आफ्नै समस्याले निःसन्तानपन विज्ञ बनेकी स्वस्ति, जीवन साथी पनि चिकित्सक

काठमाडौं । कोखको सोख सबै आमाबुबामा हुन्छ । जब कोख खाली हुन्छ नि त्यसपछि मात्रै थाहा हुन्छ ‘पीडा’ । परिपक्व उमेर भइसक्दा पनि जब छोराछोरी जन्मिदैनन् नि तब समाजले प्रहार गर्ने असह्य वाणहरूको दुखाइ भोग्नेहरूलाई मात्रै थाहा हुन्छ । त्यो प्रहारको पीडा डा. स्वस्ति शर्माले पनि नराम्रोसँग भोगेकी छन् । भनिन्छ नि, ‘हरेक कहाली लाग्दो रातपछि एउटा सुन्दर बिहानीको उदय हुन्छ ।’ हो, त्यो कहाली लाग्दो रातको भोगाइ डा. स्वतिले पनि भोगेकी छन् । तर, अहिले उनी रातपछिको सुन्दर बिहानीको स्वाद लिँदैछिन् । मान्छेको स्वास्थ्य न हो, हरेक उतार-चढाव र आरोह-अवरोहहरू भोग्नुपर्छ । हुन त हामी सोच्छौं, हाम्रो उपचार गर्ने चिकित्सक कहिल्यै बिरामी हुन्नन् होला भनेर । तर, उनीहरूको पनि स्वास्थ्य न हो । समस्या सबैलाई हुन्छ । तर, त्यो समस्याको समाधान कसरी खोज्ने ? समस्याको समाधान कसरी गर्ने ? भन्ने विषयमा व्यक्ति सजग बन्न सक्यो भने अवश्य पनि समस्याबाट छुटकारा पाउन सकिन्छ । डा. स्वस्ति शर्मा निःसन्तानपन स्वास्थ्य क्षेत्रमा प्रचलित नाम हो । उनी प्रसूति तथा स्त्रीरोग एंव निःसन्तानपन विशेषज्ञ हुन् । उनले हजारौं महिलालाई स्वस्थ बनाइ आमा बनाइसकेकी छन् । यो अवस्थामा आइपुग्न भने उनी आफैंले ठूलो संघर्ष र चुनौतीका पहाडहरू चढ्नुपर्यो । सयौं महिलालाई महिनावारी गडबडीदेखि प्रजनन् क्षमताबारे जानकारी दिने स्वस्तिले नै सुरुमा सोही समस्या भोगिन् । उनले हरेक चिकित्सकसँग आफ्नो समस्या सुनाइन् । तर, समस्याको समाधान पाइनन् । तर, आफू अध्ययन गर्दा गर्दै आफ्नो समस्या पहिचान गरिन् । ठूला अस्पतालका चिकित्सकले पहिचान गर्न नसकेको उनको समस्या उनले अध्ययन गर्दा गर्दै पत्ता लगाउन सकिन् । डा. स्वस्तिलाई पनि सन्तान जन्माउन धेरै समस्या भयो । उनको जुम्ल्याहा बच्चा नै खेर गए । आइसीयूमा बस्नुपर्ने अवस्था आयो । अर्को पटक नलिमा बच्चा बस्योे । ३० वर्षदेखि बच्चा जन्माउन कोसिस गरिन् तर सकिनन् । ‘भनेजस्तो नहुने रहेछ, कहिलेकाँही आफै डाक्टर भएर पनि आफ्नै लागि केही गर्न नसकिँदो रहेछ, आफैंले स्वास्थ्य समस्या भोगनुप¥यो,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् । डा. स्वस्तिको अहिले एउटा छाेरी छिन् । एउटा आमालाई सन्तानको वियोगमा छटपटाउनुको पीडा हामी अनुमानमात्र गर्न सक्छौं । उनलाई पनि खेर गएका जुक्ल्याहा बच्चाको अझै पनि सम्झना आउँछ । उनले आफ्नो हातको नाडीमा जुम्ल्याहा बच्चाका ट्याटु समेत राखेकी छन् । उनी ३५ वर्षभित्र बच्चा पाउनु उत्तम समय भएको बताउँछिन् । तर, उनले भने ३६ वर्षको उमेरमा बच्चा पाइन् । कारण थियो उनको स्वास्थ्य समस्या । अरूलाई सल्लाह दिँदै हिँड्ने तपाईंले किन सन्तान पाउन ढिला भन्ने जिज्ञासामा उनले भनिन, ‘डाक्टर भएर सबै स्वास्थ्य समस्या समाधान गर्न नसकिँदो रहेछ ।’ के थियो समस्या ? स्वस्ति महिनावारी हुँदा असाध्यै पेट दुख्थ्यो । महिनावारी पनि समयमा नहुने समस्या थियो । एनिमिया भएर रगत नै चढाउनु पर्ने अवस्था हुन्थ्यो । उनलाई हर्मोनको औषधीले महिनावारी गराउने त्यही औषधीले रोक्ने गर्नुपथ्र्यो । उनी चीनमा पढ्न जाँदा पनि एक झोला औषधी बोकेर गएको अहिले पनि सम्झन्छिन् । महिनावारी गडबड हुँदा औषधी के खाउँ भनेर नेपालमा फोन गर्थिन् । उनले पढ्दापढ्दै आफूलाई ‘पोलिसिस्टिक ओभिज’ भएको थाहा पाइन् । ‘हर्मोनकै गडबडले मलाई यस्तो समस्या भइरहेको रहेछ भन्ने पछि थाह पाएँ,’ उनी भन्छिन, ‘असाध्यै पेट दुख्थ्यो, केहीले बिहे गरेपछि ठिक हुन्छ भन्थे, केहीले २०÷२२ को उमेरमा ठिक भइहाल्छ भन्थे । तर, कारण म आफैंले पढेर थाहा पाएँ ।’ त्यसपछि बनिन् विज्ञ उनी आफूले भोगेको पीडा र समस्याले नै यो विषयमा अध्ययन गरेको बताउँछिन् । ‘म एउटा डाक्टर त बिरामी पर्दा कहाँ जाउँ, कसलाई जचाँउ भन्ने भयो,’ उनी भन्छिन्, ‘मेरो जस्तै समस्या भोग्ने धेरै दिदीबहिनी पनि होलान्, अब मैले यो विषयको अध्ययन गर्नुपर्छ भन्ने लाग्यो र यो क्षेत्रमा लागें ।’ ओम अस्पतालमा डाक्टर भोला रिजाललाई भनेर यो विषयमा अध्ययन गरेको उनी सुनाउँछिन् । ‘जब म यो विषयमा अध्ययन गर्न थालें, त्यसपछि बल्ल थाहा पाएँ यो त यस्तो पो रहेछ,’ उनी भन्छिन्, ‘आफूले भोगेर पनि होला, म महिलाको हर्मोन गडबडीको कुरा सहज बुझ्छु, उनीहरूलाई देख्दा माया लाग्छ र आफ्नो पीडाको याद आउँछ ।’ डा. स्वस्ति चिकित्सक पेशामा आवद्ध भएको १७ वर्ष भयो । निःसन्तानपन क्षेत्रमा काम गर्न थालेको १२ वर्ष भयो । यो बिचमा उनलाई धेरै अनुभव भयो । उनले टेस्टट्यूव बेबीबाट मात्रै दुई हजार बढी दम्पतिलाई आमाबुवा बन्ने अवसर दिइन् भने झण्डै ६ हजार बढीलाई यो विषयमा सुझाव सल्लाह दिइन् । काम गदै जाँदा सुख र दुःखहरू अनुभव गरेकी छन् । जब उनले गरेको काम सफल हुन्थ्यो, सेवाग्राहीले वाहवाही दिन्थे । तर, जब मिहिनेतका साथ काम गरे पनि त्यो सफल हुँदैन त्यसपछि गाली खानुपथ्र्यो । टेस्टट्युव बेबी सतप्रतिशत नै ग्यारेन्टी हुन्छ भन्न नसकिने तर्क उनको छ । काठमाडौंमा जन्म, विदेशमा पढाइ डा. स्वस्ति काठमाडौंमै जन्मिन् । स्कुले जीवन काठमाडौंमै पढिन् । उनको आमा जनकपुरको र बुवाको घर नेपालगञ्ज । बुबा न्यायाधीस र आमा शिक्षक । उनले वि.सं २०५३ मा मा एसएलसी (हालको एसईई) पास गरिन् । काठमाडौंको मोर्डेन स्कुलबाट प्लसटु गरिन् । त्यसपछि वि.स २०५८ मा उनी चीनमा एमबीबीएस पढ्न गइन् । साढे चार वर्षमा एमबीबीएस पास गरिन् । चीनको पढाइपछि नेपाल आएर एक वर्ष इन्र्टनसिप गरिन् । त्यसपछि प्रसूति गृहमा काम सुरु गरिन् । केही समयपछि उनले नेपालगञ्ज मेडिकल कलेजबाट एमडी गरिन् । तीन वर्ष एमडी गरेर काठमाडौँ फर्किन् । उनले किष्ट मेडिकल कलेजमा लेक्चररको रूपमा समेत काम गरिन् । उनीसँग काठमाडौंका विभिन्न अस्पतालमा काम गरेको अनुभव छ । निःसन्तानपन भनेर भिनस हस्पिटलमा आईभीएफ सेन्टर खोलेपछि उनले त्यहाँ पनि काम गरिन् । सोही विषयमा अध्ययन गर्न कोरिया गइन् । त्यसपछि ग्रिनसिटीमा आफ्नै आईभीएफ सेन्टर खोलिन् । विभिन्न अस्पतालमा काम गर्दा उनलाई प्रजनन् क्षमताका कुरा गर्दा वा अफ्नो समस्या भन्दा खुल्ला रूपमा राख्न महिलालाई अफ्ठ्यारो परेको महसुस भयो । स्वस्तिलाई लाग्यो यो विषयमा गोप्यरूपमा उनीहरूको कुरा सुन्ने केही विकल्प खोज्नुपर्छ । त्यसपछि उनले साथिहरूसँग मिलेर बबरमहलमा निजी आईभीएफ सेन्टर सञ्चालन गरिन् । अहिले उनी आफ्नै होप फर्टिलिटी सञ्चालन गरेर सेवा दिइरहेकी छन् । उनी कहाँ यस्ता विभिन्न समस्या लिएर दैनिक ३५ जना पुग्ने गर्छन् । महिला र पुरुषको समान समस्या पछिल्लो सयम पुरुषमा पनि प्रजनन् क्षमताको समस्या देखिने गरेको उनी बताउँछिन् । पुरुषमा शुक्रकिटको उत्पादनमा कमी र स्वस्थ नहुने लगायतका समस्या देखिने गरेका छन् । जसले गर्दा पुरुषमा पनि बाँझोपनको समस्या हुन्छ । हामी कहाँ बच्चा नहुनुमा महिलालाई बढी दोष दिने अभ्यास छ । तर, बाँझोपनको समस्या पुरुषमा पनि हुने गरेको उनी बताउँछिन् । यस्तो बेला दुवैजना स्वास्थ्य संस्था गएर जँचाउनु पर्ने उनको सुझाव छ । होप फर्टिलिटीमा निःसन्तान सम्बन्धी जाँच गरी कारण पत्ता लगाएर उपचार गरिन्छ । महिला रोग सम्बन्धी अन्य उपचार पनि हुन्छ । त्यस्तै गर्भवती भएको बेलामा गरिने सबै चेकजाँच पनि गरिन्छ । नेपालमा निःसन्तानपन अथवा बाँझोपनको समस्या बढ्दैछ । भारतमा कुल जनसंख्याको २० प्रतिशत बिबाहित जोडीमा निःसन्तापनको समस्या छ । तर, नेपालमा भने यकिन तथ्यांक छैन । विदेसिएका कतिपय युवाहरू विवाह गर्न नेपाल आउने र विवाहलगत्तै विदेश जाने अभ्यास पनि छ । जसका कारण श्रीमान श्रीमती सँगै बस्न पाउँदैनन् । बाँझोपनको यो पनि एउटा कारण हो । तनाव र खानपान नमिल्दा पनि यस्तो समस्या देखिने उनी बताउँछिन् । चिकित्सक नै जीवनसाथी डा. स्वस्तिका श्रीमान पनि चिकित्सक हुन् । उनी हाडजोर्नी विशेषज्ञका रूपमा सिभिल अस्पतालमा कार्यरत छन् । धेरैजसो श्रीमान श्रीमती एउटै पेशामा हुँदा सहज पनि हुन्छ, असहज पनि । तर, डा. स्वस्ति आफूले चाहेर नै डाक्टरसँग बिहे गरेको बताउँछिन् । ‘डाक्टरले नै डाक्टरको पीडा बुझ्छ,’ उनी भन्छिन्, ‘डाक्टरले कहिल्यै रातदिन भन्न पाउँदैनन्, उसको लागि काम ठूलो हो, मलाई मेरो जीवनसाथी मेरो पेशा बुझ्ने होस् भन्ने थियो, त्यसैले डाक्टर नै रोजें,’ उनले भनिन् । उनी आफू यहाँसम्म पुग्न श्रीमानको भूमिका पनि महत्वपूर्ण रहेको बताउँछिन् । नेपाली समाजमा अपवाद बाहेक महिलालाई बिहेपछि घरको जिम्मेवारी दिइन्छ । ‘मेरो श्रीमानले मेरो कामको लागि कहिल्यै अवरोध गर्नु भएन,’ उनी भन्छिन्, ‘एकअर्काको समस्या बुझेपछि सहजै अगाडि बढ्न सकिन्छ ।’ श्रिमानबिनै आमा बन्न सकिन्छ नेपालमा सबैभन्दा देखिएको समस्या वेरोजगारीको हो । रोजगारी नपाउँदा धन कमाउन विदेश जाने नेपाली युवाको संख्या बढ्दो छ । त्यसमा पनि खाडी मुलुक जाने नेपालीको संख्या बढी छ । खाडी धरै गर्मी हुने ठाउँ हो । यसरी गर्मी ठाउँमा बस्ने पुरुषहरूमा निःसन्तानपन बढी हुने उनी बताउँछिन् । यस्तो समस्याबाट बच्न कतिपय युवा आफ्नो शुक्रकिट भण्डारण गरेर जान्छन् । शुक्रकिट भण्डारण गरेर गएका बिबाहित पुरुष आउन ढिला भयो भने पनि यता श्रीमतीले बच्चा जन्माउन सक्छिन् । डा.स्वस्ति अहिले श्रीमान विदेश हुँदा पनि श्रीमतीले बच्चा जन्माउन मिल्ने बताउँछिन् । उनका अनुसार यसरी धेरै महिला आमा बनिसकेका छन् । पुरुषले भण्डारण गरेर राखेको शुक्रकिटलाई उसैको श्रीमतीको अण्डासँग मिसाएर बच्चा जन्माउन मिल्ने उनको भनाइ छ । कोरोनाको समयमा सुर्खेतका एक दम्पतीले जन्माएको बच्चा अहिले ठूलो भइसकेको उनले सुनाइन् । पाठेघरको समस्या, मुटुको समस्या तथा प्रेसरका बिरामी र क्यान्सर लागेर पाठेघर फालेका महिलामा पनि निःसन्तानपनको समस्या हुने गरेको उनी बताउँछिन् ।

चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

भजनी । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार  महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् ।  उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ  छ । ‘आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन ।’ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, ‘समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।’ सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको छ । सङ्घीय सरकारबाट आर्थिक वर्षको सुरुमै आउनुपर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय तहबाट आउनुपर्ने बजेट समयमा आउन नसकेका कारण समस्या देखिएको गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिए । ‘गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि वार्षिक रु तीन करोडभन्दा बढी बजेट चाहिन्छ । यस वर्ष रु एक करोड १४ लाख बजेटमात्रै आएको हुँदा त्यस बजेटले असोजसम्मलाई भयो’, उनले भने, ‘अन्य शीर्षकबाट पनि खर्च गर्न नपाइने भएपछि कार्यरत स्वास्थ्यकर्मीको चार महिनाको तलब रकम भुक्तानी गर्न सकिएको छैन ।’ हाल गाउँपालिकामा सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका ४९ स्वास्थ्यकर्मी कार्यरत छन् । स्थानीय तहले करार तथा ज्यालादारीमा व्यवस्थापन गरिएका अन्य कर्मचारीले भने नियमित तलबभत्ता पाइरहेका छन् । ‘मन्त्रालयबाट तलबभत्ता शीर्षकमा आएको रकम तीन महिनामा सकिएपछि बाँकी आउने रकम समयमा नआउँदा समस्या आएको हो ।’ स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले भने, ‘हामीले गाउँपालिकाबाट मन्त्रालयलाई ताकेता गर्दै आएका छौँ । स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई रकमका लागि आग्रह गरिसकेको भन्ने आएको छ, आशा गरौँ तलब आउँछ ।’ गाउँपालिकाले पटक–पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्यकर्मीको तलबभत्ताका लागि लिखित तथा मौखिक आग्रह गर्दै आएको गाउँपालिकाका अध्यक्ष गणेश चौधरी बताए । ‘हामीले हाम्रो तर्फबाट गर्ने प्रयास गरिरहेका छौँ । मन्त्रालयले जतिसक्दो चाँडो कर्मचारीको तलबभत्ता व्यवस्थापन गरोस् भन्ने हो’, उनले भने । गत वर्ष यस्तै समस्या भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि देखिएको थियो । सङ्घबाट समायोजन भएर स्थानीय तहमा  कार्यरत स्वास्थ्यकर्मीको तलबभत्ता नआएपछि स्वास्थ्यकर्मीले आन्दोलन नै गर्नुपरेको थियो । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि केही महिनाको तलबभत्ता स्थानीय तहले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेका थिए । रासस

भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम

जाजरकोट । भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो । भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ । गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । विपद्का समयमा पोषिलो खानेकुरा खान नपाएकाले पनि कुपोषणको जोखिम बढेको उनको भनाइ छ । उक्त शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई सेवा दिइएको खनालले जानकारी दिए । उनका अनुसार सेवा लिनेमा पुरुष नौ सय ४४, महिला छ हजार तीन सय ५५ महिला छन् । संयोजक खनालले चार हजार एक सय नौ पाठेघरको मुखको क्यान्सरको जाँच गरिएकामा एक सय छ जनामा क्यान्सरको सुरुआती अवस्था पत्ता लागेको जानकारी दिए । पाँच सय ४५ महिलालाई गर्भपतन सेवा उपलब्ध गराएको थियो । भूकम्पपछि महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको उनले बताए । भूकम्पपछि यौन हिंसा कम गर्न, परिवार नियोजनको सेवा, एचआइभीबारे सचेतना अभिवृद्धि गर्न, अनिच्छुक गर्भधारण घटाउन सङ्घ कार्यक्रम गरेको संयोजक खनालले बताए । कार्यक्रम जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा बारेकोट र कुसे गाउँपालिकाका साथै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको थियो । प्रभावित जिल्लामा बाह्रै महिना खान नपुग्ने, भूकम्पपछि खाना र बस्नको समस्या, सन्तुलित खानाको अभावले यहाँका महिला र बालबालिकामा कुपोषणको जोखिम बढेको कार्यक्रम संयोजक खनालको भनाइ छ । उनका अनुसार जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा कुपोषणको समस्या सबैभन्दा बढी पाइएको छ । त्यस्तै प्रभावित जिल्लामा अनिच्छुक गर्भधारणको समस्या पनि बढ्दै गएकाले सुरक्षित परिवार नियोजनका बारेमा जनचेतना जगाउनुपर्ने खनालले बताए । नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले पालिकामा अझै लगानी बढाएर प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको बताए । ‘उत्पादनशील क्षेत्रमा घरटहरा निर्माण भएका छन् । खाद्यान्नको पनि समस्या भएकाले स्वास्थ्य समस्या देखिएको हो’, उनले भने । बारेकोट गाउँपालिकामा स्वास्थ्य, खाद्यान्नको समस्या रहेको भन्दै साझेदार निकायले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले विपद्का समयमा सबैले एकजुट भएर काममा लाग्नुपर्नेमा जोड दिए । रासस