साना कोठामा विशिष्टिकृत सेवा प्रवाह गरिरहेको भक्तपुर क्यान्सर अस्पताल
काठमाडौं । सानो भवन साधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ । साँधुरो साना—साना कोठामा बिरामीलाई विशिष्टकृत सेवा प्रवाह गरिरहेको क्यान्सर अस्पतालको भने आफ्नो जग्गा छैन । आफ्नो जग्गा नभएकोले अत्याधुनिक भवनको अभावमा अस्पतालले बिरामीलाई क्यान्सरको गुणस्तरीय सेवा पैदान गर्दै आइरहेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन बनाएर सेवा सञ्चालन गरिरहेको बताउँछन् । ‘भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाको जग्गामा हामीले भवन बनाएर सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘सरकारसँग जग्गा माग गरिरहेको छौं । तर पाएका छैनाैं ।’ उनले बिरामीलाई सस्तो र विशिष्टकृत सेवा दिइरहेको हुनाले सानोसानो साधुरो कोठामा भए पनि उपचार कक्ष बनाएर सेवा दिने गरेको बताउँछन् । ‘अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको छ । आएका बिरामीको उपचार त गर्नु नै पर्याे । शौचालयसमेत फोडेर पनि उपचार कक्ष बनाएका छाैं,’ डा. चालिसेले भने, ‘हामी सारै नै साँधुरो ठाउँमा अस्पताल सञ्चालन गरेका छौं । सरकारले जग्गा उपलब्ध गराउन सक्ने हो भने अस्पताललाई अझ विशिष्टकृत बनाउन सकिन्छ ।’ उनले सरकारले आफूलाई जग्गा उपलब्ध गराए सेवा विस्तार गरेर क्यान्सर रोगका जस्तोसुकै बिरामीको पनि उपचार स्वदेशमा गराउन सकिने बताए । नेपाल अर्बुद रोग निवारण संस्थाले दुई शय्याबाट सुरु भएको अस्पताल अहिले सरकारी स्वामित्वमा एक सय ३० शय्यामा सञ्चालनमा रहेको छ । संस्थाबाट अस्पताल २०७७ सालमा सरकारले विकास समिति गठन आदेश गरेर सरकारको नाममा ल्याएको हो । क्यान्सरका सरकारका तीन वटा अस्पतालमध्ये काठमाडौं उपत्यकामा रहेको भक्तपुर अस्पतालमा क्यान्सरका बिरामीको चाप धेरै नै हुने गरेको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पनि सरकारी अस्पताल रहेका छन् । तर तीमध्ये काठमाडौं उपत्यकामा रहेको भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको पहिलो रोजाइ बनेको छ । काठमाडौं आइसकेपछि उपचारका अन्य विकल्प पनि हुने भएकोले बिरामी चितवन र बाँकको सट्टा भक्तपुर नै आउने गरेका छन् । बिरामीको उपचारलाई ध्यानमा दिएर अस्पतालले हालै मात्र नयाँ अत्याधुनिक सिटी स्क्यान मेसिन, रेडियोथेरापी मेसिन, मोडुलेटर शल्यक्रिया कक्ष थपेको छ । नयाँ २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनले क्यान्सर कहाँ देखिएको छ भनेर सानासाना ठाउँ पनि पत्ता लगाउने गर्दछ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. चालिसेले नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा आएसँगै बिरामीलाई सिटी स्क्यान गर्न अयन्त्र जानु नपरेको बताउँछन् । अस्पतालसँग पहिले १६ स्लाइसको सिटी स्क्यान मेसिन रहेको थियो । ‘पहिलो एउटा सानो सिटी स्क्यान बिरामीलाई पर्याप्त सेवा दिन सकेका थिएनौं,’ उनले भने, ‘अहिले नयाँ सिटी स्क्यान आइसकेपछि बिरामीलाई दैनिक ३० देखि ३५ जनाको सिटी स्क्यान गर्नसक्ने भएका छौं ।’ टिकट लिँदा नै चिकित्सक भेट्ने समय निश्चित अस्पतालले बिरामीको समयलाई मध्यनजर गर्दै बहिरङ्ग सेवामा चिकित्सकको जाँच गराउनेका लागि निश्चित समय निर्धारण गरिएको छ । टिकटमा नै कति बजे चिकित्सकलाई भेट्ने भनेर समय तोकिएको हुन्छ । ‘अहिले पनि बहिरङ्ग सेवा लिन आएका बिरामी टिकटमा नै आधा घण्टाभित्र चिकित्सकलाई देखाउन पाउँछन्,’ उनले भने । अब निश्चित समय तोकेर बिरामीलाई बढीमा १० मिनेट मात्र कुर्ने गरी समय व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । अस्पतालले अनलाइन टिकट र परीक्षणको भुक्तानी क्यूआरमार्फत तिर्ने व्यवस्था गरेको छ । रेडियोथेरापी र शल्यक्रियाका लागि पालो कुर्नुपर्दैन अस्पतालले नयाँ रेडियोथेरापी उपकरण जडान गरेसँगै बिरामी क्यान्सरको उपचार गर्नका लागि पालो कुर्नुपर्ने समस्या पनि हटेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेले रेडियोथेरापीका लागि क्यान्सरका बिरामीले लामो समयसम्म पालो पर्खनु नपर्ने बताउँछन् । ‘पहिले एउटा रेडियोथेरापी मेसिनले बिरामीले दुई महिनासम्म पालो कुर्नु पर्दथ्यो,’ उनले भने, ‘तर अहिले नयाँ रेडियोथेरापी मेसिन आएपछि दैनिक बिरामीको रेडियोथेरापी गर्न सक्ने भएका छौं ।’ रेडियोथेरापीले क्यान्सरका कणलाई मार्ने गर्दछ । यस्तै, अस्पतालले अध्याधुुनिक शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ । अस्पतालका निर्देशक डा. चालिसेले थप दुईवटा मोडुलेटर शल्यक्रिया कक्ष निर्माण गरिएको बताए। ‘शल्यक्रिया कक्ष नहुँदा बिरामीको समयमा नै क्यान्सरको शल्यक्रिया गरेर उपचार गर्न सकिएको थिएन,’ उनले भने, ‘अब पाँचवटा मोडुलेटर शल्यक्रिया कक्ष भएपछि बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपदैन ।’ उनका अनुसार पहिले एक डेढ महिना शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको थियो । उनले अब ढिलामा एक हप्ताभित्र बिरामीको शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्दा नै क्यान्सर पत्ता लगाउने विधि अस्पतालमा शल्यक्रिया गर्दा नै क्यान्सरको आशङ्का गरिएमा तुरुन्तै परीक्षण गर्ने विधिसमेत रहेको छ । कार्यकारी निर्देशक डा चालिसले शल्यक्रिया गर्दा क्यान्सरको आशङ्का गरिएको ठाउँको क्यान्सर परीक्षण गर्नका लागि फ्रोजोन सेक्सन उपकरणबाट गरिने बताए । ‘सिटी स्क्यानले सबै क्यान्सर पत्ता लगाउन सक्दैन । सिटी स्क्यानमा देखिएको मासु क्यान्सर हो कि होइन भन्ने कुरा थाहा हुँदैन,’ उनले भने, ‘शल्यक्रिया गर्दागर्दै क्यान्सर कहाँसम्म फैलिएको छ भन्ने कुराको जानकारी फ्रोजोन सेक्सनले दिन्छ । फ्रोजोन सेक्सनले परीक्षण परीक्षणबाट क्यान्सर कहाँसम्म फैलिएको भन्ने थाहा हुन्छ र सोही अनुसार क्यान्सरको उपचार गरिन्छ ।’ यो प्रविधि भक्तपुर क्यान्सर अस्पतालमा मात्र रहेको छ । निजी अस्पतालभन्दा भक्तपुर क्यान्सर अस्पतालमा करिब चार गुणा सस्तो बिरामीको उपचार हुने गरेको अस्पताललको दाबी छ । अस्पतालका कार्यकारी निर्देशक डा. चासिलेका अनुसार स्तन क्यान्सरको उपचार बाहिर निजी अस्पतालमा गर्दा करिब पाँच लाख लाग्ने गरेकामा भक्तपुर क्यान्सर अस्पतालमा गर्दा एक लाख रुपियाँसम्म लाग्ने गर्दछ । यस्तै, रेडियोथेपारी बाहिर निजी अस्पताल गराउँदा पाँच लाख रुपियाँसम्म लाग्ने गरेकामा अस्पतालमा भने एकदेखि एक लाख ५० हजारमा गरिन्छ । अस्पतालका लागि एमआरआई, रगत क्यान्सर रोगको उपचारका लागि बोन म्यारो प्रत्यारोपण जस्ता सेवा थप्न सके बिरामीलाई अझ उपचार दिन सकिने उनको भनाइ रहेको छ । कर्मचारीको वृत्ति विकास बढ्ने सरकारले हालै अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन गरेपछि त्यहाँ रहेका कर्मचारीको वृत्ति विकास बढ्ने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफै सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी संशोधन अभावमा नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए । सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो । पहिले स्थायी रहेर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन् । साथै, अब नयाँ नियमावलीअनुसार नयाँ करार कर्मचारीलाई लोक सेवामार्फत स्थायी हुने बाटोसमेत खुलेको छ । अस्पतालमा दैनिक पाँच सय जना उपचारमा आउने गर्दछन् । गत आर्थिक वर्षमा ९५ हजार पाँच सय चार जनाको उपचार गरिएको थियो । तीमध्ये दुई हजार ५०५ जनाको शल्यक्रिया गरेर क्यान्सरको उपचार र एक हजार ४० जनाको रेडियोथेरापी विधिबाट क्यान्सरको उपचार गरिएको थियो । कार्यकारी निर्देशक डा. चालिसेले जग्गा, विशेषज्ञ चिकित्सक र शय्याको अभावले कारणले अस्पतालको क्षमता बढाउन नसकिएको बताउनुभयो । सरकारले अस्पताललाई जग्गा उपलब्ध गराए तीन सय शय्याको सञ्चालन गर्ने तयारी रहेको छ । समयमा नै उपचार गरे निको हुन्छ क्यान्सर रोग विशेषज्ञसमेत रहेका डा. चालिसेले समयमा नै क्यान्सर पहिचान गर्नसके निको हुने बताउँछन् । उहाँका अनुसार क्यान्सरका चार चरण (स्टेज) मध्ये शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिने बताए । अस्पतालमा आएका धेरै बिरामी निको भएर घर फर्किएको अस्पतालको दाबी रहेको छ । पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भावना रहने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले जानकारी दिए । उनी जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताउँछन् । नेपालमा बर्सेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको यस रोगबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ । सबैभन्दा बढी फोक्सो र दोस्रोमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ । त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ । नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । अत्यधिक धूमपान तथा मद्यपान र सूर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको तथा, वंशाणुका कारण पनि धेरै क्यान्सरका रोगी बनेका छन् ।
साढे १३ करोडमा बनेको पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार १३ करोड ६६ लाख रुपैयाँ लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो । निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर ज्ञवालीले जानकारी दिए । भवन निर्माण कम्पनीका इन्जिनियर अरविन्द मण्डलका अनुसार नयाँ भवनमा अस्पतालले विद्युत् जडान नगरेकाले हस्तान्तरणमा समस्या भएको बताए । उनका अनुसार भवनको रङरोगन र ‘फिनिसिङ’लगायतका काम सम्पन्न भइसकेको छ । अस्पतालको भवन सञ्चालनमा आएसँगै त्यहाँ कार्यरत चिकित्सकलाई आवास र बिरामीलाई पनि थप सहज हुने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए । भवन हस्तान्तरण गर्नेबित्तिकै बिरामीलाई सोही भवनबाट आइसीयू सहित अन्य स्वास्थ्य सेवा प्रदान गरिने उनले जानकारी दिए ।
मानसिक स्वास्थ्यमा असर पर्ने खालका सामग्री प्रकाशन प्रसारण नगरिदिन बालबालिकाको अनुरोध
काठमाडौं । बालबालिकाहरूले आफूहरूको मानसिक स्वास्थ्यमा असर नपर्ने खालका सामाग्री प्रकाशन तथा प्रसारण गरिदिन सञ्चारकर्मीलाई अनुरोध गरेका छन् । बालअधिकारसम्बन्धी सञ्चारकर्मीसँग गरिएको एक छलफल कार्यक्रममा बोल्दै उनीहरूले यस्ताे अनुराेध गरेका हुन् । अहिले मिडियामा आएका सामग्रीले घरभित्र वा बाहिर असुरक्षित भएको महसुस हुने गरेको बताउँदै उनीहरू घरबाहिर निस्कँदा पनि डराइडराइ जानुपर्ने अवस्थाले बालबालिकामा नकरात्मक असर पारेको बताए । विभिन्न समाचारले मानसिक स्वास्थ्यमा असर पसिररहेको बताउँदै उनीहरूले बालप्रतिभा, बालशिक्षा, बालसहभागिता लगायतका विषयलाई जोड दिएर समाग्रीहरू प्रकाशन र प्रसारण गरिदिन अनुराेधसमेत गरे । कार्यक्रममा बोल्दै एक बालबालिकाले बालबालिका अहिले पनि बालश्रम, बालशोषणमा परिरहेका बताउँदै बालबालिका सुरक्षित राख्न समाज र अभिभावकलाई सचेत गराउनु पर्ने बताइन् । उनले अहिले सबैभन्दा बढी समस्यामा लैगिक तथा यौनिक अल्पसंख्यक बालबालिका रहेको बताउँदै त्यस्ता बालबालिकाहरूका कुरा पनि मिडियामा ल्याइदन आग्रह गरिन् । उनले भनिन्, ‘हुन त हाम्रा कुरा जति आउनुपर्ने हो त्यति मिडियामा आउँदैनन् । आएका पनि बलात्कारसँग जोडिएका कुराहरूमात्र आउँछन् , अब फरक सामाग्रीहरू बाहिर ल्याइदिनुपर्याे ।’ बालबालिकाहरूले पहिले कोपिला , फूलबारी जस्ता विभिन्न पत्रिकाहरू आउने गरेकोमा अहिले सबै बन्द भएको भन्दै पढ्ने खालका कुनै सामग्रीलाई सञ्चारमाध्यमले स्थान नदिएको आराेप लगाए । कार्यक्रममा बोल्दै बालक मनोज भण्डारीले अहिलेका बालबालिकामा विभिन्न किसिमका प्रतिभा हुँदा पनि बाहिर आउने ठाउँ धेरै नभएको बताए । उनले विद्यालयमा हुने केही कार्यक्रममा मात्र अवसर पाइरहेको बताउँदै उनले प्रतिभालाई पनि बाहिर ल्याइदिन आग्रह गरे । कार्यक्रममा सहभागी पत्रकारहरूले मिडियाले बालबालिकाका स्थान नदिएको स्वीकार गरेका छन् । अहिलेसम्म कुनै पनि मिडियाले बालबालिकाको विषयलाई बिटको रूपमा नलिएको बताउँदै सम्पादकहरूले बालबालिका विषयलाई पन्छाइदिने गरेको बताए ।