम आउने र त्यही थुक मुखमा रहिरहने भएकाले दाँतको वरिपरि सुक्ष्म जीवाणु फैलिने हुँदा सुत्नुअघि पनि दाँत माझ्नु आवश्यक रहेको उनको भनाइ छ । हरेक तीन/तीन महिना बु्रस फेर्नुपर्दछ । कडा नभई नरम ब्रसले दाँत माझ्नु पर्दछ । कडा ब्रसले दाँत माझ्दा दाँतको इनामेललाई असर पुर्याउने गर्दछ । एकपटकमा ठूलो केराउको दाना जति पेस्ट राखेर माझ्न सकिन्छ । दाँत माझेपछि त्यही ब्रसले जिब्रो पनि सफा गर्नुपर्छ । अस्पतालमा ठाउँको अभाव वीर अस्पतालमा दाँतको उपचार गुणस्तरीय र राम्रो भएकाले उपचारका लागि बिरामीलाई पालो पाउन नै समस्या हुने गरेको छ । थोरै जनशक्ति र बिरामीको चापले गर्दा दाँतको उपचारका लागि पालो पाउन समस्या हुने गरेको विभागका प्रमुख डा. प्रधानले बताए । अन्य भन्दा वीर अस्पतालमा दाँतको उपचार ५० प्रतिशत सस्तो रहेको छ । ‘हाम्रोमा अन्य भन्दा गुणस्तरीय र सस्तो सेवा रहेको,’ उनले भने, ‘त्यही भएर बिरामीको भीड हुने गर्दछ र पालो पाउन समस्या हुने गरेको छ ।’ अहिले दन्त विभागमा चिकित्सकलाई पनि उपचार गर्नका लागि पर्याप्त मात्रामा बस्ने ठाउँको अभाव रहेको छ । दन्त अस्पताल बनाउने पर्दछ भनेर सम्भाव्यता अध्ययन भएको तर त्यो त्यतिकै भएको अस्पतालका दन्त विभागका प्रमुख प्रा. डा. प्रधान बताउँछन् । अस्पतालमा अहिले सात जनाले मास्टर एण्ड डेन्टल सर्जरीस्नातकोत्तर अध्ययन गरिरहेका छन् । अन्तर्राष्ट्रियस्तर उपचार सेवा नेपालमै नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ । अस्पतालका गिजा रोग विशेषज्ञ डा रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताए । उनका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ । उनले डिजिटल स्क्यान गरेर कुन आकारको दाँत बनाउने भन्ने प्रविधि पनि अस्पतालमा रहेको बताए । ‘विदेशमा गरिने सवै विशेषज्ञ सेवा हामीले यही नेपालमा नै दिने गरेका छौ,’ उनले भने, ‘दाँत उपचारका लागि कोही पनि विदेश जानु पदैन ।’ उनका अनुसार बाङ्गोटिगो दाँत मिलाउने, मुख खोल्न नसक्नेको उपचार, ढाड नभएको ठाउँमा ढाड राखेर दाँत राख्ने, चिउडो बाहिर आउनेको मुखको आकृति मिलाउने, दाँतको टोकाई नमिलेकोलाई मिलाउने, कस्टमेटिक सर्जरी जस्ता उपचार नेपालमा नै हुने गर्दछन् । नेपालमा दैनिक रुपमा दाँतका बिरामी बढे पनि गुणस्तरिय उपचार अस्पतालले दिन नसकेको छैन । ‘नेपालमा दन्त चिकित्सकका प्रसस्त जनशक्ति रहेका छन् । तर राज्यले सर्वसाधारणलाई उपचार दिन छैन,’ प्रमुख प्रा डा. प्रधानले भने, ‘राज्यले सरकारी अस्पतालमा दरबन्दी बढाउनु पर्दछ । दाँतको छुट्टै अस्पताल खोलेर सर्वसाधारणलाई उपचारको पहुँच पुर्याउन आवश्यक रहेको छ ।’ उनका अनुसार अहिले १२ वटा शिक्षण संस्थामा वार्षिक ५०० भन्दा बढी दन्त चिकित्सक र सात वटा शिक्षण सस्थाबाट स्नातकोत्तर तहबाट सयभन्दा दन्त रोग विशेषज्ञ उत्पादन भइरहेका छन् । तर सरकारले ५० भन्दा बढी मात्र दन्त चिकित्सकको दरबन्दीमा राखेको छ । सरकारी सेवामा पर्याप्तमात्रामा दरबन्दी नहुँदा दन्त चिकित्सक क्लिनिक सञ्चालन गरेर बसेका छन् । नेपालमा पर्याप्त जनशक्ति खपत नभएपछि ५० प्रतिशत दन्त चिकित्सक राम्रो सेवा सुविधाका लागि अमेरिका र अष्ट्रेलियामा समेत जाने गरेको उनको भनाइ छ । उत्पादन भए पनि दरबन्दी नभएर सरकारी अस्पतालमा दन्त चिकित्सकको अभाव रहेको प्रा डा प्रधान बताउँछन् । अस्पतालमा अहिले स्थायी र करारमा ४० जना दन्त चिकित्सकले सेवा दिइरहेका छन् । रासस
जलन भएकाहरूको निःशुल्क उपचार गर्न सरकारले अक्षय कोष स्थापना गर्नुपर्छ : डा. भण्डारी
अन्य समयभन्दा चिसो समयमा नेपालमा जलनका बिरामीको संख्या धेरै हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी ७५ हजार हाराहारीमा मानिस जलनबाट प्रभावित हुन्छन् । आगो, ग्यास लिक भएर, एसिडको जलन, तेल पड्किने, तातो चिज उछिट्टिने, कुँडो पकाएको भाँडामा खस्ने, तातो चिजमा पर्ने र विद्युतीय जलन तथा आम रूपमा हुने जलन लगायत विभिन्न कारण मान्छे जलनमा पर्छन् । जलन भए के गर्ने ? के घरमै पनि उपचार गर्न सकिन्छ ? अस्पतालमा उपचार कसरी हुन्छ ? र, यसबाट जोगिन के गर्ने ? यी र यस्तै विषयहरू समेटेर विकासन्युजका लागि इन्द्रसरा खड्काले सुस्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर तथा प्लाष्टिक सर्जन डाक्टर सन्तोष विक्रम भण्डारीसँग कुराकानी गरेकी छन् । अस्पतालमा जलनका बिरामीहरू कत्तिको आइरहेका छन् ? कस्तो जलन बढी देखिन्छ ? अहिले जाडोको मौसम छ । यो समयमा जलनका बिरामीको संख्या बढी हुन्छ । चिसोबाट जोगिन मान्छे आगो ताप्ने गर्छन् । अहिले अस्पतालमा आउने प्राय बिरामी आगो ताप्दा जलेकाहरू नै बढी आइरहेका छन् । हाम्रो अस्पतालमा अहिले दैनिक दुईदेखि पाँच जनाको दरले जलनका बिरामी उपचारको लागि आउने गर्दछन् । कस्तो अवस्थामा बिरामीहरू अस्पताल पुग्छन् ? यो विषयमा थाहा पाएकाहरू घरमै वा पायक पर्ने अस्पतालमा प्राथमिक उपचार गरेर समयमै अस्पताल आउनुहुन्छ । यस्तो अवस्थामा आएकाहरूको उपचार गर्न हामीलाई पनि सहज हुन्छ । तर प्रायजसो बिरामी दुई दिन वा एक हप्तापछि आउने गर्छन् । जसले गर्दा उपचार पद्धतिमा समेत जटिलता थपिने गर्छ । तर जलनको बिरामी समयमै अस्पताल आउन नै सकिरहेका छैनन् । जलेर उपचारको लागि यो अस्पतालमा आउने बिरामी उपत्यका बाहिरका कत्तिको छन् ? यहाँ ७७ वटै जिल्लाबाट बिरामीहरू उपचारको लागि आउनुहुन्छ । सबैभन्दा बढी तराई मधेश र सदूरपश्चिमबाट आउनुहुन्छ । सबैभन्दा बढी केबाट जलन भएकाहरू आउँछन् ? आगोले र तातोपानीले हुने जलनका बिरामी यहाँ सबैभन्दा धेरै आउँछन् । त्यसैगरी केमिकल र करेन्टबाट हुने जलन अलि कम आउने गर्छन् । बिरामी अस्पताल आइपुग्दा उनीहरूले घरमा के-के उपचार गरेको पाइन्छ ? धेरै जसो बिरामीले प्राथमिक उपचार नै पाएका हुँदैनन् । जलन हुने बित्तिकै आफुलाई आगोबाट टाढा राख्ने । त्यसपछि पोलेको भागमा कम्तीमा पनि २० मिनेटदेखि आधा घण्टासम्म सामान्य धाराको पानी हाल्ने । यसो गर्दा जलन गहिरो हुनबाट रोक्छ । यति गर्यो भने उपचार प्रक्रिया पनि छिटो हुन्छ । बिरामी पनि छिटै निको हुन्छ । तर, अस्पताल आइपुग्ने बिरामीमध्ये एकदमै कमले मात्र यस्तो गरेको पाइन्छ । धेरै जस्तोले घरमै गिलो माटोको लेप लगाउने, घिउकुमारी, मञ्जन, गोलभेडा अथवा अरु जडिबुटी लगायत घरेलु वस्तु घाउमा लगाएका हुन्छन्, जसले गर्दा झन् समस्या सिर्जना हुन्छ । कुनै व्यक्ति आगो अथवा तातो वस्तुबाट जल्यो भने तत्काल के गर्ने ? सबैभन्दा पहिले पोलिरहेको छ भने तत्काल त्यो ठाउँबाट टाढा राख्नुपर्यो, कपडामा आगो लागिरहेको छ भने, त्यसलाई हटाउनुपर्यो यति गरिसकेपछि मैले अघि भने जस्तै धाराको पानीमा भिजाउनुपर्छ । त्यसपछि कुनैपनि सफा कपडाले घाउलाई छोपेर नजिकैको अस्पतालमा जानुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा बिरामीले पाउने प्राथमिक उपचार के हो ? एउटा छाला जाने बित्तिकै शरीरबाट धेरैभन्दा धेरै पानीको मात्रा बाहिर जान्छ । यसका लागि सबैभन्दा पहिले नर्मल स्लाइन पानी चलाउनुपर्छ । यदि त्यो ठाउँमा त्योभन्दा बाहेक अरु उपचार हुन सक्दैन भने स्लाइन चढाएर नै अर्को अस्पताल पुर्याउँनु भयो भने राम्रो हुन्छ । अर्को, जलनमा धेरै पीडा/ दुखाई हुने भएकाले दुखाई कम गर्ने औषधी पनि खुवाउनुपर्छ । जलनमा घरेलु उपचार के हुन्छ ? पानीभन्दा बाहेक अरु घरमा उपचार गर्न म सल्लाह दिन्न । मान्छेले चेतनाको अभावमा नजानेर अनेकौँ गतिविधिहरू गरिरहेको पाइन्छ । तर, म घरमा जलेको भागलाई सकेसम्म धारामा बगिरहेको पानी नभए भाँडाबाटै भएपनि कम्तीमा एक घण्टासम्म पानीमा राख्न सुझाव दिन्छु । यसमा अन्य घरेलु कुनै उपचार हुँदैन । अस्पताल पुगेपछिको उपचार विधि के हो ? हामी कहाँ कुनैपनि जलनको बिरामी पुग्दा सबैभन्दा पहिले कति भाग वा प्रतिशत जलेको छ, त्यो हेर्छौं। त्यसपछि दुखाई कम गर्न र पानी दिन लाग्छौँ । त्यसपछि ड्रेसिङ, अप्रेसन वा घाउ सफा यीमध्ये के गर्नुपर्ने हुन्छ ? त्यो बिरामीको अवस्था हेरेर उपचारको प्रक्रिया सुरु गर्छौं । सबैभन्दा बढी शरीरको कति प्रतिशत भाग जलेको बिरामी अस्पतालमा आउँछन् ? हामीकहाँ सामान्यदेखि पुरै शरीर जलेकाहरू उपचारको लागि आउनुहुन्छ । ९० प्रतिशत र त्योभन्दा माथि पुरै जलेकाहरू पनि आउनुभएको छ । सामान्यतया ४० प्रतिशतभन्दा धेरै जलन हुने बित्तिकै बिरामीको मृत्युदर उच्च हुन्छ । ९० प्रतिशत जलन हुने बिरामी बाँच्ने सम्भावना एकदमै कम हुन्छ । यस्तो अवस्थामा उहाँहरूको उपचार भनेको बाँचेसम्मको अवस्थालाई दुखाई नहुने व्यवस्था गर्छौं । जलनका बिरामीले पाउनु पर्ने सेवा सुविधा अस्पतालमा कत्तिको प्रयाप्त छ ? हामीसँग स्कीन बैंक छैन । तर, पनि हामी छाला आफैले फ्रिजमा राख्ने र पछि प्रयोग गर्ने गरिरहेका छौं । अब स्कीन बैंकको तयारीमा हामी छौं । अन्य बिरामीलाई दिनुपर्ने सबै सुविधा हामीसँग छ । हामी यो अस्पतालमा आएका बिरामीलाई अन्त रेफर गर्दैनौं । कोही विदेशमा जानुहुन्छ अथवा आफै अर्को अस्पतालमा जान्छु भन्नुहुन्छ भने हाम्रो भन्नु केही हुँदैन । जलनको उपचारको लागि हामी पूर्ण रुपमा सक्षम छौं । हामीसँग वार्डदेखि लिएर ड्रेसिङरुम,आईसीयू, भेन्टिलेटर पनि छ । नेपालमा जलन सम्बन्धी उपचार गर्ने अस्पताल र जनशक्ति कत्तिको प्रयाप्त छ ? यसमा निकै समस्या छ । जलन सम्बन्धी उपचार हुने नेपालमा बिशेषगरी पाँच अस्पताल छन् । ती पनि काठमाडौं उपत्यकामा छन् । यसो हुँदा दूरदराजका बिरामीको अकालमै ज्यान पनि जाने गरेको छ । अब यो विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकार सबै लाग्नुपर्छ । सबै प्रदेशमा एउटा-एउटा जलन अस्पताल हुन आवश्यक छ । तर, यो सजिलो पनि छैन । नेपालमा प्लाष्टिक सर्जन डाक्टरको संख्या पनि कम छ । प्रत्येक जिल्ला, प्रादेशिक अस्पतालमा जलन सम्बन्धी प्राथमिक उपचारको लागि मात्र भएपनि जनशक्ति दिन पनि आवश्यक छ । अहिले नेपालमा जम्मा ३५ देखि ३७ जना मात्र प्लाष्टिक सर्जन डाक्टर छन् । जलनका बिरामीलाई सबैभन्दा धेरै पानीको आवश्यकता किन पर्छ ? छाला हाम्रो शरीरको सुरक्षात्मक तह (प्रोटेक्टिभ लियर) हो । यसले बाहिरबाट संक्रमण हुन जोगाउँछ भने हाम्रो शरीर भित्र रहेको नराम्रो पानीलाई बाहिर फाल्ने, मोइस्चराइजरलाई भित्र सोस्ने काम पनि छालाले गर्छ । जलन भइसकेपछि शरीरमा भएको पानी बाहिर जान्छ । त्यसैले पानीको निकै आवश्यक्ता पर्छ । जलनका बिरामीले गर्न नहुने के हुन् ? जलन भइसकेपछि आयुर्वेदिक औषधीको प्रयोग गर्न हुँदैन । जलन भइसकेपछि गोलभेडा, मञ्जनलगायतका घरमा लगाउने भनिएका कुनै पनि वस्तु लगाउन हुँदैन । किनभने जलन भएका बिरामीलाई सबैभन्दा छिटो संक्रमण हुन्छ । झन हामीले थाहा नपाएर माटोको लेप, घिउकुमारी अनेक लगाउँदा लगाउँदा झन् जटिलता निम्त्याउँछ । संक्रमण हुनु भनेको भइरहेको जलन अझै गहिरो हुनु हो । यसो हुँदा आफै निको हुने घाउपनि छाला प्रयारोपण गर्नुपर्ने अवस्था आउन सक्छ । अप्रेशन गर्न नपर्ने घाउलाई पनि अप्रसन गर्नुपर्ने अवस्थामा पुग्छ । किन चिसोमा जलनका बिरामी बढ्छन् ? चिसोबाट बच्न मान्छेलाई न्यानो चाहिन्छ । न्यानो हुन आगो ताप्ने, हिटर बाल्ने खुल्ला आगो बालेर ताप्ने गरिन्छ । यो सिजनमा तराइमा घुर बालेर ताप्ने गरिन्छ । यो ताप्दा पनि धेरै मान्छेलाई जलन हुन्छ । आगो ताप्दा पनि कहिल्यै पनि ढाड पर्काएर बस्न हुँदैन । यसरी बस्दा पछाडिबाट आगो सल्केको थाहा हुँदैन । तपाईं घाम ताप्दा बरु डाढ फर्काएर ताप्नुहोस्, सनवर्न हुनसक्छ । तर आगो ताप्दा अगाडि फर्केर ताप्नुहोस् किनभने यसको लप्का वा जलनबाट बच्न सकिन्छ । रसायन पदार्थबाट जलन भए के गर्ने ? रसायन पदार्थबाट जलन भए जुन भागमा केमिकल परेको हुन्छ त्यो भाग बगेको पानीमा राखेर सफा गर्ने । करेन्टबाट जलन भए के गर्ने ? यसो हुँदा सबैभन्दा पहिले करेन्टबाट छुट्याउनुपर्छ । यसो भन्दैमा आत्तिएर, आफ्नो हातले गएर समात्न हुँदैन । करेन्ट लागिरहेको छ भने सबैभन्दा पहिले मुख्यस्वीच बन्द गर्नुपर्छ । त्यो भएन भने सुकेको काठजस्तो करेन्ट नलाग्ने कुनै सामानले टाढा छुट्याउनुपर्छ । करेन्ट सकिएपछि शरीरको भित्री भागमा पनि इलेक्ट्रीसिटी पास हुन्छ । बाहिरबाट हामीले जत्रो घाउ देख्छौं त्योभन्दा धेरै समस्या भित्री भागमा हुन्छ । जलन हुँदा व्यक्ति परिवारले अपनाउनुपर्ने सावधानी के हो ? सबैभन्दा पहिले जलन हुन नदिन सबैले सचेत रहनुपर्छ । यसमा जनचेतनाको मुख्य भूमिका हुन्छ । जलन भइसकेपछि सुरुमा के गर्ने भन्नेबारे सबैलाई थाहा हुनुपर्यो । अर्को, हाम्रा घर नजिकै रहेका स्वास्थ्यसंस्थामा पनि कसरी ड्रेसिङ गर्ने, दुखाई कसरी कम गर्ने त्यहाँका कर्मचारीलाई तालिम दिन आवश्यक छ । तपाईंहरू जस्ता मिडियाबाट सन्देशमूलक सामाग्री प्रकाशन, प्रशारण गर्ने काम सम्बन्धित स्थानीय सरकारले गर्न आवश्यक छ । जलनको उपचार महंगो पनि छ लामो पनि छ, यो निको भइसकेपछि पनि जिन्दगीभर एउटा दाग लिएर बस्नुपर्ने अथवा शरीरको कुनैपनि भाग पछि खुम्चिएर आउने, अपांगता पनि हुने भएकाले शारीरिक, मानसिक र आर्थिक बोझबाट गुज्रिनुपर्ने भएकाले यसमा सबैले सावधानी अपनाउनुपर्छ । उपचार कति महँगो छ ? यसमा जलनको गहिराई हेरेर उपचार सस्तो महँगोको कुरा आउँछ । सतही जलन (सुपरफिसियल बर्न) जुन ड्रेसिङ गरेर १० दिनभित्र निको हुन्छ । १० दिनमा निको नभएका घाउलाई (डीप बर्न) यो निकै महँगो हुन्छ । हाम्रो अस्पतालमा उपचार खर्च तिर्न नसक्नेलाई अप्रेसन नै फ्री गरिन्छ । तर, ड्रेसिङका लागि चाहिने उपकरण धेरै महँगो हुन्छ । तर, हाम्रो अस्पतालमा दुईदेखि तीन लाख रुपैयाँसम्ममा उपचार हुन्छ । नेपालमा जलनको अवस्था भयाबह छ । वर्षेनी ६० देखि ६५ हजार मान्छे पोलिनु हुन्छ भने मृत्यु हुनेको संख्या पनि धेरै छ । यो विषयमा सरकारले पनि मनन् गरेर जलनको उपचारका लागि अक्षय कोष स्थापना गर्न एकदमै जरुरी छ । किनभने जलन हुनेमा धेरै जसो महिला, बालबालिका र आर्थिक अवस्था कमजोर भएका परिवार र समुदाय पाइन्छन् ।
निजी अस्पतालका सञ्चालक अस्तित्वका लागि आईपीओ ल्याउँदैछन्- डा.पदम बहादुर खड्का
पछिल्लो समय देशको अर्थतन्त्र स्वस्थ छैन । सुस्त गतिमा अगाडि बढिरहेको अर्थतन्त्रको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि परेको छ । विशेष गरेर निजी अस्पताल सञ्चालकहरूले अस्पतालको बिजनेस घटेर संस्था सञ्चालन गर्न नै सकस भइरहेको गुनासो गरिरहेका छन् । अर्को, महत्वपूर्ण विषय निजी स्वास्थ्य संस्थाहरू सञ्चालनमा सरकारले सहजीकरण नगरेको, स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रप्रति सरकार जिम्मेवार नबनेको लगायत गुनासो पनि निजी अस्पतालका सञ्चालकहरूको छ । पछिल्लो समय युवाहरू पलायन हुँदै गएको विषयले प्राथमिकता पाइरहेको बेला निजी स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा नर्सहरूले अपेक्षाअनुसारको पारिश्रमिक नपाएर विदेशिने गरेको भन्ने विषय पनि सुनिन्छ । यिनै समस्या र समस्याको समाधानका लागि भइरहेको पहलका विषयमा निजी अस्पतालहरूको छाता संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन)का अध्यक्ष तथा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.पदम बहादुर खड्कासँग विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् । तपाईं निजी अस्पतालको छाता संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) को अध्यक्ष भएको डेढ वर्ष भयो, यो अवधिमा के-के काम गर्नु भयो ? अफिन सबै निजी अस्पताल, मेडिकल कलेज र नर्सिङ कलेजहरूको छाता संस्था हो । यसमा करिब साढे तीन सय अस्पताल (संस्था) आबद्ध छन् । अहिले संघीय संरचना अनुसार हाम्रो पनि सातैवटा प्रदेशमा प्रदेश कमिटी छ । चिकित्सा शिक्षा आयोग जुन स्वास्थ्य क्षेत्रको सबै ह्युमन रिसर्च प्रोडक्सन गर्ने संस्था छ, त्यसमा पनि हाम्रो संस्थाको तर्फबाट प्रतिनिधित्व छ । हाम्रो संरचनात्मक काम भएको छ । बाँकी अरु हामीले राज्यसँग गर्नु पर्ने कामबारे छलफल बहस गरिरहेका छौं । अहिलेको निजी अस्पतालहरूको अवस्था कस्तो छ ? निजी अस्पतालसगँ सहकार्य गर्न राज्यको नीति नै स्पष्ट छैन । राज्यले नै सौतेनी व्यवहार गरिरहेको छ । स्वास्थ्य सेवामा दुइटा विषय छ– एउटा, हेल्थ केयर सर्भिस र अर्को ह्युमन रिर्सोस सर्भिस प्रोडक्सन । यी दुवै काम निजी अस्पतालले गर्छ । यी दुवै काममा राज्यको नियामक भूमिका भएन । सहजीकरणको भूमिका पनि राम्रोसँग गर्न सकेको छैन । मानव संसाधन सेवा उत्पादनमा निजीक्षेत्रको सबैभन्दा ठूलो हात छ । अहिले २० वटा जति मेडिकल कलेज छन् । यसमा ४ वटा सरकारी छन्, बाँकी ६ वटा निजी छन् । ब्याचलर्स कार्यक्रम चलाउने मात्र ९०/९२ संस्था छन् । त्यसमा १० वटा सरकारी छ । बाँकी ९० निजी छन् । यस्तै, सेवा प्रदान गर्नेमा पनि सरकारी अस्पतालको सबै बेड संख्या जोड्ने हो भनेपनि ६/७ हजार होला । निजीमा हेर्ने हो भने २१ देखि २५ हजार छ । राज्यले गाउँ-गाउँ, पालिका र वडासम्म आफ्नो सेवा दिने होला । निजीले आफुलाई जहाँनेर सजिलो हुन्छ त्यहीनेर गर्छ । त्यसैले निजी अस्पताल शहर केन्द्रित भए भन्ने सुनिन्छ । यसो नहुनलाई राज्यले सुविधा दिनु पर्याे । त्यसो भए राज्यले के गर्नु पर्यो ? मेरो घर बझाङ हो । त्यहाँ एउटा जिल्ला अस्पताल छ । तर, मैले बझाङमा गएर अस्ताल खोल्न सकिनँ । मैले पोखरामा अस्पताल खोलेको छु । भन्न सजिलो छ । तर, गर्न गाह्रो छ । मैले बझाङमा अस्पताल खोल्न जनशक्ती र स्रोतसाधान चाहियो । यो सेवा दिन राज्यले के सहुलियत दिएको छ भन्ने कुरा आउँछ । यसमा न राज्यले जग्गा उपलब्ध गराउन सहयोग गर्छ नत सामान सहुलियतमा उपलब्ध गर्न सहयोग गर्छ । स्रोतसाधन वा कर छुट केही न केहीमा राज्यले सहयोग गर्न सक्नुपर्छ । तर, यहाँ राज्यले केही गर्दैन । त्यसैले पनि जहाँ आफुलाई सजिलो हुन्छ मान्छेले त्यही काम सुरु गर्छ । राज्यले आफ्नो मातहतका निकाय अस्पताल, स्वास्थ्यचौकीलाई समेत भनेजस्तो सुविधा दिन सकेको छैन । यसमा साझेदारी गर्न पनि सकेको छैन । जसले गर्दा दुर-दराजमा निजी अस्पतालको पहुँच हुन सकेन । यसका लागि राज्यको नीति नै छैन । यस्तो किसिमको नीति बनाउनु पर्यो भनेर सरकारलाई दबाब कत्तिको दिनुहुन्छ ? के दबाब दिनु, दबाब दिएको कसले सुन्छ ? यो.संस्थासँग मानविय संसाधन मात्र हैन, मान्छे पनि छ । नीति निर्माता सरकारीमा काम गर्ने कर्मचारीको मात्र दायित्व होइन । त्योभन्दा बाहिर निजी, गैरसरकारीमा पनि मान्छे छन् । उहाँहरूले राज्यलाई चाहिने नीति नियम के हो भनेर सहयोग गर्न सक्छन् । उहाँहरूले एउटा संगठन हो आएर बिरोध गर्छ ज्ञापनपत्र बुझाउँछन् भन्नेमात्र बुझ्नुहुन्छ । खासमा भन्नुपर्दा मलाई यस्ता संघ संगठन राख्नै हुँदैन भन्छु । एउटा बिजोग लाग्दो कुरा के छ भने सरकारमा जागिर खान्छन् अनि त्यसैका संगठन हुन्छन् । कलेज, विश्वविद्यालयमा विद्यार्थी पढ्न जान्छन् त्यही संगठन खोल्छन्, पत्रकारको आफ्नै संगठन छन् । यस्ता संगठनमा रहेकाहरू आफ्नो काम गर्छन कि राजनीति ? राजनीति गर्नेहरू छँदैछन् त । हामी पेशा गर्नेहरूले पेशन नै गर्ने हो । यस्ता संगठनको कुनै अर्थ पनि छैन । करिब तीन सय निजी अस्पताल अफिनमा आबद्ध छन्, ती संस्थाबाट कतिले रोजगारी पाएका छन् ? एउटा निजी मेडिकल कलेजमा चिकित्सकदेखि सरसफाइकर्मी सबै गरी ७/८ सयदेखि हजार १२ सयसम्म कर्मचारी हुन्छन् । १५ मेडिकल कलेजमा हजारका दरले हेर्ने हो भने कम्तिमा १५ हजार भए । करिब ६० वटा सय बडेका अस्पताल छन् । यसमा पनि कम्तिमा सयदेखि दुई सय कर्मचारी छन् । ५० बेडका डेढ सय अस्पताल छन् । २५ बेडका अस्पताल छन्, वास्तविक तथ्यांक नभए पनि ४०/५० हजार बढीले रोजगारी पाएका छन् । निजी क्षेत्रले गरेको लगानीप्रति सरकारको बुझाइ कस्तो पाउनु भएको छ ? यहाँ सरकार भनेको पनि को हो भन्ने बेला आएको छ । ९/१० महिनामा सरकार फेरिन्छ । नफेरिने भनेको कर्मचारीतन्त्र हो । यसमा पनि गतिशलता छैन । म्यानेजमेन्टमा पनि पारदर्शी र जवाफदेहिता छैन । मैले यसरी बोल्दा सरकारी क्षेत्रमा काम गर्ने साथीहरूको चित्त दुख्ला । तर, पनि उहाँहरूको ‘मेज्युरेटीज अफ दि एडजस्ट ग्येटिङ स्यालरी’ यही हो कुरा । निजी र सरकारी क्षेत्र मिलेर काम गरौं भने पनि त्यो काम कर्मचारीको हातबाट हुँदैन । हामीले कर छुट माग्यौं भने उहाँहरूको हातबाट हुँदैन । तर, हामीले राखेका मागहरूमा ऐक्यबद्धता जनाइदिनु भयो भने पनि सहज हुन्छ । लोकसेवा पास गरेर आएका कर्मचारीमा लोकसेवक होइन शासक मेन्टालिटी छ । मैले भोगेको यही हो । सर्वसाधारणमा निजी अस्पतालको उपचार सेवा महँगो भयो भन्ने बुझाइ छ नी ? नेपालको संविधानले स्वास्थ्य र शिक्षा मौलिक अधिकार भनेको छ । सरकारी स्वास्थ्य संस्थामा सरकारको लगानी हुन्छ । तर, कुनैपनि अस्पतालले एक रुपैयाँ नलिएर सेवा दिँदैन । संविधानमा लेख्यो एउटा । तर, व्यवहारमा छैन । सबैभन्दा समस्या भनेकै यही हो । एउटा कुरा लेख्छौँ, अर्को गर्छौं । एउटा बोल्छौँ अनि अर्कै गर्छौं । निजी अस्पतालमा भवनदेखि कर्मचारी सबै लगानीकर्ताले पाल्नुपर्छ । उस्तै उपकरणहरू खरिद गर्नुपर्छ । त्यसमा आफु पनि बाँच्न पनि पर्याे । त्यसैबाट नाफा निकाल्नु पर्ने होला । त्यसैले पनि निजी अस्पतालको सेवा सरकारीको भन्दा महँगो हुन पुगेको हो । यसको मतलब नागरिकले महँगोमा उपचार गर्न नपोरस् भन्नका लागि सरकारी अस्पतालले नै सबै सेवा दिनुपर्छ भन्ने हो ? हो, सरकारी अस्पतालले बेड छैन भन्दै बाहिर रिफर गर्नु भएन । सरकारी अस्पतालमा गएर बिरामीले उपचार पाएन भने कता जाने ? हो, समस्या यहीँनेर छ । कुनैपनि बिरामीसँग पैसा छैन भनेर उपचार गर्दैन भनेर कुनैपनि संस्थाले भन्न पाउँदैन । उसको बाँच्न पाउनुपर्छ । यो सबैको दायित्व हो । निजी क्षेत्रका अस्पतालले पाउने प्रतिफल कस्तो छ ? धेरैजसो संस्थालाई गाह्रो छ । कतिपय साथीहरूले बैंकबाट ऋण लिनु भएको छ । समस्या भइरहेको छ भनिरहनु भएको छ । कतिपय साथीहरू राम्रो होला भनेर पनि लागिरहनु भएको छ । तर, केही साथीहरूको राम्रै चलेको होला, त्यसैले पनि यसमा लागिरहेका छन् । तपाईंको पनि अस्पतालको छ, बिजनेस र प्रतिफल कस्तो छ ? मैले पोखरामा कास्की सेवा प्रालि सञ्चालन गरिरहेको छु । मैले चलाएको अस्पताल राम्रो चलेको छ भन्न सक्ने अवस्थामा छैन । अस्पताल नाफामा छैन । सबैले सेवाको लागि अस्पताल खोलेको हो भन्ने पनि छैन । राम्रो प्रतिफल पाइरहेकाहरू संस्थालाई निरन्तरता दिन्छन्, नपाएकाहरूले विकल्प सोच्नुहोला । तपाईले चाहिँ के उद्देश्यले अस्पताल सञ्चालन गर्नुभएको हो ? मेरो बुवा बझाङकै पहिलो स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । म मणिपाल मेडिकल कलेजको पहिलो ब्याचमा पेढेको हुँ । निजी क्षेत्रको मेडिकल कलेजमा एमबीबीएस पहिलो कार्यक्रम पोखरामा रहेको मणिपाल कलेजमा पढाइ भएको हो । त्यो भन्दा पहिले महाराजगञ्मा मात्र थियो । मैले कहिल्यै बिरामीबाट पैसा लिएर व्यापार गर्नुपर्छ भन्ने थाहा पाएको नै थिइनँ । मेरो घरमा पनि सधैँ तीन/चार जना बिरामी भइराख्नुहुन्थ्यो । ४/५ दिन लगाएर अस्पताल पुर्याउनु परेको अनुभव मसँग छ त्यसैले पनि मलाई व्यापार गर्न आउँदैन । मर्नु अगाडि एउटा संस्था बनाउनुपर्छ भनेर रहर लागेर मैले संस्था खोलेको हुँ । मैले कुनै उद्देश्यले खोलेको हैन । मेरो उदेश्य भनेको नर्सिङ अरु स्वास्थ्यकर्मी उत्पादन गर्ने एउटा कलेज बनाउने भन्ने भावले अस्पताल सुरु गरेको हो । तर, देशको नीति यस्तो छ कि १२ वर्षसम्म पनि कलेज सञ्चालन गर्न पाइएन । मैले व्यापार गर्नको लागि अस्पताल खोलेको पनि होइन । तपाईं आफ्नो बुवालाई देखेर स्वास्थ्यकर्मी बन्नुभएको हो ? म यो नै बन्छु भनेर यो क्षेत्रमा आएको होइन । डाक्टर भनेको ठुलै हो भन्ने पहिले पनि लाग्दैनथ्यो अहिले पनि लाग्दैन । म गाउँमा एसएलसी पास गरिसकेपछि साइन्स पढ्न आएँ । यो पढिसकेपछि अब यही पढ्नु पर्याे भनेर यो पेशामा लागेको हुँ । तर, डाक्टर भएकोमा पछुतो भने छैन । मलाई रहर भनेको पाइलट बन्नु थियो तर,आर्थिक अवस्था थिएन । त्यसैले यो क्षेत्रमा लागेको हुँ । निजी अस्पतालका सञ्चालकहरू लगानीको प्रतिफलप्रति कत्तिको विश्वस्त छन् ? विश्वस्त हुने अवस्था छैन । स्वास्थ्य सेवा यसै पनि महँगो छ । भौतिक पूर्वाधार बनाउनु पर्याे, आवश्यक उपकरण ल्याउनु पर्याे, प्रविधिहरू नयाँ-नयाँ हुन्छ । स्वास्थ्यकर्मीलाई पनि त्यही अनुसार पैसा दिनु पर्याे । लगानी पनि उठ्न सकिरहेको छैन । यो विषय राज्यको नजरमा परेको छैन । स्वास्थ्य शिक्षामा कसैको ध्यान गएको छैन । निकै जोखिम छ । जोखिम के कारणले भयो ? राज्यको नीति राम्रो नभएकोले नै हो । राज्य यसमा गम्भीर बनेन । राज्यले लगानीकर्तालाई जुन सुविधा दिनु पर्थ्याे, उपकरणमा जुन किसिमको सहजीकरण गर्न सक्नु पर्थ्याे, त्यो भएन । सहकार्य गर्याे भने पो जोखिम कम हुने हो । यस्तो नभएकै कारणले लगानीकर्ताले जोखिम लिनु परेको हो । राज्यले आफ्नो संस्था बनाउन भन्छ । त्यसको लागि भवन निर्माण गर्न जग्गा चाहियो । जग्गा राज्यको हो । जग्गाको लिजमा दिने व्यवस्था मात्र गरिदियो भनेपनि राहत हुन्छ । उपकरणहरू डलर तिरेर ल्याउनुपर्छ । यसमा भन्सारमा केही सहुलियत दिन सक्नु पर्ने हो । राज्यले अहिले बीमा नीति ल्याएको छ । एउटा बीमा बोर्ड छ, त्यो पनि राजनीतिले जेलिएको छ । बीमा भनेर जोडेको छ । वर्षेनी ७ अर्ब बजेट छुट्याइन्छ । यो कसरी खर्च गरेर खाने भन्नेमा प्रतिसपर्धा हुन्छ । बीमा ल्याउनु राम्रो कार्यको थालनी हो । मान्छेले आफ्नो घरखेत गरेर औषधी गर्न गाह्रो हुन्छ । तर, भएका संस्था सबैलाई प्रयोगमा ल्याएर चलाउन सके राम्रो हो । तर, त्यसो छैन । यस्तै नीतिले गर्दा समस्या भएको हो । पछिल्लो समय अस्पतालमा चिकित्सकको अभाव रहेको सुनिन्छ । भएको जनशक्ति पनि पलायन भइरहेको छ, यो समस्या तपाईंले कत्तिको अनुभव गर्नु भएको छ ? जनशक्ति सबै पलायन भएको छैन । केही व्यक्ति जाँदैमा सबै पलायन भए भन्ने पनि हैन । नेपालमा वर्षमा दुई हजार मेडिकल विद्यार्थी पास हुन्छन् । ती सबै बाहिर जाँदैनन् । यदि सबै जनशक्ती पलायन भयो भन्ने लाग्छ भने कसरी पलायन हुनेलाई रोक्ने भन्ने नीति ल्याउन पनि सक्नु पर्याे । आजभन्दा ५० वर्ष अघि नेपालमा मेडिकल एजुकेशन पढाइ नै हुँदैन्थ्यो । त्यो बेला बाहिरबाट ल्याएर पनि देशले काम गरेकै थियो । त्यसपछि देशमा संस्थाहरू खुले, जनशक्ती उत्पादन भयो । त्यसैले पलायन हुनुको एउटा दुइटा कारणमात्र छैन । चिकित्सक तथा नर्सहरूले महँगो शुल्क तिरेर पढेका हुन्छन् । तर, काम चाहिँ थोरै पैसामा गर्नु पर्ने बाध्यता छ भन्ने गरिन्छ, यो कत्तिको यथार्थ हो ? तलब बढी र कम हुनु भनेको सम्बन्धित संस्थाको विषय हो । संस्थाका आ-आफ्नै नीति हुन्छन् । त्यो संस्थाको लागि आवश्यक्ता के हो ? यस्ता कुरामा पारिश्रमिकको कुरा आउँछ । सरकारी कर्मचारीको ५०/६० हजार तलब छ । त्यसैले उनीहरू भ्रष्टचार गर्छन् भन्ने कुरा सुनिन्छ । नेपालमा सरकारी कर्मचारी ८५ हजार भन्दा बढी छैनन् । जनसंख्या छ तीन करोड । शसस्त्र, प्रहरी गरेर जम्मा तीन लाख होलान् । तीभन्दा अरु नागरिक पनि त छन् नि देशमा । पाउनेले बाँच्नै सकिँदैन भन्छन्, त्यति पनि नहुने बाँचेकै छन् । जसलाई कम तलब भो भन्ने लाग्छ, उसले बढी तलब हुने काम खोज्दा भइहाल्यो त । पछिल्लो समय निजी अस्पतालहरूको बिजनेस खस्कियो, घाटामा गए भन्ने गुनासो सञ्चालकहरूको छ, यही बेला धेरै अस्पतालहरू पब्लिकमा जाने कुरा पनि सुनिरहेको छ, यसलाई हामीले कसरी बुझ्ने ? यो त उहाँहरूको अस्तित्वको रणनीति हो । अस्पताल चाहे पब्लिकमा जाउन, चाहे सेयर बाडुन् । यो उनीहरूको कुरा हो । देशमा नागरिकले राम्रो सेवा पाउनु पर्यो । जनशक्ति उत्पादन हुनु पर्याे । गुणस्तरीय सेवा पाउनु पर्याे । सय जना स्टेकहोल्डरले सकेनन् भने अरु हजार जना ल्याएर भएपनि संस्था बचाए राम्रो । समस्या धेरै सुनियो, यी समस्याहरूको समाधानका लागि अफिनको अध्यक्षको हैसियतले तपाईंले के गर्नु भयो ? विभिन्न व्यक्तिहरूसँग भेटघाट भइरहेको हुन्छ । समस्या समाधानका लागि लागिरहेको छु । एक जना मन्त्रीलाई भेट्न गएको प्रतिवेदन अर्को मन्त्री आउँदा डस्टबिनमा गइसकेको हुन्छ । समस्या सबैलाई थाहा छ । तर, समाधानका लागि पहल नै हुँदैनन् । स्वास्थ्य क्षेत्रमा देखिएका यी समस्याहरू समाधान गर्न कसले के गर्नुपर्छ ? जसको जे जिम्मेवारी छ, त्यो काम सबैले इमान्दारीकासाथ गर्यो भने मात्र पनि पुग्छ । तर, यहाँ त्यस्तो छैन । अन्तिममा, तपाईं सुदूरपश्चिमको बझाङमा जन्मिनु भएको, सुदूरपश्चिमको गेटा मेडिकल कलेज र डडेल्धुरा मेडिकल कलेज सञ्चालनको विषय ठूलो विवादमा छ । सञ्चालन गर्ने भनिए पनि अझै प्रक्रिया अगाडि बढ्न सकेको छैन । यो विषयलाई कसरी हेर्नु हुन्छ ? यो दुःखको कुरा हो । सुदूरपश्चिमका मान्छेले बिरामी भयो भने कि काठमाडौं आउनुपर्याे, कि घरखेत बेचेर भारत जानुप¥यो । भारत वा काठमाडौं जहाँ जानु पर्याे भने पनि ३०/४० घण्टा लाग्छ । कतिपयको उपचारका लागि आउँदा बाटोमै ज्यान जान्छ । उपचारको लागि एउटा सस्था त्यहाँ पनि हुनुपर्ने हो । गेटा मेडिकल कलेजमा भवनहरू निर्माण गरिएका छन् । तर, कार्यक्रम अघि बढेन । डडेल्धुरामा मेडिकल कलेज भयो भनेपनि त्यहाँका नागरिकले सेवा पाउलान् भन्ने हो । कैलाली र कञ्चनपुर छाडेर सात वटा पहाडी जिल्लाको सबैभन्दा नजिकको केन्द्रबिन्दु भनेको डडेल्धुरा हो । अहिले त्यहाँ सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत केही कार्यक्रम सुरु भएको छ । मैले त पहिलेदेखि नै आवाज उठाउँदै आएको छु । गेटाको कुरा गर्दा पालिकादेखि केन्द्रसम्म राजनीतिको नराम्रो जालो छ, जसले गर्दा यस्तो समस्या आएको हो । राजनीति बिना नेपालीले श्वास फेर्न पनि गाह्रो हुने अवस्था छ ।