देशभर डेंगु सङ्क्रमण एक हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा
काठमाडौं । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेंगुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको जानकारी दिए । सबैभन्दा बढी काठमाडौं जिल्लामा एक सय ९६ जनामा डेंगु देखिएको छ । त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डा दाहालले बताए । वर्षाकाबेला पानी संकलन गरेर राख्ने, संकलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको उनले उल्लेख गरे । उपत्यकामा २५५ जनामा सङ्क्रमण उपत्यकामा दुई सय ५५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । काठमाडौंमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा २४ जनामा देखिएको हो । ‘पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ’, रोग शाखाका प्रमुख डा दाहालले भने । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरे । डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेकाले आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकैबेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्दछ । सङ्क्रमितलाई कसरी हेरचाह गर्ने सङ्क्रमितलाई झुलभित्र मात्र आराम गराउने वा सुताउने, सङ्क्रमितको हेरचाहमा खटिँदा पूराबाहुला भएको लुगा लगाउने, लामखुट्टे धूप, कोइला व लिक्विड बाल्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकाम जाली लगाउने र घर वरपर पानी जम्न नदिनेजस्ता उपाय अपनाउनु डा दाहालले जानकारी दिए । लक्षणहरु उच्च ज्वरो आउने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, आँखाको गेडी बेस्सरी दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु तथा बान्ता हुनुजस्ता लक्षण देखा पर्दछन् । एक्कासी उच्च ज्वरो आउने, बान्तामा रगत देखापर्ने, नाक वा गिँजाबाट रगत, रक्तश्राव धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जान मन्त्रालयले अनुरोध गरेको छ ।
अस्पतालमा ओपीडी दुई सिफ्ट चलाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरूसँगको छलफलपछि मन्त्री पौडेलले अस्पतालहरूको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरूमा परिपत्र गरेको छ । पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ । यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ । प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ । चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्ने निर्णय मन्त्रालयले गरेको छ । अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने पनि निर्णय भएको छ । अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्नेलगायत निर्णय पनि भएको छ ।
क्यान्सर रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौं विश्वविद्यालय
काभ्रेपलाञ्चोक । स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ । क्यान्सर रोगको समयमा नै पहिचान तथा उपचारार्थ प्रयोगशाला सञ्चालन गर्न केन्द्र स्थापना गर्ने योजना बनाएको जनाइएको हो । विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआईसी) को भवनमा केन्द्र सञ्चालन गर्न लागेको केन्द्रका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को आर्थिक सहयोगमा स्थापित केन्द्रमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी राष्ट्रिस्तरको क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागिएको हो । उनले कोइकाले विश्वविद्यालयका लागि उपलब्ध गराएका स्वास्थ्य सामग्रीमा थप आवश्यक रसायनलगायत सामग्री ब्यवस्थापन गरी केही महिनामै सञ्चालनमा ल्याइने बताए । हाल पनि क्यान्सर रोग सम्बन्धित कतिपय परीक्षण गर्न विदेश पठाउनुपर्ने बाध्यता रहँदै आएकाले केन्द्र सञ्चालनपश्चात उक्त बाध्यता हट्ने प्राडा ज्ञवालीको दाबी गरे । ‘परीक्षणका लागि विदेश पठाइएका नमूनाको रिपोर्ट आउन तीन÷चार हप्ता लाग्ने गर्छ, रिपोर्ट आउँदा क्यान्सर अर्को चरणमा प्रवेश गरिसक्ने खतरा भएकाले बिरामीको समय र पैसा जोगाउन केन्द्रले मद्दत गर्नेछ,’ उनले भने । विश्वविद्यालयले केन्द्र सञ्चालनका लागि हालैमात्र क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झालाई प्रमुखमा नियुक्त गरेको छ । केन्द्रको प्रयोगशालामा पहिलो चरणमा रक्त क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, आधुनिक प्रविधि र सुविधा उपलब्ध गराउने जनाइएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालमानै सबै किसिमको क्यान्सरको जाँच गर्ने प्रविधि र उपकरण विश्वविद्यालयमा भित्र्याइसकिएको जानकारी दिए ।