एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् । कार्ड जारी भएसँगै बीमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु हुने स्वास्थ्य बीमा कार्यक्रमका स्थानीय स्रोत व्यक्ति कमलप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अहिले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं २६ लैनचौर, वडा नं १४ कलङ्की, वडा नं १९ कङ्केश्वरी र वडा नं ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवद्र्धन केन्द्र बीमा बोर्डमा सूचीकृत छन् । बीमितले छानेका यी केन्द्र सुरुआती सम्पर्क बिन्दु हुन् । उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिन्छ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालमा पठाइने स्थानीय स्रोत व्यक्ति भट्टराईले जानकारी दिए । यसरी प्रदान गरिने उपचार सेवा अनलाइन प्रणालीमा आधारित हुनेछन् । बीमा बोर्डले आफूले रकम भुक्तानी गर्नुपर्ने बिरामीको स्वास्थ्य उपचार र अवस्थाबारे अनलाइन प्रणालीबाट सूचना तथा विवरण थाहा पाउनेछ । यस कार्यक्रममा बीमा गरेको प्रति पाँच जना परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले कामपाअन्तर्गत रहेका प्रवद्र्धन केन्द्रलाई शोध भर्ना गर्नेछ । कामपाले प्रमुख बालेन शाहको अध्यक्षतामा सात सदस्यीय स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन गरेको छ । समितिले स्वास्थ्य संस्थाहरुमा उपकरण, प्रयोगशालाको सेवामा निरन्तता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग, स्वास्थ्य सेवा प्रदायक संस्थामा सेवाको गुणस्तर वृद्धि गर्ने, गराउने, कार्यक्रम बिस्तार गर्न प्रवद्र्धनात्मक कार्यमा सहयोग काम गर्ने संयोजन समितिको काम हो । समितिले, सरकारी, सार्वजनिक संस्थाका कर्मचारी र परिवारलाई स्वास्थ्य बीमाको दायरामा ल्याउन नियमावलीले तोकेबमोजिम प्रिमियमको व्यवस्था गरेर कार्यक्रममा आबद्ध गर्नेछ । त्यस्तै अतिगरिब परिवारलाई कार्यक्रममा आबद्ध गर्न पालिका र बोर्डबीच समझदारी गर्नेछ । नसर्ने रोगका लागि कार्यक्रमले दिइ आएको सुविधा उपलब्ध गराउन वा वृद्धि गर्न बोर्डसँग साझेदारी गर्नेछ । कामपाले बीमितको कार्ड हरेक तीन महिनामा जारी गर्ने जनाएको छ । सूचीकृत भएकाबाहेक अन्य सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुको पूर्वाधार निर्माण (प्रयोगशाला, औषधिलगायत), जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको प्राप्तिका काम भइरहेको कामपाको भनाइ छ । सेवा सञ्चालनका लागि स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले मापदण्ड तोकेको छ । रासस
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
काठमाडौं । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिए । उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ । ‘नियमित रुपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन’, उनले भने, ‘अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो ।’ नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । रासस
मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुने
काठमाडौं । सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुने भएको छ । वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा हुन लागेको हो । सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी हुने जनाइएको छ । सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन् ।