विदेशी खोपको डम्पिङ साइट बन्दै नेपाल, ‘आयात हुन्छ, प्रयोग हुँदैन’

काठमाडौं । कुनैबेला खोप लगाउनकै लागि तछाड मछाडको अवस्था थियो । जुन बेला कोरोनाको कहरले मान्छेलाई घरभित्रै थुनिनु पर्ने अवस्था थियो । मान्छेले मान्छेलाई देख्दै भाग्नुपर्ने अवस्था थियो । कोभिड संक्रमणको त्रासमा रहेका नागरिकले तब राहातको महसुस गरे जब कोभिड १९ विरुद्धको खोप बन्यो र लगाउन सुरु भयो । नेपाल सरकारले विभिन्न देशबाट खोप ल्याइसकेपछि खोप लगाउन नागरिकको दौडधुप सुरु भयो । मान्छे खोप लगाउन काम छोडेरै अस्पताल पुगे । खोपकै लागि घण्टौं लाइनमा बसे । यति सम्म कि खोप पाउन सोर्स फार्स नै लगाउनुपर्यो । कतिपय ठाउँमा भ्याक्सिन नै गायव पारिएका समाचारहरू पनि आए । अझ विदेश जानेहरूले त लाइनमा बस्दा खोप नै नपाएपछि पहुँचको आधारमा खोप नलगाएर कार्ड बनाउन समेत भ्याए । धेरैजसोले पहिलो, दोस्रो र बुस्टरडोज पनि लगाए भने कतिपयले पहिलो र दोस्रो मात्र लगाए । तर, अहिले खोप नागरिकको प्राथमिकतामा पर्दैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी अहिले कोरोना विरुद्धको खोप नागरिकले लगाउन छोडेको बताउँछन् । ‘खोप लगाउँदा कसैलाई हानी गर्देन, बरु राम्रो हुन्छ,’ उनी भन्छन, ‘यति भन्दा पनि खोपप्रति नागरिकको रुची घट्दै गएको छ, नागरिकले खोप नलगाइदिँदा खोप खेर जान थालेको छ ।’ नेपाल सरकारले भेरोसेल, कोभिडसिल्ड, स्ट्राजेनेका, जोनसोन एण्ड जोनसेन, मोडर्ना र फाइजर लगायतका खोपहरू ल्याउँदै आएको छ । नागरिकहरूले खोप लगाउन छोडेपछि धेरै खोप खेर नै गएको छ । खेर गएको खोप कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती एकातिर छ भने अर्कोतिर सरकारले फेरि १६ लाख बढी कोरोना विरुद्धको खोप ल्याएको छ । ल्याएको खोप कहिले कहाँ र कसरी लगाउन सुरु गर्ने भन्ने ठोस निर्णय नै बनाएको छैन । डा. प्रकाश बुढाथोकी । नागरिकले खोप लगाउन छोडेको बेला सरकारले खोप ल्याएपछि कतिपयले आलोचना समेत गरेका छन् । नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्र्तगत कोभिडविरुद्धको खोप आउँछ । खेर गएको खोप नस्ट गर्न चुनौती नेपालमा खरिद तथा अनुदान गरी अहिलेसम्म ६ करोड ७७ लाखा मात्रा खोप ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ९१.१ प्रतिशत नागरिकले पहिलो मात्रा, ९४.२ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् भने पहिलो बुस्टरको मात्रा ४६ प्रतिशत र दोस्रो बुस्टरको मात्रा ७ प्रतिशतले लगाएका छन् । खोप ल्याउनु राम्रो भएपनि त्यो भन्दा अगाडि गर्नुपर्ने पूर्व तयारीमा ध्यान नदिँदा खोप खेर गइरहेको छ । जुन राम्रो अभ्यास नभएको जानकारहरु बताउँछन् । सरकारले चीनबाट अनुदानमा ल्याएको ४० लाख खोप खेर गएको छ । लामो समयसम्म पनि प्रयोगमा नआएपछि सनोभ्याक-कोरोनाभ्याक खोप खेर गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रयोग नभएर खेर गएको खोप कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न सकेको छैन । यो खोप चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल ल्याइएको थियो । किन यति धेरै मात्रामा खोप खेर गयो भन्ने प्रश्नमा आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया कोरोना विरुद्धको कुनैपनि खोप नलगाएका व्यक्तिले मात्र लगाउन मिल्ने हुँदा खेर गएको जवाफ दिन्छन् ।   खोप खेर जानुको दुई/तीन कारण छन् । ‘त्यो बेला अधिकांश नागरिकले कोरोना विरुद्धको पहिलो र दोस्रो डोज लगाइसकेका थिए,’ डा. चौरासिया भन्छन्, ‘यो खोप आइसकेपछि खोप सल्लाहकार समिति र डब्लूएचओले प्राइमरी सेयरिङमा लगाउन नमिल्ने अथवा कनै पनि खोपको पहिलो र दोस्रो मात्रा लगाएकोले लगाउन नमिल्ने निर्णय गर्यो, अर्को कुरा हामीले अनुदानमै त्यो भन्दा राम्रो खोप पायौं, त्यसैले पनि यो खोप प्राथमिकतामा परेन र खेर गयो ।’ ‘राम्रो खोप ल्याएका हौं’ सरकारसँग भएको खोप नागरिकले नलगाई थन्किरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने फेरि कोरोना भाइरसविरुद्धको खोप ल्याएको छ । गत साता स्वास्थ्य मन्त्रालयले १६ लाख ६८ हजार चार सय ८० मात्रा फाइजरको ‘मनोभ्यालेन्ट’ नामक खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका उनका अनुसार यो खोप वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख १ हजार २८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार २ सय मात्रा खोप ल्याएको हो । असार १६ गते २ लाख ७६ हजार ४८० मात्रा, असार १७ गते २ लाख ७० हजार ७२० मात्रा, असार १८ गते २ लाख ७६ हजार ४८० मात्रा, असार २० गते २ लाख ७६ हजार ४८० मात्रा, असार २१ गते २ लाख ७० हजार ७२० मात्रा र असार २३ गते २ लाख ३० हजार चार सय मात्रा खोप नेपाल आएको हो । खोप ग्लोबल एलाएन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी) बाट अनुदानमा ल्याइएको जनाइएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतम अहिले ल्याएको खोप कुनै पनि खोप नलगाएका व्यक्ति र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूले लगाउन मिल्ने बताउँछन् । खोप खेर गइरहेको बेला फेरि किन खोप ल्याइयो भन्ने जिज्ञासामा स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखाले अहिले पनि कोभिड संक्रणका बिरामी भेटिरहेकाले सुरक्षित रहन खोप ल्याएको बताएको छ । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । शाखाका प्रमुख डा. चौरासिया अहिलेको नयाँ सम्झौता नभई पहिले नै खोप दिने प्रतिबद्धता अनुरुप खोप आएको बताउँछन् । कतिपय देशले अहिले पनि खोप लगाएको प्रमाण मागिरहकाले विदेश जाने युवा, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीका लागि खोप आवश्यक रहेको बताउँछन् । सित्तैमा पाउँदा जतिपनि ल्याउने प्रवृत्ति कोरोनाको खोपमात्र होइन नेपालमा बालबालिकालाई लगाइने खोप पनि वर्सेनि लाखौं डोज खेर गइरहेको हुन्छ । यत्तिकै मात्रामा औषधी पनि खेर जान्छ । नेपालमा औषधीजन्य पदार्थ यसरी खेर जानुमा नेपालले आवश्यक छैन भनेर भन्ने हैसियत नराखेकोले भएको जानकारहरु बताउँछन् । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी आवश्यक नभएको सामान कसैले लैजा भन्दा नाइँ भन्न नसक्नु पनि यसको एक कारण रहेको बताउँछन् । ‘कतिपय संघ सस्थाले नेपाललाई खोप लगायतका धेरै जस्तो स्वास्थ्य सामाग्री सहयोग गर्छन्, यो राम्रो पक्ष हो,’ उनी भन्छन्, ‘तर आवश्यक नभएको सामान फाल्नलाई मात्र ल्याउनु हुँदैन, कुनै सामान ल्याउनुअघि यसको उपयोग कसरी गर्ने भन्ने योजना हुनुपर्छ ।’ कतिपय सरोकारावाला भने नेपाललाई विदेशी संघसस्थालदे डम्पिङसाइडको रुपमा प्रयोग गरिरहेको बताउँछन् । विज्ञहरूको यस्तो प्रश्नमा डा. चौरासिया आपत्ति जनाउँछन् । उनी आवश्यक नभएका कतिपय सामानलाई पर्दैन भनेर नल्याएको बताउँदै नाइ भन्न सक्ने हिम्मत भएको र भनिरहेको बताउँछन् । व्यवस्थापनमा चुनौती सेवाग्राहीले प्रयोग नगरी म्याद सकिएको कोराना भ्याक्सिन कसरी नष्ट गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयले कुनै निर्णय गरेको छैन । भ्याक्सिन नष्ट गर्दा झोल कसरी नस्ट गर्ने सीसा के गर्ने भन्ने योजना पनि बनाउन सकेको छैन । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा, व्यवस्थापन महाशाखाका प्रमुख उपेन्द्र ढुंगाना खेर गएको औषधि र भ्याक्सिन व्यवस्थापनका लागि भइरहेको बताउँछन् । कुनै पनि सामग्री नस्ट गर्न जिन्सी निरीक्षण प्रतिवेदन बनाउनुपर्ने कार्यविधमा उल्लेख छ । यसका लागि अब यो साउनमा समिति बनाएर खेर गएका औषधी र भ्याक्सिनबारे छलफल गर्ने उनी बताउँछन् । समितिले जिन्सी निरीक्षण प्रतिवेददन बनाइ बुझाइसकेपछि प्राविधिक रुपमा कसरी नस्ट गर्ने भन्ने कुरा अगाडि बढ्छ,’ ढुंगाना भन्छन्,’ ‘हामीसँग म्याद सकिएका औषधी नस्ट गर्ने दुई/तीन वटा उपाय छन्, यीमध्ये कसरी खोप नस्ट गर्ने भन्नेबारे छलफल गर्न बाँकी छ ।’ कार्यविधि अनुसार म्याद गुज्रेका अथवा प्रयोगमा नआउने औषधी उत्पादकलाई फिर्ता गर्ने, केमिकल विधिबाट नस्ट गर्ने र अल्ट्रा हाइ टेम्प्रेचर अथार्त अधिक तापक्रमले नस्ट गर्न सकिने उल्लेख छ । कोभिडको खोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले गैर–खतरानाक औषधिजन्य फोहोर भनेको छ ।

नेपालकै पहिलो दन्त अस्पताल नेशनल डेन्टलले हकप्रद सेयर बेच्दै

काठमाडौं । नेपालको पहिलो दन्त अस्पताल नेशनल डेन्टल हस्पिटलले हकप्रद सेयर बिक्री गर्ने भएको छ । नेशनल डेन्टलले जगेडामा रहेको १ लाख बढी कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । नेशनल डेन्टल हस्पिटलको वि.सं २०८० असोज १३ गते सम्पन्न साधारण सभाले तत्काल कायम सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीको हकप्रद सेयर बिक्री खुला गरिएको थियो । तर, कम्पनीका सेयरधनीहरूले १ लाख ४ हजार ७७६ कित्ता सेयर खरिद नगरी बाँकी रहेको छ । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीको एभरेष्ट बैंकको लाजिम्पाट शाखामा रहेको बैंक खातामा रकम जम्मा गरी सेयर खरिद गर्न सक्ने बताइएको छ ।

नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलका यस्ता छन् पहिलो निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताए । उनले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रतिबद्धता व्यक्त गरे । ‘काम गर्ने ठाउँमा आएको छु । विज्ञहरुसँग आवश्यक सुझाव लिएर अगाडि बढ्छु’, मन्त्री पौडेलले भने– ‘एकीकृत स्वास्थ्य प्रणाली सुदृढ बनाउन मेरो जोड रहनेछ ।’ मन्त्री पौडेलले छिटोछरितो ढंगबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ आफू कन्द्रित रहने उल्लेख गरे । मन्त्री पौडेलको राजनीतिक यात्रा  नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलको जन्म २०३१ चैत १४ गते आमा दुर्गादेवी र बुवा डिल्लीरमण पौडेलको सन्तानको रुपमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको हो । नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय उनी २०५३ सालमा अमृत साइन्स क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए । लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उनी २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति भएका थिए । समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् । उनी २०७९ को संसदीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०६२/६३ को जनआन्दोलनका क्रममा उनले जेल सजायसमेत भोगेका थिए ।