महिला प्रजनन् अंगमा हुने क्यान्सर समयमै उपचार गरे निको हुन्छ
महिलाहरूलाई मात्र देखिने स्वास्थ्य समस्याहरू धेरै छन् । किशोरी उमेर, आमा बन्ने उमेर तथा ढल्कदो उमेरका महिलामा फरक–फरक स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ । महिलाहरूको प्रजनन्सम्बन्धी समस्याहरू पनि अनेक प्रकारका छन् । गाउँ र सहरका महिलाको आ-आफ्नै समस्या रहेको छ । महिलामा देखिने सयौँ किसिमका रोगहरूमध्ये प्रजनन् अंगमा आउने समस्या पनि प्रमुख हो । पछिल्लो समय महिलामा अत्यधिक मात्रामा क्यान्सर देखिएको छ । महिलाहरूमा मात्र झण्डै ४० प्रकारका क्यान्सर हुने गरेको देखिन्छ । महिलाहरूको अण्डासय र डिम्बवहिनी नलीमा हुने क्यान्सर पनि फरक रहेका छन् । अण्डासयमा मात्र भिन्दाभिन्दै २५ देखि ३० प्रकारको क्यान्सरहरू देखिन्छ । संसारमा सबैभन्दा बढी स्तनको क्यान्सर हुने गरेको पाइन्छ । त्यसबाहेक महिला प्रजनन् अंगमा हुने संक्रमणसमेत उत्तिकै मात्रामा हुने गरेको पाइन्छ । जीवनशैली र रहनसहन फरक-फरक हुँदै जाँदा त्यहीअनुसार अरू रोगहरू पनि बढ्दै जाने गरेको पाइन्छ । सानो उमेरका किशोरीमा महिनावारी गडबडी हुने, अण्डहरू परिपक्क नहुँदा बिहे गरेपछि बच्चा नबस्ने समस्या, वृद्धाअवस्थामा क्यान्सर हुने सम्भावना पनि देखिने गर्दछ । महिलाहरूमा स्त्री रोगसम्बन्धी धेरै समस्याहरू देखिन्छन् । यो चाहिँ उमेर अनुसार फरक-फरक रोगहरू देखिने हुन्छ । किशोरी, महिला, बच्चा जन्माउने उमेरका महिला र महिनावारी सुक्न थालेको र सुकिसेका महिलाहरूमा फरक-फरक किसिमका स्वास्थ्य समस्या देखिन्छन् । सामान्य जस्तो देखिने फोहोर पानी बग्नेदेखि लिएर क्यान्सर जस्ता रोगहरू लाग्ने भएकाले यस्तै समस्या धेरै नै छन् भन्न सकिन्छ । शहरी क्षेत्रका महिलाहरूमा आफ्नो स्वास्थ्यसम्बन्धी चासो, स्वास्थ्य बीमा कार्यक्रमले ल्याएको जागरूकता जस्ता कारण समयमै उपचारका लागि अस्पताल आउने गरेको पाइन्छ भने गाउँघरका महिला भने जनचेतनाको अभावमा सहर बजारको तुलनामा कमै अस्पताल आउने गरेका छन् । महिला प्रजनन अंगका रोगमा केहीलाई छोडेर सबैमा सर्जरी गर्नुपर्छ भन्ने हुँदैन । प्रविधिको विकास भएसँगै नेपालका अस्पतालहरूले पनि विभिन्न किसिमका प्रविधिहरू भित्र्याएका छन् । महिला प्रजनन् अंगमा हुने क्यान्सर जस्ता केही रोगहरूको समयमै पहिचान गरेर उपचार गर्न नसके शरीरमा खतरा उत्पन्न हुन्छ । डा. पदमराज पन्त सबै ठाउँका मानिसहरू डाक्टरकोमा पुग्न नसक्लान तर स्वास्थ्यचौकी त सबै ठाउँमा हुने भएकाले त्यहाँ तालिम प्राप्त स्वयंसेविकारू हुन्छन् । त्यहाँ आफ्ना समस्याहरू देखाउन जानुपर्छ । अर्को निसन्तान हुनुहुने दम्पतीले स्वास्थ्यकर्मी कहाँ जादा महिला पुरुष दुवै जना जानुपर्छ । महिलाहरूले आफूलाई लागेका रोगहरू नलुकाउनुहोस् । सचेत भई अस्पताल गए समयमै रोगको उपचार हुन्छ । सामान्यतया १०० मा १५ जनाको सर्जरीबाट बच्चा निकालिन्छ । तर, नेपालमा आजभोलि सय जना मध्ये ५० प्रतिशतभन्दा बढी महिलाले अपरेसन गरेर बच्चा जन्माउने गरेको पाइन्छ । मानिसहरू रिक्स लिन चाहँदैनन् । मनिटरिङ धेरै हुन थाल्यो । जस्तो बच्चाको मुटुको ढुकढुकी अलिकति तलमाथि हुने बित्तिकै बच्चालाई खतरा छ अप्रेसन गराैं भनेर गरिहालिन्छ । प्रसव पीडा सुरु भो बच्चाले दिसा गरेछ अब दिसा खाने भो निकालौँ भनेर अप्रेसन गर्ने गरेका छन् । पहिलो बच्चा अप्रेसन गरिसकेपछि दोस्रो जन्माउने समयमा पहिलेको घाउ फुट्न सक्ने भएकाले पनि मानिसहरू जोखिम लिन चाहदैनन् र फेरि अप्रेसन गर्ने गरेको पाइन्छ । पाठेघरको बच्चा बस्ने ठाउँको क्यान्सर जुन अलि कम मात्रामा हुन्छ । विकसित मुलुकमा ढिला र कम उमेरमा बच्चा पाउने महिलालाई यो हुने गरेको छ । (डा. पन्त धापासी रहेकाे ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्री तथा प्रसुति रोग विभाग प्रमुख हुन् ।)
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एक जनाको मृत्यु
चितवन । गत साउनयता जिल्लामा २ सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका १ हजार ८ सय १५ जना बिरामीको परीक्षणका क्रममा २ सय ५९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको जानकारी दिए । संक्रमितमध्ये १ सय ३० जना चितवनका रहेका छन्भने १ सय २९ जना जिल्ला बाहिरका रहेका उनले बताए । गत आर्थिक वर्षमा ७ सय ६२ जनाको परीक्षणका क्रममा २ सय ४८ जनामा स्क्रब टाइफस देखिएको थियो । यो रोग मुसा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । यसबाट संक्रमण भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुन, टाउ, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछन् । यस रोगबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने पट्टेलले बताए ।
बीमा सुधारका लागि डा. शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति गठन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा. भगवान कोइराला सदस्य छन् । यसैगरी, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत समितिको सदस्य तोकिएको छ । समितिलाई विद्यमान स्वास्थ्य बीमाको कानुनी अवस्था, सेवाप्रवाहलगायतका विषयका सबल र दुर्बल पक्षबारे विश्लेषणसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ । यसैगरी, नेपालमा हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट प्रवाह हुने गरी स्वास्थ्य बीमा कार्यक्रममार्फत लैजान सुझावसहितका उपाय सुझाउन पनि भनिएको छ । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आबद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनको जेनेभास्थित रणनीति र सहयोग एकाइको महानिर्देशक रहिसकेका आचार्यसँग संगठनमा विभिन्न भूमिकामा तीन दशक बढी काम गरिसकेको अनुभव छ । उनी हालै मात्र नेपालका तर्फबाट विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा उम्मेदवार रहिसकेका छन् । जनस्वास्थ्य सुधारका लागि विभिन्न देशहरुलाई सुझाव प्रदान गरिसकेका आचार्यको अनुभव देशको स्वास्थ्य बीमा सुधारका लागि उपयोग गर्ने अपेक्षा गरिएको मन्त्री पौडेलले बताए । ‘स्वास्थ्य बीमामा सुधार गरेर आम नागरिकको पहुँचमा ल्याउने बनाउने हाम्रो प्रमुख उद्देश्य हो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा सबै नागरिकलाई जोड्ने गरी समस्या समाधानसहितको सुझावलाई कार्यान्वयनमा लैजानेछौं ।’ मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बीमाको रकम ५ लाखसम्म पुर्याउने घोषणा गरेका थिए । मन्त्री पौडेलले बीमा सुधारका स्रोत थप्न सकिने अवधारणा प्रस्तुत गरेका थिए । सोहीअनुसार विज्ञहरूको सुझाव लिन भन्दै मन्त्री पौडेलले समिति गठन गरेका हुन् । आइतबार समितिको पहिलो बैठक बसेको छ । आफूहरुले स्वास्थ्य बीमाका अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययनसँगै देशको अभ्यास र कठिनाइहरुबारे अध्ययन गरेर सुझाव दिने संयोजक आचार्यले बताए ।