काठमाडौं महानगरका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ । वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइयो । यसरी भेटिएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको कामपाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए । अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ । ‘औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’ औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको पनि अनुगमनका क्रममा भेटिएको छ । अनुगमनका क्रममा भेटिएका केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको कामपाको भनाइ छ । कामपाले गत मङ्सिरमा महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो । अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही हुनेछ । औषधि पसल सञ्चालन गर्न कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा रहेको बताइएको छ । औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याउने कामपाले जनाएको छ । रासस
आगामी वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउँछौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको बताए । उनले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिरहेको बताए । देशभरका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिव, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको पनि जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरुका लागि अनुदानको व्यवस्था, लगायत महत्वपूर्ण निर्णय भइ कार्यान्वयनमा आएको पनि बताए । संविधानअनुरुप निर्माण गरिनुपर्ने ऐनहरुको तर्जुमाका निमित्त नेपाल सरकारले गम्भीर पहल लिइरहेको पनि बताए । सरकारका प्रयासले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने विश्वास लिएको जानकारी दिए । ‘स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन देशभरका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिव, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था लगायत महत्वपूर्ण निर्णय भइ कार्यान्वयनमा आएका छन् । सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ शिराबाट थालिएको छ । विगतको भन्दा भिन्न रुपबाट अघि बढाइएको छ । स्वास्थ्य क्षेत्रमा जति सम्भव हुन्छ, अधिकतम बजेटको व्यवस्था गर्ने कोशिस यो पटक हुन्छ’, उनले भने । प्रधानमन्त्री दाहालले सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ शिराबाट अघि बढाइएको बताए ।
यसरी भण्डारण गर्न सकिन्छ महिलाको अण्डा र पुरुषको शुक्रकीट
काठमाडौं । हरेक दम्पत्तिलाई स्वस्थ्य बच्चा चाहिन्छ । विज्ञहरू महिलाले स्वस्थ बच्चा जन्माउन २२ देखि ३५ वर्षभित्र पहिलो सन्तान जन्माइसक्न सल्लाह दिन्छन् । तर, तत्काल बिहे गर्न इच्छा नभएका र स्वस्थ बच्चा खोज्नेहरूका लागि भने स्वास्थ्य क्षेत्रमा विभिन्न प्रविधिको विकास भइसकेको छ । अब पाठेघर स्वस्थ भएका र अरु कुनै स्वास्थ्य समस्या नभएका महिलाहरूलाई सन्तानबिना बस्नु नपर्ने अवस्था आइसकेको छ । महिलालाई मात्र होइन अहिले विदेश गएर पछि बच्चा जन्माउछु, अथवा पहिले आफ्नो खुट्टामा उभिन्छु भन्ने पुरुषको लागि पनि उत्तिकै विकल्प छ । त्यो विकल्प हो महिलाको अण्डा र पुरुषको शुक्रकीट भण्डारण । यसरी भण्डारण गरिएको अण्डा र शुक्रकीटबाट जहिले पनि बच्चा जन्माउन मिल्छ । के हो डिम्ब र शुक्रकीट भण्डारण ? करिअरका लागि व्यस्त रहने महिला र पुरुषले आफ्नो सन्तानका लागि आफ्नो डिम्ब र शुक्रकीट सुरक्षित राख्ने प्रक्रिया हो । २२, ३० र ३५ वर्षसम्मका महिला र पुरुषले ४० वा त्योभन्दा पछिको उमेरमा बच्चा जन्माउने योजना बनाउँदा डिम्ब र शुक्रकीटलाई भण्डारण गर्न सकिन्छ । यसरी भण्डारण गरिएको शुक्रकीट र अण्डाको प्रयोगले ४० वर्षपछि पनि २५ देखि ३० वर्षको उमेरमा जन्मेको बच्चा जस्तै स्वस्थ बच्चा जन्माउन सकिन्छ । कसरी हुन्छ अण्डा भण्डारण ? कुनै पनि महिलाले आफ्नो अण्डा भण्डारण गर्न चाहेमा भने महिनावारी भएको दुई दिनमा भण्डारण गर्ने ठाउँमा पुग्नुपर्छ । दुई दिनदेखि नै इन्जेक्सन लगाउनुपर्छ । इजेक्सन र औषधीबाट डिम्ब विकास गर्ने प्रक्रिया सुरु गरिन्छ । यसको १० देखि १२ दिनसम्म इन्जेक्सन लगाइसकेपछि हल्का बेहोस बनाएर ट्रान्सभजाइनल अल्ट्रासाउण्डको मद्दतले अण्डा झिकिन्छ । अण्डा झिक्दा सानो सुइले घोचेर निकालिन्छ । अण्डा झिकिसकेपछि महिलाको होस आयो भने घर जान सक्छन् । उनीहरूले भर्ना भएर अस्पताल बसिरहनु पर्दैन । पुरुषहरूका लागि भने प्राकृतिक रूपमा नै संकलन गरिन्छ । तर, पुरुषले भण्डारण गर्न आउनुभन्दा दुई-तीन दिनसम्म शारीरिक सम्पर्क राख्न हुँदैन । यसरी संकलन गरिएको शुक्रकीटलाई पनि अण्डा जसरी नै भण्डारण गर्न सकिन्छ । झिकेको अण्डा कसरी राखिन्छ ? महिलाबाट यसरी झिकेको अण्डालाई ल्याबमा एम्ब्रोलोजिसले हेरिन्छ । यसले राम्रो अण्डा छुट्याउने काम गर्छ । राम्रो र गुणस्तरीय अण्डा छुट्याइसकेपछि एउटा औषधी हुन्छ, त्यो औषधीले अण्डाको पानी निकालेर खुम्च्याएर लिक्विड नाइट्रोजन (-१९६ डिग्री सेल्सियस) मा राखेर वर्षौंसम्म फ्रिज गर्न सकिन्छ । यो जस्ताको त्यस्तै रहन्छ । यसरी राखिएको अण्डा जब प्रयोगमा ल्याइन्छ तब त्यो अण्डामा फेरि औषधी राख्दा पहिलेकै अवस्थामा आउँछ । यसरी राख्दा दिने व्यक्तिको नाम लेखेर राखिएको हुन्छ । त्यसमा नम्बर पनि राखिएको हुन्छ । यसरी राख्दा भण्डारण गर्ने व्यक्ति आएर बच्चा जन्माउने योजना बनाउँदा प्रयोग गर्न सकिन्छ । कत्तिको सुरक्षित हुन्छ ? अण्डा स्टोर गर्नु एकदमै सुरक्षित विधि हो । तर, धेरैजसो अप्रेसन गर्दा डराउँछन् । अप्रेसनभन्दा धेरैजसोको पेट चिरेर अप्रेसन गर्ने भन्ने सोच हुन्छ तर यो पेट चिरेर गरिने अप्रेशन हैन । यौनीको माध्यमबाट अल्ट्रासाउण्डबाट लामो सुई राखेर डिम्बसयमा रहेका अण्डा तानेर टेस्टयुबमा जम्मा गरिन्छ । यो जम्मा गरिएको अण्डालाई ल्याबमा पठाइन्छ । अण्डा झिक्नका लागि अस्पतालमा भर्ना नै हुनुपर्छ भन्ने छैन । महिलाहरु कत्तिको आउँछन् ? जसको श्रीमान नेपालमा छन् । आफू विदेश जानुपर्ने छ भन्ने महिलाहरू अण्डा स्टोरका लागि बढी आउने चिकित्सक बताउँछन् । दुई तीनपटक अण्डा भण्डारण गरेकालाई एक पुलिङ भनिन्छन् । केही वर्षयतादेखि अहिले अण्डा भण्डारण गर्नेको संख्या बढेको छ । महिलामा अण्डाको संख्या कम छ भनेर कसरी थाहा पाउने ? यो थाहा पाउने धेरै तरिका हुन्छ । एन्टी मुलेरियन हर्मोन (एमएच) जाँच हुन्छ । यो जाँच गर्दा ३ हजार रुपयाँ लाग्छ । जुनसुकै ल्याबमा यो जाँच गर्न सकिन्छ । अर्को त्यो हर्मोनसँगै मेल खान्छ कि खाँदैन भनेर ट्रान्सवेजाइनल अल्ट्रासाउण्ड गरेर दुवै डिम्बाशयमा कतिवटा अण्डा छ गन्ने काम हुन्छ । यसो गर्दा अण्डाको क्वालिटी र मात्रा कति छ भन्ने थाहा हुन्छ । यसरी भण्डारण गरिएका अण्डा र शुक्रकीटबाट बच्चा जन्माउने प्रक्रिया कस्तो हुन्छ ? कुनै पनि महिलाले भण्डारण गरेर राखेको अण्डाबाट बच्चा जन्माउनुपरेमा महिनावारी भएको दुई दिनमा आउनुपर्छ । त्यसपछि पाठेघरमा ध्यान दिनुपर्छ । पाठेघरमा बच्चा बस्न मिल्ने गरी हर्मोनको औषधी दिनुपर्छ । यो औषधीले पाठेघर बाक्लो बनाउने काम गर्छ । हर्मोन प्रयोग गरेको १२ देखि १४ दिनमा ८.१० मलिमिटर बाक्लो बनाइसकेपछि इन्जेक्सन वा यौनीमा राखिने जुनै पनि माध्यमबाट प्रोजेस्टिन औषधी दिइन्छ । यो औषधी प्रयोग गरेको दिन डाक्टरले महिलाले भण्डारण गरेर राखेको अण्डालाई निकालेर न्याचुरल स्टेटमा ल्याएर महिलाको श्रीमानको शुक्रकीटसँग मिक्स गरेर बच्चा बन्न छोडिन्छ । यसरी राखेको तीन वा पाँच दिनपछि बच्चा पाठेघरमा राखिन्छ । यो फ्रटिलिटीबाट अण्डा भण्डारण गरेर १०-१२ जना महिलाले बच्चा जन्माइसकेका छन् । यसको पाइदा के हो ? यो प्रक्रिया ढिलो बिहे गर्न चाहनेहरूका लागि राम्रो हो । हामीले समय रोक्न सक्दैनौँ तर, यो पद्धतिले समय रोके सरह काम गर्छ । २४ वर्ष हुँदा अण्डा भण्डारण गर्दा ४० वर्षपछि पनि अण्डाको गुणस्तर २४ वर्षकै रहनु भनेको राम्रो हो । कति उमेरमा भण्डारण गर्दा राम्रो ? ३२ वर्षभन्दा अगाडि अण्डा भण्डारण गरेको सबैभन्दा राम्रो हुन्छ । अहिले अण्डा भण्डारणको कुरा सुनेर ३५ देखि ४० वर्ष पुगेका महिलाहरू पनि आउने गरेका छन् । ४० वर्षका महिलाहरूमा अण्डाको मात्रा पनि कम हुन्छ भने क्वालिटी पनि कम हुन्छ । यो उमेर समूहका महिलाको सय वटा अण्डा फ्रिज अथवा भण्डार गरिएको छ भने सय वटै अण्डा राम्रो अवस्थामा नआउन पनि सक्छ । अण्डा भण्डारण जति कम समयमा गर्याे त्यति गुणस्तर पनि राम्रो हुन्छ । खर्च कति लाग्छ ? यो भनेको आइभिएफ (कृत्रिम गर्भाधान) प्रक्रिया जस्तै हो । यसका लागि तीन लाखदेखि साढे तीन लाख रुपैयाँसम्म खर्च लाग्छ । यो भण्डारणका लागि भने अस्पताल पिच्छे फरक चार्ज पनि हुन सक्छ । तर, प्रायः वार्षिक ५० देखि ६० हजार लाग्छ । यसरी जन्माइएका बच्चा कति स्वस्थ हुन्छन् ? यसरी जन्माइएका बच्चा स्वस्थ हुन्छन् भन्ने विषयमा रिसर्च नै भएको छ । नेपालमा पनि टेस्टट्युब बेबी गरेर आइभिएफमार्फत जन्माएको बच्चा स्वस्थ र बुद्धिमान भएका छन् । डिम्बजस्तै शुक्रकीटमा कमी आउने समय हुन्छ ? महिलाहरूको जन्मजातै डिम्बाशयमा अण्डाको स्टोर हुन्छ । त्यो नचलेर बसेको हुन्छ । जब महिनावारी हुन सुरु हुन्छ तब डिम्बाशयमा रहेका अण्डाहरू सक्रिय हुन थाल्छन् । स्टोरमा रहेका अण्डाहरू उत्पादन हुँदै बाहिर आउने भएकाले उमेर बढ्दै गएपछि अण्डाको स्टोर घट्दै जान्छ । यो स्टोर बढाउने त्यस्तो कुनै पनि प्रक्रिया र औषधी छैन । त्यसैले ३५ वर्षपछि यो घट्दै जान्छ । ३८ वर्षपछि यो सख्या ह्वात्तै घट्न थाल्छ । त्यसैले पनि महिलाले ३५ वर्ष अगाडि पहिलो सन्तान जन्माइसक्नुपर्छ । पुरुषहरू जब किशोर अवस्थामा हुन्छन् त्यसपछि हरेक दिन शुक्रकीट उत्पादन हुन्छ । महिलाको जस्तो उमेरको हद हुँदैन । तर, खानपानमा राम्रो छैन, तनाव छ, लागुपदार्थ सेवन गर्ने या अण्डकोषमा चोटपटक लागेको छ, बच्चा हुँदा हाँडेरोग लागेको छ वा कुनै भाइरल इन्फेक्सन भएको छ भने यस्तो कारणले पुरुषको शुक्रकीटमा कमी आउन सक्छ । होइन भने महिलाजस्तो पुरुषलाई बच्चा हुन गाह्रो हुँदैन । (प्रसूति तथा स्त्रीरोग एंव निःसन्तानपन विशेषज्ञ डा. स्वस्ति शर्मासँग विकासन्युजकर्मी इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)