चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान
काठमाडौं । बङ्लादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो । सोबारे निर्णयको पत्र नेपाल सरकारलाई प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्नका लागि नेपाल सरकारका तर्फबाट १९ एमबिबिएस र तीन बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाइएको थियो । नाम सिफारिस गरिएकामध्ये दुई जनाले अन्तिम सूचिका लागि आवेदन दिएका थिएनन् । बङ्गलादेशबाट अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको चिकित्सा शिक्षा आयोगले जनाएको थियो । यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् । नामावली हेरफेरका सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाएकामा त्यसको जवाफमा बङ्गलादेशले छुटेका आठ जनालाई समावेश गर्ने निर्णयसँगैको पत्र कूटनीतिक नोटमार्फत जानकारी दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीमा अन्योलता छाएकोमा सो समस्या समाधान गर्न अहोरात्र खटिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन् । आज सम्बन्धित विद्यार्थीलाई मन्त्रालयमा संवाद गर्दै बङ्गलादेशमा अध्ययन गर्न जाने सबैलाई शुभकामना व्यक्त गरिन् । ‘नयाँ ठाउँमा नयाँ संस्कृतिमा घुलमिल हुन समय लाग्छ । आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला । मेहनत गरेर सफल भई स्वदेशको सेवा गर्न फर्केर आउनुहोला’, संवादका क्रममा मन्त्री श्रेष्ठले भनिन् । ‘उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूत, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूत र बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु । यो विषयलाई प्रमुखताका साथ उठाउनुहुने सङ्घीय सदनका सदस्यलाई पनि धन्यवाद छ । विद्यार्थीको गुनासो आएकै दिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु’, मन्त्री श्रेष्ठले भनिन् । रासस
१० वर्षमा बन्यो स्वास्थ्य कार्यालयको भवन, कोठा भाडामा मात्रै ८५ लाख खर्च
सल्लेरी । स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ । विसं २०७१ देखि सुरु गरिएको भवन निर्माण पटकपटक म्याद थप गर्दै गत वैशाखमा सम्पन्न भएको हो । विसं २०७१ माघ २० गते दुई वर्षमा निर्माण सक्नेगरी नीलगिरि निर्माण सेवाले दुई करोड ३८ लाख तीन हजार ५३ रुपैयाँको लागतमा जिम्मा लिएको थियो । निर्धारित समयमा निर्माण नभएपछि पटकपटक म्याद थप गरी दश वर्षमा भवन सम्पन्न भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए । आफू कार्यालयमा आएदेखि सबैसँग समन्वय गर्दै ताकेता गरेपछि निर्माणले निरन्तरता पाएको उनको भनाइ छ । भवन हस्तान्तरण भएसँगै गत वैशाख १६ गते स्वास्थ्य कार्यालय भाँडाको भवनबाट आफ्नै भवनमा सरेको प्रमुख तिवारीले जानकारी दिए । उनका अनुसार लामो समय अलपत्र छाडिँदा निर्माणमा प्रयोग गरिएका काठहरु कुहिएर अर्को फेर्नुपरेको थियो । ‘अहिले निर्माण कम्पनीले काम सकेर हामीलाई हस्तान्तरण गरेको छ । अझै रङ्गरोगन, वाइरिङलगायत काम बाँकी छन् । ढिलै भए पनि सबैको सहयोगले भवन सम्पन्न भएर यहीँबाट सेवा दिन थालेका छौँ’, तिवारीले भने । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी जिम्मेवारी पाएको कम्पनीले लापरबाही गर्दा राज्यले स्वास्थ्य कार्यालयका लागि घरभाडामा मात्रै ५० लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए । निर्माण सम्पन्न गर्नुको सट्टा भवन अलपत्र छाडेर ठेकेदार बेपत्ता बन्दा कार्यालय भाडामा बस्नु परेको थियो । दश वर्षको अवधिमा स्वास्थ्य कार्यालयमा दशजना कार्यालय प्रमुख फेरिएका थिए । अहिले आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेसँगै घर भाँडाबापतको कार्यालयले तिर्दै आएको वार्षिक पाँच लाख रुपैयाँ जोगिएको छ । ४५ वर्षपछि आफ्नै भवन स्वास्थ्य कार्यालय सोलुखुम्बुले स्थापना भएको ४५ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन प्राप्त गरेको छ । विसं २०३६ मा दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुमा स्थापना भएको कार्यालयले पहिलोपटक गत वैशाख १६ गते आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । तत्कालीन जनस्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय हुँदै हाल स्वास्थ्य कार्यालय कायम भएको छ । स्थापनादेखि भाडाको भवनबाट सेवा दिँदै आएको कार्यालयले पहिलोपटक नवनिर्मित भवनबाट सेवा दिन थालेको कार्यालय प्रमुख तिवारीले जानकारी दिए । उनका अनुसार कार्यालयले पछिल्लो १७ वर्षमा घरभाडा बापत ८५ लाख रुपैयाँ खर्च गरेको छ । वार्षिक पाँच लाख रुपैयाँका दरले १७ वर्षमा एकै व्यक्तिलाई ८५ लाख रुपैयाँ बुझाइएको कार्यालयले जनाएको छ । त्यसअघि पनि कार्यालयले विभिन्न स्थानमा गरी भाडाबापत खर्च हुँदै आएको थियो । साँघुरो निजी भवनबाट कार्यसम्पादन गर्नुपर्दा चुनौतीहरुको सामना गर्नुपरेको कार्यालय प्रमुख तिवारीले बताए । उनका अनुसार २०३६ सालदेखि हालसम्म आइपुग्दा १५ जना कार्यालय प्रमुख फेरिएका छन् । कार्यालयको भूमिका निरन्तर कमजोर तत्कालीन समयमा जिल्ला जनस्वास्थ्य कार्यालयका रुपमा स्थापना भएको हालको स्वास्थ्य कार्यालयको भूमिका निरन्तर कमजोर बन्दै गएको देखिएको छ । जिल्लाभरका स्वास्थ्य संस्थालाई नियन्त्रण र निगरानी गर्ने अवधारणाअनुसार स्थापना गरिएको जनस्वास्थ्य कार्यालय पछि जिल्ला स्वास्थ्य कार्यालय हुँदै अहिले स्वास्थ्य कार्यालय सोलुखुम्बुका रुपमा परिणत भएको छ । कार्यालयको नाम मात्रै नभई अधिकार र भूमिकासमेत विगतको तुलनामा फेरिएको जनस्वास्थ्य निरीक्षक कर्मचन्द्र राजवंशीले बताए । सङ्घीयतापछि कार्यालयको नामसँगै अधिकारसमेत स्थानीय तहको स्वास्थ्य शाखाअन्तर्गत प्रत्यायोजन हुँदा भूमिका र क्षेत्राधिकार दुवै खुम्चिएको उनको भनाइ छ । विगतको जिल्लाभरको औषधि खरिददेखि विभिन्न शिविरका लागि भन्दै वार्षिक एक करोड रुपैयाँभन्दा बढी बजेट हुने कार्यालय अहिले लाखमा खुम्चिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख तिवारीले बताए । स्थानीय तह आफैँ स्वयत्त भएकाले कतिपय पालिकामा हुने अधिकांश कार्यक्रमको जानकारी आफूहरुलाई नहुने गरेको उनको भनाइ छ । तिवारीले भने, ‘विगतमा जिल्लाभरका स्वास्थ्यसम्बन्धी गतिविधि हामी कहाँ हुन्थ्यो तर अहिले त्यस्तो छैन, स्वास्थ्यसम्बन्धी कार्यक्रम स्थानीय तहको स्वास्थ्य शाखाअन्तर्गत सञ्चालन हुने भएपछि हामीलाई थाहा हुँदैन ।’ स्थानीय तहले गर्ने स्वास्थ्यका कार्यक्रमबारे स्वास्थ्य कार्यालयसँग समन्वय गर्नुपर्ने भनिए पनि सोको अनिवार्य व्यवस्था नहुँदा जानकारी कम आउने गरेको उनको भनाइ छ । जानकारी निकै कम मात्र आउँछन् । कतिपय त थाहासम्म हुँदैन । सोही कारण कार्यालयको क्षेत्राधिकार तथा दायरा साँघुरिँदै गएको कार्यालयका कर्मचारीहरु बताउँछन् । हाल प्रदेश मातहत रहेको स्वास्थ्य कार्यालयमा कार्यक्रमका लागि बजेट कम आउँदा गतिविधि कमजोर हुँदै गएको कर्मचारी रामनारायण शाहले बताए । समयसमयमा विभिन्न कार्यक्रम सञ्चालन हुने भए पनि विगतको जस्तो सक्रियता नरहेको उनको भनाइ छ । रासस
डा. ज्ञान कायस्थ अर्थात् ब्लड क्यान्सरका बिरामीको ‘भगवान’
काठमाडौं । जुन दिन बिरामीले मुसुक्क हाँसेर निको भयो भन्छन्, त्यो दिन उनलाई संसार जितेसरह महसुस हुन्छ । रुँदै अब मर्छु होला भन्दै अस्पताल आएकाहरू अब त म पनि बाँच्छु भन्दै आत्मबल बढाएर घर फर्कंदाको अनुभव उनका लागि व्यक्त गरिनसक्नु छ । हुन त हरेक चिकित्सकलाई लाग्ने खुसी यही होला । जुन दिन बिरामीको सेवा गर्ने बाचा र प्रतिज्ञासहित सेतो एर्पोन र स्टेथोस्कोप भिरेर मैदानमा जान्छन्, त्यसपछिका सफलतामा सबैलाई यस्तै खुसी मिल्दो हो । दिनहुँ ऐय्या र आत्था गरिरहेकाहरूको भीडमा दैनिकी बिताउनु कस्तो हुँदो हो ? प्राणको भिख माग्दै बचाइदिन गरेको विनम्रताको स्वरले मन कति रुँदो हो ? यो भोगाइ र अनुभवका फेहरिस्थ चिकित्सकहरू भन्दा अरुले सुनाउँन त परै जाओस् कल्पना पनि गर्न सक्दैनन् । यस्तो रोदनका दृश्य देखिरहेका चिकित्सकलाई बिरामीले मलाई निको भयो भन्दा कति खुसी हुँदा हुन् ? छट्पटिँदै बेडमा पुगेकाहरू उठेर हिँड्न सक्ने हुँदा चिकित्सक आफैंलाई कति गर्व लाग्दो हो ? हामीले कुराकानीको सुरुवातमा यही जिज्ञासा राख्यौं डा. ज्ञान कायस्थसँग । जवाफमा उनले भने, ‘त्योभन्दा बढी खुसीको क्षण अरु हुँदैन । ’ उनले उपचार गरेका अधिकांश बिरामी निको भएर घर फर्किएका छन् । कतिपय औषधी खाइरहेका छन् । निको भएकाहरू पनि बेलाबखत अस्पतालमै पुगेर सल्लाह लिन्छन् । नजिक भएका भेट्न सक्नेले भेटेरै सल्लाह लिन्छन् । टाढा भएकाहरू टेलिफोन तथा सामाजिक सञ्जालबाटै पनि सल्लाह लिन्छन् । धेरैले चिकित्सकलाई भगवान ठान्छन् । ब्लड क्यान्सरबाट पीडितहरूको लागि डा. कायस्थ साँच्चिकै भगवान नै हुन् । उनी अधिकांश समय बिरामीसँगै हुन्छन् । यो साता हामी उनलाई भेट्न पाटन अस्पताल पुग्दा अस्पतालमा बिरामीको भीड थियो । त्यही भीडमा व्यस्त थिए डा. कायस्थ । बिरामीसँगको व्यस्ततामै उनकाे २२ वर्ष बित्यो । उनी २२ वर्षदेखि ब्लड क्यान्सर भएका बिरामीसँगै समय बिताउँछन् । उनलाई हामीले उनको दैनिकीको जिज्ञासा राख्यौं । जवाफमा उनले भने, ‘हरेक दिन बिहान ८ बजे अस्पताल आइपुग्छु, सुरुमा हाम्रो बैठक हुन्छ, त्यहाँ आज के गर्ने, कस्ता बिरामी छन्, उनीहरूको उपचारमा कस्तो सुधार भइरहेको छ, थप के गर्नुपर्छ भन्नेबारे छलफल हुन्छ, त्यसपछि सुरु हुन्छ मेरो दिनको दैनिकी ।’ डा. कायस्थ लक्षित थेरापी विशेषज्ञ हुन् । लक्षित थेरापी भनेको क्यान्सर भएका बिरामीको उपचार गरिने विधि हो । यो विधिले क्यान्सर भएको ठाउँलाई मात्र ‘टारगेट’ गरेर उपचार हुन्छ । किमो थेरापीजस्तो एक ठाउँमा उपचार गर्न अरू सेललाई पनि मार्नु पर्दैन । अहिले यो विधि क्यान्सरको उपचारमा सबैभन्दा बढी प्रभावकारी मानिएको छ । बिरामीको उपचार मात्र होइन, डा. कायस्थ ब्लड क्यान्सरका नयाँ कस्ता बिरामी थपिरहेका छन्, उपचार गराइरहेकाको अवस्था कस्तो छ भन्ने विषयमा पनि अध्ययन तथा अनुसन्धान गर्छन् । यस बाहेक उनको अधिकांश समय आईसीयू र नर्मल वार्डका बिरामी हेर्दै बित्छ । २२ वर्षदेखि पाटन अस्पतालमा डा. कायस्थले पाटन अस्पतालमा काम गर्न लागेको २२ वर्ष पुग्यो । सुरुमा पाटनमा काम गर्दा अस्पतालमा जम्मा ५ आईसीयू बेड थियो । १ सय २० बेडको अस्पताल थियो । अहिले एमआईसीयू, सर्जीकल आईसीयू लगायत गरी १ सय २० आईसीयू बेड छन् । ७ सय बेडको अस्पताल बनेको छ । उनी आउँदा सामान्य सामुदायिक अस्पताल थियो । अहिले यो टिचिङ अस्पताल भइसकेको छ । सन् २००८ देखि एमडीएमएस, फेलोसिप एमबीएस नर्सिङ, एमपीएच, पीएच लगायतको पढाइ हुन्छ । अहिले यो अस्पताल शिक्षण संस्था बनिसकेको छ । डा. कायस्थ अस्पतालको स्तरोन्नतिसँगै बिरामीले पाउने सेवा सुविधा पनि बढेको बताउँछन् । विगतमा अस्पतालमा ५० जना चिकित्सक पनि थिएनन् । अहिले २ हजार बढी कर्मचारी छन् । त्यो बेलामा सबै रोगका बिरामीलाई डाक्टरले हुर्नुपथ्र्यो । डा. कायस्थ १ दिनमा ८२ जना बिरामी समेत हेरेको अनुभव सुनाउँछन् । अहिले पनि उनले दैनिक १५/२० जना बिरामीलाई हेर्नुपर्छ । ‘अहिले बिरामीको संख्या पनि बढेको छ, विगतमा बिरामीको यस्तो भीड हुँदैनथ्यो, अहिले जस्तो रोगअनुसार डाक्टर, विशेषज्ञ थिएनन्,’ उनी भन्छन्, ‘किड्नी, मुटु, फोक्सो, न्यूरोको सबै बिरामीलाई हामीले नै हेर्नुपर्थ्याे । तर, अहिले अवस्था फरक छ ।’ उनका अनुसार अहिले दिनको तीन/चार हजार बिरामी आउँछन् । वर्षमा ५/६ लाख बिरामीले सेवा लिन्छन् । करोडौं पर्ने औषधी निःशुल्क काठमाडौंमा जन्मे हुर्के पनि उनलाई देशको विकट ठाउँमा बस्नेको कथा थाहा छ । काठमाडौंको स्कुलमा पढे पनि डोल्पा र मुगुको शैक्षिक अवस्थासँग उनी नजिकबाट परिचित छन् । काठमाडौंमा बसेर बिरामीको उपचार गरे पनि बाजुराका नागरिकले औषधी नपाएको उनलाई राम्रोसँग थाहा छ । क्यान्सर लागेर औषधीसमेत नपाएर अकालमै मृत्युवरण गरेका पीडाहरू उनले नजिकबाट देखेका छन् । त्यही पीडा, दुःख र सास्ती देखेर क्यान्सरका बिरामीका लागि पाटन अस्पतालले निःशुल्क औषधीको व्यवस्था गरेको छ । डा. कायस्थका अनुसार क्यान्सरका बिरामीले लिनुपर्ने औषधी धेरै महँगो हुन्छ । एक लाखदेखि करोडौं मूल्य पर्ने औषधी पनि हुन्छन् । यस्ता औषधी नेपालीहरूले किनेर खानसक्ने अवस्था छैन । यसका लागि पाटन अस्पतालले निःशुल्क औषधीको व्यवस्था गरेको उनको भनाइ छ । शरीरका विभिन्न अंगमा लागेको क्यान्सरको १४ प्रकारका औषधी निःशुल्क पाइने उनले जानकारी दिए । रगतको क्रोनिक ल्युकिमियाँ, फोक्सोको चौथो तहको क्यान्सर (ए एनके पोजेटिभ) भएका, पिआर हर्मोन पोजेटिभ भएको स्तन क्यान्सर, मिर्गौलाको क्यान्सर, पेटको क्यान्सर लगायतका क्यान्सरको मुखबाट खाने औषधी निःशुल्क वितरण हुँदै आएको छ । यस्तै, आन्द्रा, ग्याष्ट्रो स्ट्रोमल टियूमरको लागि प्रयोग गरिने औषधी अस्पतालले दिन्छ । तर, यो विषयमा थाहा नपाएकाहरू अहिले पनि महँगोमा औषधी किनिरहेको डा. कायस्थ बताउँछन् । पाटन अस्पतालको म्याक्स फाउण्डेशन नामक अर्गनाइजेशनले यो औषधी सित्तैमा दिन्छ । म्याक्स फाण्डेशन र केही औषधी कम्पनीको सहकार्यमा बिरामीले निःशुल्क रुपमा औषधी पाइरहेको उनको भनाइ छ । म्याक्स फाउन्डेशन अमेरिकामा स्थापना भएको संस्था हो । अमेरिकाको क्यालीफोर्नियामा साउथ अमेरिकाबाट आएको एउटा परिवारको म्याक्सिम नाम गरेको केटा उपचार गर्न जाँदा उसलाई यो रोग हुँदा उपचार थिएन । त्यो बच्चाको मृत्यु भयो । उनैको सौतेनी आमाले औषधी नपाएर कसैले मर्न नपरोस् भनेर स्थापना गरेको फाउण्डेशन हो यो । त्यो फाउण्डेशनले औषधी कम्पनीसँग सहकार्य गरेर नेपाल लगायत ३६ भन्दा बढी देशमा निःशुल्क औषधी दिइरहेको छ । यसमा पाटन अस्पतालको निर्देशक डा. मार्क जिम्मरम्यानको पनि ठूलो हात छ । जिम्मरम्यान आफ्नो देश फर्किसकेपछि डा. कायस्थले औषधी कम्पनीसँग समन्वय गरेर क्यान्सरका बिरामीलाई सित्तैमा औषधी दिने प्रयास गरिरहेका छन् । ११ सय बिरामी टार्गेटेड थेरापी लिँदै अहिले पाटन अस्पतालमा क्यान्सर वार्ड पनि छ । रक्त क्यान्सर मात्र नभई अरु सबै किसिमका ट्युमरको बारेमा पनि उपचार हुन्छ । पाटनमा अहिले पनि ११ सय बिरामी टार्गेटेड थेरापी लिरहेका छन् । उनीहरूले सित्तैमा औषधी सेवन गरिरहेका छन् । अहिलेसम्मको अध्ययन हेर्दा सीएमएलको मात्र हेर्ने हो भने औषधी खाएर ९५ प्रतिशत बिरामीलाई निको भएको छ । सीएमएल भएकाहरूलाई पनि अरु-अरु रोगहरू देखिन्छ । २२ वर्षदेखि निरन्तर औषधी खाइरहेका हरु पनि अस्पतालमा छन् । क्यान्सर भन्ने बित्तिकै धेरै जना आतिने गर्छन् । तर, डा. कायस्थ निरन्तर डाक्टरको सल्लाह लिएर औषधी खाने करिब ५० प्रतिशलाई पछि औषधी खानै नपर्ने गरी निको हुने बताउँछन् । औषधी बन्द गर्दा भने क्लोज्ली मनिटरिङ गर्नुपर्ने उनको भनाइ छ । मनिटरिङको विषय महँगो हुन्छ । सुरुमा प्रत्येक महिनामा गर्नुपर्छ । धेरैले त्यही पैसाको जुगाड गर्न सक्दैनन् । कतिपय बिरामी उपत्यका बाहिर छन् । उनीहरूलाई काठमाडौं आउनै समय लाग्छ । धेरैलाई कन्ट्रोलमा राम्रो भएपनि औषधी दिइराख्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘नियमित औषधी सेवन गर्दा निको हुन्छ, तर धेरैले यस्तो गर्दैनन्, रोग बिग्रने कारण नै जो औषधी नियमितरूपमा खाँदैन, वास्ता गर्दैनन् त्यहाँ गाह्रो हुन्छ,’ अनुभव सुनाउँदै उनी भन्छन् । आमाको रहर र शिक्षकको उत्प्रेरणा उनी सानैदेखि साथीहरूसँग मिल्ने सहयोगी स्वभावका थिए । सहयोग गर्दा उनलाई सन्तुष्टि मिल्थ्यो । विद्यालय तहमा पढ्दा उनी सधैं प्रथम हुन्थे । साथीहरूलाई सहयोग गर्ने, नआएको कुरा सिकाउने उनको पहिलेदेखिकै बानी हो । एसएलसी (हालको एसईई) पछि उनको इच्छा विज्ञान, इन्जिनियरिङ वा मेडिसियन पढ्ने थियो । तर, यीमध्ये कुन विषय पढ्ने भन्ने दोधारमा परे । उनले यसमा आमाको सहयोग मागे । आमाले बिरामीको उपचार गर्ने मान्छे बन्दा राम्रो भनेर जवाफ दिइन् । आमाको इच्छा शिक्षकले थपेको उत्साहले उनको बाटो मेडिसियनतर्फ मोडियो । ‘मलाई के पढ्ने भन्ने अन्योलता थियो, आमाले नै डाक्टर बन भन्दा मैले यही क्षेत्र रोजेँ, शिक्षकहरूले पनि पढ्नुपर्छ भनेर उत्प्रेरणा दिइरहनुभयो,’ उनले भने । त्यसपछि उनले टिचिङ शिक्षण अस्पतालमा हेल्थ असिस्टेन्ट पढे । त्यसपछि उनी थप अध्ययनको लागि बंगलादेश गए । त्यहाँ गएर उनले एमबीबीएस पास गरे । त्यसपछि अमेरिका गए । अमेरिकामा ७ वर्ष बसे । त्यसपछि उनी फर्केर काठमाडौं आए । त्यो बेलामा नेपालमा धेरै डाक्टर पनि थिएनन् । उनी नेपाल आएर पाटन अस्पतालमा काम गर्न सुरु गरे । त्यसपछि अन्त्य भयो ‘त्यो बाध्यता’ उनी पाटन अस्पतालमा काम सुरु गर्दा क्यान्सरको परीक्षण नेपालमै हुने अवस्था थिएन । सन् २०११ सालसम्म पनि यस्तो समस्या थियो । व्यक्तिले रोग पत्ता लगाउन पनि भारत जानु पर्ने बाध्यता थियो । भारत गएर जँचाएर फर्कदा परीक्षणको नमुना नै बिग्रेको हुन्थ्यो । केही समयपछि पाटन अस्पतालले नमुना कलेक्सन गरी भारत पठाउन सुरु गर्यो । धेरै बिरामीले पैसा तिर्न नसक्ने अवस्था थियो । सन् २०१२ मा जब नेपाल सरकारले १ लाख रुपैयाँ दिने व्यवस्था गर्यो, त्यसपछि बिरामीलाई केही राहत पुग्यो । पाटन अस्पतालमा सुरुमा पहिलो अध्ययन गर्दा १ सय ७ जना क्यान्सरका बिरामी भेटिए । परीक्षण गर्ने २९ जना बिरामी पुरुष थिए । महिला बिरामीले परीक्षण नै गर्न नसकेको अवस्था थियो । तर, अहिले अवस्था र व्यवस्था नै फेरिएको छ । अहिले परीक्षणको लागि बाहिर जानु पर्दैन । पाटन अस्पतालमै यो सुविधा छ । उनले पाटन अस्पतालमै जेष्ठ नागरिकको हेरचाह गर्नेबारे जेरियाट्रिक तथा ब्लड क्यान्सरको उपचार कसरी गर्ने भन्नेबारे अध्ययन तथा तालिम लिने पनि अवसर पाए । क्यान्सर हुँदा धेरै जसोलाई सुरुमा थाहा हुँदैन । सुरुकै चरणमा अस्पताल आउँदा जस्तोसुकै क्यान्सर पनि निको हुन्छ । ओभरी, स्तन क्यान्सर अन्त नसरेको अवस्थामा आयो भने चट्ट टिपेर फाल्न सजिलो हुन्छ । तर, सुरुकै चरणमा थाहा नहुँदा बिरामीले धेरै औषधी सेवन गर्नु परेको डा.कायस्थ बताउँछन् । क्यान्सरका बिरामी पहिलो चरणमै नभए पनि दोस्रो चरणमा अस्पताल पुग्ने गरेका छन्,’ अहिले नागरिक पनि सचेत बनेका छन्, सुरुवाती चरणमै बिरामी आउने गरेका छन, उनी भन्छन्, ‘यसले पनि अधिकांश बिरामी निको हुन टेवा पुग्छ ।’ अहिले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रविधि विकास भइसकेको छ । खर्च गर्न सक्नेले नेपालमै सबै किसिमको उपचार गर्न सक्ने उनको भनाइ छ । उनको २२ वर्षे यात्रामा थुपै उतार चढाव आए । धेरै मृत्युहरू आँखै अगाडि देखे । कहिले बिरामीले औषधी नपाएर ज्यान गुमाएको त कहिले प्रयास गर्दागर्दै बिरामीको मृत्यु भएको पीडा उनले नजिकबाट नियकालेका छन् । आफूले सक्दो सहयोग गरेर उपचारका लागि पैसा नहुने बिरामीलाई निःशुल्क औषधी दिएर नयाँ जीवन दिएका छन् । नयाँ जीवन पाएकाहरू भन्छन्, ‘उहाँ त डाक्टर होइन, भगवान हाे ।’