नीतिगत सुधार कार्यक्रममा संघीय सरकार चुक्यो : बालेन शाह
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नीतिगत, कानुनी सुधार कार्यक्रममा संघ सरकारको चुकेको बताएका छन् । उनले गएको वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्दा वक्तव्यमा भनिएका कुरा कार्यन्वनका लागि संघीय सरकारले काम नगरेको र आफुलाई पनि गर्न नदिएको बताए । आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा २०८१ वैशाख १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइनेछ भनिएकाे थियो । सँगै सूर्तीजन्य वस्तु, धूमपानजस्ता प्लाष्टिकमा प्याक गरेका वस्तुको विक्रीमा निशेषध गर्ने उल्लेख गरिएको थियो ।तर आगामी आर्थिक वर्ष बजेट सार्वजनीक गर्नेबेलासम्म पनि यस्ता कुराको कार्यन्वयन नगरेको भन्दै संघीय सरकारलाई स्मरण गराएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रमुख बालेनले सरकारले यस्तो घोषणा गरिरहँदा, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ सक्रिय थियो । अहिले पनि छ । यो ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ विक्री गर्न र प्रयोग गर्न निषेध गरेको छ । ऐनले निषेध गरेका बस्तु जैविक खोलमा राखेर बेच्न मिल्ने हो कि होइन ? भन्दै बालेनले संघीय सरकारलाई प्रश्न गरेका छन् । उनले जैविक खोलमा बेरेको सूर्तीजन्य बस्तुको प्रयोगले जनस्वास्थ्यमा असर नपार्ने हो भने यसको बैज्ञानिक प्रमाणिक तथ्यबारे आफु पनि जान्न इच्छुक रहेको बताए । काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ ले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र विक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई विक्री वितरण गराउन नपाउने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य, मदिराजन्य र जङ्कफुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था छ । सभाले निर्माण गरेको, माथिल्ला कानुनसँग नबाझिने यो कानुन कार्यान्वयन गर्न संघ सरकारले हस्तक्षेप गरेको उनको आरोप छ ।
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह
काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे । ‘पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ’, उनले भने, ‘त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।’ गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ । ‘गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ, त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ’, उनले भने । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन । रासस
नेपालमा कोरोनाको नयाँ भरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि, यसरी बच्न सकिन्छ
काठमाडौं । कारोना भाइरसको नयाँ भेरियन्ट देखिन थालेका छन् । विश्वका केही देशमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पनि पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ¥याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो । के हो ‘केपी.१ र केपी.२’ भरियन्ट ? यो भेरियन्ट यस भन्दा अघि देखिएको ओमीक्रोनको सवभेरियन्ट हो । ओमिक्रोनको मुयुट्रेशनबाट नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ भएको चिकित्सकहरूले बताएका छन् । नेपालमा पुष्टि भएकोहरूमा ठूलो असर भने देखिएको छैन । उनीहरूमा कुनै गम्भीर लक्षण देखा परेको छैन । सामान्य रुघाखोकी लक्षण देखापरेको छ । पुष्टि भएकाहरूमा गम्भीर समस्या नदेखिएपनि दीर्घरोगी, बालबालिका गर्भवती महिलाका लागि भने जोखिम हुन सक्ने संक्रामक रोग बिशेषज्ञ डा. शेर बहादुर पुनले बताए । उनका अनुसार कुनै भेरियन्ट कडा र कुनै सामान्य हुने भएकाले कुन भेरियन्ट कति जोखिमपूर्ण छ भनेर भन्न नमिल्ने बताउँछन् । अन्य देशमा पनि छैन असर कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ सिंगापुर अमेरिका, चीन, भारत लगायत अफ्रिकी मुलुकमा देखिएको छ । अन्य देशमा पनि यो भेरियन्टले मृत्यु भने नगराएको पुनले बताए । डा. पुनले विकासन्युजसँग भने, ‘यो भेरियन्ट अन्य मुलकमा अलि पहिले नै देखिएको थियो । तर, मृत्यु भएको भन्ने खबर भने सुनेको छैन । ’ तथापि कतिपय व्यक्तिका लागि भने यो भेरियन्ट पनि कडा हुनसक्ने उनको चेतावनी छ । डर लाग्दो कडा नभएपनि यो भेरियन्ट तिब्र संक्रामक भने रहेको डा.पुनले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिनु अब नौले कुरा होइन । उनी भन्छन्, ‘अब हामीसँसँगै कोरोना रहन्छ, मात्र के हो भने यसको म्युट्रेशन हुने बित्तिकै कतै कडा भएर निस्कने त होईन भन्ने कुरामा हामी सजग रहनुपर्छ ।’ डा. पुन फेरि पनि यस्ता भेरियन्ट देख्न सकिने बताउँदै स्वास्थ्यका प्रोटोकाल अपनाउन आग्रह गर्छन् ।