जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो । सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । भारत सरकारले तीन सय शय्याको श्वासप्रश्वास र नेपाल सरकारले सात सय शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ । ‘स्वास्थ्य मन्त्रलायले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको छ’, कार्यकारी निर्देशक डा श्रेष्ठले भने, ‘एक हजार शय्या अस्पतालका लागि भौतिक संरचना निर्माण गर्न भवन विभागबाट विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।’ उनका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई केन्द्रीय अस्पतालका रूपमा स्थापना गरी पचास शय्याको जनरल अस्पताल सञ्चालनमा ल्याइएको छ । केन्द्रले विशेषज्ञसहितका चिकित्सकबाट श्वासप्रश्वाससम्बन्धी उपचार सेवा दिन सुरु गरिसकेको डा श्रेष्ठले जानकारी दिए । हाल श्वासप्रश्वाससहित ५० शय्या क्षमताको जनरल अस्पताल सञ्चालन भइरहेको उनको भनाइ छ । ‘केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी एसियाकै ठूलो अस्पताल बनाउने योजनामा लागेका छौँ’, डा श्रेष्ठले भने, ‘यसले देशको स्वास्थ्य क्षेत्रमा अग्रणी फड्को मार्न सक्ने श्विास लिइएको छ ।’ उनका अनुसार केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ र नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । ‘उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत बिरामी बीमा गराएका हुन्छन्’, कार्यकारी निर्देशक डा श्रेष्ठले भने । उनका अनुसार हाल केन्द्रमा एक सय दुई जना जनशक्ति कार्यरत छन् । साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रुपमा सञ्चालन हुँदै आएकामा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि विसं २०७३ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो । केन्द्रले सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया, हाडजोर्नी, नाक, कान र घाँटी, एक्से–रे, भिडियो एक्स–रे, ल्याब, श्वासप्रश्वासलगायत क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । रासस
योग र ध्यानमा जोड दिनु आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राखेका छन् । यहाँ सोमबार सुरु स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा प्रमुख अतिथी उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो, यो हाम्रो जीवनशैली पनि हो । यसमा जोड दिनु आवश्यक छ ।’ उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास आवश्यक रहेको भन्दै विकासको गति बढाउनुपर्ने धारणा राखे । उनले रोगको उपचारसँगै रोगको रोगथामतर्फ दिनुपर्ने आवश्यक रहेको समेत बताए । उनले भने, ‘अस्पताल, उपकरण र औषधिका लागि बजेट छुट्याउने चलन छ तर हामीले रोगथामका पक्षमा बढी ध्यान दिन सकियो भने स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ ।’ उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । त्यस अवसरमा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष एव् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका साथै तालिम र प्रोत्साहन जरुरी भएको बताए । उनले कोही व्यक्ति अकालमा मन नपरोस् भन्दै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन सक्नुपर्नेमा जोड दिए ।
नेपाल मेडिकल कलेजद्वारा नर्सहरू सम्मानित
काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो । नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मानवीय सेवामा समर्पित नर्सहरु सम्मानको हकदार भएको बताए । कुनैपनि बिरामी पूर्णरुपमा निको हुन नर्सहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले कलेज परिवार नर्सिङ पेशामा समर्पितहरुको हक अधिकार र सम्मानका लागि सदैव सकारात्मक रहेको बताए । ‘तपाईहरुको कारण नै अस्पताल चल्छ । तपाईहरुको सेवाबाट नै बिरामी पूर्ण निको हुन्छन् । मानवीय सेवामा समर्पित तपाईहरु सम्मानको हकदार हुनुहुन्छ ।’ उनले भने । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले नर्सिङ सेवालाई मर्यादित, सम्मानीत बनाउँदै लैजानु पर्ने औंल्याए । कलेज प्रशासन नर्सिङ सेवालाई प्रभावकारी बनाउन र नर्सिङ क्षेत्रका जनशक्तिहरुको व्यवस्थापनमा सदैव सकारात्मक रहेको बताए। मुलुकमा दिनप्रतिदिन दक्ष स्वास्थ्यकर्मी सँगै नर्सहरुको खाँचो बढ्दै गइरहेको भन्दै उनले कलेज दक्ष जनशक्ति उत्पादनमा सक्रिय रहेको जिकीर गरे । कार्यक्रममा भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा. मोदनाथ मरहट्ठा, डाइरेक्टर डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का, नर्सिङ स्टाफ लगायतको सहभागीता रहेको थियो । सो अवसरमा कलेजले १० वर्षदेखि नर्सिङ पेशामा सक्रिय स्टाफ नर्सहरूलाई सम्मान गरेको छ । कलेजले १४ जना इन्चार्ज सहित मेट्रोन लगायतलाई समेत सम्मान गरेको छ । बिरामीको रातदिन सेवा गर्न समर्पित नर्सहरुलाई उत्प्रेरणा दिने अभिप्रायले सम्मान गरिएको हो । कार्यक्रममा कलेजका नर्सहरूले सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । साथै, नर्सिङ दिवसकै अवसरमा नर्सहरुको तर्फबाट अस्पतालमा उपचारत करिब १३० जना बिरामीहरूलाई फलफुल समेत वितरण गरिएको थियो । हरेक वर्ष मे १२ का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइने गरिन्छ । इन्टरनेशनल काउन्सिल अफ नर्सेसले सन् १९६५ देखि नर्सिङ पेशामा समर्पित नर्सहरूको सम्मानमा नर्सिङ दिवस मनाउन थालेको हो । फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा हरेक वर्ष उनको जन्मदिनको अवसरमा नर्सिङ डे मनाइन थालिएको हो ।