चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल

चितवन । चितवनस्थित संघीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो । यसअघि नीति तथा कार्यक्रममा संघीय अस्पतालमा चिकित्सा शिक्षा अध्ययनका लागि अध्ययन गर्ने उल्लेख थियो । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी तयारी थालिएको बताए । अस्पतालको जग्गामा रहेको सिटिइभिटीअन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई स्थानान्तरण गरी त्यही ठाउँमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । अध्यक्ष पौडेलले यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमार्फत सिटिइभिटीमा पत्राचार भइसकेको बताए । लामो प्रयासपछि चिकित्सा शिक्षाको पढाइ सञ्चालन गर्ने विषयलाई बजेटमा समेटन सफल भएको उनको भनाइ छ । दुई तले उक्त संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । सरकारसँग ५५ करोड रुपैयाँ थप माग गरेको जानकारी दिँदै अध्यक्ष पौडेलले २५ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिने र बाँकी रकमले विभिन्न उपकरण तथा सामग्री खरिद गर्ने योजना रहेको बताए । भरतपुर अस्पतालले यसअघि नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) को आङ्गिक क्याम्पसको स्वीकृति पाइसकेको छ । नेम्सअन्तर्गत एक सय विद्यार्थीलाई चिकित्सा शिक्षा पढाइने उनले बताए । अध्यक्ष पौडेलले भने, ‘जनशक्ति अस्पतालसँग छ, भवनको व्यवस्था भएपछि कक्षा सञ्चालन हुन्छ ।’ यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको नेतृत्वको टोलीले शुक्रबार भरतपुर अस्पतालको अनुगमन गरेको छ । त्यस क्रममा उनले भरतपुर अस्पतालमा चिकित्सा शिक्षा पढाउन सकिने अवस्था रहेको बताए । जिल्लामा हाल चितवन मेडिकल कलेज र ‘कलेज अफ मेडिकल साइन्सेस’मा चिकित्सा शिक्षा पठनपाठन हुँदै आएको छ ।

निजामती कर्मचारी अस्पतालले माग्यो १२८ कर्मचारी (सूचनासहित)

काठमाडौं । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले शुक्रबार एक सूचना प्रकाशन गरी आवेदन आह्वान गरिएको हो । अस्पतालले नवौंदेखि चौथो तहसम्मका लागि विभिन्न पदमा १२८ जना कर्मचारी माग गरेको छ । अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायक लगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

तिलगंगामा मिस नेपाल श्रीच्छा प्रधानले गरिन् चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानमा मिस नेपाल २०२३–श्रीच्छा प्रधानको स्माइल प्रो लेजरबाट चश्मा हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यो नेपालमा उपलब्ध एक मात्र रोवोटिक लेजर आई सर्जरी प्रविधि हो । स्माइल प्रो विश्वमा एक मात्र लेन्टीकुलर ईक्ट्राक्सन एफडिए प्रमाणित प्रविधि रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यस प्रविधिबाट ‘माइनस’ १४ तथा ‘प्लस’ ६ डायप्टर सम्मको पावर भएको चश्मा लगाईरहेका व्यक्तिहरुको चश्माको पावर हटाउनको लागि यो सर्जरी उपयुक्क्त हुन्छ । यस्तो सर्जरी गर्न पहिला आँखाको विस्तृत जाँच गरिन्छ, त्यसपछि मात्र सर्जरी गर्न मिल्ने नमिल्ने थाहा हुन्छ । विशेषत दृष्टि दोष (पावर चश्मा लगाउनुपर्ने समस्या) हुनेलाई यस्तो सेवा प्रदान गरिने तिलगंगा आँखा प्रतिष्ठान रिफ्रयाक्टीभ सर्जन डा. बन्दना खनालले बताइन् । पेशागत रुपमा चश्मा लगाउन नमिल्ने र अप्ठारो हुने जस्तै खेलाडी, एयरहोस्टेज, टेलिभिजन समाचार वाचक साथै विभिन्न पेशामा आवद्ध प्रोफेशनल, काम गर्नुपर्ने युवा अवस्थाका व्यक्तिहरुको लागि यो सर्जरी राम्रो विकल्प हुन सक्छ । रिफ्रयाक्टीभ सर्जन डा. कौशल पोखरेल भन्छन् , ‘शुरुको अवस्थामा माइनस ‘१४’ सम्म र प्लस ‘६’ सम्म गर्ने गरिन्थ्यो । तर विगत डेढ वर्ष अघि देखि माइनस १४ भन्दा धेरै पावर हुनेहरुको पनि लेन्स एक्सचेन्ज र फेकिक आई व एल प्रविधिद्धारा सर्जरी गर्दै आएका छौ । ४० वर्ष नाघेका व्यक्तिहरुमा नजिकको समस्या हुने र त्यसका लागि छुट्टै प्लस पावर प्रयोग गर्नुपर्ने हुँदा झन्झटिलो हुने यस्ता व्यक्तिहरुका लािग पनि लेजर सर्जरी उपयुक्त विकल्प हुन्छ’ । अस्पतालका अनुसार तिलगंगा आँखा अस्पतालले सुरु गरेको रिफ्रयाक्टीभ सर्जरीबाट हालसम्म २०,००० भन्दा बढीको चश्मा हटाउने शल्यक्रिया गरिसकेका छन् । अस्पतालले सन् २००३ बाट यो सेवा शुरु गरेको यस सेवा लिन नेपाली मात्र नभई विदेशीहरु उल्लेख्य संख्यामा आउने स्रोतले बताएको छ । नेपालमा यो सेवा सुरु हुनुभन्दा अघि भारत तथा अन्य मूलुकमा गएर सर्जरी गर्नुपर्ने बाध्यता थियो । सन् २०११ बाट लण्डन भीजन क्लिनिक तथा युएसआइडीको सहयोगमा स्तरउन्नती गरि सञ्चालन मा रहेकोे उक्त सर्जरीका लागि आवश्यक मेसिन जर्मनी बाट ल्याइएको छ । हाल प्रयोगमा आईरहेको नयाँ भिजुयोम्यक्स ८०० मेसिन नेपालमा एक मात्र लेन्टीकुलर ईक्ट्राक्सन एफडिए प्रमाणित मेसिन हो । यो रोबटिक प्रविधिमा आधारीत भएकोले शल्यक्रियाको सुनिश्चितमा बढि विश्वस्निय छ । जुन मेसिनबाट ९ देखी १५ सेकेन्ड भित्र लेजरले काम गरिसक्छ । शल्यक्रिया पश्चात ३ देखी ६ दिन भित्र घाउ निको भइसक्दछ । केही व्यक्तिहरुले शल्यक्रिया पश्चात आँखामा सुख्खापन बढेको महशुस गर्दछन । यस्तो सुख्खापन समयसँगै कम हुदै जान्छ । शल्यक्रिया गरेको १ हप्तामै सबै काम गर्न सकिने हुन्छ भने पौडी तथा कन्ट्याक्ट स्पोर्टसको लागि भने २ महिना कुर्नुपर्ने हुन्छ । विदेशको तुलानामा तिलगंगामा यो शल्यक्रिया सस्तो हुने भएकोले यस्तो शल्यक्रियाको लागि नेपाल आउनेहरु संख्या बढेको अर्का रिफ्रयाक्टीभ सर्जन डा. सागर रुइत बताउँछन् । नेपालमा ८० हजार को हाराहारी लाग्ने यस्तो सर्जरीका लागि युरोपेली मुलुकहरुमा ८ लाख नेपाली रुपैयासम्म खर्च लाग्न सक्ने अस्पतालले जनाएको छ । ।