डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यक छ : निर्देशक घिमिरे

काठमाडौं । डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्यांकअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेंगु सङ्क्रमण पुगिसकेको अवस्था छ । डेंगु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारी लगायतका विषयमा इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश : डेंगु देखिन सुरु भइसकेको छ, अहिले सङ्क्रमणको अवस्था के छ ? नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु देखिएको हो । पछिल्लो ट्रेन्डअनुसार दुई तीन वर्षमा महामारीका रुपमा देखिँदै आएको छ । डेंगु सङ्क्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । पानी पर्न सुरु भएसँगै अब सङ्क्रमणको सम्भावना पनि सुरु भइसक्यो । हाल तथ्यांक हेर्दा भने ७२ वटा जिल्लामा एक हजार तीन सय ४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । विशेषगरी डेंगु कहिलेदेखि बढी देखिने गर्दछ ? जुनबेला तापक्रम बढ्छ, पानी पर्छ, अनि पाँच सात दिन पानी जम्मा भएर लामखुट्टेको जीवनचक्र पूरा भएपछि त्यो लामखुट्टेको सङ्ख्या बढी हुन्छ । जब मनसुन अगाडि बढ्छ त्यसरी नै सङ्क्रमण बढ्ने हो । लगातार पानी परिराख्यो भने सङ्क्रमण त्यति बढ्न पाउँदैन किनकी पानी एकै ठाउँमा जम्मा भइरहने अवस्था हुँदैन । नेपालमा असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको सम्भावना बढी हुन्छ । दुई तीन वर्षको अन्तरालमा महामारी देखिने भन्नुभयो ? तर २०२२ मा ८८ जना र २०२३ मा डेङ्गुले २० जनाको ज्यान लियो, यस वर्ष महामारीको सम्भावना कस्तो रहन्छ ? केही अघिल्ला वर्षको ट्रेन्ड हेर्दा दुई तीन वर्षको अन्तरालमा देखिन्छ । तर त्यो समग्रमा भनेको होइन । जस्तो कुनै ठाउँमा पहिले नै महामारी फैलिसकेको छ भने अर्को पटक त्यहाँ देखिन नसक्ला । तर हामीले रोकथामका उपायहरु कति अपनाउछौँ भन्ने विषय पनि जोडेर हेर्नुपर्छ जस्तो लाग्छ । कुन ठाउँमा बढी देखिन सक्छ भनेर ‘म्यापिङ’ गरेका छौँ । कसैलाई लक्षणरहित पनि डेंगु देखिन सक्छ । लक्षण देखिएर समस्या भएपछि जाँच गराउन आउने हुन्छन् त्यसैले पनि सबै सङ्क्रमितको सङ्ख्या गणना हुँदैन । डेंगुका पाँच वटा प्रकार हुन्छन् । पहिला एउटा देखिसक्यो भने अर्को पटक अर्के प्रकार देखिन सक्छ जुन घातक हुन सक्दछ । डेंगु नियन्त्रण रोकथामका लागि कस्तो तयारी भएको छ ? लामखुट्टे नियन्त्रण गर्न सचेतना फैलाउन उत्तिकै महत्वपूर्ण छ । नियन्त्रण गर्न कस्ता उपयाहरु अपनाइरहेका छौँ भन्ने मुख्य विषय हो रु सचेतनाका कुरा हेर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपिल गरिरहेको छ । हामीले पनि विभिन्न माध्यमबाट सचेतना फैलाइरहेका छौँ । सातै वटा प्रदेशका सचिवहरु तथा स्वास्थ्य निर्देशनालयसँग विभिन्न अभियानकालागि छलफल भएको छ । स्थानीय निकायले लामखुट्टेको बासस्थान ‘खोज्ने र नष्ट’ गर्ने अभियानमा बढी जोड दिनुपर्छ । साथै टायर, गमलाको फुलदानीमा जमेका पानी हटाउनेलगायतका कुराहरु पनि छन् । यस्ता यावत अभियान सञ्चालन गर्नका लागि स्थानीय तहसम्म पुग्ने गरी प्रदेशसँग समन्वय गरेका छौँ । बिरामी भएपछि जति छिटो उपचार भयो सर्ने सम्भावना कम हुन्छ । उपचारमा पनि कमी हुन दिने छैनाैँ । विज्ञहरुसँग छलफल गरेर अगाडि कसरी बढ्ने भन्न विषयमा पनि राय लिने काम पनि गरिरहेका छौँ । समन्वयात्मक तरिकाले अगाडि बढिरहेका छौँ । डेङ्गु मात्र नभई अरु किटजन्य रोगहरुमा पनि हामीले नियमित अभियान सञ्चालन गरि नै रहेका छौँ । डेंगु परीक्षणका लागि किटको उपलब्धता कत्तिको छ ? किटको कुरा गर्दा सबैलाई परीक्षण गरेर सकिँदा पनि सकिँदैन । लक्षण देखिएपछि मात्र परीक्षण गर्न आउने हुन्छन् । सबै स्वास्थ्य संस्थामा आवश्यकताअनुसार किट पठाएका छाैँ । अभाव भयो भने खरिद प्रक्रियाबाट पनि हामी पूरा गर्छौं । डेंगु नियन्त्रणमा कसको बढी जिम्मेवारी छ ? हाल ७२ जिल्लामा डेङ्गु पुगिसकेको हुँदा आउदा दिनमा सङ्क्रमण बढ्ने सम्भावना अधिक नै छ । खोज र नष्ट गर्ने अभियान, र्यापिड रेस्पोन्स टिम, प्रदेश र स्थानीय तहसँगको पनि सजगकताका हिसाबले यस वर्ष महामारी नियन्त्रण गर्ने सकिँदैन भन्ने होइन । बढ्दै जान सक्ला तर बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने र मृत्यु हुने गरी उपचार गर्ने नसकिने अवस्थामा नपुगौँला भन्ने अपेक्षा गरेका छौँ । तयारी पनि गरेका छौँ । नीतिगत र लजिस्टिकका कुरामा सङ्घको बढी महत्वपूर्ण भूमिका हुन्छ । व्यवस्थापनमा प्रदेश र स्थानीय तहको भूमिका बढी रहन्छ । स्थानीय तहले खोज र नष्ट अभियानमा बढी केन्द्रित रहनुपर्छ । बजेट जहाँजहाँ समस्या बढी हुन्छ भनेर म्यापिङ गरेर सोहीअनुसार बजेट पनि गएको छ । समन्वयात्मक हिसाबले काम अघि बढाएका छौँ । डेंगु नियन्त्रणमा तीन तहको समन्वय अभावले रोकथाम हुन नसकिरहेको हो त ? एउटाले अर्कालाई दोष दिने कुरा पनि गर्नुहुन्न । हाम्रो जिम्मेवारी समन्वयात्मक हिसाबले जति सकिन्छ गर्ने हो । स्थानीय तहसँग जोड्न पुलका हिसाबमा प्रदेशको भूमिका धेरै हुन्छ । सङ्घबाट हामी महामारी र आपतकालीन अवस्थामा रेस्पोन्स गर्ने जिम्मा इडिसिडीको भएको हुनाले हामीले सातवटै प्रदेशको मन्त्रालय र निर्देशनालयसहित जिल्ला पनि समन्वय गरेर समीक्षा गरेका छाैँ । रिपोर्ट ल्याउने कुरामा पनि निरन्तर संवाद हुन्छ । हरेक हप्ता छलफल गरिरहेका छौँ । रिपोर्टिङ पनि नियमित आउँछ भनेर आशावादी छाैँ । हरेक पक्षबाट समन्वयलाई गर्न सक्यौँ भने स्वास्थ्य प्रणालीको विकास गर्न सक्छाैँ । डेंगुबाट बच्न के मा ध्यान पुर्‍याउनुपर्छ ? म सुरक्षित छु, मेरो घर सफा छ, पानी पनि त्यस्तो छैन भनेर सुरक्षित भएर ढुक्क बस्नु हुँदैन । वातावरणमा भएका ‘रिस्क फ्याक्टर’ जस्तै बट्टा, टायर, गमलाका फुलदानी, पातमै पानी जम्मा भएर लामखुट्टेले अण्डा पार्न सक्छ । सबैले मिलेर सरसफाइ नियमित गरौँ । परिवारका सदस्यले पनि आफ्नो घरमा नियमित सफाइ गरौँ । अव्यवस्थित सहरी ठाउँमा यसको झन् बढी जोखिम छ । लामखुट्टे घरभित्र नजान दिन जाली, झुलको प्रयोग गर्न सकिन्छ । बाहुला पूरा भएको लुगा लगाउँदा लामखुट्टेले टोक्ने सम्भावना कम हुन्छ । बिहान र साँझ बढी टोक्ने भएकाले सजग रहनुपर्छ । व्यक्तिगत हिसाबमा सबैले जोगिँदा पनि समुदाय जोगिन सक्छ । डेंगुबाट बच्नका लागि लक्षण पनि थाहा पाउनुपर्ने हुन्छ । ज्वरो, टाउको दुख्ने, आँखाको गेडी निस्केला जस्तो हुने, हड्डी भाँचिएला जस्तो हुनेलगायत लक्षण देखिन सक्छन् । जटिल भएको खण्डमा स्वास्थ्य संस्था गइहाल्नुपर्छ । राजनीतिकर्मी, के शिक्षक, विद्यालय, सामाजिक अगुवा, सर्वसाधारण सबैको डेंगु नियन्त्रणमा भूमिका हुन्छ । रासस

आफ्नै फार्मेसी सञ्चालनमा निजी अस्पतालको आनाकानी

काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब एक महिना अघि निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालनामा अस्पतालहरूले आनाकानी गरेका छन् । महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनैपनि अस्पताल महानगरको स्वस्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए । महर्जनका अनुसार केही अस्पतालले भने आफ्नै फर्मेसी सञ्चालनका लागि कामपाले दिएको समय सीमा अपुग भएको भन्दै आगामी साउनदेखि सुरु गर्ने जानकारी गराएका छन् । अस्पताले नै फार्मेसी सञ्चालन गर्दा बिरामीहरूलाई उचित मूल्यमा सही औषधी प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ । हाल ५२ अस्पतालमध्ये १६ अस्पतालले मात्रै आफ्नो फार्मेसी सञ्चालन गरेका छन् । त्यसैगरी अस्पताल एक व्यक्तिका नाममा र फार्मेसी अर्को व्यक्तिका नाममा सञ्चालन भएका  अस्पालहरुको सङ्ख्या २८ छ ।  अन्य बाँकी केहीले फार्मेसीनै सञ्चालन गरेका छैनन् । महानगरले गत जेठ २३ गते सार्वजनिक सूचना जारी गर्दै अस्पतालहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको भन्दै महानगरले सम्बन्धित अस्पताललाई नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो । महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पताललाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ ।

जनशक्ति अभावले रोग नियन्त्रण गर्न चुनौती छ-डा. यदुचन्द्र घिमिरे

काठमाडौं । याे  समय वर्षायामको हो । वर्षायाममा विभिन्न किसिमका सरुवा रोगहरूको जोखिम हुन्छ । झाडापखाला, आउँ, हैजा जस्ता रोग पनि यही समयमा देखिन्छन् । यस्तै, लामखुट्टेको टोकाइबाट लाग्ने, डेंगी, मलेरिया, कालाजार लगायतका रोगहरू पनि यही समयमा बढी लाग्छन् । हाम्रो जस्तो वातावरणको सफाइ राम्रो नभएको देशमा वर्षाको समयमा झन विभिन्न रोग सार्ने माध्यम बाहकको संख्या पनि बढ्ने र त्यसका कारण रोग पनि विभिन्न राेगहरू पनि थपिँदै जाने हुन्छ । यस्ता रोगहरू कतिपय खानाबाट, पानीबाट र रगत चुस्ने जिवहरूको टोकाइबाट सर्ने हुन्छन् । डेंगीको कुरा गर्ने हो भने अहिले नेपालमा यसको संक्रमण फैलिसकेको छ । रैथाने हिसाबमा लगातार हाम्रो देशमा पनि यो सिजनमा बढी देखिन्छ । यसको निगरानीका लागि इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गरिरहेको छ । हामीले प्रदेश र स्थानीय तहमा यस विषयमा छलफल गरिरहेका छौँ । यतिखेर हाम्रो मुख्य  ध्यान डेंगीमा गइरहेको छ । डेंगी किटजन्य रोग हो । एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । यो हाम्रो देशमा सन २००४ देखि फाट्टफुट्ट देखा परेको थियो । २००९ पछि देशका विभिन्न ठाउँमा फैलन सुरु गरेको थियो । अहिलेसम्म आइपुग्दा डेंगीको संक्रमण भेटिन थालेको छ । तर, ७७ जिल्लामै यो रोग सार्ने लामखुट्टे देखा परेको छ कि छैन भन्ने विषयमा अध्ययन हुन सकेको छैन । अन्तबाट संक्रमण भएर रिपोर्ट भएको पनि हुन सक्छ । तर, धेरैजसो जिल्लामा रैथाने अर्थात त्यही ठाउँमा टोकेर त्यही ठाउँमा बिरामी भएर त्यही ठाउँबाट अरु स्वस्थ मान्छेलाई सारेको प्रमाण देखिएको छ र महामारी भएको पनि छ । काठमाडौ, चितवन, पोखरा, धरानमा महामारी नै भएको छ । यी ठाउँहरूमा रैथाने रूपमै रहेको छ । र, यी ठाउँमा यस्तो समस्या आउँछ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । यस्तो महामारी ति ठाउँमा आउँछ कि आउँदैन भनेर हामी चनाखो पनि भएका छौँ । यस्तो हुन नदिन सबैभन्दा महत्वपूर्ण रोकथामका कुराहरूमा ध्यान दिएका छौँ । त्यो भनेको बाहिरी वातावरण व्यवस्थापन हो । लामखुट्टेले फुल पार्ने, लर्भा निकाल्ने जुन ठाउँ छन् त्यस्तो ठाउँलाई नियन्त्रण गर्न सक्यौँ भने यसको नियन्त्रण हुन्छ । घरभित्र वरिपरि पनि यसको जोखिम हुन्छ । घरभित्र रहेको थोरै पानीमा पनि लामखुट्टेले अण्डा पार्न सक्छ । कुलर, गमला, एसीको पानी,ट्वाइलेट, बाथरुममा रहेको पानीमा पनी लामखुट्टेले अण्डा पार्छ । यस्ता विषयमा जानकारी गराउन हामीले स्वास्थ्यकर्मीलाई तालिम पनि दिरहेका छौँ । स्वास्थ्यकर्मीसहित जनसमुदायलाई सचेत गराउन अभियान नै सञ्चालन गर्ने योजना छ । लार्भा नष्ट पार्ने, रोग परीक्षणका कुरा र बिरामीको व्यवस्थापनका कुरामा हामीले ध्यान दिएका छौँ । यो वर्ष ७२ जिल्लामा डेंगी फैलिसकेको रिपोर्ट भएको छ । कुनै जिल्लामा भयावह अवस्था अहिले सम्म आएको छैन । यो वर्षको अहिलेसम्म १ हजार २ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । यसको मतलब नेपालमा यति जनामा मात्र संक्राण छ भन्ने होइन । कतिपय लक्षणबिहीन पनि हुन्छ । लक्षण देखा नपरेर पनि संक्रमण भएको हुन सक्छ । कुनै पनि व्यक्तीलाई एक पटक संक्रमण भएपछि चार किसिमको सेरोटाइप हुन्छ । नेपालमा कुन कुन टाइपको सेरोटाइप छ भन्ने गहन अध्ययन पनि भएको छैन । अहिलेसम्मको अध्ययन अनुसार एकजना मान्छेमा चार पटक सम्म चारवटा सेरोटाइप भएपछि एकपटक संक्रमण भएपछि त्यसलाई जीवनभरिलाई प्रतिरक्षा प्रणाली विकास हुन्छ । तर, यहाँ चार वटै सेरोटाइप छ या छैन भन्ने एकिन छैन । जनसमुदायमा धेरै व्यक्तिलाई विगतका वर्षमै संक्रमण भइसकेको छ । हाम्रो तयारी र नेपालमा भएको विगतको संक्रमणदर हेर्दा ठूलो महामारी होला भन्ने देखिँदैन । विशेषगरी प्रदेशले पनि यो विषयमा तयारी गरिरहेको छ । हामीले तीनै तहलाई जिम्मेवारी तोकेर रणनीति बनाइएको छ । लामखुट्टेजन्य रोग पहाडमा पनि सर्दै १० वर्ष अगाडि र अहिलेको तापक्रम फरक छ । पहिलो चिसो हुने ठाउँमा अहिले गर्मी हुन थालेको छ । तातो भइसकेपछि लामखुट्टेको लागि उपयुक्त ठाउँ हिमाल पहाड पनि हुन थाले । हामीले हिमाल पहाडमा डेंगी देखियो भन्छौ त्यहाँ पनि कुन ठाउँमा देखिएको हो भन्ने कुरा हुन्छ । मनाङ, मुस्ताङमा पनि कतिपय ठाउँ यस्ता छन् जहाँ गर्मी हुन्छ । रुकुमको चौरजहारी तराई जस्तै छ । यस्ता ठाउँ हिमाल पहाडका धेरै ठाउँमा छन् । ति ठाउँमा लामखुट्टे देखिने र यसको टोकाइबाट डेंगी देखिन्छ भने अर्को अब लामखुट्टले पनि कुन ठाउँमा कसरी बाँच्ने भन्ने कुरा सिकिसक्यो । वातावरण परिवर्तन भयो अर्को त्यही वातावरणमा कसरी बाँच्ने भन्ने कुरा लामखुट्टेले पनि जान्यो यिनै कारण हिमाल पहाडमा पनि यसको संक्रमण फैलियो । कतिपय कुराहरू पत्ता नलागेको पनि हुनसक्छ साँचो कुरा के हो भने लामखुट्टे नभएको ठाउँमा पनि पुगेका छन् । वषौँसम्म अण्डा जिवित रहन्छ अचम्मको कुरा के छ भने लामखुट्टेले यो वर्ष पारेको अण्डा वर्षौँसम्म जिवित रहन्छ । पाइप, टायर,गाडी र सामानको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँसम्म पुगेका अण्डा पानी परेपछि फेरि लामखुट्टेमा परिणत हुन्छन् । यो वर्ष लामखुट्टेले अण्डा पारेको ठाउँमा अर्को वर्ष पानी पर्दा त्यसबाट पनि बच्चा बन्न सुरु हुन्छ । यसको साइकल १० दिनसम्म हुन्छ । तीन–चार दिनमा फुलबाट लार्भा बन्छ, लार्भाबाट प्युपा बन्छ र त्यसबाट एडल हुन्छ । यसरी १० दिनमा लामखुट्टे बन्छ । त्यसरी बनेको लामखुट्टे त्यो ठाउँ उसका लागि सुहाउँदो छ भने बाँच्छ र छैन भने मर्छ । यो सरुवा रोग पनि हो डेंगी सरुवा रोग हो कि हैन भन्नेमा धेरै मान्छे अनविज्ञ छन् । यो एक प्रकारको सरुवा रोग नै हो । सरुवा रोग फरक फरक किसिमका हुन्छन् । एउटा मान्छेबाट मान्छेमा स्वासप्रस्वासको माध्यमबाट सर्छ भने अर्को सार्न माध्यम चाहिन्छ । डेंगी एकबाट अर्कोमा सर्न माध्याम चाहिन्छ । यो एकबाट अर्को मान्छेमा सर्न लामखुट्टे चाहिन्छ । एउटा डेंगी संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोक्यो भने डेंगी सर्छ । यसलाई हामी किटजन्य सरुवा रोग भन्छौँ । अध्ययन भएको छैन समुदायमा कति जनामा संक्रमण देखिएको छ । त्यसमध्ये कस्ता व्यक्तिमा यसको लक्षण देखपर्छ र कस्तो व्यक्तिमा लक्षण देखा पर्दैन । कुन सेरोटाइप नेपालमा छ भन्ने विषयमा गहन अध्ययन हुन सकेको छैन । यसका लागि ठूलो लगानी चाहिन्छ । र आवश्यक जनशक्ति पनि । हामीसँग दुवैको अभाव छ । सरकारले पनि सिमित मात्रामा बजेट छुट्याएको हुन्छ । यसका लागि हामीले विभिन्न अन्तरार्ष्ट्रिय संघसस्था सम्म पनि सहयोग माग्न कुरा गरिरहेका छौँ । डेंगी नियन्त्रणका लागि मुख्य कुरा भनेको सरसफाइ र जनचेतना हो । जनचेतनाको काम मुख्यतया स्थानीय तहको हो । यसमा कस्ता मापदण्ड बनाउने भन्ने विषयमा हामीले सहयोग गर्छौ र प्रदेशले यसमा समन्यवको भूमिका निर्वाह गर्छ । संविधानले नै यस्ता विषयमा संघ, प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै अधिकार दिएकाे छ । यसमा हाम्रो काम भनेको नीति निर्माण र मापदण्ड बनाउने , प्रदेशको काम उपचार कहाँ पुगेको छ , छैन, नपुगेको ठाउँमा के गर्ने, केन्द्र र सथनीयसरकारसँग कसरी सहकार्य गर्ने भन्ने हो भने, स्थानीय तहको काम भनेको नागरिकको घरदैलोमा पुगि कहाँ के छ , के गर्नुपर्छ भनेर सचेतना जगाउने काम हो । हामी तयारी अवस्थामा छौँ लामखुट्टेसँग जोडिने अनयरोग मलेरिया, कालाजार देखापर्छ । यी रोगहरूबाट बच्न एउटै विधि अपनाउनुपर्छ । त्यो हो लामखुट्टेको टोकाइबाट जोगिने । त्यसको लागि घरभित्र बस्दा जाली, झुलको प्रयोग गर्ने घर विरिपरि पानी जम्न नदिने, सरसफाइ गर्ने, बाहिर निस्कदा लामो बाउला भएको लुगा अथवा पुरै जिउ ढाकिने गरक कपडा लगाउनुपर्छ । यति गर्न सक्यो भने यि र यस्ता रोगहरूबाट बच्न सकिन्छ । त्यसैले हामीले यस्ता विषयमा चेतना जगाउन कार्यक्रम गर्ने भन्ने योजना अनुसार काम गर्ने तयारी गरेका छौँ । उपचार विधि के हुन्छ ? यो एक किसमको भाइरसबाट लाग्ने भाइरल रोग हो । भाइरस स्पेसेफिक खालको उपचार हुँदैन । यसले धेरै किसिमका समस्या ल्याउँछ । ति समस्यालाई हामीले विशेषगरी हेर्छौ यसका लागि यो नै उपचार हुन्छ भन्ने हुँदेन । यसले ल्याएको समस्या र जटिलतालाई हेरेर उपचार गरिन्छ । तर एउटा महत्वपूर्ण कुरा के हो भने स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाह बेगर औषधी खान हुँदैन । टायर, बट्टा, थोरै पनि पानी जम्ने आर्टिफिसियल भाँडामा यो रहन्छ । यस्ता चिज घरपरीपरी हुन्छन् । यस्तोमा हप्तामा एक पटक त्यो पानी फाल्नुपर्छ । इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको काम देशभरि फैलिएका विभिन्न किसमका रोग नियन्त्रण गर्ने हो । यसका लागि कस्ता नीति नियम र मापदण्ड आवश्यक पर्छन भन्ने विषयमा हामी काम गर्छौं। म यो महाशाखाको प्रमुख भएर आएको केही समयमात्र भएको छ । अहिले कस्ता रोगको संक्रमण फैलिरहेको छ यसको नियन्त्रणका लागि के गर्ने भन्ने विषयमा म छलफल गरिरहेको छुँ । काम गर्न दक्ष जनशक्ति चाहिन्छ । तर, हामीसँग जनशक्ति अभाव छ । यो महाशाखामा मात्र हैन । स्वास्थ्य क्षेत्रमै जनशक्तिको अभाव भएका बेला काम गर्न चुनौती पक्कै छ तर कुनै पनि रोग नियन्त्रणका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयासरत रहने छु । (इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेसँग गरिएको कुराकानीमा आधारित)