नेपालकै पहिलो दन्त अस्पताल नेशनल डेन्टलले हकप्रद सेयर बेच्दै
काठमाडौं । नेपालको पहिलो दन्त अस्पताल नेशनल डेन्टल हस्पिटलले हकप्रद सेयर बिक्री गर्ने भएको छ । नेशनल डेन्टलले जगेडामा रहेको १ लाख बढी कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । नेशनल डेन्टल हस्पिटलको वि.सं २०८० असोज १३ गते सम्पन्न साधारण सभाले तत्काल कायम सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीको हकप्रद सेयर बिक्री खुला गरिएको थियो । तर, कम्पनीका सेयरधनीहरूले १ लाख ४ हजार ७७६ कित्ता सेयर खरिद नगरी बाँकी रहेको छ । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीको एभरेष्ट बैंकको लाजिम्पाट शाखामा रहेको बैंक खातामा रकम जम्मा गरी सेयर खरिद गर्न सक्ने बताइएको छ ।
नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलका यस्ता छन् पहिलो निर्णय
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताए । उनले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रतिबद्धता व्यक्त गरे । ‘काम गर्ने ठाउँमा आएको छु । विज्ञहरुसँग आवश्यक सुझाव लिएर अगाडि बढ्छु’, मन्त्री पौडेलले भने– ‘एकीकृत स्वास्थ्य प्रणाली सुदृढ बनाउन मेरो जोड रहनेछ ।’ मन्त्री पौडेलले छिटोछरितो ढंगबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ आफू कन्द्रित रहने उल्लेख गरे । मन्त्री पौडेलको राजनीतिक यात्रा नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलको जन्म २०३१ चैत १४ गते आमा दुर्गादेवी र बुवा डिल्लीरमण पौडेलको सन्तानको रुपमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको हो । नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय उनी २०५३ सालमा अमृत साइन्स क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए । लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उनी २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति भएका थिए । समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् । उनी २०७९ को संसदीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०६२/६३ को जनआन्दोलनका क्रममा उनले जेल सजायसमेत भोगेका थिए ।
राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सहज र सरल रुपमा पाउने गरी काम गर्ने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले राष्ट्रिय क्यान्सर रणनीति २०२४/२०३० स्वीकृत गर्ने पहिलो निर्णय समेत गरेका छन् । काठमाडौं क्षेत्रनम्बर ५ बाट निर्वाचित उनले पहिलो पटक मन्त्री हुँदै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका हुन् ।