साढे २ करोड लगानीमा म्याग्दीको मालिकामा स्वास्थ्यचौकी भवन निर्माण
म्याग्दी । मालिका गाउँपालिका–२ चिमखोला गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ । संघीय सरकारको अनुदानमा मालिका गाउँपालिकाले दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ रुपैयाँको लागतमा उक्त भवन निर्माण गरेको हो । हाल कच्ची भवनको साँघुरो कोठाबाट सेवा प्रवाह हुँदै आएको स्वास्थ्यचौकी चाँडै सुविधासम्पन्न भवनमा सारिने मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले बताए ।
किस्ट अस्पतालनमा पानी पस्यो, बिरामीलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ । स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ । विगत २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नाकाहरू सडक अवरुद्ध भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ । त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ । उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको प्रहरीले जनाएको छ ।
सर्वोत्तम सिमेन्टले गर्यो नि:शुल्क स्वास्थ्य शिविर
काठमाडौं । सर्वोत्तम सिमेन्टले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिमेन्टले असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । ‘सुखद जीवनका लागि हौं निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ । उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख श्रीमती राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रुपमा उपस्थिति रहेका थिए । आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध छ ।