हैजाबाट बच्न पानीको शुद्धता र खानपानमा ध्यान दिनुपर्छ
काठमाडौं उपत्यकामा हैजाको संक्रम पुष्टि भएको छ । हरेक विपद, पानीजन्य रोग र मौसमअनुसार हैजाको प्रकोप देखा पर्छ । काठमाडौंमा हैजाको संक्रमण पुष्टिसँगै यतिखेर नागरिकमा त्रास छाएको छ । एक जनामा पुष्टि भइसकेको र अन्य व्यक्तिलाई पनि संक्रमण भएको हुन सक्ने आशंकापछि फेरि महामारीको रूप लिने त होइन भन्ने त्रास जनमानसमा छ । वर्षायाममा झाडपखाला, आउँ, हैजा लगायतका पानीजन्य रोगको संक्रमण बढिरहेको बेला विशेषगरी हैजाबाट कसरी बच्ने र यसको जोखिम कम गर्न कस्ता काम गर्नुपर्छ भनेर हामीले संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ । उपत्यकामा हैजाको जोखिम कित्तिको छ ? काठमाडौं उपत्यकामा हैजा पुष्टि भइसकेको अवस्था छ । हरेक वर्ष हैजा देखिँदै आएको थियो र सम्भावना पनि हामी व्यक्त गर्दे आएका थियौँ । हामी सजग रहनुपर्छ भन्दाभन्दै पनि हैजा पुष्टि नै भइसकेको छ । पानी पर्ने क्रम निरन्तर जारी रहँदा हामीले पिउने पानी प्रदूषित भइरहेको छ । यसले गर्दा हैजाको अझै हैजाकाे जोखिम बिढरहेकाे छ । हरेक वर्ष बर्सातकाे समयमा हैजा देखिनुको कारण पानी मात्रै हो कि अरू पनि छन् ? मूख्यतः पानी नै हो । विशेषगरी गर्मीयाममा बाढीपहिरो लगायतका घटनाहरू भइरहेका छन् । काठमाडौंमा पनि धेरै वर्षा भएको छ । केही समयअघि खोला बढेर बस्तीहरूसम्म पानी पसेको थियो, यो भनेको फोहोरपानी हो । बस्तीसम्म मात्र होइन त्यो हाम्रो खानेपानीसम्म पनि पुगेको हुनुपर्छ भन्ने मेरो अनुमान हो । यसैलाई आधार मानेर केही समय अगाडि मैले पानीजन्य रोगको सम्भावना छ पनि भनेको थिएँ । हैजाको जिवाणु यसै पनि लामो समयसम्म रहिरहेको हुन्छ । जब त्यो फोहोर पानी घर, भान्सा र कोठासम्म आइपुग्छ अनि संक्रमण हुन्छ । यसबाट कोही व्यक्ति संक्रमण हुन्छ र त्यो व्यक्तिको दिसा व्यवस्थित शौचालयमा भएन अथवा शौचालय राम्रो भए पनि त्यसको ढल हाम्रो खानेपानीमा मिसिन पुग्यो भने त्यसपछि एक व्यक्तिबाट अर्को, अर्को व्यक्तिबाट अर्को हुँदै जान्छ । अहिले जुन व्यक्ति भर्ना भएका छन् उनमा कडा खालको लक्षण देखा परेको भन्न सकिन्छ । त्योभन्दा बाहेक लक्षण नदेखिएका अरु धेरैलाई पनि हैजा भएको हुन सक्ने र फैलिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । दिशामा हुने कोलिफर्म बेलाबेला पानीमा देखिएको कुरा आइरहन्छ, वर्षामा अझ बढी पानीमा जिवाणु देखिनुको कारण मुहान स्रोत मात्रै हो ? पानीको उपभोग अथवा माग यो बेलामा ह्वातै बढेको हुन्छ । जब बढी उपभोग गरिन्छ, त्यसको जोखिम पनि बढ्दै जान्छ । जति जोखिम बढ्दै जान्छ रोगको संक्रमण देखिने सम्भावना पनि बढ्छ । र, अर्को कुरा वातावररण पनि यसका लागि अनुकुल हुनु पनि अर्को पक्ष हो । अर्को भनेकाे जब गर्मी हुन्छ तब जिवाण सक्रिय हुन थाल्छ । हैजाले विशेषगरी कस्तो मान्छेलाई बढी असर गर्छ ? यसको संक्रमण जोसुकै व्यक्तिलाई पनि हुन सक्छ । तर, जोखिमको कुरा गर्दा बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, जेष्ठ नागरिकलाई बढी हुन्छ । हामीले यसो भन्दै गर्दा युवाहरूलाई नहुने भन्ने होइन । अहिले जसलाई हैजा पुष्टि भएको छ उहाँ १६ वर्षको युवा नै हुनुहुन्छ । अस्पतालमा गएर हेर्दा पनि अरुलाई हुन सक्ने शंका गरिएको छ । उहाँहरू पनि २० देखि ४० वर्षभित्रकै हुनुहुन्छ । यसले दूषित पानि पिउने युवा उमेरका बढी रहेछन् भन्ने पनि देखाउँछ । उनीहरू बाहिर साथीभाइसँग जाने खाने, बाटोमा राखिएको खानेकुरा खाने गर्छन् । यसले पनि जोखिम हुन्छ । यदि कसैगरी हाम्रो घरको धारामा यसको संक्रमण आइपुग्यो भने जोकोहीलाई पनि संक्रमण हुन्छ । अझ बालबालिका र जेष्ठ नागरिकलाई बढी जोखिम हुन्छ । भनेपछि सरसफाइमा ध्यान नदिने व्यक्तिलाई संक्रमण हुने रहेछ हो ? खानपान, सरसफाइमा ध्यान दिइएन भने संक्रमण सबैलाई हुन सक्छ । तर, अहिले बाहिर जथाभावी खाने समूह बढी जोखिममा देखिएको छ । हरेक वर्ष यही मौसममा हैजाको जिवाणु आयो भन्ने सुनिन्छ, यही समयमा रोकथामको पनि बढी चर्चा हुने गर्छ, के अघिपछि यो देखिँदैन ? हैजाको संक्रमण जहाँ पानी लामो समयसम्म स्थिर रहन्छ । तर, जब वर्षा लाग्छ तब एक ठाउँबाट अर्को ठाउँ जान सुरु हुन्छ । हामी यसमा काठमाडौंमा हजा पुष्टि भएकै कुरालाई लिन सकिन्छ । ठाउँ-ठाउँमा बाटोभरि पानी थियो, त्यो पानी कतिपय ठाउँमा ढल फुटेको होला, कति ठाउँमा खानेपानीको पाइप फुटेको होला । त्यो पानी कतिपयको घरको धारासम्म पनि आइपुग्यो होला । अर्को यो समयमा पानीको माग पनि बढी हुन्छ । यस्तो बेला कतिपय व्यापारीले प्रशोधित नगरी जारमा पानी बजारमा ल्याइदिन्छन । यस्तो कारणले पनि यो समस्या हुन्छ । विगतमा हामीले यस्तो भेटाएका पनि छौँ । अहिले अनुगमनको पाटो शून्य छ । जसका कारण वर्षामा यो समस्या देखिने गर्छ । एउटा व्यक्तिलाई पखाला चल्यो तर त्यो हैजा हो कि होइन भनेर उसले कसरी छुट्याउन सक्छ ? लक्षण के हुन्छन ? यसको लक्षण धेरै त अरु संक्रमणसँग मिल्दोजुल्दो हुन्छ । तर, १/२ कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरो हैजा हुँदा कुनै पीडा बिना पातलो दिसा एकदम धेरै जान्छ । अझ सजिलो गरी भन्दा चामलको माड अथवा चौलानीपानी जस्तो दिसा भयो भने यो हैजा हो भनेर बुझन सकिन्छ । कसैले आफूलाई हैजा भयो कि भन्ने शंका गर्छ भने यो कुरामा ध्यान दिनुपर्छ । अर्को सँगै बान्ता पनि हुन सक्छ । अर्को महत्वपूर्ण कुरा भनेको मांशपेशी बाउँडिन्छ । विशेषगरी खुट्टाको पिडौँला फर्किन्छ । दिसाको प्रकृति, छिनछिनमै ट्वाइलेट गइरहनुपर्ने र मांशपेशी बाउँडिने र बान्ता हुने भयो भने यो हैजाको लक्षण हो । यस्तो देखियो भने हामीले घरमा कुरेर बस्न हुँदैन । हामी तुरुन्त अस्पताल पुग्नुपर्छ । यस्तो बेला हामीले घरमै गर्न सकिने उपचार के हो ? ४, ५ घण्टाको अन्तरालमा दिसा भइरहेको छ , बान्ता पनि भएको छैन तर पातलो दिसा भइरहेको छ भने जीवनजल खान सकिन्छ । तर, छिनछिनमै पातलो दिसा भइरहेको छ बान्ता पनि भइरहेको छ भने तुरुन्त अस्पताल जानैपर्छ । कडा खालको हैजा १० जनामध्ये १ जनामा हुन्छ । र, यसको समयमै उपचार पाएन भने मृत्युसमेत हुन सक्छ । कुनैबेला हैजा विश्वभरि महामारी जस्तो नै थियो, नेपालमा पनि १५ वर्ष अघि जाजरकोटमा धेरैको मृत्यु भएको थियो, नेपालमा अहिलेको अवस्था कस्तो छ ? विश्वभरिको कुरा गर्दा हैजाबाट झण्डै डेढलाख मानिसको मृत्यु हुने गरेको डब्लुएचओको तथ्यांकले भन्छ । नेपालको हकमा हरेक वर्ष हैजा देखिरहन्छ । केही वर्ष पहिले मात्र नवलपरासीमा आधा दर्जनको हाराहारीमा मानिसको मृत्यु भयो । उनीहरूको मृत्युको कारण भने समयमै अस्पताल पुग्न नसक्नु थियो । नेपालमा अझ गाउँघरभन्दा बढी जोखिम काठमाडौंमा हुन्छ । शहरमा संख्याको हिसाबले बढी संक्रमण भए पनि मृत्यु हुने सम्भावना कम हुन्छ । यहाँ नजिकै अस्पताल हुन्छ, बिरामी हुनासाथ अस्पताल जान सजिलो छ । तर, गाउँमा संक्रमण पनि कम र मृत्युको संख्या बढी हुन सक्छ । किनकि त्यहाँ अस्पताल नजिक छैन , अस्पताल पुग्नै समय बढी लाग्दा मृत्यु हुन्छ । फेरि कतिपय ठाउँमा एक परिवार अथवा एक गाउँमा हैजा देखा पर्यो भने सहयोग गर्नुको साटो हच्किने गरेको पाइन्छ । तर, यसो गर्न हुँदैन किनकि यो दिसामार्फत देखापर्ने जिवाणुको संक्रमणबाट सर्ने हो । यसका लागि सबैभन्दा पहिले सरसफाइमा ध्यान दिनुपर्यो । कुनै पनि बिरामीलाई हेरचाह गरिरहेका छौं भने साबुनपानीले हात अनिवार्य धुनैपर्छ । हैजा नियन्त्रण गर्न र घटाउन सकिन्छ ? विकसित देशलाई हेर्ने हो भने झाडापखाला र हैजालाई कतिपय देशले रोक्न सकेका छन् । केही दशक अगाडि आफ्नै देशको तुलना गर्ने हो भने अहिले कम भएको छ । १८/१९ वर्ष अगाडि टेकु अस्पतालकै कुरा गर्ने हो भने पनि घण्टैपिच्चछे दर्जनौं मान्छे भर्ना हुने गर्थे । भर्ना गर्ने र डिस्चार्ज गर्ने दिनमा सयौं हुन्थे । तर, अहिले त्यस्तो अवस्था छैन । यसलाई राम्रो मान्न सकिन्छ तर जोखिम अहिले पनि छ । अन्त्यमा, यहाँको विचारमा हैजा मुक्त गाउँठाउँ बनाउन के गर्नुपर्ला ? यसमा सबैको हातेमालो आवश्यक पर्छ । एक व्यक्ति , संस्थाले मात्र काम गरेर पुग्दैन । यो एकै पटकमा धेरै ठाउँ फैलन सक्ने रोग हो । यसलाई सामुदायिक समस्याका रूपमा लिन सकिन्छ । जनस्वास्थ्यसँग सम्बन्धित समस्या भएकाले यसमा व्यक्ति, समाज, स्थानीय सरकार, प्रदेश लगायत सबैको सहकार्यको आवयश्यक्ता पर्छ । यसका लागि व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्यो। खानपानमा ध्यान दिनुपर्यो । सम्बन्धित निकायले अनुगमनमा ध्यान दिनुपर्यो । यति गर्दा कसैलाई लक्षण देखा पर्यो भने अस्पताल जान सल्लाह दिनुपर्यो । सँगै यस्ता कुरामा जनचेतना पुर्याउने काम गर्यो भने जोखिम कम गर्न सकिन्छ ।
कलेजो प्रत्यारोपण : पुरुष लिन्छन्, महिला दिन्छन्
भक्तपुर । विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ । नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विसं २०७३ मङ्सिर २२ गते भक्तपुरका बलराम नागाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको थियो । नागालाई उनका दिदी सानुमाया लागेजुले कलेजो दान गरेका थिए । आर्थिक वर्ष २०८०/८१ मा मात्रै शतप्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ । हालसम्म सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल रहेका केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । ‘केन्द्रमा बिरामीको बिग्रेको कलेजो पूरै हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पूरै कलेजो प्रत्यारोपण गर्ने गरिएको छ’, उनले भने, ‘तीन वर्षको बालकदेखि ६८ वर्षका ज्येष्ठ नागरिकसम्मको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौँ ।’ विसं २०७३ मा दक्षिण कोरियाको सामसुङ् मेडिकल सेन्टरको प्राविधिक सहयोगमा मुलुकमा पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सन् २०१९ मा डा श्रेष्ठको नेतृत्वमा नेपाली चिकित्सकको टोलीबाट पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । पछिल्लो समय एकजना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रको प्रत्यारोपण टोलीले कलेजो प्रत्यारोपण गर्दै आएको श्रेष्ठले जानकारी दिए । बिरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त सङ्ख्यामा नियमित नहुँदासम्म जुनसुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु सकारात्मक हुने डा श्रेष्ठको भनाइ छ । केन्द्रले हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण गरिसकेको जनाउँदै उहाँले लिने पुरुष र दिने महिला धेरै रहेको बताए । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले भने, ‘प्रत्यारोपण सुरु भएदेखि हालसम्म २४ जना ग्रहणकर्ता पुरुष र दुई जना महिला छन् । प्रत्यारोपण गरेका २६ जनामध्ये १८ पुरुषलाई महिला दाताले कलेजो दान गर्नुभएको छ । आठ दाता मात्रै पुरुष हुनुहुन्छ । यो तथ्यांकलाई हेर्दा पुरुषले लिएको र महिलाले दिएको अवस्था छ ।’ विदेशमा ५०औँ लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले न्युनतम १५ रुपैयाँ देखि बढीमा २० रुपैयाँ लाखसम्ममा गर्दै आएको श्रेष्ठले जानकारी दिए । “प्रत्यारोपणका लागि ६५ वर्षभन्दा बढी उमेरका मानिसले समेत आफू भन्दा सानालाई स्वस्थ्य कलेजो दान गर्न सक्ने र साना बालबालिकाले पनि वयष्कलाई तथा वयष्यले बालबालिकालाई सजिलै कलेजो दान गर्न सक्नन्”, उनले भने । कलेजो दान दिनेले तीन चरणको जाँच पास गर्नुपर्ने हुन्छ । जसमा कुनै सङ्क्रमण भए÷नभएको, स्वास्थ्यमा कुनै जटिल समस्या भए/नभएको र मधुमेह वा अन्य कुनै समस्याका कारण कलेजोमा बोसो जमे÷नजमेको भन्नेबारेमा ध्यान दिनु जरुरी रहेको डा श्रेष्ठले बताए । उनका अनुसार कलेजोमा धेरै बोसो जमेको छैन भने त्यसको केही भाग बिरामीको कलेजोलाई फालेर त्यसको ठाउँमा स्वस्थ्य मानिसको कलेजो प्रत्यारोपण गर्न सकिन्छ । यसरी कलेजो दान गर्दा खासै जटिलता उत्पन्न हुदैन । कलेजोमा ६० प्रतिशत भन्दा बोसो जमेको बाहेक अन्यले सजिलै दान दिन सक्नेछन् । कलेजो आफैँ विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि बिरामीको शरीरमा विकसित हुँदै जाने भन्दै करिब छ महिनामा झण्डै ९० प्रतिशत विकास हुने उनले जानकारी दिए । कलेजो प्रत्यारोपण गरिएका बिरामीले पुनः पहिलाको जस्तै जीवन जीउनसक्ने उनले बताए । नेपालमा झण्डै ६० प्रतिशतको कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बिग्रने गरेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । विश्वमा धनी देशमा हेपाटाइटिस सी तथा मधुमेहका कारण कलेजोमा बोसो जमेर बिग्रने गरेको पाइएको उनको भनाइ छ । नेपालमा हरेक वर्ष करिब एक हजारको कलेजो बिग्रने गरेको छ भने भारतमा गएर कलेजो प्रत्यारोपण गर्नेको सङ्ख्या पनि पछिल्लो समय बढ्दै गएको केन्द्रले जनाएको छ । रासस
काठमाडौं उपत्यकामा पोलियोविरुद्ध खोप अभियान सञ्चालन
काठमाडौं । बुधबारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । शाखाप्रमुख गौतमका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन् । अभियान १२ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने उनले बताए ।