औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

काठमाडौं । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए । ‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ’, उनले भने ।

खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड विनियोजन

काठमाडौं । सरकारले खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड  रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनीक गरेको बजेटमा पशुपंक्षीको महामारी रोग नियन्त्रणका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने उल्लेख छ । यस्तै आगामी ३ वर्ष भित्र पीपीआर र क्लासिकल स्वाइन फीवर रोग उन्मुलन गर्ने गरी नि:शुल्क खोप अभियान सञ्चालन गरिने छ । खोरेत रोग नियन्त्रण गर्न सघन खोप कार्यक्रम सञ्चलन गरिने जनाइएको छ ।

२ करोडमा कैलालीको खैरालामा स्वास्थ्यचौकी भवन निर्माण

गोदारी । कैलालीको चुरे गाउँपालिका–२ खैरालामा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । फाया नेपालले जापान सरकारको सहयोग तथा ‘आम्दा माइन्ड्स’को आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्धन परियोजनाअन्तर्गत उक्त भवन निर्माण गरिएको हो । नवनिर्मित भवन खैराला स्वास्थ्यचौकी भवन सोमबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । एक करोड ९९ लाख ३५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त आठकोठे भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसीले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरे । गाउँपालिका अध्यक्ष बोगटीले भवन अभावले विगतमा सेवा प्रवाहमा समस्या भइरहेकामा अब सहज हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्यचौकी भवनसँगै आवश्यक उपकरणसहितका सामग्री सहयोग प्राप्त भएको जानकारी दिए । फाया नेपालका अध्यक्ष भट्टले स्वास्थचौकी भवन निर्माणका क्रममा सहयोग गर्ने सम्बद्व पक्षलाई धन्यवाद दिँदै स्वास्थचौकी र गाउँपालिका कार्यालयले सदुपयोग गरेर सहज रूपमा सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । आम्दा माइन्ड्सकी नेपाल प्रमुख कोवाइसीले दुई वर्षअघि चुरेको गार्भा दरबार क्षेत्रमा पैदलयात्रा गरेर पुग्दा स्वास्थ सेवामा यहाँका महिला र बालबालिकाले भोग्नुपरेको अभावबारे जान्ने अवसर प्राप्त भएको बताए । उनले खैराला स्वास्थचौकीको अवस्था दयनीय रहेको थाहा पाएपछि जापान सरकारको सहयोगमा भवन निर्माण गरिएको बताए । रासस