डेढ करोडको लागतमा चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले एक करोड ६७ लाख रुपैयाँ लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले जानकारी दिए । सो भवन बनाउन निर्माण कम्पनीले ९७ लाख ७१ हजार दुई सय ५० रुपैयाँमा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आव २०७८/७९ मा ६९ लाख ५६ हजार आठ सय ७६ रुपैयाँमा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो । पछिल्लोपटक भएको ठेक्का सम्झौतामार्फत पहिलो भुइँ तलाको प्लास्टर, पहिलो तलामा दुई कोठा, पर्खाल निर्माण, तारबार, रङरोगन, विद्युत् पानी जडानको काम भएको निर्माण कम्पनीका सञ्चालक विजय भट्टचनले बताए । भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । भवन निर्माण गर्न स्थानीयवासीको १० लाख रुपैयाँ र रघुगङ्गा गाउँपालिकाको १० लाख रुपैयाँ बजेटमा पाँच रोपनी जग्गा खरिद गरिएको थियो । नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए । हाल साँघुरो कोठा भएको कच्ची भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ । यसअघि गत वर्ष रघुगङ्गा –४ दग्नाम र ५ झिँमा सहरी विकास तथा भवन आयोजना बागलुङले स्वास्थ्यचौकी भवन निर्माण गरेको थियो । आठ वडा रहेको रघुगङ्गाको वडा नं १ बेगबाहेकका वडामा रहेका स्वास्थ्यचौकीको निर्माण भएको छ । रासस
७३ जिल्लामा फैलियो डेंगी, सबैभन्दा धेरै काठमाडौंमा
काठमाडौं । डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेंगीको संक्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४ सय ३२ जनामा संक्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको उनले जानकारी दिए । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगी रोगको संक्रमण बढ्ने आकलन मन्त्रालयले गरेको छ । सबभन्दा बढी काठमाडौंमा १ सय ५९ जनामा डेंगी देखिएको छ । झापामा १ सय २० र चितवनमा ८३ जनामा देखिएको छ । पानी संकलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको जोखिम बढेको उनले जानकारी दिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फूल पार्छ र फूलबाट लार्भा निस्किन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ । रोग शाखाका प्रमुख डा. दाहालले डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।
बैंकले कुल कर्जाको ३ प्रतिशत विद्यार्थीलाई ऋण दिनुपर्ने, सरकार जमानी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको ३ प्रतिशत रकम स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने युवाहरूलाई शैक्षिक कर्जाका रुपमा प्रदान गर्न छुट्याउने व्यवस्था गर्नु पर्ने राय दिएको छ । विदेशी सम्बन्धनका नेपाली कलेजको अध्ययन गर्न बनेको समितिले सरकारलाई यस्तो राय दिएको हो । इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोशिएसन नेपाल (आईप्यान) ले सो समितिलाई दिएको सुझावलाई प्रतिवेदनमा उल्लेख गर्दै समितिले हाललाई १.५ प्रतिशत रकम बराबरको कर्जा प्रवाहलाई अनिवार्य गर्दै क्रमशः ३ प्रतिशत रकम बराबरको कर्जा प्रवाहलाई अनिवार्य गर्नु पर्ने व्यवस्था गर्न राय दिएको हो । सो प्रतिवेदनमा शैक्षिक कर्जा प्रदान गर्दा शिक्षण शुल्कका साथ-साथै खाना बस्नको लागि लाग्ने अनुमानित रकम समेतलाई पुग्ने गरी शैक्षिक कर्जा प्रदान गर्नुु पर्ने उल्लेख छ । यस्तै, स्वदेशी शिक्षण संस्थामा उच्च शिक्षा हासिल गर्ने युवाहरूलाई बैंक तथा वित्तीय संस्थाहरू मार्फत प्रदान गर्ने शैक्षिक कर्जाको व्याजमा सरकारले ५० प्रतिशत सहुलीयत प्रदान गर्नु पर्ने र अध्ययन अवधिभर कर्जाको ब्याजलाई पूँजीकरण गरी अध्ययन पुरा भईसके पछिको दोस्रो वर्षबाट मात्रै सावाँब्याज भुक्तानीका लागि किस्ता प्रारम्भहुने व्यवस्था गर्नु पर्ने प्रतिवेदनमार्फत् सुझाव दिइएको छ । यस्तै, दलित, अल्पसंख्यक, पिछडिएको क्षेत्र, शहिद परिवार र गरिबीको रेखामुनि रहेका परिवारका सदस्यहरू (विद्यार्थी) लाई प्रदान गरिने शैक्षिक कर्जाको जमानी सरकार बस्नु पर्ने राय पनि प्रतिवेदनमा छ । यस्तै, उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरूको हकमा स्वदेशीमा सञ्चालित शिक्षण संस्थामा उच्च शिक्षा हासिल गर्ने युवाहरूलाई प्रदान गरेको कुल कर्जा रकमको ५० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गर्नु पर्ने राय राखिएको छ । कर्जाको धितो मुल्याङ्कन गरी कर्जा प्रवाह गर्दा एफएमभीको ५० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्ने, विदेश अध्ययनका लागि शैक्षिक कर्जा प्रदान गर्दा शिक्षण शुल्कको ५० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्ने र आयस्रोत पेश गर्दा कर चुक्ता गरेको प्रमाण–पत्र पेश गर्ने व्यवस्था अनिवार्य गर्नु पर्ने राय प्रतिवेदनमा छ । यस्तै, विदेशी मुद्रा सटही सुविधा दिँदा आयस्रोत खुल्ने कागजात र कर चुक्ता गरेको प्रमाण पत्र पेश गनु पर्ने व्यवस्थालाई अनिवार्य गर्नु पर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।