समृद्धि फाइनान्सको पोखरामा निःशुल्क स्वास्थ्य जाँच, २६४ जनाले लिए सेवा

काठमाडौं । समृद्धि फाइनान्सले शनिबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा शाखा कार्यालयद्वारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका– ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा भएको स्वास्थ्य जाँचमा २६४ जनाले निःशुल्क सेवा लिएका छन् । निःशुल्क स्वास्थ्य जाँचमा वडा ४ का वडाध्यक्ष देवकृष्णा पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । अतिथिमा स्वास्थ्य सहरी केन्द्र पोखरा महानगरपालिका– ४ का सदस्य सुजन पौडेल, पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरका अध्यक्ष पुरुषोत्तम सुवेदी रहेका थिए । डा. अनुप बराल र डा. प्रतिभा तिमिल्सिनाले स्वास्थ्य जाँच गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निःशुल्क प्रदान गरिरहेको छ ।

किशोरीका लागि मन्त्री श्रेष्ठको बोल्ड निर्णय

काठमाडाैं । हरेक महिलालाई महिनावारीको समयमा पीर पर्छ, कतै घुम्न वा कुनै कार्यक्रममा जाँदा महिनावारी पो भइहाल्छ कि ! यही पीरबाट बच्न प्राय: महिलाहरू महिनावारीको समयमा प्याड बोकेर हिँड्छन् । अहिले जाताततै प्याड सहजै पाइन्छ । त्यसमा धेरै समस्या त हुँदैन । तर, कहिले भने निकै अफ्ठायारो भइदिन्छ । अझ विद्यालय जाने किशोरीलाई त झन यो पीडाले सताउने गर्छ । तर, आजभोलि सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई भने सहज भएको छ । अछामकी सलिना साउँद जनता मावि मेल्लेखमा कक्षा ९ मा अध्ययनरत छिन् । उनलाई विगतकाे स्कुल जाँदा कुनै चिन्ता लिएर जानु पर्देन । किन कि महिनावारी भइहाल्यो भनेपनि स्कुलमै सेनिटरी प्याड पाइन्छ । यतिले मात्र पनि उनलाई ठूलो राहत भएको महसुस हुन्छ । जनता माविले प्याड वितरणमा सहज होस् भन्ने उद्देश्यले स्कुलमै स्वास्थ्य शाखा सञ्चालनमा ल्याएको छ । जहाँ एक जना नर्स पनि कार्यरत छिन् । स्कुलका छात्रा महिनावारी हुने बित्तिकै स्वास्थ्य शाखामा गएर प्याड लिएर प्रयोग गर्छन् । विद्यालयका प्रधानाध्यापक नृप बिकका अनुसार महिनामा चार सयका दरले पालिकाबाट प्याड ल्याएर राखिन्छ । विद्यालयमा महिनावारी उमेर समूहका छात्रा चार सय भएकाले उनीहरूलाई पुग्ने गरी एक-एक महिनामा प्याड ल्याएर स्कुलमा राख्ने गरेको प्रधानाध्यापक बिकले बताए । ‘स्कुलमा भण्डारणको लागि ठाउँ पनि छैन,’ उनी भन्छन्, ‘नजिकै पालिकाको कार्यालय छ, प्रत्येक महिनामा आवश्यक प्याड ल्याएर छात्रालाइ दिन्छौं, आवश्यक पर्दा पालिकाले दिन्छ सहज नै भएको छ ।’ तर, सलिनालाई त्यो प्याड निरन्तर प्रयोग गर्न भने पीर पर्छ । कारण प्याड लगाउने बित्तिकै चिलाउने समस्या हुन्छ । ‘एउटा त आकार पनि सानो, रगत पनि राम्रोसँग सोस्दैन,’सलिनाले विकासन्युजसँग कुरा गर्दै भनिन्, ‘बाहिर रगत देखिनुभन्दा यति पनि ठूलो राहात हो । तर, यो प्रयोग गर्दा चिलाउने पोल्ने समस्या हुन्छ ।’ सलिनाजस्तै प्रायः धेरै छात्राहरूको गुनासो अहिले यही छ । सामुदायिक विद्यालयमा वितरण गरिएका प्याडको प्रयोगले छात्राहरूलाई स्वास्थ्यमा समेत समस्या परिरहेको छ । विद्यालयमा अर्को समस्या भनेको प्रयोग गरिसकेको प्याड व्यवस्थापनको पनि ठूलो समस्या छ । प्रधानाध्यापक बिक आफ्नो स्कुलले प्याड व्यवस्थापनको लागि ठूलो टिनको डिब्बा डस्टविन बनाएको र त्यो पत्येक हप्ता वा महिनामा जलाउने व्यवस्था गरेको बताउँछन् । विज्ञहरू प्रयाेग गरिएका प्याड खाल्डो खनेर पुर्दा र जलाउँदा उत्तिकै वातावरणको लागि हानिकारक हुने बताउँछन् । जलाउँदा वातावरणमा प्रभाव पर्ने र पुर्दा माटोलाई प्रभाव पर्ने भएकाले प्रयोग गरिएका प्याड नष्ट गर्ने कुरा सबैभन्दा ठूलो बहसको विषय बनेको छ । यसको प्रयोगले स्वास्थ्यमा असर गर्ने सरोकारवालाहरू बताउँछन् । जनता माविका प्रधानाध्यापक र छात्राले भनेको जस्तो समस्या गाउँदेखि सहरका विद्यालयमा छ । धेरैजसो विद्यालयले प्रयोग गरेका प्याडको डिस्पोज जलाएरै गर्ने गरेको पाइन्छ । सरकारले आर्थिक वर्ष २०७६/७७ देखि देशभरका सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क स्यानिटरी प्याड वितरण गर्ने घोषणा गरेको थियो । युवराज खतिवडा अर्थमन्त्री भएको बेला सार्वजनिक गरिएको यो कार्यक्रम सोही आर्थिक वर्षको भदौदेखि कक्षा ६ देखि १० कक्षासम्मका १६ लाख छात्रालाई सेनिटरी प्याड वितरण गरेको थियो । तर, यतिका वर्षसम्म पनि छात्राले प्रयोग गर्ने प्याडको गुणस्तरको बारेमा ध्यान दिएको पाइएकाे छ । बेला बखत विज्ञ र स्वंम प्रयोगकर्ता छात्राले समेत प्याड प्रयोग गर्दा परेको असरका विषयमा आवाज उठाउँदा पनि सरकारले सुनेको नसुन्यै गरिरहेकाे छ । स्वंयम यसको जिम्मेवारीको जिम्मा लिएको स्वास्थ्य मन्त्रालयले पनि यतिका वर्षसम्म प्याडको गुणस्तरको बारेमा बेखवर रहेर बसिरह्यो । अहिले सर्वत्र आवाज उठिरहँदा शिक्षामन्त्री समना श्रेष्ठले चासो राखेकी छिन् । शिक्षा मन्त्रीले बिहीबार विज्ञहरू बोलाएर कार्यविधि नै संसोधन गरेर काम गर्ने निर्णय गरेकी छिन् । अब छात्राहरूका लागि वितरण गरिँदै आएको स्यानटरी प्याडको गुणस्तरमा हेरफेर गरिने भएको छ । छात्राहरूले पटक-पटक प्रयोगमा समस्या भएको भन्दै प्रयोग नै गर्न छोडेको लामो समयपछि शिक्षामन्त्री श्रेष्ठले गुणस्तर हेर्ने बताएकी हुन् । सरकारले २०७६ सालमा सेनटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि समेत लागु गरेको थियो । कार्यविधिले प्याड वितरणको जिम्मा स्थानीय पालिकालाई दिएको छ । प्याडको न्युनतम लम्बाइ २४० मिलिमिटर, चौडाइ ६० देखि ७५ मिलिमिटर, मोटाई १५ मिलिमिटर हुनुपर्ने मापदण्ड छ । बिहीबार मन्त्री श्रेष्ठ सहित बसेको बैठकले सेनिटरी प्याडको गुणस्तर किटान गरी कार्यविधि बनाउने गरी मस्यौदा तयार गरेको छ । यही मस्यौदामाथि मन्त्रीले विज्ञहरुसाग छलफल गरेकी छिन् । ललितपुरको भैंसेपाटीकी दिलिशा श्रेष्ठ कम्पनी खोलेर महिनावारी पेन्टी उत्पादन गर्छिन् । ‘फ्लोई भेन्चर प्राइभेट लिमिटेड’ कम्पनी नै दर्ता गरी यो व्यवसायमा लागेकी उनी राम्रो बजारको खोजीमा छिन् । विद्यालयमा छात्राले प्रयोग गरिरहेका स्यानेटरी प्याडको गुणस्तरको विषय चलिरहँदा उनी आफुजस्तो नेपालमा केही गर्छौं भनेर लागिरहेकाहरू सरकारको प्राथमिकता नदिएको बताउँछिन् । उनी विदेशबाट खरिद गरि गुणस्तरहिन सेनिटरी प्याड छात्रालाई वितरण गरिरहेको बताउँदै प्याड्भन्दा सस्तो र वर्षौंसम्म टिक्ने महिनावारी पेन्टी विद्यालयस्तरमा वितरण गर्ने हो भने स्वास्थ्य र वातावरणको दृष्टिले राम्रो हुने बताउँछिन् । दिलिशा जस्तै विभिन्न महिला समूह वा संस्थाले पुनः प्रयोग गर्न पनि मिल्ने प्रयोग गरिसकेपछि नष्ट पनि गर्न सकिने स्यानेटरी प्याडहरू बनाइरहेका छन् । उनीहरूले बजारमा प्लाष्टिक प्रयोग भएको स्वास्थ्य र समाजलाई पनि असर गर्ने प्याड भन्दा आफुले उत्पादन गरेका प्याड प्रयोग गर्न स्वास्थ्य मन्त्रयलाई आग्रह गरेका छन् । राष्ट्रिय महिनावारी अभियान सञ्जालका संयोजक गुणराज श्रेष्ठ नेपालका स-सान उत्पादककर्ताहरूले उत्पादन गरेको प्याडको गुणस्तर चेक गराई प्राथमिकता दिनुपर्ने बताउँछन् । महिला समूह, सहकारी, विभिन्न संघसथले राम्रा प्याडहरू उत्पादन गरिरहेकाले शिक्षामन्त्रालय उहाँहरुसँग समन्य गर्नुपर्ने उनको भनाइ छ । ‘यसो हुँदा उत्पादन गरिरहेका महिलाहरूलाई पनि हौसाला हुन्छ, अर्को सस्तो र नष्ट गर्न पनि सजिलो हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘नेपालमै बनाइएका प्याडको गुणस्तर जाँच गरी त्यही अनुसार समन्यव गर्दा सबैको भलो हुन्छ ।’ शिक्षामन्त्री श्रेष्ठले विज्ञहरूसँग गरेको छलफलमा आफुले यही प्रस्ताव राखेको श्रेष्ठले बताए । मर्यादित महिनावारी अभियान सञ्जालकी अभियान्ता डा.राधा पौडेल यसमा सरकारले मुख्य तीन कुरामा ध्यान दिनुपर्ने बताउँछिन् । पहिलो, छात्रा आफैले महिनावारी हुँदा रोजेर सामाग्री प्रयोग गर्न दिने वातावरण सरकारले बनाइदिनुपर्छ । यसका लागि सबै विकल्प राखिदिनुपर्छ । अर्को, कुनैपनि महिनावारी सामाग्रीले माटो पानी हावालाई दुःख दिनु हुँदैन र अर्को स्थानीयस्तरमा गुणस्तर चिन्ह प्राप्त भएको सामाग्रीहरू उत्पादनको लागि त्यसको समाग्री दिने अनुगमन गर्ने काम सरकारले गर्नुपर्छ ।

के हो ब्रेन ट्युमर ? यस्ता छन् लक्षण

शरीरको कुनै पनि अंगमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ । मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर भएपछि मानिसको दिमागमा कोशिकाहरु चाहिनेभन्दा धेरै बढ्ने गर्दछन् र फैलने गर्छन् । ब्रेन ट्युमरको अवस्थालाई विश्लेषण गर्दा प्रारम्भिक अवस्था र जटिल अवस्थाका रुपमा हेर्न सकिन्छ । प्रारम्भिक अवस्थाको ब्रेन ट्युमर मस्तिष्कमा सुरु हुन्छ । कहिलेकाहीँ यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन् । सेकेन्डरी अर्थात् मेटास्टाटिक ब्रेन ट्युमरलाई घातक ट्युमरहरू भनिन्छ, जसले शरीरको अन्य ठाउँमा क्यान्सरका रूपमा उत्पन्न हुन्छ र विस्तारै मस्तिष्कसम्म फैलिन्छ । यस खालको ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमरभन्दा चार गुणा बढी जटिल हुन्छ । ब्रेन ट्युमरका कारण  ब्रेन ट्युमर तथा क्यान्सर किन हुन्छ भन्ने ठोस कारण अझै पत्ता लाग्न सकेको छैन । त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको सन्देश पनि ब्रेन ट्युमर जोखिमको कारण पत्ता लगाउनु भन्ने छ । ब्रेन ट्युमर हुनुको एउटा कारण यो जेनेटिक असरबाट हुने गर्छ । शरिरका कोषिकाहरु सामान्य रुपमा नभएर असामान्य ढंगबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या आउने गर्दछ । कतिपयलाई पुख्र्यौलीका आधारमा पनि भएको पाइन्छ । मानिसको उमेर बढ्दै जाँदा शरिरका अङ्गहरु क्रमशः कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना पनि बढ्दै जाने गर्दछ । हेपाटाइटिस, एड्सजस्ता रोग लागी कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहेको छ । ब्रेन ट्युमर हुनुको अर्को कारण खराव विकीरणलाई पनि लिन सकिन्छ । एक्सरे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानीकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको एसआरएस अर्थात ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरिरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउँछ । अनुसन्धानबाट यस्तो अवस्था पाँच प्रतिशतमा आएको देखिन्छ । तर यो प्रविधि निकै प्रचलित रहेको छ । चोटपटक लागेर पनि टाउकोमा ट्युमर पलाउन सक्छ । दिमागको इन्फेक्सनका कारण पनि ट्युमर हुनसक्छ । मोटोपन भएका व्यक्तिमा ब्रेन ट्युमर हुने जोखिम अझ बढी रहन्छ । पछिल्लो समय धेरै मोवाइल फोन प्रयोग गर्नेहरुमा पनि यो समस्या देखिएको छ । बच्चा पेटमा रहेदेखि वृद्धावस्थासम्म ट्युमरको सम्भावना रहन्छ । अझ खासगरी बच्चाहरुमा यो झन जटिल रहेको पाइन्छ । किनकी उनीहरुले आफूभित्र भएको समस्या राम्ररी भन्न नसक्ने हुँदा पछि झन जटिल अवस्था सिर्जना भएको छ । उनीहरुको टाउकोको आकार बढ्यो, उमेरअनुसारको गतिविधि देखिएन भने मात्रै अभिभावकले चिकित्सक कहाँ ल्याउँछन्, त्यतिबेला उनीहरुको अवस्था गम्भीर बनिसकेको हुन्छ । बच्चाको शरिर कमजोर हुने भएकाले पनि झन जटिल समस्या आउने गर्दछ । मानिसमा सयभन्दा बढी प्रकारका ब्रेन ट्युमरहरू हुन सक्छन् । मुख्य रुपमा तिनलाई दुई किसिमबाट हेर्न सकिन्छ । एउटा  नबढ्ने (बेनाइन) र अर्को बढ्ने (म्यालिग्नेन्ट) । बेनाइन ट्युमरहरु नफैलिने वा बिस्तारै बढ्ने खालको हुन्छन् । तर कहिलेकाहीँ तिनीहरूले मस्तिष्कको भागहरूलाई क्षति पुर्याई गम्भीर समस्या ल्याउन सक्छ । वेनाइनको पनि पहिलो र दोस्रो स्टेजका विरामीको उपचारबाट रोगको पूर्ण रुपमा निको गर्न सकिन्छ भने म्यालिग्नेन्टलाई क्यान्सर भन्न मिल्छ । ब्रेन ट्यूमरका तेस्रो र चौथो स्टेजका विरामीलाई क्यान्सर भइसकेको हुँदा पूर्ण रुपमा निको पार्न सकिंदैन । म्यालिग्नेन्ट ट्युमरहरु दिमागको अरु भागमा फैलिन सक्छ । यिनलाई तिनीहरू सामान्यतया छिटो बढ्छन्  । अन्य क्यान्सरभन्दा मस्तिष्कको क्यान्सर घातक मानिन्छ । त्यस्ता विरामीको उपचारपछि पनि पुनः पलाउने सम्भावना बढी हुन्छ । शल्यक्रियासँगै किमोथेरापी र रेडियोधर्मी गर्दागर्दै पनि अर्को ठाउँमा क्यान्सर देखिन सक्ने सम्भावना उच्च हुन्छ । के के हुन सक्छन् त लक्षण ? ब्रेन ट्युमर भएमा सुरुसुरुमा टाउको दुख्ने समस्या हुन्छ । टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा प्रमुख र सुरुआती लक्षण हो । ब्रेन ट्युमर भएको मानिसलाई टाउको दुख्ने क्रम दिनहुँ बढ्दै जान्छ, औषधि खाँदा पनि ठीक हुँदैन । अचानक बिहान उठ्ने बित्तिकै आँखामा अध्यारो हुने, चक्कर पनि आउँछ र चक्कर या बान्ता आउने जस्तो लगातार भइरहन्छ भने यो पनि ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । ब्रेन ट्यूमर तीव्र गतीमा फैलिन्छ । यसले शरीरमा छटपटाहट पैदा गर्छ । टाउको दुख्नुका साथै छटपटाहट महसुस हुन्छ भने तुरुन्तै अस्पताल जानुपर्छ । कतिपयलाई छारे रोग वा पटकपटक बेहोस हुने पनि हुन्छ । राम्ररी सुन्न नसक्ने, गन्ध थाहा नपाउने, राम्ररी नदेख्ने, हिँड्दा पनि लर्बराएर हिँड्ने जस्तो हुन्छ । दिमागको स्मरण शक्ति कमजोर बन्दै जान्छ र व्यक्तित्वमा परिवर्तन आउन थाल्छ भने पनि यो ब्रेन ट्युमरको लक्षण हुन सक्छ । ब्रेन ट्युमरको लक्षण थाहा नपाउँदा कतिपयलाई साइकेटिकको औषधि खुवाउने वा मानसिक रोगको उपचार गराउने गरिन्छ । यसले गर्दा पनि त्यस्ता विरामीको समयमा उपचार हुन नसकी पछि जटिल समस्या आउने गरेको छ । कसरी गरिन्छ उपचार ? मानिसको शरीरमा क्यान्सरका लक्षण देखिने गरे पनि बेवास्ता गरेका कारण समयमै रोगको सिकार भइसकेका बारे थाहा पाउदैनन् र समयमै उपचार हुन पनि सक्दैन । विरामीलाई समयमै अस्पताल ल्याउन सकिएमा यसको उपचार पनि हुन सक्छ । सिटीस्क्यान, एमआरआई, पेट स्क्यानजस्ता परीक्षणबाट ब्रेन ट्युमर तुरुन्तै थाहा हुन्छ । यी परीक्षणबाट कुन तहको रहेछ भन्ने झण्डै ९५ प्रतिशत थाहा लाग्दछ । ब्रेन क्यानसर पुष्टि भएपछि हामीले थप उपचार गराउनु पर्ने हुन्छ । थप उपचार भनेको रेडियो थेरापी र किमोथेरापी नै हो । ट्यूमरको अवस्था हेरेर रेडियो थेरापी वा किमोथेरापी कुन दिने वा दुवै दिने भन्ने निर्णय गरिन्छ । ब्रेन ट्युमरको उपचार धेरै किसिमकबाट गर्न सकिन्छ । औषधि नदिई सामान्य परीक्षणबाट पनि निको पार्न सकिन्छ । निराशाजनक छैन नेपालको अवस्था  ब्रेन ट्युमरको उपचार काठमाडौंलगायत देशका दुई/तीनवटा शहरमा मात्रै सीमित छ । ब्रेन ट्युमरका विरामीको शल्यक्रियादेखि थेरापीलगायतका कार्यहरु गर्न वीर अस्पतालमा गत वर्ष राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना भएको छ तर बजेटको अभावमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था अझै हुन सकेको छैन । यद्यपि, ब्रेन ट्युमरको उपचारको स्थितिलाई हेर्दा नेपालको अवस्थालाई नराम्रो भन्न मिल्दैन । दक्षिण एशियामा भारतपछि नेपालको अवस्था निकै राम्रो छ । यद्यपि नेपालको स्वास्थ्यको आधार ३० वर्षअघिकै छ, खासै सुधार हुन सकेको छैन । वीर अस्पतालमा रहेको सुविधा कम्तिमा प्रदेश स्तरमा विस्तार हुन आवश्यक छ । ब्रेन ट्युमरको उपचार निकै महंगो पनि हुने भएकाले विपन्न वर्गका मानिसले उपचार गराउन समस्या हुने हुँदा राज्यले नै सहयोग गर्नुपर्ने हुन्छ । हाल सरकारले क्यान्सरका बिरामीलाई एक लाख सहयोग गरेको छ, यसलाई उल्लेख्यरुपमा बढाउन आवश्यक छ । वीर अस्पतालमा दैनिक तीन/चार जना बिरामीको उपचार गर्ने गरिन्छ । एउटा शल्यक्रिया गर्न कम्तिमा पाँच घण्टा लाग्दछ । अहिले पनि शल्यक्रियाका लागि बिरामीले चार/पाँच हप्ता कुर्नुपर्ने वाध्यता रहेको छ । अहिले वीर अस्पताल र ट्रमा सेन्टरमा रहेका जम्मा छ जना न्यूरो सर्जनले बिरामीको बढ्दो चापलाई धान्न मुस्किल छ । नेपालभर कूल एक सय १५ न्यूरो सर्जनमध्ये यतिबेला एक सय १० जना स्वदेशमा रहेको अवस्था छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भरतपुर क्यान्सर अस्पतालमा मात्रै शल्यक्रिया गर्न सकिने पूर्वाधार रहेको छ  । अहिले जसरी ब्रेन ट्युमरको समस्या बढ्दैछ, त्यसअनुसार राजयले आवश्यक जनशक्ति र पूर्वाधार प्रदेशस्तरसम्म विस्तार गर्न सकिन्छ । जनताले पनि समयमै चिकित्सकसँग परामर्श गरी उपचार गराउनतर्फ ध्यान दिन पनि उत्तिकै आवश्यक छ । रासस (वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा डा झासँग गरिएको कुराकानीमा आधारित)