७१ जिल्लामा फैलियो डेंगी

काठमाडौं । डेंगी रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगुहाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगुको संक्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको बताए। ‘गर्मीमा पानी संकलन गरेर राख्ने गरिन्छ । त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ,’ उनले भने । उनका अनुसार ७१ जिल्लामा एक हजार १३० जनामा संक्रमणमा देखिएको छ। गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनालाई डेंगु रोगको संक्रमण देखिएको थियो । उनका अनुसार कोशी प्रदेशमा २७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा १७५, लुम्बिनी प्रदेशमा १३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११५ जनामा संक्रमण देखिएको छ। उपत्यकामा १५९ जनामा संक्रमण काठमाडौंमा ११४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा संक्रमण देखिएको छ। डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ । डेंगु संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ। यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन।

नेपालमा रगतको सही उपयोग र उचित प्रयोग नहुँदा अभाव

रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्याममा पढ्ने र सुन्ने गरेका छौँ । नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ । नेपालमा हाल वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख पिन्ट रगत आवश्यक हुने गरेको छ । एकातर्फ रक्तदान गर्ने युवाहरु दिन प्रतिदिन रोजगारी र पढाईको सिलसिलामा विदेशीएका छन् भने अर्कातर्फ रोगी र वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्गसमेत घटिरहेको छ । तर वार्षिक रुपमा नेपालभर जम्मा ३ लाख प्रिन्ट मात्र रगत संकलन हुँदै आएको छ । यो डाटालाई हेर्ने हो भने पनि नेपालमा अझै वार्षिक १ लाख प्रिन्ट रगत अपुग भएको देखिन्छ । तर त्यो ३ लाखबाट ९ लाख रक्ततत्व बनाउन सकिन्छ। यसकारणले हेर्ने हो भने रगतको मागभन्दा रक्ततत्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ। नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिन प्रतिदिन रगत अभाव हुँदै आएको छ । हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्त्वहरूको प्रयोगभन्दा होल ब्लड को प्रयोग अर्को मुख्य कारण हो । रगत अभाव हुने अर्को मुख्य कारण भनेको विरामीका लागि लगेर बढी भएको रगतको व्यवस्थापन नगर्नु हो । उदाहरणको लागि कुनै एक विरामी को लागि दुई प्रिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु र रगतको प्रयोग गर्दा एक प्रिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक प्रिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गईरहेको हुन्छ । हामीले एक प्रिन्ट रगतबाट तीन देखि पाँच भिन्न खालका रगत बनाउन सक्छौँ । एकै प्रकारको रगतलाई भिन्न ३ देखि ५ प्रकारको रगत बनाउनका लागि धेरै रक्त सञ्चार केन्द्र छन् तर पनि शतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्राण्डी अस्पतालमा रहेको छ । ग्राण्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट ३ देखि ५ प्रकृतिक रगत बनाउँदै आएको छ । जुन विरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्त तत्त्व बनाएर ग्राण्डीले प्रदान गर्दै आइरहेको छ । नेपालभरको रगतको समस्या भएको केशमा विरामीका आफन्तहरु रगत खोज्नका लागि ग्राण्डीमा आउने गरेको कैयौँ उदाहरणहरु छन् । ग्राण्डीले हाल वार्षिक ३ हजारदेखि ५ हजार प्रिन्ट रगत संकलन गर्दै आएको छ । उक्त संकलन गरिएको ३ हजारदेखि ५ हजार प्रिन्ट रगतबाट ९ हजारदेखि १५ हजार प्रिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ । रगतको कम्पलीकेसनको चेकजाँच ग्राण्डी अस्पतालमा हुने गरेको डा नेपालले बताए । ग्राण्डीले हाल लगभग सबै थरी व्लड गुप्र एण्डीवडीको चेकजाँच गर्दै आएको छ । उक्त अस्पतालले ट्रान्सप्लाटका लागि एन्टीवडी ट्राईट्रेसन जाँच, रगतका विरामीलाई चाहिने टेस्ट एण्डीवडी आइडेन्टिफिकेशन गर्दै आएको छ । (रक्तसञ्चार विशेषज्ञ डा विपिन नेपाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्)

२ हजार डाक्टरको दरबन्दीले स्वास्थ्य क्षेत्र सुधार हुन सक्दैन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कम्तिमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्युन भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् । उनले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरु करिव ८ हजार रहेको बताए । नेपालमा जनसंख्या वृद्धि, स्वास्थ्य संस्थाहरुको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको जानकारी दिए । उनले विभिन्न समयमा सरकारहरुले एकै दिन ७५३ स्थानमा १५ शैय्याका अस्पताल उद्घाटन भएपनि जनशक्ति परिचालनको अवस्था चिन्ताजनक रहेको बताए । भौतिक संरचना र उपकरणको बारेमा पनि सरकारले सोच्न आवश्यक रहेको बताए । ३ करोड जनसंख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्युनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताए । हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुर्याउन आवश्यक रहेको भन्दै दूरदराजमा स्वास्थ्य संस्था भएपनि जनशक्ति र सिटामोल नभएको जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयमा कम्तिमा पनि १० प्रतिशत बजेट हुनुपर्छ भन्ने हो । तर ४.६४ प्रतिशत जुन बजेट राखिएको छ । अत्यन्त न्युन हो । ३ करोड जनसख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर छैनन् । स्वास्थ्य जनशक्तिको न्युनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक छ । स्वास्थ्य मन्त्री युवा आउनुभएको छ तर अहिलेको स्रोत साधन र जनशक्तिले जति गर्न खाजे पनि गर्न सक्दैनौं’, उनले भने । उनले मुलुकको स्वास्थ्य अवस्थाको परिवेशबाट देशलाई उन्मुति दिनेगरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक रहेको बताए । काम गर्ने जोसका साथ स्वास्थ्य मन्त्री युवा आएपनि अहिलेको स्रोत साधन र जनशक्तिले काम गर्न खाजे पनि सम्भव नभएको जानकारी दिए ।