मनसुनसँगै रोगहरूको उच्च जोखिम

मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औँ, जल उत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ । गत वर्ष विपद्का घटना सात सय ६९ हुँदा ६३ जनाको मृत्यृ, ६९ घाइते तथा ३० बेपत्ता भएको तथ्यांक छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित तथा ८३ हजार घरमा क्षति पुग्ने आकलन छ । मनसुन गत जेठ २८ गते भित्रिएपछि विपद्का एक सय ४७ घटनाबाट ३३ जिल्ला प्रभावित भई २८ जनाको ज्यान गइसकेको छ । मनसुनको सुरु भएसँगै बाढी, पहिरो, डुबान र चट्याङले देशभर ठूलो क्षति पुर्याइरहेको छ । हरेक दिन मृत्यृ, घाइते र बिरामीहरूको तथ्यांक आइरहेका छन् । कोशी प्रदेशबाट सुरु भएको क्षति कर्णाली र सुदूरपश्चिम प्रदेश पुगिसकेको छ । ३३ बढी जिल्ला प्रभावित, तीसभन्दा बढीको मृत्यृ तथा हजारौँ परिवार प्रभावित र भएका छन् । सुरुमै भएको क्षतिले चुनौतीपूर्ण भविष्यको संकेत गरेको छ । विपद्ले ल्याउने स्वास्थ्य समस्या  वर्षात्को समयमा आउने बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिसँगै सबै अस्पतालका निर्देशकहरूले उपलब्ध गराएको जानकारीमा गर्मीपछि वर्षात्को समयमा सबैभन्दा बढी झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जण्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको सङ्क्रमण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी देखिने गर्दछन् । अर्थात् दूषित खाना र पानी, लामखुट्टे, झिङ्गा, किराफट्याङ्ग्रा, फोहर तथा हिलोका कारण हुने सङ्क्रमण विशेषतः बढी देखिन्छ । परेको वर्षा ट्याङ्की वरिपरि मानिस, जनावर, पक्षीको बिष्ठा, ढकन नभएको, फोहरसहितको भेल मुहानमा परी प्रदूषित पानी, सिनो मासु, खोलानालाको प्रदूषित पानी सेवनले रोग लाग्दा जण्डिसलगायतका रोगहरूबाट मानिसहरू बिरामी पर्दैछन् । गर्भवतीलाई अस्वस्थता हुँदा थप जटिलता र गर्भपतनसम्म भएको पाइन्छ । बढ्दो वर्षासँगै विभिन्न किटाणु, जीवाणु, विषाणुजन्य सरुवा र सङ्क्रमणहरू  टाइफाइड, झाडाबान्ता, भाइरल फ्लु, पेटको दुखाई, रुघाखोकी, श्वासप्रश्वास सङ्क्रमण, जण्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा, चिलाउने तथा आँखाको सङ्क्रमण, जनावरले टोकेर हुने बिरामीहरू बढ्दै छन् । यसबाहेक तराईमा सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या र लु बढ्दैछ । जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यत्तिकै समस्या छ । दूषित खाना, पानी, सरसफाइको अभाव, फोहर हात, भाडाकुँडा, झिङ्गा, लामखुट्टे, साङ्ला, किराफट्याङग्रा तथा  बासी, सडेगलेका फोहर खानेकुरा, फोहर बानी व्यहोरा र फोहर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो । यस मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । करिब सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा विषाणुद्वारा हुने सङ्क्रामक रोग रुघाखोकी लागेकालाई सामान्य बिरामीको रूपमा लिइन्छ । यसमा घाँटी खस्खसाउने, श्वास फेर्न अप्ठेरो हुने, पातलो सिंगान बग्ने, ज्वरो आउनुको साथै शरीर दुख्छ । प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले ज्यादा भीडभाड हुने स्थान बस, फिल्महल, विद्यालय र जात्रामा बिरामीले खोक्दा, बोल्दा, हाछ्यूँ गर्दा छिटै सर्दछ । पानीजन्य रोगहरू रोगका किटाणु पानीको मुहानमा परे सर्ने सरुवा रोगमा झाडापखाला, हैजा, रगतमासी, जुकाहरू, पोलियो, जियारडियासिस, अमिवियासिस, आउँ, टाइफाइड, जण्डिसलगायत २० वटा सरुवा रोगहरू पर्दछन् । वर्षायाममा विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने चिल्लो खाद्य पदार्थले खाना विषाक्तता हुन्छ । बिरामीलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । त्यसैगरी झिङ्गा भन्किएको र फोहर खानेकुरा खादा भिब्रियो कोलेरा ब्याक्टेरियाले आन्द्रामा सङ्क्रमण गर्छ र तीव्र सङ्क्रमण हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता एकैपटक लागिरहन्छ । त्यसले तीव्रगतिमा जलहरण गरी बिरामी शिथिल अवस्थामा पुग्छ । पटकपटक पातलो दिसा (तीन पटकभन्दा बढी) हुनुलाई झाडा पखाला भनिन्छ । यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्याहरू देखा पर्दछन् । बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किराफट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने सङ्क्रामक रोग टाइफाइड हो । झिङ्गा, सङ्क्रमित माटो र फोहर हातले खानेकुरा बनाउँदा रोग सर्न सक्दछ । यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षण देखिन्छ । नेपालीमा म्यादी ज्वरो भनिने रोग टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरिया जीवाणुबाट लाग्छ । बिरामीको दिसापिसाबबाट दूषित हुन गएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । टाइफाइडमा सुरुमा रोग रुघाखोकी जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ । त्यसपछि विस्तारै टाउकोको अगाडिको भाग दुख्ने, ज्वरो आउने आदि हुन्छ । ज्वरो बेलुकीपख बढ्छ र हरेक दिन केही ज्वरो बढ्दै जान्छ । बिरामीको ज्वरो कुनै बेला घट्ने र कुनै बेला बढ्ने पनि हुन सक्छ तर साधारण अवस्थामा आउँदैन । बिरामीलाई भोक नलाग्ने र विस्तारै सिकिस्त हुँदै जान्छ । ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि पनि हुन्छ । यस्ता लक्षणहरू एक हप्तासम्म देखा पर्दछन् । दोस्रो हप्तामा ज्वरो बढी आउने र नाडीको गति अझ कम पनि हुनसक्छ । शरीरको प्रायः सबै भागमा र मुख्यगरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ । कलेजो र फियो सुन्निन सक्छ । वर्षायाममा पानीकै कारणले मात्र लाग्ने हेपाटाइटिस ‘ए’ भाइरसद्वारा सङ्क्रमित भई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखा पर्न सक्छ । एकपटक हेपाटाइटिस ‘ए’को उपचार गरेपछि पुनः देखा पर्दैन । हिजोआज पहिले गर्भवती महिलामा मात्र बढी देखिने हेपाटाइटिस ‘ई’ पुरुषमा पनि बढ्दो छ । यसमा बिरामीको कलेजो सुनिन्छ । उपरोक्त दुवै हेपाटाइटिस दूषित पानी र खानाबाट सर्दछ । काँचो फलफूल र मासुबाट सर्ने विभिन्न किसिमका जुका पनि यो समयमा देखिन्छ । लामखुट्टेजन्य रोगहरू  वर्षायाममा लामखुट्टे लाग्दा र टोक्दा उच्च र तीब्र ज्वरो हुने डेंगु, औलो, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । त्यसैगरी सैण्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्दछ । वर्षायाममा सर्पदंशको समस्या पनि निकै हुने गर्दछ । सर्पले टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउँमा फोका उठ्न थाल्दछ, दुख्छ र सुनिन्छ । रगत अलिक लामो समयसम्म आइरहन्छ । पीडितलाई वाकवाकी लाग्छ, मुखबाट र्याल निक्लन्छ, डर त्रासले उत्तेजित हुन्छ, ओंठ र मुख सुख्छ, तिर्खा लाग्छ, मुटुको धड्कन बढछ भने आँखी भौं, परेला तल झर्छ । खान निल्न पनि समस्या हुन्छ । बोल्दा जिब्रो लर्बराउने, हिड्दा खुट्टा लडखडाउने र समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छाया देख्ने, आँखा खोल्न गाह्रो हुने गर्दछ । विरामीलाई श्वास लिन समस्या हुन्छ भने पक्षघात देखिने र तीनदेखि छ घण्टापछि पिसाव रातो भएर आउँछ । विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र मृत्यु हुन्छ । तर व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा या त सर्प विषालु हुँदैन या विष टोकेको स्थानमा नपर्ने तथा परे पनि कम भएको पाइने गरेको छ । मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढ्छ र विष छिटो शरीरमा फैलिन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा ह्दयाघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेजस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, निलो, फोका उठ्ने, सङ्क्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाउडिने वा नचल्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ  । टोकेको ठाउँदेखि दुई–तीन  इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउँमा ब्याण्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्दछ । यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ । मनसुनजन्य विपद तयारी र प्रतिकार्य  उच्च जोखिममा फलाइङ स्क्कार्ड तयारी, खोज, उद्धार र राहतका लागि स्रोतसाधनको ब्यवस्थापन गरिएको छ । देशका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान भएको र थप १५ स्थानमा गरिँदैछ । नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीहरू विपद् प्रतिकार्यका लागि तयारीमा छन् । सेनाले इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टर तैनाथ छन् । बेलीब्रिज, बोटजस्ता आपत्कालीन सामान रणनीतिक स्थानहरूमा राखिएका छन् । कमाण्डपोष्ट खडा गरिएको छ । त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहमा तयारी अवस्थामा रहने गरी प्रतिकार्य भइरहेको छ । पूर्वतयारीसम्बन्धी क्रियाकलापहरूका बारेमा सूची बनाई तयारी मन्त्रालयले गरिसकेको छ भने प्रतिकार्यसम्बन्धी सूचीकृत मुख्य क्रियाकलापहरूमा विपद्को असरको आधारमा सङ्घीय तथा प्रादेशिक तहका स्वास्थ्य विषयगत क्षेत्र सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रको दु्रत लेखाजोखा गर्ने, तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सन्देशमूलक सूचना र सचेतना अभिवृद्धिमा जोड दिनु रहेका छन् । त्यस्तै प्रभावित स्थानमा द्रुत प्रतिकार्य टोली परिचालन, आकस्मिक चिकित्सकीय टोली परिचालन, हैजा, डेंगुका किट, खोप, औषधिजन्य सामग्रीको व्यवस्था, एम्बुलेन्सको परिचालन, बिरामी तथा घाइतेको व्यवस्थापन, नमूना परीक्षण, शव व्यवस्थापन, भेक्टर नियन्त्रण, महामारीको उपचार, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, मनोसामाजिक नसर्ने तथा सर्ने रोगहरूको नियमितता, घुम्ती स्वास्थ्य सेवा गर्नेगरी प्रतिकार्य काम भइरहेका छन् । त्यस्तै हटलाइनहरू पनि सञ्चालनमा छन् । अन्तमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर, वर्ग र तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । उमालेको पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्दछ । जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुनेगरी खुला ठाउँमा राखिएका खाना खानु हुँदैन । व्यक्तिगत सरसफाइ र घर वरपरको वातावरण सफा राख्नुपर्दछ । रासस (लेखक केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुन् )

खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला

खोटाङ । खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि मगलबार जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जन्मिएदेखि १५ महिनासम्मका दुई हजार आठ सय ८१ तथा १६ महिनादेखि पाँच वर्षमुनिका ६ हजार चार सय २२ बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिए । उनले भने, ‘आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ, सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।’ जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले स्वास्थ्य कार्यालयका प्रमुख चौलागाईंलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र प्रदान गरे । सो अवसरमा १० वटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न संघसंस्थालगायतलाई सम्मान गरिएको थियो । कोशी प्रदेशका १४ मध्ये खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने चौथो हो ।

प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने

पाटन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज ३४ जना महिला स्वयंसेविकाको बिदाई कार्यक्रम गरेको थियो । सो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधानअनुसार आधारभूत स्वास्थ्य स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्र भए पनि स्रोतको अभावले समस्या भएको बताए । उनले प्रदेशभित्रका सबै पालिकालाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिए । ‘सबै अस्पताललाई बागमती प्रदेश सरकारले औषधि, खोप, तालिम, गोष्ठीलगायत सहयोग गर्नेछ, जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनेछौँ, प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न गरिरहेका छौँ,’ उनले भने, ‘यस वर्षको नीति तथा कार्यक्रममा स्वयंसेविकाहरूको जीवन बीमा र बजेट व्यवस्था गरिएको छ, कसरी राम्रो गर्न सकिन्छ भनेर संवेदनशील भएर मन्त्रालयले काम गरिरहेको छ ।’ उनले उत्पादनसँग जोडिने १५ देखि ४५ वर्ष समूहका युवा वर्ग आत्महत्याको सिकार बनिरहेकाले न्यूनीकरण गर्न मनोसामाजिक परामर्शका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको जानकारी गराए । उनले समुदायसँग मिलेर मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनेलगायत कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरेको बताए । अनुभवले आर्जन गरेको सीपलाई पुस्तान्तरण गर्न महिला स्वयंसेविकालाई उनको आग्रह थियो । निराश नभई क्रियाशील रहन उनले अनुरोध गरे । ‘आधारभूत स्वास्थ्य सेवाका लागि आमा सुरक्षा, नवजात शिशुको सुरक्षामा महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिकाका कारण नेपाल विश्वमा राम्रो स्थान प्राप्त गर्न सफल भएको छ,’ उनले भने । जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले ललितपुरको हकमा पाटन अस्पतालले मात्रै बिरामीको चाप थेग्न नसकेकाले प्रदेश मातहतका स्वास्थ्य संस्थाहरूको क्षमता र सेवा सुविधा वृद्धि गर्नुपर्ने बताए । महाँकाल गाउँपालिकाका प्रमुख गणेशबहादुर केसीले सरकारले उपलब्ध गराएको सेवा सुविधा कम भएको बताउँदै पालिकाभित्रका ५४ जना स्वास्थ्य स्वयंसेविकालाई हरेक वर्ष १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको जानकारी दिए । ‘निःस्वार्थ भावले गर्नुभएको सेवा अतुलनीय छ, आगामी दिनमा पनि गाउँटोलमा सेवा पु(याउनु हुनेछ भन्ने विश्वास छ,’ अध्यक्ष केसीले भने । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले संविधानले शिक्षा र स्वास्थ्य व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरेको भए पनि संघ र प्रदेशका कार्यालयले गरेका कामका बारेमा जानकारी नहुने गरेको भन्दै आक्रोश व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सामुदायिक स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने विषयमा महिला स्वास्थ स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले घरघरमा पुगेर बाल मृत्युदर घटाउन र जनचेतना फैलाउन गरेको योगदानको प्रशंसा गरे । उनले बागमती गाउँपालिकाले स्वयंसेविकाको हितलाई ध्यान दिइ संघ र प्रदेशको अलावा थप सुविधा उपलब्ध गराइरहेको जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले महिला स्वयंसेविकाहरूले बाल मृत्युदर, मातृ मृत्युदर घटाउन पु(याएको योगदानका कारण नेपालले सहस्राब्दी विकास लक्ष्य हासिलको पुरस्कार प्राप्त गरेको बताए । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले छ वटा स्थानीय तहमा कार्यरत ६० वर्ष पूरा गरेका ३४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला, प्रमाणपत्रसहित नगद १९ हजार ८ सय रुपैयाँ उपलब्ध गराएको हो । सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्य पूरा गर्न र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्य अनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५र४६ देखि सुरु गरेको स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमका रूपमा परिणत गरेको थियो ।