सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

नारायणगढ । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् । बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ । भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको उपचार गरिएको छ । उनीहरूको उपचारमा सफलता प्राप्त भएको उनले बताए । यस वर्ष साउन महिनाको हालसम्ममा अस्पतालमा ७६ सर्पदंशका बिरामीको उपचार गरिएको छ । प्रमुख मियाँले भने, ‘नवलपुरका एक बालकको उपचारका लागि ल्याउँदै गर्दा बाटोमे मृत्यु भयो, अस्पताल आइपुग्न ढिला हुँदा कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।’ यहाँ गोमन, करेतलगायत जातका विषालु सर्पले डसेका बिरामी बढीजसो उपचारका लागि आउने गरेका छन् । सर्पले डसेर आएका बिरामीलाई उच्च निगरामी राखेर उपचार गरिने उनले बताउनुभयो । अकास्मिक कक्षबाटै सर्पदंशको उपचार सेवा दिइँदै आएको छ । सर्पदंशका बिरामीको उपचार गर्न अस्पतालको सघन उपचार कक्षमा छुट्टै श्यया राखिएको छ । हाल अस्पतालको सघन उपचार कक्षमा तीन सर्पदंशका बिरामीको उपचार भइरहेको प्रमुख मियाँले बताए ।

अब नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने

काठमाडौं । अब नेपालमा नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने भएको छ । विश्वका विभिन्न देशमा कक्षा १२ पछि मात्र पीसिएल नर्सिङ पढ्न पाउने व्यवस्था रहेको भन्दै नेपालमा पनि यसको गृहकार्य भइरहेको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहिबार बसेको बैठकमा पनि यो विषयमा छलफल भएको छ । बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाले नेपालमा मात्र एसईई दिएपछि नर्सिङ पढ्न पाउने व्यवस्था रहेको बताउँदै अब कक्षा १२ पास भएपछि मात्र पढ्न मिल्ने गरी आयोगले काम सुरु गरिरहेको बताए । शिक्षा ऐनले कक्षा १२ लाई विद्यालय तहको शिक्षामा राखेपछि विद्यालय शिक्षा पछि मात्र प्राविधिक शिक्षामा आउने व्यवस्था भएकाले अब नर्सिङमा पनि यस्तै व्यपस्था गर्न लागिएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बताए । यसका लागि आयोगले गृहकार्य गरिरहेको उनको भनाइ छ । यो विषयमा अध्ययन गर्न गत वर्ष नै कार्यदल बनाइ काम सुरु भइसकेको छ । त्यो कार्यदलले बनाएको मापदण्ड आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लाई दिने तयारी गरेको छ । कक्षा १२ पछि पीसीएल निर्सिङ पढाउँदा विद्यार्थी पनि परिपक्क हुने र सिकाइ राम्रो सिकेर गुणस्तरिय सेवा दिन सक्ने काप्रीको विश्वास छ । अहिले यसको काम भइरहेकाले कुन वर्षदेखि कार्यन्यवनमा आउाछ भन्नेमा भने अझै एकिन भएको छैन ।

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण

स्वर्गद्वारी । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । ‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो’, उनले भने । गौमुखी गाउँपालिकाका आठ जनामा  झाडापखाला देखिएको थियो । उनीहरुको हाल जिल्ला अस्पतालमा  उपचार भइरहेको छ ।