पक्राउ पर्ने भीआईपीको अस्पताल बास, स्वास्थ्यमा समस्या कि सेटिङको प्रपञ्च ?
काठमाडौं । सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अहिले नर्भिक अस्पतालमा छन् । उनकाे स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा भर्ना गरिएको छ । पूर्व सभामुख समेत रहेका उनी यसअघि बलात्कारको आरोपमा पक्राउ हुँदा पनि अस्पताल नै भर्ना भएका थिए । त्यतिखरे उनलाई सुगरको समस्या देखाइएको थियो । यस्तै, केही साताअघि बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा उद्योगी अरुण चौधरी पक्राउ परे । उनी पनि पक्राउ परेपछि हिरासत नगएर अस्पताल भर्ना भए । उनीसँगै बाँसबारी छालाजुता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह पनि अस्पतालमा भर्ना भएका थिए । थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै उनीहरूलाई बसुन्धारास्थित चिरायू अस्पतालमा भर्ना गरिएको थियो । चौधरीलाई पछि ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो । यस्तै, ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि पक्राउ परेका थिए । पक्राउ भएपछि स्वास्थ्यमा समस्या भएको भन्दै उनले पनि ६० दिन शिक्षण अस्पतालमा बिताए । उनीसँगै पक्राउ परेका निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी धर्मप्रसाद गौतमलाई टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । गुरुङलाई अदालतले दोषी ठहर गर्दै सजाय पनि तोकिसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एंव कांग्रेस नेता बालकृष्ण खाँणलाई पनि बस्नका लागि विशेष व्यवस्था गरियो । उनको स्वास्थ्यमा समस्या रहेको भन्दै उनलाई बस्नका लागि प्रहरी जिल्ला प्रहरी परिसर, टेकुमा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको कार्यकक्ष नै खाली गरायो । उनलाई छुट्टै कोठामा राखिएको थियो । यस्तै, ठगी आरोपमा गत असोजमा पक्राउ परेका अभिनेता अनमोल केसी पनि चिरायू अस्पतालमा भर्ना भएका थिए । अनमोलले छाती दुखेको र श्वास फेर्न गाह्रो भएको भनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा पनि वीर अस्पताल र नर्भिकमा भर्ना भएका थिए भने बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदास गिरी ‘सिद्धबाबा’लाई पनि हिरासत नलगेर अस्पतालमा भर्ना गरिएको थियो । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डे पनि भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए । उनी पनि पक्राउपछि मुटुमा समस्या आएको भन्दै अस्पताल भर्ना भएका थिए । सर्वसाधारण पक्राउ हुँदा हिरासतमा राख्ने तर भीआईपी पक्राउ हुँदा अस्पतालमा राख्ने भनेर विभिन्न समयमा आलोचना पनि हुँदै आएको छ । सर्वसाधारणले यो विषयमा चर्को आलोचना पनि गर्दै आएका छन् । उनीहरू अस्पतालमै बसेर घर फर्किने गरेका छन् । यो विषयलाई लिएर दामोदर न्यौपाने सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘पक्राउ पर्ने बित्तिकै बिरामी हुनु भनेको जेलफोयिबा हो, अस्पताल कसको ? पक्राउ पर्नेहरूको ।’ उनले व्यङ्ग्य गर्दै लेखेका छन् । अर्का फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘भीआईपीका लागि एउटा डेडिकेटेड अस्पताल जेल बनाउनुपर्छ, कम्तिमा नाटक गर्न त पर्दैन विचाराहरूले ।’ नेपाल मेडिकल काउन्सिलका अध्यक्ष चोपलाल भुसाल स्वास्थ्यमा समस्या देखिएको भन्दा बाहेक अन्य अवस्थामा अभियुक्तलाई अस्पतालमा राख्न नहुने बताउँछन् । अभियुक्तमा कुनै पनि शारिरीक समस्या नभएर अस्पतालले भर्ना गरेको भेटिएमा सो अस्पताललाई कारवाही हुने बताउँछन् । के भन्छन् चिकित्सक ? जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी सरकारले जोखिम कम गर्नका लागि भीआईपी अभियुक्तलाई अस्पताल भर्ना गर्ने गरेको बताउँछन् । कुनैपनि व्यक्ति पक्राउ भएर हिरासतमा लिइकेपछि स्वास्थ्य चेकजाँच प्राथमिकतामा पर्ने बताउँदै उनी स्वास्थ्य जाँच पछि अस्पतालले नै भर्ना गर्ने कि फिर्ता पठाउने भन्ने विषय अस्पतालले नै निर्णय गर्ने गरेको बताउँछन् । ‘नेपालमा एक तिहाइलाई ब्लड प्रेसर छ, पाँच जनामध्ये दुई जनालाई उक्त रक्तचाप हुन्छ, त्यसमाथि कुनैलाई सुगर त कुनैलाई दम खोकी हुन्छ,’ उनी भन्छन्, ‘यस्तो बेलामा उनीहरूलाई तनाब भइरहेको हुन्छ, हृदयघात भएको मान्छे तीन मिनेटमा पनि मर्न सक्छ, त्यसैले पनि पक्राउ परेका व्यक्तिलाई जाँच गर्दा रोग वा कुनै समस्या देखियो भने अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।’ जाँच नगरेर सिधैं हिरासत राख्दा केही कारण उसको मृत्यु हुँदा हिरासतमा राखेर यातना दिएर मा¥यो भन्ने आरोप सरकारले सामना बेहोर्नु पर्ने उनको धारणा छ । त्यसबाट बच्नका लागि पनि भीआईपीलाई अस्पतालमा भर्ना गर्ने गरेको अभ्यास उनले सुनाए । अर्का जनस्वास्थ्यविद् डा. शरद वन्त कुनै पनि व्यक्ति पक्राउ पर्ने बित्तिकै अस्पतालमा भर्ना हुनु व्यक्तिगत विषय रहेको सुनाउँछन् । भीआईपी अस्पतालमा भर्ना हुने विषय व्यक्तिगत तहमै मूल्यांकन गरेर भन्न सकिने धारणा उनको छ । साँच्चिकै बिरामी भएको हो वा बाहना बनाएको हो भन्ने विषय चेकजाँच गरेपछि मात्रै थाहा हुने उनको भनाइ छ । यस्तै, मानसिक अस्पताल पाटनका निर्देशक एवं मनोचिकित्सक डा. अनन्त अधिकारी भीआईपीहरू एक्कासी पक्राउ हुँदा सामाजिक प्रतिष्ठा र इज्जतमा ठूलो आघात उत्पन्न हुने हुँदा तनाबको महसुस हुने बताउँछन् । उनी भन्छन्, ‘यस्तो समस्या परेको हो भने त्यस्ता व्यक्तिलाई मनोसामाजिक परामर्श लिन, मनोचिकित्सक कहाँ लग्नु पर्ने हो तर अस्पतालका आईसीयूमा राख्ने गरिएको छ, जुन राम्रो अभ्यास होइन ।’
जलन उपचारका लागि तीन अस्पतालमा युनिट स्थापना गरिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरि सेवा विस्तार गर्न लागिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले जलनको उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालको अलावा वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्न लागिएको जानकारी दिएका हुन् । उनले कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडी बढेको बताए । ‘कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडी बढेको छ । बर्न अस्पताल विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालको अतिरिक्त वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरि सेवा विस्तार गरिँदैछ । प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरुमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने र कडा किसिमको लागि रेफरल गर्ने व्यवस्था मिलाइनेछ । स्वास्थ्यकर्मीहरुलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था शुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको छ ।’ उनले भने । प्रधानमन्त्री दाहालले स्वास्थ्यकर्मीहरुलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था शुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको जानकारी गराए ।
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको रूपमा अभियान घोषणा गरिन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिँदै स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताए । ‘सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ’, उनले भने । नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म ३३ दशमलव २ प्रतिशत घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य बीमाको पहुँच पुगेको बताए । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गरीब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अति गरीब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए ।