आज विश्व मिर्गौला दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै
काठमाडौं । आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउँदै आइएको छ । यस वर्ष लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ । विभिन्न स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले बिहान रत्नपार्क, शान्ति बाटिका बाट मिर्गौला पदयात्राको सुरुवात गर्दैछन् । उक्त पदयात्रा दशरथ रङ्गशालामा पुगेर प्रत्यारोपित र अङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ । प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गरेको तथ्यांकले देखाउँछ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना हुने गरेको छ ।
यसरी बनाउन सकिन्छ खुट्टालाई सुन्दर र चम्किलो
काठमाडौं । चिल्लो र चम्किलो खुट्टा कसलाई मन पर्दैन र ? यस्तो अवस्थामा महिलाहरूले आफ्नो खुट्टालाई सुन्दर र चम्किलो बनाउन सैलुनमा हजारौं रुपैयाँ खर्च गरेर स्पा र पेडीक्योर गराउँछन् । तर, समयको अभाव र व्यस्तताका कारण हरेक महिना आफ्नो खुट्टालाई सुन्दर बनाउन सैलुन जान सकिँदैन । यस्तो अवस्थामा छालाको हेरचाह विशेषज्ञ अञ्जनी भोजले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छिन् र चम्किलो खुट्टा बनाउन पेडीक्योर गर्ने तरिका पनि सेयर गरेकी छिन् । चरण १– बेकिंग सोडा पानीमा खुट्टा भिजाउनुहोस् खुट्टा चम्किलो बनाउन घरमै पेडीक्योर गर्दा पहिले आफ्नो खुट्टाको फोहोर सफा गरेर सुरु गर्नुहोस् । सबैभन्दा पहिले तातो पानीको टबमा १ चम्चा बेकिंग सोडा र १ चम्चा स्याम्पु हालेर राम्ररी मिलाउनुहोस् । त्यसपछि आफ्नो खुट्टा त्यस पानीमा डुबाउनुहोस् र लगभग ५ मिनेट भिज्न दिनुहोस्। बेकिंग सोडाले तपाईंको छालाको मृत कोशिकाहरू हटाउन मद्दत गर्दछ र तपाईंको खुट्टालाई नरम र ताजा देखाउन मद्दत गर्दछ । चरण २– टमाटरले आफ्नो खुट्टा स्क्रब गर्नुहोस् खुट्टा धोएपछि टमाटर स्क्रबले एक्सफोलिएट गर्नुहोस् । यसका लागि एक पाकेको टमाटर लिनुहोस् र यसलाई आधा काट्नुहोस् । अब टमाटरको काटिएको टुक्रामा अलिकति नुन लगाउनुहोस र बिस्तारै खुट्टा दल्नुहोस् । टमाटरमा पाइने प्राकृतिक एसिडले छालालाई चम्किलो बनाउन मद्दत गर्छ भने नुनले छालाको मृत कोशिकाहरूलाई हटाउन मद्दत गर्छ। यसपछि खुट्टा धुनुहोस् । चरण ३– खुट्टामा गहुँको पीठो र दहीको प्याक लगाउनुहोस् यस चरणमा गहुँको पीठो, दही र महको प्याक तयार गर्नुहोस् र त्यसपछि यसलाई आफ्नो खुट्टामा बराबर मात्रामा लगाउनुहोस् । १५ मिनेटपछि खुट्टा पानीले राम्ररी धुनुहोस् र तौलियाले पुछ्नुहोस् । चरण ४– खुट्टा मोइस्चराइज गर्नुहोस् खुट्टा धोएर सुकाइसकेपछि छालालाई हाइड्रेटेड राख्नको लागि मोइस्चराइजर वा शरीरको तेलले खुट्टामा मालिस गर्नुहोस् । घरमा यसरी पेडीक्योर गर्नाले खुट्टाको छालाको मृत कोशिकाहरू हटाउन मद्दत गर्छ, जसले तपाईंको खुट्टा स्वस्थ र चम्किलो देखिन्छ। यति मात्र होइन यसले खुट्टाको टेनिङ हटाउन र हाइड्रेटेड राख्न पनि मद्दत गर्छ । एजेन्सी
३७ लाख ९२ हजारले लगाए दादुरा-रुबेलाविरुद्धको खोप
काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ जिल्लाका एक सय २२ स्थानीय तहमा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताए । यही फागुन १३ गतेदेखि दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । भारतसँग सीमा जोडिएका दादुरा-रुबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकामा नौ महिनादेखि १५ वर्षमुनिका तथा ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रको व्यवस्था गरिएको शाखा प्रमुख डा गौतमले जानकारी दिए । खोप अभियानका लागि ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय ६ स्वयम्सेवक परिचालन गरिएको छ । रासस