स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन् । विश्व योग दिवसका अवसरमा जीवन विज्ञान नामको संस्थाले आजयहाँ आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उनले जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताए । सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । सचिव मैनालीले भने, ‘देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग चुनौती बनेका छन् । जथाभावी खानपानले रोग बढेको छ ।’ सातदिने शिविरमा सहभागी दुई सय प्रशिक्षार्थीलाई जीवन विज्ञानका प्रशिक्षकद्धय विन्दा आचार्य र प्रदीप प्रणव प्रशिक्षण दिनेछन् ।

औषधिजन्य जडीबुटी मेला आजदेखि, नेपालमा ५ हजार औषधि उत्पादन हुने

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडिवुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरिएको छ । चिकित्सालयका प्रमुख डा. पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताए । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका वहुमुल्य जडीबुटी प्रर्दशनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडिवुटीबाट मिश्रित पथ्य आहार एव खानपानको जानकारी गराइने उनले बताए । कित्सालयका प्रमुख डा. नेपालले मेलामा जडिबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडिबुटीको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडिबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताए । यसैगरी प्रविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडिबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडिबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरु पनि राखिएको छ । मेलामा औषधिजन्य जडीवुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतिको बारेमा पनि छलफल हुने छ । मेलाबाट औषधिको प्रयोग भएपनि लोपोन्मुख रहेका जडिवुटीको संरक्षण गर्न सहयोग मिल्ने छ । चिकित्सालयका प्रमुख डा नेपालले नेपालमा करिव पाँच हजार ६०० जडीबुटीबाट औषधि उत्पादन हुने गरेका अध्ययनले देखाएको बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठाले माग्यो ३३ जना कर्मचारी

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्रतिष्ठानले विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी ३३ जना कर्मचारी माग गरेको हो । प्रतिष्ठानले प्राध्यापक, सह प्राध्यापक, सहायक प्राध्यापक, फार्मेसी टेक्नोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, ओरल हाईजिनिष्ट, बायोमेडिकल टेक्निसियन, फार्मेसी टेक्निसियन, अटोमोबाइल सबइन्जिनियर र जुनियर लेखा सहायक पदको विभिन्न तह, सेवा, समूह तथा उपसमूहमा ३३ कर्मचारी माग गरेको छ । सूचनाअनुसार यसमा अधिकृतका लागि २१ तथा सहायकको लागि १८ वर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवातर्फ सहायक प्राध्यापकका लागि ४२, सह प्राध्यापकका लागि ४५ वर्ष, प्राविधिक सेवातर्फ ४०, प्रशासनतर्फ ३५ वर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असार २७ गते र दोब्बर दस्तूर तिरेर साउन ३ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।