महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

कञ्चनपुर । सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुवात भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा. इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले भने, ‘अस्पतालमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ आउनुभएको छ । बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिन्छ ।’ रक्तरोग विशेषज्ञ डा. ढकालले बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव रहे पनि बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न कठिन हुने बताइन् । ‘वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ,’ उनले भनिन्, ‘बालबालिकामा हुने क्यान्सर अलि फरक छ, वयस्कलाई झैँ रोकथामका उपाय अपनाउन सकिँदैन ।’ उनका अनुसार बालबालिकामा रक्त क्यान्सर (ब्लडक्यान्सर), ग्रन्थी आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्ने गर्छ । उनले क्यान्सरका बिरामी अन्तिम समयमा अस्पतालमा पुग्ने गरेका कारण उपचारका कठिनाइ हुने गरेको बताइन् । ‘क्यान्सरका बिरामी ढिलोगरी अस्पतालमा उपचारका लागि आउने गरेका छन्,’ डा. ढकालले भनिन्, ‘समयमै उपचार गर्नसके क्यान्सर निको पार्न सकिन्छ ।’ महाकाली अस्पतालमा जनशक्ति र उकरण अभावले क्यान्सरको उपचार सम्भव नभए पनि क्यान्सरको पहिचान गरी समयमै उपचार गर्नसके यसको निदान सम्भव रहेको उनले बताइन् । प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले पछिल्लो समय अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएको बताए । ‘अस्पतालमा २८ विषेशज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले १३ विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्,’ उनले भने, ‘अस्पतालले गाइनोलगायतका विशेषज्ञ सेवा थप्दै छ ।’ पछिल्लो समय अस्पतालले डायलायसिस सेवासमेत सुरु गरेपछि यहाँका सेवाग्राहीलाई सहज भएको छ ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका पाँच स्वास्थ्यकर्मीहरू सम्मानित

काठमाडौं । सरकारले देशभर उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयमा गरिएको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । यो वर्ष देशभर सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा कार्यरत अनमी बबिता बिस्टलाई सम्मानित गरेको छ । उनलाई एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराका सिअनमी किरण कुमारी, सुर्खेत अस्पतालका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक सुष्मा थपलियाले स्वास्थ्य सेवा पुरस्कार पाएका छन् । उनीहरूलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उज्वेकिस्तानमा कफ सिरप सेवनबाट ६८ बालबालिकाको मृत्युको घटनामा भारतीयसहित २३ जनालाई सजाय

काठमाडौं । मध्य एसियाली देश उज्वेकिस्तानको सर्वोच्च अदालतले सोमबार भारतमा उत्पादित कफ सिरप पिएर ६८ बालबालिकाको मृत्यु भएको घटनामा २३ जनालाई सजाय सुनाएको छ । सजाय पाउनेमा एक भारतीय व्यापारी पनि परेका छन् । उज्वेकिस्तानमा २०२२ र २०२३ को बीचमा कम्तीमा ८६ बालबालिकालाई विषालु खोकीको सिरप खुवाइएको थियो । जसका कारण ६८ बालबालिकाको मृत्यु भएको थियो । भारतीय नागरिक सिंह राघवेन्द्र प्रताप उज्वेकिस्तानमा डक–१ म्याक्स सिरप आयात गर्ने कम्पनीका निर्देशक हुन् । त्यहाँको अदालतले उनलाई २० वर्षको सबैभन्दा कठोर सजाय सुनाएको छ । उज्वेकिस्तानको सर्वोच्च अदालतले राघवेन्द्र प्रतापलाई भ्रष्टाचार, जालसाजी र जालसाजी गरेको आरोपमा दोषी ठहर गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कप सिरपको नमूनाहरूले यो डाइथिलिन ग्लाइकोल वा इथिलीन ग्लाइकोलबाट दूषित भएको देखाएको थियो । उक्त मुद्दापछि भारत सरकारले कफ सिरप उत्पादन गर्ने कम्पनी मेरियन बायोटेकको उत्पादन अनुमतिपत्र खारेज गरेको थियो । सोही अवधिमा गाम्बियामा भारतबाट आयात गरिएको अर्को कफ सिरप प्रयोग गर्दा ७० बालबालिकाको मृत्यु भएको थियो । सबै बालबालिकाको मिर्गौला फेल भएको थियो । त्यस्तै, इन्डोनेसियामा पनि सन् २०२२ देखि २०२३ सम्ममा यस्तो कफ सिरप पिउँदा २०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । एजेन्सी